नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्यो, ३.८५ प्रतिशत आर्थिक वृद्धिको अनुमान

अर्थतन्त्रमा विप्रेषणको हिस्सा अझै बढ्दै गएको छ ।

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै नेपालको अर्थतन्त्रको आकार र वृद्धिदरको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । 

प्रतिवेदनअनुसार नेपालको अर्थतन्त्रमा सकारात्मक सुधारका सङ्केतहरू देखिएका छन् ।

तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को उपभोक्ता मूल्यमा वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । 

योसँगै नेपालको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो ।

प्रतिवेदनले कृषि र गैरकृषि क्षेत्रको वृद्धिमा भिन्नता देखाएको छ । यो वर्ष कृषि क्षेत्रको वृद्धिदर निकै सुस्त अर्थात् १.५८ प्रतिशत मात्र रहने अनुमान छ । गैरकृषि क्षेत्रले भने ४.५४ प्रतिशतको उत्साहजनक वृद्धि हासिल गर्ने देखिएको छ ।

उद्योग र उत्पादनका क्षेत्रहरूमध्ये विद्युत, ग्यास र ऊर्जा क्षेत्रमा सबैभन्दा उच्च २०।९३ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

वित्तीय तथा बीमा क्षेत्रमा ९.१६ प्रतिशत र यातायात क्षेत्रमा ५.७९ प्रतिशतको वृद्धि हुने देखिएको छ ।

नेपाली अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा बलियो बन्दै गएको छ । कुल मूल्य अभिवृद्धिमा सेवा क्षेत्रको योगदान ६४ प्रतिशत, कृषि क्षेत्रको योगदान २४.०३ प्रतिशत र उद्योग क्षेत्रको योगदान १२ प्रतिशत रहेको छ ।

नेपालीहरूको खर्च गर्ने प्रवृत्ति अझै पनि उच्च रहेको तथ्याङ्कले देखाउँछ । कुल गार्हस्थ्य उत्पादनको ९०.२९ प्रतिशत रकम अन्तिम उपभोग खर्चमा सकिने गरेको छ । यसले गर्दा गार्हस्थ्य बचत केवल ९.७१ प्रतिशत मात्र सीमित छ । 

यद्यपि, वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणसहितको राष्ट्रिय बचत भने ४४.७७ प्रतिशत पुगेको छ ।

प्रतिवेदन अनुसार स्थिर मूल्यमा प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ३.१२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । मुद्रा विनिमय दर १ अमेरिकी डलर बराबर १४४ रुपैयाँ कायम हुँदा यसले अन्तर्राष्ट्रिय व्यापार र आयका सूचकहरूमा प्रभाव पारेको देखिन्छ ।

नेपालको अर्थतन्त्रमा विप्रेषणको हिस्सा अझै बढ्दै गएको छ । कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान ३३.०२ प्रतिशत पुग्ने अनुमान छ । अर्कोतर्फ निर्यातको तुलनामा आयात उच्च हुँदा खुद निर्यात १६ खर्ब २० अर्बले ऋणात्मक (व्यापार घाटा) रहने देखिएको छ ।

Share News