विकासन्युज

नेपाल संवत् ११४५ प्रारम्भ, देशभर मनाइँदै

काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । काठमाडौंमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ ।

विश्वको आठौँ प्रदूषित सहरको सूचीमा काठमाडौं, के कारण बढ्यो वायु प्रदूषण ?

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६० रहेको जनाएको छ । एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौंमा एक्यूआई १ सयभन्दा कम देखिएको थियो । इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौं विश्वको आठौँ प्रदूषित सहरको सूचीमा सूचिकृत रहेको छ । चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचिकृत भएको छ । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथ्य मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्हरुले आग्रहसमेत गरेका छन् । वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरुले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिए । वातावरण अभियन्ता राजन थापाले दिपावलीसँगै एकमहिनाअघि गएको बाढी तथा पहिरोका कारण धुलोहरु उठ्ने, गाडीले बाहिरका धुलो काठमाडौं भित्र्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण गराएको बताए । ‘दिपावालीको समयमा भारतमा बढी पटका पट्काउदा प्रदूषण गराएपछि अहिले त भारत सरकारले नियन्त्रण पनि गर्न थालेको छ, पटका मात्रै नभएर अन्य कारण पनि प्रदूषण हुन थालेको छ, अब चिसोमा आगो बाल्ने क्रम बढ्छ । यसले अझै प्रदूषण बढ्दै जानेछ,’ उनले भने । पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र स्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्छ। विषाक्त ग्यासहरुको कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । उनीहरुले पटकाका कारण हुने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने समस्या र उच्च रक्तचापको जोखिम बढाउने तथा यसले कानमा स्थायी क्षति पुर्याउन सक्ने जानकारी दिएका छन् । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ । उक्त व्यवस्थामा भनिएको छ, ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देजविपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन ।’ सामान्यतः विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिकक्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी, पटका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ भनी स्पष्टीकरणमा उल्लेख छ । उपदाफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र रु एक लाखसम्म जरिवानाको व्यवस्था छ । (ख) मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र रु पचास हजारसम्म जरिबाना र (ग) मा सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद वा रु तीस हजारसम्म जरिवानाको व्यवस्था छ ।

नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित

काठमाडौं । नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि प्रतिशि जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२÷१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए ।

जब मालिक खुसी भएपछि दिए १ करोड ६० लाख रुपैयाँ पर्ने रोलेक्स घडी

  काठमाडौं । भन्ने गरिन्छ कि कसैको मन खुसी बनायो भने उसले जे पनि उपहार दिनसक्छ । पञ्जाबका एक व्यापारी गुरदीप देव बाथले पनि यस्तै गरेका छन् । हो, उनले पञ्जाबको जिरकपुरमा आफ्नो हवेली बनाइरहेका थिए । ठेकेदारले लगनशीलताका साथ समयमै गुणस्तरीय रूपमा काम सम्पन्न गरे । जब बाथले आफ्नो हवेली देखे तब उनको मन खुसीले भरियो । त्यसपछि उनले ठेकेदारलाई एक करोड भारु (एक करोड साठी लाख रुपैयाँ) को रोलेक्स घडी उपहारस्वरूप दिए । एनडीटीभीको रिपोर्टअनुसार गुरदीप देव बाथले पञ्जाबको जिरकपुरमा नौ एकड क्षेत्रफलमा आफ्नो हवेली बनाइरहेका थिए । यसलाई हवेली नभई सानो किल्ला पनि भन्न सकिन्छ । बनाउने जिम्मा राजिन्दर सिंह रुपरालाई दिइएको थियो । उनले दुई वर्षमा परम्परागत राजस्थानी शैलीमा हवेली निर्माण गरेका थिए । यो किल्ला देखेपछि गुरदीप सिंह चकित भए । गुरदीप सिंह बाथले पञ्जाबको शाहकोट निवासी ठेकेदार राजिन्दर सिंहलाई रोलेक्स घडी उपहार दिए । यो घडी ( रोलेक्स ओलिस्टर पर्पेटुअल स्काई ड्वेलर) १८ क्यारेट गोल्डमा बनेको छ । यसको मूल्य एक करोड ६० लाख रुपैयाँ छ, जुन संसारभरका धनीहरूले मात्र लगाउन सक्छन् । दुई वर्षमा आयोजना सम्पन्न जिरकपुरमा बनेको गुरदीप सिंहको विशाल हवेली बनाउन दुई वर्ष लागेको थियो । दैनिक २०० भन्दा बढी मजदुर हवेली बनाउने काममा लागेका थिए । यो घर मात्र नभई भव्यताको प्रतीक भएको गुरदीप बताउँछन् । रिपोर्टका अनुसार गुरदीप सिंहको यस परियोजनाका वास्तुकार रणजोध सिंह हुन् । यस हवेलीमा विशाल हल, बगैंचा र धेरै वास्तुकला तत्व समावेश छन् । यति ठूलो र परिष्कृत परियोजनामा ​​काम गर्नु चुनौतीपूर्ण र रोमाञ्चक भएको उनको भनाइ छ ।  

रिलायबल लाइफको रंगोली कन्टेस्ट : रंगोलीको भिडियो बनाएर १० हजार जित्ने मौका

काठमाडाैं । रिलायबल नेपाल लाइफले रंगोली कन्टेस्ट प्रतियोगिता योजना ल्याएको छ । उक्त योजनामा ५ जनाले पुरस्कार पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार ५ हजार र तेस्रो पुरस्कार ३ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, अन्य दुई जनाले रिलायबलको ब्याक पाउने जनाइएको छ । प्रतियोगितामा सहभागी हुनका लागि रंगोलीकाे भिडियो बनाएर फेसबुकमा पोष्ट गर्नुपर्ने हुन्छ । रिलायबल नेपाल लाइफको आधिकारिक फेसबुक पेजलाई ट्याग गर्नुपर्ने हुन्छ । त्यसैगरी, रिलायबललाइफरंगोली’ ह्याजट्यागमा राख्नुपर्ने हुन्छ । साथै रिलायबल नेपालको पेज लाइक गरेको हुनुपर्ने छ । एक जना प्रतियोगिले एकवटा भिडियोमात्र पोष्ट गर्नुपर्ने छ ।

शिक्षाविद् शर्माको निधन, छोरा क्यानडा भएकोले शनिबार मात्रै अन्त्यष्टि गरिने

काठमाडौं । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा. देवराज अर्यालले जानकारी दिए । उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । जेठा छोरा क्यानडामा भएकोले र उनी आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिने लागिएको हो । हाल उनको शव अस्पतालमै राखिएको छ । प्राध्यापक चिरञ्जीवी शर्माले एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरेका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरेको बताए । उनको शरीरमा पुनःअक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक थिए । उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गरेका थिए । यसैगरी प्रा. शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गरेका थिए । उनी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिव समेत थिए । उनले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भइ काम गरे भने २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट नवलपरासीबाट उम्मेदवार भएका थिए । शर्माले केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेत भएका थिए । रासस

भाइमसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि, व्यापार डाउन भएको व्यवसायीको भनाइ

काठमाडौं । यस वर्षको तिहारमा भाइमसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएकाे छ । काठमाडौंको असनमा वर्षौंदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गत वर्षभन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् । भाइमसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिव ३० प्रतिशतले बढ्न गएको बताए । उनले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाइमसलाको भाउ निकै बढेको आफूलाई लागेको उल्लेख गरे । मूल्य बढेकाले यस पटक भाइमसला किन्नेहरूले पनि थोरै सामान खरिद गर्ने गरेको पाइएको छ । व्यापारी बज्राचार्यले भने, ‘अब भाउको हिसाव गरौं भने पोहोर सालभन्दा यसपाली यो ड्राइफुड मसला करिब ३० पर्सेन्टले महंगिएको छ । कारण के होला ? मेरो विचारमा अस्ति असोज महिनामा आएको बाढीले गर्दाखेरि यहाँ मात्रै होइन, पाकिस्तानमा पनि आयो, भारतमा आयो । पोहोर एक किलो लिने मानिसले यस पटक आधा किलो मात्रै दिनुस् भन्छन् । त्यसो भएकाले यस पटक विजनेस डाउन नै देखिन्छ ।’ यता, ग्राहकहरूले पनि यस वर्ष भाइमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् । उनीहरूले भाइमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरूलाई आग्रह गरेका छन । बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ । त्यसैगरी, प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिस्री १८०, धागो मिस्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ । तर सबै सामग्रीमा करिब २५/३० प्रतिशत मूल्य गत वर्ष भन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन् । भाइमसलाको मूल्य बढेकाले यस वर्ष ग्राहकहरूको चहलपहल पनि कम भएको स्थानीय व्यापारीहरूले बताएका छन् ।

भारतीय प्रख्यात अर्थशास्त्री देवरोयको निधन, महाभारत, रामायण र चारवटै वेद गरेका थिए अंग्रेजीमा अनुवाद

काठमाडौं । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा निधन भएको हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्षसमेत थिए । उनले भारतको आर्थिक सुधार तथा विकास रणनीति निर्माण गर्न भूमिका खेलेका थिए । बेलायतको ट्रिनिटी कलेज तथा भारतको दिल्ली स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका देवरोयले पश्चिमा तथा पूर्वीय आर्थिक नीतिहरू दुवैमा दख्खल राख्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले महाभारत, रामायण तथा चारवटै वेदलगायतका कृतिहरूलाई अंग्रेजीमा अनुवाद गरेका थिए ।