तोलामा २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार पनि घटेको छ । केही दिन अघिसम्म दैनिक बढेर रेकर्ड बेक्र गरेको सुनको मूल्य पछिल्लो केही दिन घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्यमा तोलामा २२ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको हो । साथै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको छ ।
‘मह जात्रा’ प्रहसनको तयारी पुरा
काठमाडौं । मह जोडीले नेपालमा करिब दश वर्षपछि ‘मह जात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिने प्रहसनका लागि रियल्सल लगायतका सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम कात्तिक २९, ३० र मंसिर १, ४, ५, ६, १२, १३, १७, १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजककाअनुसार प्रहसनमा किरण केसी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतजस्ता ख्यातिप्राप्त हास्य कलाकारहरूको पनि प्रस्तुति रहनेछ । यस प्रहसनको प्रमुख विशेषता हास्य–व्यंग्यको माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको र नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरितीहरूलाई व्यंग्य शैलीमा प्रस्तुत गर्ने यो कार्यक्रम मह जोडीको विशिष्ट र मौलिक शैलीमा हुने हास्य कलाकार किरण केसीले बताएका छन । मह जोडीले यसअघि प्रस्तुत गरेका लोकप्रिय प्रहसनहरू, जस्तै यमलोक, प्यारालाइसिस, अंशबन्डा, विज्ञापन, श्राद्ध, नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नं. ३४, दुई सय पाँच, नाता, र सपथ ग्रहणजस्ता प्रस्तुति नेपाली हास्य क्षेत्रमा अत्यन्त स्मरणीय रहेका छन् । हाल मदनकृष्ण श्रेष्ठ पार्किन्सन्स रोगबाट पीडित भए तापनि अभिनय, लेखन र गायनलाई निरन्तरता दिइरहेका छन् । उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म कलाकारीता क्षेत्रमा लागिरहने बताउदै , साथी हरिवंशलाई सधैं साथ दिने प्रतिबद्धता पनि सार्वजनिक रूपमा प्रकट गर्दै आएका छन् । दश वर्षको अन्तरालपछि फेरि मंचमा एकसाथ आउने मह जोडीले पुरानो शैलीको हास्य–व्यंग्यलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको छ । यो प्रहसनमा मनोरञ्जनसँगै सामाजिक सन्देशको समिश्रण हुनेछ, जसले दर्शकलाई हसाउँदै समाजप्रति नयाँ दृष्टिकोण राख्न प्रेरित गर्नेछ । हालैका वर्षहरूमा नेपाली समाजमा भएका विविध राजनीतिक, सामाजिक, र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण यस प्रहसनमा देख्न पाइनेछ, जसले दर्शकलाई हाँस्दै सोच्न बाध्य बनाउनेकुराको जानकारी प्रहसनका लागि रियल्सल गरिरहेका कलाकारहरुले दिए । ‘मह जात्रा’ कार्यक्रम मह संचार र सुश्री मिडियाको सहकार्यमा हुने प्रहसनको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । ‘मह जात्रा’ नेपाली हास्य–व्यंग्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।
सीआईबीसँग धनराजको निरन्तर ५ घण्टा बयान
काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ । सीआईबीले बुधबार कार्यालयमै बोलाएर उनीसँग बयान लिएको बुझिएको हो । उनीसँग सीआईबीका अनुसन्धान अधिकृतहरूले चार/पाँच घण्टासम्म बयान लिएको बुझिएको छ । सीआईबीले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरिरहेको छ । मितेरी सहकारी संस्थामा रकम अपचलन भएका विषयमा उजुरी परेपछि सीआईबीले अनुसन्धान थालेको सीआईबीको भनाइ छ । सीआईबी स्रोतका अनुसार अनुसन्धानको क्रममा गुरुङसँग पनि बयान लिइएको हो । धनराजकी पत्नी ज्योति गुरुङ पदाधिकारी रहेको मितेरी सहकारीमा सर्वसाधरणको १४ करोड रुपैयाँ अपचलन भएको संसदीय छानबिन समितिको पनि निष्कर्ष छ । सीआईबीमा परेको जाहेरीमा धनराज र पत्नी ज्योतिले १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि यो ठगीमा धनराजको पनि संलग्नता रहेको बयान दिएका छन् । धनराजले भने २०७७ मै आफूले श्रीमती ज्योतिसँग सम्बन्ध विच्छेद गरिसकेकोले त्यसमा आफ्नो संलग्नता नरहेको बयान दिएको बुझिएको छ । उनले ज्योतिको गल्तिमा आफूलाई नजोड्न आग्रह गरेको पनि बुझिएको छ । अहिले धनराजको श्रीमती ज्योति फरार छिन् । धनराजले कागजीरूपमा मात्रै ज्योतिसँग सम्बन्ध विच्छेद गरेको विषय पनि चर्चामा छ । …त्यसपछि सुरु भयो धनराजमाथिको खोजतलास सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म
नेपाल लाइफले किन्यो इर्टहरीमा पौने १६ करोडमा भवन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सुनसरीको इर्टहरीमा भवनसहितको जग्गा खरिद गरेको छ । इन्स्योरेन्स कम्पनीले इर्टहरीको उपमहानगरपालिका–६ स्थित सन्दिप गौतम, प्रतिभा खनाल र अनन्त सिंहको नाममा रहेको भवनसहितको जग्गा पौने १६ करोडमा खरिद गरेको कम्पनी सचिव प्रवीण रमण पराजुलीले जानकारी दिए । उनका अनुसार ९१.५० धुर क्षेत्रफलमा रहेको उक्त भवन १६ करोड ७९ लाख रुपैयाँमा खरिद गरेको र ७२ लाख ३२ हजार ५९४ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १६ लाख ७९ लाख ५६ हजार ८८९ सय रुपैयाँ लागत लागत लागेको हो । कम्पनीको व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि कात्तिक २८ गते उक्त जग्गा र भवन खरिद गरेको उनको भनाइ छ ।
धितोपत्र बोर्डको अध्यक्षका लागि बहिस्कार गरेका ३ जनालाई बोलायो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अध्यक्ष छनोट प्रक्रिया अघि बढाएको छ । बिहीबार बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ३ जनाको आगामी मंसिर ९ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा प्रस्तुतिकरण हुनेछ । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो । बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रोकिएको थियो ।
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
ढोरपाटन । ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो । विसं २०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिए । नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उनले बताए । सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो । हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । सात करोडको लगानीमा बन्ने बसपार्कमा दुई करोड २६ लाख रुपैयाँ खर्च भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिक रहेको भुजीखोला किनारमा तटबन्धन गरेर निर्माण थालिएको बसपार्कमा हाल टर्मिनलको आधा काम पूरा भएको छ । बसपार्कमा ३० वटा जीप, २० वटा बस र केही साना सवारीसाधन राख्न सकिने छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यथाशीघ्र विवाद निरुपण गरेर निर्माण पुनः थाल्नुपर्नेमा जोड दिए ।
उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन
बागमती । निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो । उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उपकरण मर्मतमा ढिलाइ भएका कारण योजनाअनुसार उत्पादन सुरु गर्न नसकिएको बताए । ‘उद्योगको क्लिनिकलरलगायत उपकरणको मर्मतकार्य अझै भइरहेकै छ । हामीले तिहारसम्ममा मर्मत सकिन्छ र लगत्तै पुनः उत्पादन सुरु हुने अनुमान गरेका थियौँ । तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन हुन अझै करिब १५ दिन लाग्न सक्छ’, उनले भने । उद्योगबाट यही असोज १५ गतेदेखि उत्पादन बन्द गरिएको थियो । उपकरण मर्मतका लागि भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले यससम्बन्धी काममा थप समय लागेको जानकारी दिँदै अध्यक्ष भण्डारीले तीव्र रूपमा मर्मतसम्भार भइरहेकाले छिट्टै सकिने र त्यसलगत्तै उत्पादन सुरु गरिने बताए । ‘हामीसँग कच्चा पदार्थको कुनै अभाव छैन । उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ । थप कोइला खरिद प्रक्रिया अघि बढिसकेको छ, त्यसैले कोइलाको समस्या छैन’, उनको भनाइ थियो । आर्थिक अभावका कारण यसअघि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको उक्त उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना गरिएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । रासस
कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले हस्ताक्षर गरेका थिए । बुधबार आयोजित हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागका प्रमुख प्रबन्धक मन्दिरा थपलियालगायत पदाधिकारी र जीवन विकासका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै वित्तीय संस्थाले लघु व्यवसायका सदस्यहरूलाई बिनाधितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति दश लाख रुपैयाँसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति बीस लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्ने जनाइएको छ । विभिन्न कारणले कर्जा असूल हुन नसकेमा संस्थाले कोषसमक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी दिने उल्लेख छ । ‘यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक शुन्य दशमलव आठ प्रतिशत रहेको र जसमध्ये ५० प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरूप कोषमा प्राप्त हुनेछ । यस प्रकार बुझाउने सुरक्षण शुल्क बाँकी कर्जामा गणना गर्ने व्यवस्था कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छ’, सम्झौताबारे निक्षेप तथा कर्जा सुरक्षण कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।