जीडीपीमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.७२ प्रतिशत

काठमाडाैं । आर्थिक वर्ष २०८२/८३ मा वित्तीय तथा बिमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ६.७२ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै साे अनुमान गरेकाे हाे ।

त्यस्तै कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयले गरेको छ ।

तथ्यांक कार्यालयका अनुसार बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमाशुल्क प्रिमियम कलेक्सनमा वृद्धि तथा सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष तथा धितोपत्र कारोबार व्यवसायिक तथा मर्चेन्ट बैंकहरूको आयमा समेत वृद्धिका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ७.५५ प्रतिशत रहने संशोधित अनुमान गरिएको  थियो । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ९.९६ प्रतिशत कायम भएको थियो ।

Share News