छठका लागि बाँसका सामग्री बनाउन व्यस्त
काठमाडौं । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किन्छन् । त्यसलाई आवश्यकताअनुसार काट्छन् । अनि काममा लाग्छन् । स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान हुन्छ र काम गरौँला भन्ने छटपटी हुन्छ । भट्टाई र गीता मात्रै होइन अचेल यहाँका मरिक समुदायका व्यक्तिको दिनचर्या यसैगरी बित्ने गरेको छ । आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व आउन पाँचदिन मात्र बाँकी छ । तर त्यसका लागि चाहिने सामग्री बनाउन यहाँका मरिकहरूलाई धेरै दिन पहिलेदेखि नै छठ लागिसकेको छ । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराह क्षेत्रलगायत क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई छठ नजिकिँदै जाँदा सामान बनाउन थप चटारो छ । छठमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनगर– २ का वीरेन्द्र मरिकले बताउँछन् । छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले आफूहरूले यस्ता सामान बनाएर बिक्री वितरणबाट आएको केही रकमले चाडपर्वको गर्जो टार्ने गरेको सुनाए । स्थानीय अनिता मरिकले यहाँ हरेक वर्ष छट नआउनुभन्दा एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउने गरिएको बताए । ‘यही बेला त हो आम्दानी गर्ने । अरु बेला यस्तो अवसर आउँदैन । थोरै भए पनि रकम जम्मा गर्ने र आफ्ना र परिवारका आवश्यकता पूर्ति गर्ने गरेका छौँ,’ उनले भने । भट्टाई मरिकले पनि गाउँ गाउँबाट बाँस किनेर ल्याएर छठमा प्रयोग हुने सामग्री बनाउन लागेको र यसबाट थोरै भए पनि आम्दानी हुने गरेको बताए । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका व्यक्तिले पनि यस बेला आम्दानी गर्ने अवसर पाउँछन् । ‘अरु बेला कमाइ हुँदैन, त्यसैले हामीहरू आम्दानीका लागि एक महिना अघिदेखि जुटिरहेका छौँ । पर्व अवसरका रूपमा पनि आउने गर्छ हाम्रा लागि,’ स्थानीय विन्देश्वर मरिकले भने । स्थानीय चन्दन मरिकले पनि आफूहरूको आम्दानीको अन्य स्रोत नभएकाले छट पर्खेर बस्नुपर्ने अवस्था रहेको सुनाए । यसरी बाँसको सामग्री बिक्री गरेर वर्षभरिका लागि आर्थिक जोहो गर्नु आफूहरूको बाध्यता रहको र यसैबाट खाने कुराका साथै छोराछोरीको शिक्षादिक्षाको खर्च धान्ने गरेको उनको भनाइ छ । दुई जनाको सहारामा एउटा बाँसको ढकी बनाउनका लागि २ दिनसम्म लाग्ने गरेको मरिक समुदायका अगुवाले बताएका छन् । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कुनियाँ र ढकी बनाउने गीता मरिकको योजना छ तर पछिल्लो समय आधुनिकतासँगै भित्रिएका प्लाष्टिकलगायत सामग्रीले घरमा बनाएका सामानको माग घट्दै गएकामा उहाँ चिन्तित छन् । यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसका सामग्रीको व्यवसायीकरण वा वैकल्पिक सामान बनाउनका लागि आवश्यक तालिम र प्रविधि सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।
४० हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए
काठमाडौं । लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको बताए । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म २ हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने २ हजार ५ जनाले परिचयपत्र लगेका छन् । चालु आवको प्रथम त्रैमासिकमा राहदानीतर्फ पुरुष २ हजार १७, महिला १ हजार ३३६, नाबालक ४९ गरी ३ हजार ४०१ जनाले सिफारिस लिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार नागरिकतातर्फ वंशजको आधारमा महिला ७८५, पुरुष ७५१ गरी १ हजार ५३६ जनाले नागरिकता लिएका छन् । यस्तै १ हजार १२३ महिला र १ हजार १८३ पुरुषले नागरिकताको प्रतिलिपी लिएका छन् । वैवाहिक अङ्गीकृततर्फ भने २ जनाले मात्र नागरिकता लिएका छन् । यसैगरी नाबालक परिचयपत्र ९२, आदिवासी जनजाति प्रमाणित २०७, दलित प्रमाणित १५१, विपन्न खसआर्य १५ र मुस्लिम ९ जनाले सेवा लिएका छन् । पेन्सन सिफारिसतर्फ २१३, तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण ५ र शरणार्थीका लागि यात्रा अनुमतिपत्र सिफारिस २ जनाले लिएका कार्यालयको तथ्याङ्क छ ।
देउसी भैलोप्रतिको आकर्षण बढ्दै
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा पर्वतमा देउसीभैलो खेल्नेहरूको आकर्षण बढेको पाइएको छ । विभिन्न उद्देश्य र योजनाअघि सारेर देउसीभैलो खेल्ने संघ संस्थाहरूको सङ्ख्या ह्वात्तै बढेको हो । विगतका वर्षहरूमा बढिजसो बालबालिकाहरू मात्र देउसीभैलो खेलेको देखिने गरे पनि यसपटक भने पाका पुस्तासमेत दैनिक देउसीभैलोमा रमाइरहेका देखिन्छन् । पर्वत सदरमुकाम कुश्माबजारमा यसपटकको तिहारमा झण्डै ५० देखि ७० वटा समूहले देउसीभैलो कार्यक्रम गरिरहेका छन् । क्षेत्री समाज पर्वतले राहत कोष स्थापना गर्ने उद्देश्यले कात्तिक १४ गतेदेखि नै देउसीभैलो कार्यक्रम गरिरहेको छ । कुश्माबजारमा विभिन्न चोकमा मात्र नभएर वारीबेनी, डिमुवा, चुवालगायत स्थानमा समेत पुगेर देउसीभैली गरिएको समाजका सचिब गणेशबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार विपद्लगायत समस्यामा परेकाहरूको सहयोगका लागि कोष स्थापना गर्न कार्यक्रम सञ्चालन गरिएको हो । क्षेत्री समाजले राष्ट्रिय तथा स्थानीय कलाकारहरूलाई समेत सहभागी गराएको छ । यस्तै, विभिन्न पार्टीका जनवर्गीय सङ्गठनहरूले पनि विभिन्न उद्देश्य राखेर देउसीभैलो खेलिरहेका छन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विपन्न तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ देउसीभैलो कार्यक्रम गरिरहेको छ । देउसीभैलोबाट सङ्कलित रकमले आर्थिक अभावमा पढ्नवाट बञ्चित भएका विद्यार्थीलाई सहयोग गरिने सङ्गठनका सचिव सन्दिप नेपालीले जानकारी दिए । यसैगरी नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले पनि देउसीभैलो कार्यक्रम गरेको छ । कोष स्थापना गर्नका लागि समाजले कुश्माबजारका विभिन्न चोकमा पुगेर देउसीभैलो कार्यक्रम गरेको संस्थाका सदस्य जीतबहादुर विकले जानकारी दिए । यसबाहेक विभिन्न आमा समूह, पर्यटन महिला समूह, बुहारी समूह, विद्यार्थीलगायतका संस्थाहरूले पनि देउसीभैलो कार्यक्रम गरिरहेका छन् । हाल कुश्माबजार र आसपासका ग्रामीण क्षेत्र देउसीभैलोका गीतले गुन्जयमान छन् । देउसीभैलोमा मौलिकता भने हराउँदै गएको छ । परम्परागत रूपमा भट्टाउने र देउसीरे भन्ने तथा गाउँ समाजका कथावस्तु देउसीरे मार्फत सुनाउने प्रचलन हटेको छ । आधुनिक साउण्ड सिष्टममा विभिन्न नेपाली लोक, पप तथा हिन्दी गीत समेतमा नाच्नाले मौलीकता हराउँदै गएको स्थानीय भोलानाथ शर्माले बताए । जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आपराधिक घटना न्यूनीकरण गर्न राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने जनाएको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गर्दै राति ९ बजेपछि देउसीभैलोका कार्यक्रम गर्दा विभिन्न आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले रोक लगाइएको उल्लेख गरेका छन् । यस्तै, पर्वत उद्योग वाणिज्य संघले तिहारको अवसरमा घर वा टोलमा आइपुग्ने देउसीभैलो खेल्ने टोलीलाई अधिकतम रु एक सय ५१ रुपैयाँभन्दा बढी नदिन अनुरोध गरेको छ । संघका अध्यक्ष ठाकुरबहादुर पौडेलले देउसीभैलो समूहले दाताको चाहनामा भन्दा पनि आफ्नो चाहनामा मोटो रकम मागेर हैरान पार्ने गुनासाहरू विगतदेखि नै सुनिँदै आएकाले बजारका उद्योगी व्यवसायीलाई त्यस्तो अनुरोध गरिएको बताए ।
आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत
काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् समितिका अध्यक्ष अधिकारीले सुनाए । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । बालगोपालेश्वर खुलाइने दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । खञ्जनेश्वर महादेवमा भक्तजन यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । ‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भिड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भिड लाग्छ,’ उनले भने । विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ ।
फेरिँदै देउसीभैलोको स्वरूप
काठमाडौं । ‘आहै चिप्लोमा बाटो, देउसी रे । आहै अँध्यारो रातमा, देउसी रे । आहै लड्दै र पड्दै,देउसी रे । आहै केराको थम्बा, देउसी रे । आहै १० भाइ जम्मा, देउसी रे ।’ हिन्दू धर्मावलम्बीको दसैँपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरु हिजोआज सुनिन छोडेका छन् । सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्मोनियमका धुनमा ताल र सुर मिलाएर इतिहास, पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो चलन अहिले हराउँदै गएको छ । देउसीभैलोमा भट्याउने भाकाहरू पनि बदलिँदै गएका छन् । तिहारको आकर्षणमध्येको एक मानिएको देउसभैलो हिजोआज आर्शीवाद दिने, मनोरञ्जन लिने र साथीभाइहरुसँग रमाउने माध्यमभन्दा पनि पैसा सङ्कलन गर्ने माध्यम बन्दै गएको बेनी नगरपालिका–२ का ९० वर्षीय बेदप्रसाद उपाध्यायले बताए। केही सङ्घसंस्था, विद्यालय तथा समूहले अन्यका गीतको सहयोग लिइ नृत्य देखाउँदै देउसीभैलोलाई पैसा सङ्कलनको माध्यम बनाइरहेका भन्दै उनले सरम्परा हराउनेमा चिन्ता व्यक्त गरे । हिजोआज गाइने देउसीभैलो र नृत्यमा मौलिकता देखिन छोडेको स्थानीय बताउँछन् । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीतमा देउसीभैलो खेल्ने र नाच्ने गरेका मङ्गला गाउँपालिका–२ का पण्डित हरिकृष्ण पौडेलले बताए । यसरी ठूलोठूलो स्वरमा गीत बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै बिरामी, वृद्धवृद्धालाई असहज हुने उनले उल्लेख गरे । बेनीका नैनकुमार श्रेष्ठले भने, ‘पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजा र गीतहरु देख्न, सुन्न पाइन्थ्यो । आजभोलि आयातित गीतहरु सुनिन्छन् । आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् । यसरी हाम्रो लोकसंस्कृति लोप हुँदै जानेछ ।’ केही वर्षपछि लोकबाजा र भैलीको मौलिकता हराउनसक्नेमा उनले चिन्ता व्यक्त गरे । बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीले पहिला देउसीभैलो खेल्दा सबैले लोकगीत आफैँले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायत मौलिक बाजाहरु बजाउने परम्परा रहेकामा अहिले उक्त परम्परा हराउँदै गएको बताए । बेनीका लोकसंस्कृतिका जानकार प्रकाश श्रेष्ठले युवा पलायनको असर देउसीभैलोमा पनि परेको उल्लेख गरे । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म खेलिने देउसीभैलोको आफ्नै महत्व छ । मृत्युका देवता यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुना कहाँ यी पाँच दिन अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको लोकसंस्कृतिका जानकार श्रेष्ठले बताए । भाइटीकाको दिन यमराज र यमुनाको नाममा समर्पित भएर पूजा गर्ने परम्परा रहेको उहाँले उल्लेख गरे । उनका अनुसार यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समयअगावै नडाकून् भनी कामना गर्ने गर्दछन् ।
स्थानीय गाई पाल्ने चलन हराउँदै
काठमाडौं । धवलागिरि गाउँपालिका–७ को ताकम गाउँमा स्थानीय गाई पाल्ने चलन हराउँदै गएको छ । ३५० घर रहेको धवलागिरि–७ ताकम गाउँमा अहिले दुई घरमा मात्र गाईपालन गरिएको छ । धवलागिरि–७ काफलडाँडाका नेत्रप्रसाद पुनले गाई पाल्न छोडेको १५ वर्ष भयो । ‘थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुन्छ, करिब तीन दशक गाई पालेर लेकबेँसी गरेको सम्झँदै खनजोत गर्ने मिनिटेलर हलो भित्रिएपछि गोरुको पनि महत्व घट्यो । गाई पाल्ने चलन हरायो,’ उनले भने । पूजाआजा र धार्मिक कार्यमा आवश्यकपर्ने दूध तथा गहुँतका लागि गाईका मालिकलाई पहिले नै भन्नुपर्ने स्थानीय ओमबहादुर घिमिरेले बताए । ‘हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आएको छ, गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन्,’ उनले भने । पहाडका गाउँघरमा स्थानीय जातका गाई भेट्टाउन मुस्कील पर्न थालेको छ । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाईगोरु दुर्लभ हुन थालेका छन् । उत्पादनको लागत घटाउन र आम्दानी बढाउन उन्नत जातका व्यावसायिक पशुपालन उपयुक्त मानिन थालेपछि उन्नत जात र व्यावसायिकताले स्थानीय रैथाने जातका गाई गौशाला र मन्दिरमा सीमित हुन थालेका छन् । बढी दूध दिने उन्नत र वर्णशङ्कर जातका गाई र भैँसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन हराएको धवलागिरि–७ का इन्द्रलाल पौडेलले बताए । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा हाल २० हजारको सङ्ख्यामा गाई पालिएका छन् । फरकफरक जातका गाईपालन गरिएको भन्दै सबैको अलगअलग गणना र तत्थ्याङ्क भने नरहेको केन्द्रका नायब पशु सेवा प्राविधिक गणेश रिजालले बताए । ‘मिनिटेलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको सङ्ख्या घटेको छ, सरकारले पनि बढी दूध दिने गाईभैँसीमा जोड दिएकाले वर्णशङ्कर र उन्नत जातका गाई पाल्नेको सङ्ख्या बढ्ने र स्थानीय जातका घटेको देखिन्छ,’ उनले चने । स्थानीय जातका गाईको महत्व कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अभिलेख अनुसार नेपालमा आठ प्रजातिका गाई छन् । म्याग्दीसहितका जिल्लामा पालिने गाईका जातलाई पहाडी भनिन्छ । पहाडी गाईहरु भूटान, सिक्किम र दार्जिलिङबाट नेपालमा भित्रिएका हुन् । दुई सयदेखि तीन सय किलोग्रामसम्म तौल हुने पहाडी गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ । एक वेतमा १५० देखि २ सय लिटरसम्म दूध दिन्छन् । पहाडी गाईको दूध पोषिलो र स्वास्थ्यकर मानिन्छ । याक, नाक र चौरी, लुलु, होलिस्टेन फ्रिजन, ब्रोन स्विस र शाही वाल नेपालमा पालिने गाईका अन्य जात रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । मानिस र गाईको दूधमा पाइने क्यारोटिन तत्व आँखा र मष्तिष्कका लागि महत्वपूर्ण मानिएको जिल्ला आयर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक प्रेमप्रसाद गौतमले बताए । ‘गाईको दूध सेवन गर्दा स्वास्थ्यलाई धेरै किसिमको फाइदा गर्ने र रोग लाग्नबाट बचाउने विभिन्न वैज्ञानिक अध्ययनबाट पहिचान भएको तथ्य हो, गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ,’ उनले भने । नेपालको संविधानको धारा ९ (३) मा गाईलाई राष्ट्रिय जनावरका रुपमा उल्लेख गरिएको छ । कानुनले नेपालमा गोवध गर्न प्रतिबन्ध लगाएको छ । गाईलाई समाजमा संरक्षणको दृष्टिले हेर्ने गरिएकाले पनि गाईको धार्मिक एवं सांस्कृतिक महत्व रहेको बेनी नगरपालिका–१ स्थित श्रीलक्ष्मीहरि मन्दिरका महन्थ हिमालय बाबाले बताए । ‘गाईलाई धर्म र संस्कृतिसँग मात्र जोडेर बुझ्नु हुदैन, जैविक विशेषता बोकेका वैदिक गाईको नष्ल नेपालको जैविक सम्पत्ती हो । यसलाई बचाउन राज्य र समाजले विशेष ध्यान दिनुपर्छ,’ उनले भने । स्थानीय गाईको गोबर, गहुँत खेतीबारीमा मात्र होइन औषधिय कार्यमा पनि उपयोग हुने उनले उल्लेख गरे । हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म आवश्यक जनावरका रुपमा मानिन्छ । हिन्दू धर्मावलम्बीले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षी, राजर्षीहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरु पुराणमा उल्लेख गरिएका छन् । गाईको गोबरले घर लिपपोत गरेमा विभिन्न किटाणु नष्ट गर्ने शक्ति हुने भएकाले प्रयोग गर्ने गरिएको हो ।
नेपाल संवत् ११४५ प्रारम्भमा शुभकामना र्याली (तस्बिरहरू)
नेपाल सम्वत ११४५ को अवसरमा शनिबार बेनीमा नेपाल भाषा मङ्का खःल म्याग्दीले आयोजना गरेको झाँकी सहितको र्यालीमा मौलिक पोषाकमा सजिएका नेवार समुदाय । काठमाडौं । नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना र्याली निकालिएको छ । विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्याली निकालिएको हो । राजधानीका विभिन्न स्थानमा अहिले निकालिएको ¥यालीले सहर परिक्रमा गरिरहेको छ । र्यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभुषामा खुसी साट्दै हिँडेको देखिन्छ । नेपाल सम्वत् ११४५ को अवसरमा शनिबार बेँसीसहर बजारमा नेवाः खल लमजुङद्वारा आयोजित र्यालीमा नेवार संस्कृतिसँग आधारित टाकटुके नाच्दै । नेपाल संवत्लाई हाल विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशका नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने । नेपाल संवत् ११४५ समारोह समिति वीरगञ्जले शनिबार वीरगञ्जमा न्हुँ दयाँ भिन्तुनाको अवसरमा निकालेको पदयात्रा कार्यक्रम । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले खांदबारीमा शनिबार बिहान आयोजना गरेको शान्ति पदयात्रामा धिमेबाजा बजाउँदै स्थानीय युवाक युवती । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्दगरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौंमा अझै छ । यही परम्पराअनुसार शुक्रबार बही खाता बन्द गरेका काठमाडौं उपत्यकाका नेवार समुदायले आजदेखि नयाँ बही खाता खेल्दैछन् । यसरी नेवार समुदायले नेपाल संवत्को नयाँ वर्ष मनाउँदैछन् । गत वर्षदेखि नै नेपाल संवत्लाई सरकारी कागजातमा अनिवार्य रुपमा उल्लेख गर्न थालिएको छ । नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले सदरमुकाम खांदबारीमा शनिबार बिहान आयोजना गरेको शुभकामना पदयात्रामा सहभागी । नेपाल संवत् ११४५ का अवसरमा काठमाडौँको जयवागश्वरी क्षेत्रमा आयोजित भिन्तुना पदयात्राको समुद्धाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा । नेपाल संवत् ११४५ को अवसरमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा नेवाः देय् दबु सुर्खेत आयोजना गरेको भिन्तुना पदयात्रामा धिमे बाजा बजाउँदै नेवार समुदाय। नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँ द ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय। नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँ द ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय। नेपाल संवत ११४५को अवसरमा नेवाः देय दबु गुठी समन्वय समिति व्यास नगरले शनिबार तनहुँ सदरमुकाम दमौलीमा निकालेको पदयात्रामा लाखे नाच प्रस्तुत गरिँदै । नेपाल संवत ११४५ को अवसरमा नेवाः देय दवु गुठी समन्वय समिति व्यास नगरले शनिबार तनहुँ सदरमुकाम दमौलीमा निकालेको पदयात्रामा सहभागी नेवार समुदाय । पाल संवत् ११४५ को अवसरमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा नेवाः देय् दबु सुर्खेत आयोजना गरेको पदयात्रामा मौलिक पोसाकमा सजिएका नेवार समुदाय । नेपाल संवत् ११४५ को अवसरमा बेँसीसहर नेवाः खल लमजुङद्वारा बेँसीसहर नगरपालिका–७ स्थित लमजुङ उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल ।
राष्ट्रपति पौडेलले गरे गाई पूजा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गरेका छन् । कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यमपञ्चकअन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।