विकासन्युज

प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा बंगलादेशी नागरिक पक्राउ

झापा । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बंगलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताए । उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो, पूर्ण कार्य गर्ने अनुमति दुई कम्पनीलाई मात्र

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् । धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ । यस्तै धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन् । नेप्सेका अनुसार हालसम्म दर्ता भएकामध्ये दुई कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा अनुमति पाएका छन् भने बाँकी ८८ वटाले सीमित कार्य गर्न अनुमति पाएका छन् । पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालन सेक्युरिटिज लिमिटेड रहेका छन् ।

पेट्रोल भएनभएको थाहा पाउन ४ किलोमिटर गहिराइसम्म ‘ड्रिलिङ’, ७९ प्रतिशत काम सकियो

दैलेख । जिल्लाको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए । चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् । यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन् । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्वेले भौगर्भिक अध्ययन सम्पन्न गरेपछि चीनकै सीएनपीसी सीबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले दुई देशबीचको सम्झौता अनुसार सो ड्रिलिङ अघि बढाएको हो । दैलेखसहित नेपालको तराई र सिवालिक क्षेत्रमा १० वटा सम्भावित पेट्रोलियम उत्खनन गर्न सकिने ब्लक निर्धारण गरिएको छ जसको क्षेत्रफल प्रतिब्लक करिब ५ हजार वर्ग किलोमिटर रहेको विवरण आएका छन् । अध्ययनहरूले पेट्रोलियम हुनसक्ने ठाउँ ३ देखि ४ किलोमिटर भित्र हुन सक्ने देखाएका छन्। ड्रिलिङ गर्ने क्रममा त्योभन्दा केही तल वा माथि पनि त्यो फेला पर्न सक्ने अध्ययनबाट देखिएकाे छ । अहिलेको अन्तिम चरणको अन्वेषणमा ४ किलोमिटर ड्रिलिङ गर्ने लक्ष्य राखिएको छ। दैलेखमा देखिएका पेट्रोलियम पदार्थका अवशेषहरूको सन् १९६० को दशकमा प्रारम्भिक विश्लेषण गरिएको थियो भने विस्तृत जिओकेमिकल अध्ययन सन् १९९३ मा गरिएको थियो।  

उपनिर्वाचन : कनकाई-६ मा उम्मेदवार चयन

झापा । आगामी मङ्सिर १६ गते कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सरगार्मी उक्त वडामा ह्वात्तै बढेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ । क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् । उपनिर्वाचनका लागि चम्पापुर माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ भने मतदानस्थलमा चम्पापुर (क) र चम्पापुर (ख) गरी दुई मतदान केन्द्र रहेका छन् । विसंं २०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्षमा नेकपा एमालेले उपाध्यक्ष तुलाराम बस्नेतलाई उम्मेदवार घोषणा गरेको छभने नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओलीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ । यसैगरी,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गणेश थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका छन् ।

मकवानपुरमा एक अर्ब ६९ लाख बढीको क्षति

बागमती । हालैको बाढीपहिरोले मकवानपुरमा एक अर्ब रुपैयाँभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा एक अर्ब ६९ लाख ३५ हजार सात सय ३५ रुपैइाँ बराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए । जिल्लाका १० पालिकाका एक सय ३४ घर पूर्ण रुपमा र एक सय ८३ घर आंशिक रुपमा क्षति भएका उनले बताए । पाँच पालिकाका १६ वटा झोलुङ्गे पुल र ५१ वटा सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत्लगायत ५८ वटा पूर्वाधारमा क्षति भएको उनले बताए । बाढीपहिरोमा परी जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा छ, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढीमा एक र बागमती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो । थाहा नगरपालिकामा दुई जना, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैयाँ गाउँपालिका र बागमती गाउँपालिकामा एक–एक जना गरी छ जना घाइते भएका थिए ।

२४.५१ करोड रुपैयाँ नोक्सानीमा ओरिएण्टल इन्स्योरेन्स, यस्ता छन् अन्य सूचक

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा २४ करोड ५१ लख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्म कम्पनीले १९ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.०२ प्रतिशत बढेको हो । ं असोजसम्म कम्पनीले ५३ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी १८२.१२ प्रतिशत बढेको हो । यसअवधिमा कम्पनीले ३० करोड २८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ६२ करोड १३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने २५ करोड १६ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको विशेष कोषमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ, अन्य इक्विटीमा ८० करोड ६१ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा ३७ करोड ५८ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनीले ३७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४५.९३ प्रतिशत बढी हो ।

सोनापुर मिनरल्सको नोक्सानी घट्यो, यी कारणले कम्पनी घाटामा गयो

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा खुद नोक्सानी घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । विगत लामो समयदेखि तयारी वस्तुहरूको बजार मूल्यमा निरन्तर गिरावट, इन्धनको मुल्यमा भएको अत्याधिक वृद्धिको निरन्तरता, चर्को बैक ब्याजदर, भौतिक विकास निर्माणमा बजेट खर्च कम हुनु, बजारमा प्रतिषपर्धा तथा विद्यमान आर्थिक मन्दिको कारण घरेलू खपत न्युन लगायत कारणले त्पादन लागत बढ्न गएको कम्पनीले जनाएको छ । तर, त्यसको तुलनामा उत्पादनले उचित बजार मुल्य पाउन नसकीरहेको कम्पनीले बताएको छ । यी सबै चुनौतिको सामना गर्न कम्पनीले हाल कायम ग्राहकको संरक्षण गर्दै सम्भावित ग्राहक तथा ग्राहक क्षेत्रको पहिचान गरी त्यस क्षेत्रमा आफनो बजार बिस्तार गर्ने नीति लिएको छ । कम्पनीको सञ्चालन आम्दानी ७९.०८ प्रतिशत घटेर ३४ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोजसम्म कम्पनीको कुल नाफा ६९.९१ प्रतिशत घटेर २ करोड ६२ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा ८ करोड ७२ ला रुपैयाँ कुल नाफा गरेको थियो । गत वर्षको पहिलो तीन महिनामा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्मा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको वित्तीय खर्च ७ करोड ७४ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको सोही अवधिमा कम्पनीको वित्तीय खर्च २५ करोड ९५ लाख रुपैयाँ ऋणात्मक थियो । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ र जगेडा कोष ४.४१ प््रतिशत घटेर १ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.१३ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६०.४५ रुपैयाँ रहेको छ ।

शिवम् सिमेन्ट्सको नाफा १.२७ करोड रुपैयाँ धनात्मक, २२.८५ प्रतिशत घट्यो खर्च

काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १ करोड २७ लाख ९९ हजार रुपैयाँ खुद नाफा गरेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख २० हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । यस अवधिमा कम्पनीको आम्दानी घटेको भएपनि खर्च कटौति गरेका कारण नाफा धनात्मक हुन पुगेको हो । यस अवधिमा कम्पनीले खर्च घटाएको छ । कम्पनीको कुल खर्च २२.८५ प्रतिशत घटेर १८ करोड ९३ लाख रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीले २४ करोड ५४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । कम्पनीका अनुसार आर्थिक मन्दीको असर कायमै रहेको, विश्व बजारमा कोईला, डिजेल लगायतका सामानहरुको मूल्य वृद्धिको प्रभाव परेको छ । साथै, पहिलो त्रैमासको अधिकांश अवधि वर्षायाम रहेको र बाढी पहिरोका कारण सडक यातायात नियमित रुपमा संचालनमा प्रभाव परेको र निर्माणका कार्यमा समेत वर्षाको प्रभावले कमी आएको कम्पनीले बताएको छ । तीन महिनामा कम्पनीको सञ्चालन आम्दानी १३.५९ प्रतिशत घटेर १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीले १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोज मसान्तसम्म कम्पनीको कुल नाफा ३९.२१ प्रतिशत घटेर १० करोड ३६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ५ लाख रुपैयाँ कुल नाफा गरेको थियो । कम्पनीको अन्य आम्दानी भने ३९७.६४ प्रतिशत बढेर १० करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १४.२५ प्रतिशत बढेर ५ अर्ब २ करोड ७० लाख रुपैयाँ, जगेडा कोष १ प्रतिशत घटेर ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ रहेको छ ।