विकासन्युज

बाढी पहिरो गएको एक महिनापछि पीडितको तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक । बाढीपहिराले जनधनको ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न एक महिना लागेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पुर्‍याउँदा कतिपय घरबारविहीन बनेका छन् । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो । बढी क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा खोज, उद्धार तथा राहत व्यवस्थापनपछि पुनर्बास एवं आवास निर्माणका लागि एकीन तथ्याङ्क सङ्कलन कार्यमा स्थानीय तह लागेका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अतिप्रभावित क्षेत्रमा पर्दछन् । कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्‍याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य छन् । घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको थिएन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् । बाढीपहिरोबाट प्रभावित भएका जिल्लाका स्थानीय तहहरू प्रभावित परिवारलाई राहत, घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि सरकारले उपलब्ध गराउने राहत रकम वितरण तथा प्रभावित परिवारहरूको तथ्याङ्क सङ्कलनमा लागेका हुन् । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई सङ्घीय सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्ण रूपमा घर क्षति भई समस्यामा परेका ११० परिवारमध्ये पाँच जनासम्मको परिवारका लागि १५ हजार रुपैयाँ र ५ भन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार बाढीपहिरोमा परी मृत्यु भएका १२ जनाको परिवारलाई सरकारले उपलब्ध गराएको २ लाख रुपैयाँ तथा गाउँपालिकाले किरिया खर्चबापत ५० हजार रुपैयाँ थप गरी नगद राहत हस्तान्तरण गर्ने कामसमेत हालै सम्पन्न गरिएको छ । बाढीपहिरोबाट घरपूर्ण क्षति भएका परिवालाई सरकारबाट दिने राहत रकम वितरणका लागि तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष लामाले बताए । उनका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार बाढीपहिरोबाट गाउँपालिकाभित्र रहेका करिब ३५० घर पूर्ण रूपमा क्षति भएको पाइएको छ । बाढीपहिरोबाट अतिप्रभावित पनौती नगरमा खोज, उद्धारसँगै सबै वडा जोड्ने सडकको ट्रयाक खोलिएको छभने क्षतिग्रस्त खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि योजनाको लागत अनुमान गर्नेकार्य अघि बढाइएको छ । पनौतीका नगरप्रमुख रामशरण भण्डारीले तिहारपछि क्षतिग्रस्त विद्यालयमा कक्षा सञ्चालन गर्न अस्थायी सिकाइ केन्द्र (टिएलसी) निर्माण, सिँचाइका योजनाको मर्मत, क्षति भएका स्वास्थ्य संस्थालाई नियमित सञ्चालनका लागि काम सुरु गरिने जानकारी दिए । उनका अनुसार पूर्णक्षति भएका पाँच सय परिवारलाई तीन चरणमा राहत वितरण गरिएको छ । बाढीपहिरोपछि आफन्तको घरमा बसेर पछि सम्पर्कमा आएका २५० परिवारलाई पहिलो चरणको राहतसमेत वितरण सकिएको उनले बताए । पनौतीमा १८ जनाको बाढीपहिरोबाट मृत्यु भएको नगरप्रमुख भण्डारीले जानकारी दिए । बाढीपहिरोबाट घर पूर्णक्षति भएका करिब एक सय परिवारलाई नबिल बैंकले अस्थायी घर बनाइदिने विषयमा छलफल भइएको उनले बताए । ‘जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने विषयमा भौगोलिक अध्ययन गरिने योजना बनाएका छौँ । बस्ती नै स्थानान्तरण गर्नुपरेको खण्डमा उपयुक्त स्थानमा व्यवस्थापन गर्न सरकारका सम्बन्धित निकायसँग समन्वय गर्नेछौँ,’ नगरप्रमुख भण्डारीले भने । उनले बाढीपहिरोबाट पूर्णक्षति भएका घरको विवरण सङ्कलन गर्ने काम भइरहेको भन्दै करिब सात घर पूर्ण रूपमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । बाढिपहिरोमा परी १२ जनाको मृत्यु भएको बेथानचोक गाउँपालिकामा हाल पीडितपरिवारलाई राहतसँगै अवरुद्ध सडक खोलिएको छभने बिजुली, इन्टरनेट सेवा, टेलिफोन सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । बाढीपहिरोबाट घरजमिनसमेत बगेका परिवारको तथ्याङ्क सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए । अध्यक्ष अधिकारीले भने, ‘पीडितको पुनर्बासका लागि सरकारलाई सिफारिस गर्न यकिन तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । उनले बेथानचोकमा पनि आवास निर्माणका लागि विभिन्न सङ्घसंस्थासँग छलफल अघि बढाइएको बताए । उनका अनुसार घर पूर्ण रूपमा क्षति भएका परिवारलाई तत्कालका लागि सरकारबाट प्रदान गरिने राहत रकम व्यक्तिको खातामा उपलब्ध गराउने काम अघि बढाइएको छ । बेथानचोकमा चार हजार चार सय प्रभावित परिवारमध्ये ५५० घर पूर्णक्षति भएको प्रारम्भिक तथ्याङ्कबाट पाइएको उनले उल्लेख गरे । यस्तै नमोबुद्धका नगरप्रमुख कुन्साङ लामाले पनि बाढीपहिरोबाट प्रभावित तथा पूर्ण क्षति भएका परिवारको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने काम भइरहेको बताए । यकिन तथ्याङ्क सार्वजनिक गरी सरकारको राहत रकम प्रदान गरिने उनले उल्लेख गरे । काभ्रेपलाञ्चोकमा बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो भने ६ जना अझै बेपत्ता छन् । उक्त बाढीपहिरोबाट ७९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार निजी आवासतर्फ करिब ४ हजार पूर्ण क्षति भएका छन् भने ७ हजार आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन् ।

बरङ्जामा ‘आगोदेउ’ पर्व मनाइयो

काठमाडौं । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरङ्जाका मगर समुदायले ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने ९ थरका ४५ कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । आगलागीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहेको मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले जानकारी दिए । ‘धार्मिक विधिअनुसार पूजाआजा गरेर कुकुर तिहारको दिन सुरु हुने आगोदेउ पर्वमा प्रकृतिको पूजा गरिन्छ, आगोका कारण कुनै दुर्घटना वा विपद् नहोस् भन्ने कामना गरेर यो पर्व मनाउने चलन छ,’ उनले भने । बरङ्जाको शिलाथुरस्थित थानमा मगरका झाँक्रीहरूले पूजाआजा गरेपछि पर्व सुरुआत भएको मानिन्छ । दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पूजा गरी बलि चढाइन्छ । यसैगरी आगो बाल्ने र मार्ने गरिन्छ । तेस्रो दिन कमेरोले रङ्ग्याएको ढुङ्गालाई काट्ने र पूजाआजा गरेपछि पर्व सकिएको मानिन्छ । बरङ्जामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बुढाथोकी थरका मगरहरूले आगोदेउ पर्व मनाउँछन् । बाह्रौँ शताब्दीमा बरङ्जामा बसोबास सुरु भएदेखि सुरु भएको आगोदेउ पर्वलाई निरन्तरता दिँदै आएको वडाध्यक्ष रोकाले बताए । कात्तिकमा आगोदेउ र जेठमा धुले मेला बरङ्जाका मगरले धुमधामसँग मनाउने पर्व हुन् । जेठको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गलबारदेखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लगाउने चलन छ । हिउँदभरि खेतबारी सुकेर धुलैधुलो हुने र पानी परेपछि खेती गर्न योग्य हुने हुनाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिएको वडाध्यक्ष रोकाले बताए ।

विश्वकप लिग-२ क्रिकेटः अमेरिकासँग नेपाल पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको २८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् । नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भए । त्यसपछि सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान दुई/दुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८१ रनको योगफल बनाएको थियो । अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान मोनाङ्क पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए । हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे । नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए । त्यस्तै कुशल भुर्तेलले एक विकेट झारे । नेपालल लिग-२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । त्यस्तै अमेरिका १२ खेलमा आठमा जितसहित १६ अङ्कका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अब नेपालले भोलि स्कटल्याण्डसँग खेल्नेछ ।

मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै

काठमाडौं । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ-आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ । यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ । यमपञ्चकमा पर्वत मूलका र मैथिल हिन्दूको पर्व मनाउने विधि र तरिका केही फरक भएपनि पौराणिक कथावस्तु भने एउटै देखिन्छ । सत्ययुगमा राजा बलिका बहिनीहरू गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टिका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउँछन् । मैथिल परम्पराको भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन नै छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टिका लगाइ दिने मैथिल परम्परा छ । मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस्भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ । ‘बजरी’ ख्वाइने भनिने यो विधिमा सा¥हो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर ‘बजरी’ भनिएको डा विमलको भनाइ छ । बजरी ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको उनी बताउँछन् । यो विधि सकिएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखी दिन्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् । यो विधि मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधारमा द्वितीया तिथिबाट शुभसाइत निकालिन्छ । मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीनवटा पर्व परम्परा देखिन्छन् । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधीदिने र यमपञ्चक अर्थात् तिहारको कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गङ्गा यमुना नै हुन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्वभने द्वापरयुगकालीन भगवान श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीचको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको बताइन्छ । मिथिलाञ्चलभरिका गाउँ सहरको चौबाटामा आज एकाबिहानै विभिन्न लोकगीत र नाचगान गर्दै दिदीबहिनीहरूले गाईको गोबर र केराउका दाना९बजरी०लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गर्ने चलन छ । दिदीबहिनीहरुले ओखलमा गोबरसँगै कुटिएको केराउका दाना गोबरबाट झिकेर धोई पखाली आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाउने गर्दछन् । दिदीबहिनीहरूले ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भने भनाइका साथ दाजुभाइलाई आँगनमा बसाइँ माला, फूल, चन्दन लगाएर बजरी खुवाएर भैयादुज पर्व मनाउने परम्परा यहाँ चलिआएको जानकारहरू बताउँछन् । मिथिलाञ्चलमा भैयादुज पर्व हर्षोल्लास र खुसीका साथ मनाउने गरेको र यस पर्वले दिदीबहिनी तथा दाजुभाइको सम्बन्ध अझै प्रगाढ बनाउने गरेको जलेश्वर नगरपालिका—१ स्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पूजारी उपेन्द्र पाठकले बताए ।

जुम्लामा कोदोखेती गर्ने घट्दै

काठमाडौं । जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका ८ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् । विगतमा यहाँको तिला गाउँपालिका– १ मा कोदोको राम्रो उत्पादन हुन्थ्यो । यहाँका फाँटहरूमा लहलहाउँदै गरेको कोदो देखिन्थ्यो । तर ८÷१० वर्षयता यस ठाउँमा कोदोको खेती गरेको पाइँदैन । दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने गरेको तिला– १ का स्थानीय नर रावतले जानकारी दिए । तातोपानी गाउँपालिका– ४ का स्थानीय प्रेमराज पाण्डेले किसानले कोदोबाली लगाउनै छाडेको बताए । दैनिक उपभोग्य सामानहरू घरदैलोमा पुग्न थालेपछि यसको खेती गर्नेको सङ्ख्या घटेको उनको भनाइ छ । कोदोबाली अत्यन्त पोषिलो मानिन्छ । विगतमा यसको रोटी खाने गरिन्थ्यो । पछिल्लो समय उत्पादन घटेपछि भएको उब्जनीले गाउँघरमा मदिरा बनाउन प्रयोग किसानले जनाएका छन् । यहाँका स्थानीय तहले खाजानास्तामा स्थानीय उत्पादन वा रैथाने बालीहरूको प्रयोगमा जोड नदिएका होइनन् तर कोदोको उत्पादन कम हुने भएकाले बजारमा यसको पिठो मागअनुसार उपलब्ध गराउन नसकिएको खलङ्गा बजारमा रहेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए । हाल यहाँ कोदोको पिठो प्रतिकिलोग्राम १५० रुपैयाँमा किनबेच भइरहेको छ । कोदोको दाना प्रतिकिलो १२० रुपैयाँमा बिक्छ । कोदोमा क्याल्सियम,म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बीलगायत पोषक तत्वहरू पाइने गरेकाले पछिल्लो समय माग भने बढ्दो छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण, पेट स्वस्थ राख्न पनि कोदोका परिकार उपयुक्त हुने जानकारहरू बताउँछन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार हाल ३ हजार ७ हेक्टरमा कोदोखेती हुने गरेको जनाएको छ ।

देउसीभैलोमा मौलिकता हराउँदै, बुढापाका चिन्तित

काठमाडौं । देउसीभैलोलाई तिहारको महत्वपूर्ण हिस्साका रूपमा लिइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाउने गर्छन् । सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसीभैलो पछिल्लो समय हराउँदै गएको छ । मौलिक संस्कृतिसहित देउसीभैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । यमपञ्चक सुरु भएपछि बागलुङ बजारसहित ग्रामीण क्षेत्रमा देउसीभैलो खेल्नेहरूको भिड लाग्ने गरेको छ । भैलोले गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने बर्सेनि हराउँदै गएको छ । तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । अहिलेको देउसीभैलोमा मौलिक बाजा र गीत सुनिदैनन् । बजारमा आएका ‘रेकर्डेड’ पप, आधुनिक र ¥याप गीतमा युवायुवती भैलो खेल्छन् । पप, ¥याप र विदेशी भाषाका गीतमा भैलो खेल्दा बुढापाका भने खिन्नतता प्रकट गर्छन् । निसीखोला गाउँपालिका-४ का ७४ वर्षीय धनबहादुर घर्तीले परम्परागत देउसीभैलोलाई आधुनिकताले प्रभावित गरेको बताउनुभयो । आफ्नो पालामा बाउबाजेले संरक्षण गर्दै आएको मौलिकतासहितको देउसीभैलो अचेल पश्चिमा संस्कृतिको चेपुवामा परेको उहाँको कथन छ । भैलोको माध्यमबाट कथा व्यथा प्रस्तुत हुने भए पनि हिजोआज देउसीमा विकृति मिसिएको र केवल पैसा जम्मा गर्नेमा मात्र ध्यान जाने गरेको भन्दै घर्तीले विरोध जनाए । ‘जुग जमानासँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिए, हाम्रो पालको जस्तो देउसीभैलोमा मादले सिङ्गारु बनेर नाच्ने चलन अहिले छैन,’ उनले भने, ‘हामी बुढाबुढी भइयो, गाउन नाच्न सकिन्न, अहिलेका युवाले पुरानो संस्कृति सिक्दैनन्, पश्चिमेली संस्कृतिले विशिष्ट मौलिक संस्कृतिलाई विस्थापित गर्याे ।’ गलकोट नगरपालिका-१० का पूर्णबहादुर घर्ती मगरले विदेशीको देखासिकीका कारण मौलिकता हराएको बताए । तिहार पर्व र देउसीभैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान नै गुम्ने खतरा बढेको उनको भनाइ छ । ‘मौलिकता जोगाउने भन्ने चाहना छैन, हाम्रो पहिचान के हो रु तिहारमा के गाउने रु कस्तो नाच्ने भन्ने पनि ज्ञान छैन, उही विदेशी गीत गाएर नाच्छन्, न त्यसमा मौलिकता छ, न कुनै नेपालीपन, अरुको देखासिकी गर्ने प्रवृत्तिले हाम्रा कयौँ संस्कृति लोप भए,’ उनले भने । काठेखोला गाउँपालिका-१ का २७ वर्षीय कमल थापा मगर बाउबाजेले मौलिकतालाई संरक्षण गरे पनि आफ्नो पुस्ताले जोगाउन नसकेको स्वीकार्छन् । अहिले देउसीभैलोमा आधुनिकता मिसिए पनि अझै सम्पूर्ण रूपमा मौलिकता गुमिनसकेकाले यसतर्फ ध्यान दिन भने आवश्यक रहेको उनको भनाइ छ ।

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

काठमाडौं । सुर्खेत भेरीगङ्गाका-११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ । उनले तिहारमा मात्रै ५ लाख रुपैयाँको फूलहरु बेच्ने लक्ष्य राखेका छन् । भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब ३ लाख ५० हजार रुपैयाँको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम ४ सय रुपैयामा बिक्री हुने गरेको छ । २४ वर्षीय समीर मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान पढ्दै छन् । आफूले पढेर आर्जन गरेको ज्ञानको प्रयोग गर्दै सुर्खेत सदरमुकामदेखि पूर्वीक्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका— ११ मा आठ रोपनी जमिनमा उनले विभिन्न प्रजातिका फूल लगाएर मनग्य आम्दानी लिइरहेका छन् । वार्षिक आम्दानी ८ लाख रुपैयाँसम्म हुने गरेको समीरले सुनाए । उनले धेरैजसो सयपत्री फूल उत्पादन गरिरहेका छन् । ‘अरु समयमा विभिन्न कार्यक्रम, सभा र पूजाआजाको लागि बिक्री हुन्छ भने तिहारको बेलामा सबैभन्दा धेरै बिक्री गर्छु, जसले स्वरोजगार त बनाएको छ नै, किताबी ज्ञान व्यवहारमा प्रयोग भइरहेको छ,’ समीरको भनाइ छ । उनले यो व्यवसाय सुरु गरेको दुई वर्ष भयो । गत वर्ष ७ लाख रुपैयाँ आम्दानी गरेर हौसिएका समीर यसवर्ष १० लाख रुपैयाँ आम्दानीमा आशावादी छन् । ‘गतवर्ष २० क्विन्टलभन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिए, यसवर्ष पहिलोभन्दा बढी उत्पादन हुन्छ, किनकि ६ रोपनी जग्गाबाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु,’ उनले भने । समीरले वायो ग्रीन एग्रो प्रालि नामक फर्म दर्ता गरेर त्यहीमार्फत कारोबार गरिरहेका छन् । कारोबार राम्रै भए पनि बजारमा सस्तोमा पाइने प्लाष्टिकजन्य फूलका कारण आफूजस्ता व्यवसायीहरू मारमा परेको उनको दुःखेसो छ । त्यसैले सरकारले बाहिरबाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ । ‘हाम्रो लागि धेरै अवसरहरू नेपालमै छन् तर अलिकति मेहेनत गर्नुपर्छ, कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन तर यसमा सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेदेखि युवालाई ज्ञान र सीप दिन लाग्नुपर्छ,’ उनले माग गरे । भेरीगङ्गा नगरपालिकाले भने स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिरबाट आउने फूलमा कडाइ गरेको जनाएको छ ।

३२ वर्षपछि चलचित्रमा फर्किएका गौचनले ‘केटी हराएको सूचना’ निर्देशन गर्ने

काठमाडौं । वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्ने भएका छन्। झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किएका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए । ‘म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ । किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन् । जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु,’ उनले भने । निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबीच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताए । चलचित्रका अधिकांश दृश्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठमै केन्द्रीत रहेको उनको भनाइ छ । ‘चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यहि भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ । यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ । चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ,’ निर्देशक गौचनले भने । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा हुनुहुन्छ । अभिनेता हुसेनले यसपटक आफूले शून्यतामा रहेर अभिनय गरेको बताए । उनले भने, ‘हामीलाई काम गर्ने प्रस्ताव आउँदा भूमिकाबारे भनिन्छ, त्यसलाई निर्देशक र लेखकको सहयोगमा तयार गरिन्छ । म आफैँ तराईको भएकाले आफ्नो पात्रलाई तयार गरेको थिएँ तर निर्देशक गौचनले मलाई ‘न्युट्रल’ बस्न सुझाव दिनुभयो । त्यसकारण यो रामको पात्र एकदमै सरल र जीवन्त देखिएको छ । यो मेरो लागि नयाँ अनुभव पनि हो ।’ अभिनेत्री श्रेष्ठले यस चलचित्रमा गरिएको काम आफ्नो लागि अहिलेसम्म कै उत्कृष्ट रहेको बताए । ‘मेरो पात्र निर्माणसँगै छायाङ्कनमा पाएको स्पष्टता र सरलता अहिलेसम्मकै उत्कृष्ट अनुभव रह्यो । यो हामीले नजरअन्दाज गरिरहेको एउटा विषय हो,’ उनले भने । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन् ।