विकासन्युज

यु-१९ महिला टि-२० विश्वकपमा बुधबार अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दैछ । यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौँ अर्थात् अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ । पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । हालसम्म पाँच खेल खेलेको युएईले पाँचै खेल जितेको छ । युएई १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, नेपाल आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा, थाइल्याण्ड दुई अङ्कसहित तेस्रो र कुवेत शून्य अङ्कसहित तालिकाको अन्तिममा छ । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा युएईलाई जित्नसका साथै रनरेटमा पनि पछाडि पार्नुपर्ने हुन्छ ।

प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि द्विदलीय संयन्त्र गठन

विराटनगर । प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले द्विदलीय संयन्त्र गठन गरेका छन् । संयन्त्रको मंगलबारको बैठकका निर्णय बुधबार यहाँ सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिका इन्चार्ज शेरधन राईले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न दुई दलीय संयन्त्र गठन भएको बताएका छन् । उनले सबै प्रकारका अनियमितता रोक्न तथा विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्न संयन्त्रले खबरदारी गर्नका साथै जनताका निराशालाई आशामा बदल्ने बताए । संयन्त्रले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, जनमुखी, सुशासन प्रवद्र्धन तथा प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग आगामी मङ्सिर १४ गते बृहद् छलफल गर्ने निर्णय भएको जनकारी संयन्त्रका सदस्य राईले दिए । त्यसैगरी, दुई दलीय संयन्त्रको मर्मअनुसार प्रदेशका १४ वटै जिल्लाका संयन्त्रका सदस्यहरुको संयुक्त बैठक मङ्सिर २९ गते संयन्त्रका अर्का सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयन्त्रबाट सरकारलाई काम गर्न थप ऊर्जा मिल्ने बताए । त्यसैगरी, संयन्त्रका अर्का सदस्य नेपाली कांग्रेस कोशी प्रदेशका सहयोगी हुने विश्वास व्यक्त गरे । दुई दलीय संयन्त्रमा नेकपा (एमाले)बाट पूर्वमुख्यमन्त्री राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र सो पार्टीका अध्यक्ष घनश्याम खतिवडा तथा नेपाली कांग्रेसबाट सो पार्टीका कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा रहेका छन् ।

सूर्यज्योति लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३६ अर्ब बढी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २.५१ प्रतिशत बढी नाफा गरेको हो । असोज मसान्तसम्म कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ खुद भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ रहेको छ भने ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड २१ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३७ करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ३३ करोड २७ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २२.२८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ रहेको थियो । चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ९.२० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४३.५९ रुपैयाँ रहेको भने पीई रेसियो ५४.७५ गुणा रहेको छ ।

कुलमानले किन राखे आकस्मिक पत्रकार सम्मेलन ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन राखेका छन् । डेडिकेडेट तथा ट्रंक लाइनको विद्युत बक्यौता विवाद चुलिरहेकाे बेला उनले पत्रकार सम्मेलन बाेलाएका हुन् । उनले बुधबार दिउँसाे २ बजेका लागि पत्रकार सम्मेलन बाेलाएका छन्  । उद्योगीहरूसँग विद्युत् बक्यौता रकम उठाउने विषयमा विवाद सिर्जना भएपछि उनी बक्यौता नतिर्ने उद्योगको बिजुलीकाे लाइन काट्दै आएका छन्। सरकारले भने उद्योगहरूमा बिजुलीको लाइन नकाट्न निर्देशन दिँदै आएकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोड्जे निर्णय गरेको थियो । त्यसपछि पनि लाइन नजोडेका कुलमानलाई प्राधिकरणको मंगलबार बसेको बोर्डको बैठकले उद्योगमा लाइन जोड्न पनर्देशन दिइसकेको छ । प्राधिकरण बाेर्डले मंगलबार साे निर्णय गरेकाे दाेस्राे दिनमै उनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । बोर्डको अध्यक्ष उर्जामन्त्री हुने व्यवस्था छ । उनको पत्रकार सम्मेलनको उद्देश्य भने खुलाइएकाे छैन । सकारले उनलाई हटाउने प्रयास गरिरहेको छ ।

खानेपानी आयोजनामा जर्मनीले डेढ करोड रुपैयाँ सहयोग गर्ने

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौंस्थित जर्मनीको दूतावासले एक करोड ४५ लाख रुपैयाँ रकम सहयोग गर्ने नगरप्रमख अशोक ब्याञ्जूले बताए । हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भएको भेटवार्तामा उनले खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिए । उक्त आयोजना पुनर्निर्माण गर्न तीन करोड ५१ लाख रुपैयाँ खर्च हुने उनको अनुमान छ । जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।

मेटल उद्योगमा ५ अर्ब डलर लगानी गर्ने अडानीको योजनापछि भारतीय कर्पोरेट क्षेत्रमा हंगामा

काठमाडौं । भारतको दोस्रो धनी र अडानी ग्रुपका अध्यक्ष गौतम अडानी मेटल उद्योगमा ठूलो लगानी गर्न लागेका छन् । उनले मेटल उद्योगमा ५ अर्ब अमेरिकी डलर अर्थात ४२ हजार करोड रुपैयाँ भारतीय रुपैयाँ लगानी गर्न लागेका हुन् । उनको यो कदमले टाटा, बिड़ला र वेदांता जस्ता ठूला व्यावसायिक समूहहरूमा खलबली मच्चिएको छ । अडानीको यो मेटल व्यवसायमा खनिज उत्खनन, प्रशोधन तथा तामा, फलाम, इस्पात र आल्मुनियम उत्पादनमा केन्द्रित गरिने उल्लेख छ । यसका लागि अडानी ग्रुपले आगामी ३ देखि ५ वर्षभित्र यो क्षेत्रमा ५ अर्ब अमेरिकी डलर खर्च गर्नेछ । भारतीय सञ्चार माध्यमका अनुसार कुल लगानीमध्ये २ अर्ब अमेरिकी डलर तामामा खर्च हुनेछ । अडानी ग्रुपको यो लगानीले वेदांता, आदित्य बिड़ला समूहको हिंडाल्को र टाटाजस्ता भारतीय ठूला व्यावसायिक घरानालाई ठूलो चुनौती हुने बताइएको छ । अडानी ग्रपले गत मार्चमा ५०० केटीपीए (किलोटन प्रति वर्ष) क्षमता भएको स्मेल्टरसहित आफ्नो तामा उत्पादनको उद्योग सञ्चालन गरिसकेको छ । अडानी ग्रुपले अन्य मेटलहरू आल्मुनियम र स्टिल लगायतमा लगानी बढाउने योजना बनाएको छ । यो समूहले ओडिशाको रायगढमा एउटा आल्मुनियम रिफाइनरी र एउटा कैप्टिभ पावर प्लान्ट निर्माणको अनुमति पाइसकेको छ । अब छिट्टै काम सुरु गर्ने यो समुहको तयारी छ । यसअघि अडानी ग्रुपले आफ्नो सहायक कम्पनी मुन्द्रा आल्मुनियम लिमिटेडअन्तर्गत एउटा आल्मुनियम. रिफाइनरी स्थापना गर्ने योजना पनि बनाएको छ । भारतको वेदांता ग्रुप आल्मुनियम, जस्ता र फलाम लगातय मेटल उद्योगमा परिचित नाम हो । हिंडाल्को पनि तामा र आल्मुनियममा प्रख्यात उद्योग हो । टाटा ग्रुप स्टील र जेएसडब्लू स्टील फलाम र इस्पात क्षेत्रमा अगाडि छ । यी सबै व्यावसायिक समूह अडानीको प्रवेशले त्रसित छन् । अडानीको लक्ष्य के हो ? अडानीको लक्ष्य मेटल उद्योगमा लगानी बढाउने हो । यो क्षेत्रमा यो व्यावसायिक ग्रुपले लगानी गरेको छैन । केही समयअघि मात्र यस ग्रुपले अम्बुजा सिमेन्ट्स लिमिटेड र एसीसी लिमिटेडको अधिग्रहण गरेर सिमेन्ट क्षेत्रमा प्रवेश गरेको थियो । मेटल क्षेत्रमा गरिएको नयाँ लगानी अडानीको रणनीतिक योजनाको रुपमा हेरिएको छ । यसले समूहका हरित ऊर्जा र आधारभूत पूर्वाधार परियोजनाहरूका लागि आन्तरिक खपत सुनिश्चित गर्न सहयोग पु¥याउने उल्लेख गरिएको छ । भारतीय सञ्चार माध्यमको सहयोगमा ।

सूर्यज्योति लाइफको सञ्चालकमा अग्रवाल

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् । कार्तिक २७ गते बसेको संस्था सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । ‘यस कम्पनीका संस्थापक सेयरधनी पुजा इन्टरनेशनल नेपालका प्रतिनिधी आशिष कुमार अग्रवाललाई कार्तिक २७ गते देखि लागु हुने गरी सञ्चालकमा नियुक्त गरेका छौं’, नेप्सेको सूचनामा उल्लेख गरिएको छ ।

डोनाल्ड ट्रम्पले मस्कलाई ‘ग्रेट एलन मस्क’ भन्दै दिए महत्वपूर्ण पद उपहार, सरकारी खर्च कटौतीमा सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । आफूलाई चुनावमा ठूलो सहयोग गरेका मस्कलाई उनले सो पद उपहार दिएका हुन् । उनले अब ट्रम्प नेतृत्वको सरकारलाई सरकारी खर्च कटौती र दक्षता सुधार गर्नमा सहयोग गर्नेछन् । विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ को उपमा दिएका छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् । ट्रम्प खर्च कटौतीका लागि अनावश्यक सरकारी विभाग र एजेन्सीहरुलाई बन्द गर्नुपर्ने र अप्रासंगिक नियमकानुन संशोधनको तयारीमा छन् । त्यसलाई ट्रम्पले ‘सेभ अमेरिका’ नाम दिएर अभियान चलाउने छन् । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने छन् । यस्तो छ विज्ञप्ति म यो कुरा घोषणा गर्न पाउँदा खुसी छु । ग्रेट एलन मस्क र अमेरिकी राष्ट्रप्रेमी विवेक रामास्वामी मिलेर सरकारी दक्षता विभागको नेतृत्व गर्नुहुनेछ । यी दुई अमेरिकनहरूले मेरो प्रशासनलाई सरकारी प्रशासनिक जटिलता हटाउन, अनावश्यक नियमहरू घटाउन, फजुल खर्च कटौती गर्न, र संघीय एजेन्सीहरूको पुनर्संरचना गर्न मार्गदर्शन गर्नेछन् । यो हाम्रो समयको सम्भावित ‘म्यानह्याटन प्रोजेक्ट’ बन्नेछ । रिपब्लिकन राजनीतिज्ञहरूले लामो समयदेखि डीओडीजीईका उद्देश्यहरूको सपना देख्दै आएका छन् । यस किसिमको ठूलो परिवर्तन गर्न, सरकारी दक्षता विभागले सरकारी प्रणालीबाहिरबाट सुझाव र मार्गदर्शन दिनेछ, र ह्वाइट हाउस तथा व्यवस्थापन र बजेट कार्यालयसँग मिलेर ठूला संरचनात्मक सुधारहरू ल्याउन र सरकारमा एउटा नयाँ उद्यमशील दृष्टिकोण स्थापित गर्न साझेदारी गर्नेछ । म एलन र विवेकलाई संघीय प्रशासनमा दक्षता ल्याउन र सबै अमेरिकनहरूको जीवनलाई राम्रो बनाउन सहयोग गर्ने आशा गर्छु । मुख्य रूपमा हामी वार्षिक ६.५ ट्रिलियन डलरको सरकारी खर्चमा रहेको ठूलो फजुल खर्च र भ्रष्टाचार हटाउन दृढ छौं । यी दुई जना मिलेर हाम्रो अर्थतन्त्रलाई एउटा दिहा दिनेछन् । उनीहरूको कार्यकाल ४ जुलाई २०२६ सम्म रहनेछ । एउटा सानो र दक्ष सरकार, कम प्रशासनिक जटिलता सहित, स्वतन्त्रता घोषणाको २५०औं वार्षिकोत्सवमा अमेरिकालाई उत्तम उपहार हुनेछ । मलाई विश्वास छ, उनीहरू सफल हुनेछन् ।