१४ जिल्लामा राहदानी वितरण सुरु, साढे २ लाखभन्दा बढी लाइसेन्स हुलाकमार्फत गन्तव्यमा

फाइल तस्बिर ।

काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लामा सुरु गरिएको छ । हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ।

त्यसैगरी, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीलगायत जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरिएको छ भने अन्य जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त भएपछि वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयहरूले राहदानी बनाउन आउने सेवाग्राहीसँग ठेगाना संकलन सुरु गरिसकेका छन्।

सवारीचालक अनुमतिपत्र वितरणतर्फ पनि उल्लेखनीय प्रगति भएको छ । २०८३ वैशाख १५ गते दिउँसो ३ बजेसम्ममा हुलाकबाट २ लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ।

मोरङ र कास्की जिल्लाबाट यातायात कार्यालयसँग समन्वय गरी लाइसेन्स घरमै पुर्याउने कार्यसमेत सुरु गरिएको छ ।

हुलाक सेवा विभागले अन्य विभिन्न क्षेत्रमा पनि काम अघि बढाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग प्रयोगशाला नमुना ढुवानी सम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको छ ।

नेपाल टेलिकमसँग सिमकार्ड घरदैलोमा पुर्याउने विषयमा प्राविधिक तयारी थालिएको छ । त्रिभुवन विश्वविद्यालयसँग प्रमाणपत्र ढुवानीका लागि दोस्रो चरणको छलफल सम्पन्न भैसकेको विभागले जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालय सँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भैसकेको छ ।

राहदानी विभागसँग प्रणाली अन्तरआवद्धताका लागि अध्ययन समिति गठन, महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणका लागि पहल लगायतका काम भैरहेको विभागले जनाएको छ ।

सरकारले गत चैत १३ गते सार्वजनिक गरेको १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभरमेन्ट कुरिअर सर्भिस’का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच समन्वय भइरहेको छ । 

Share News