नेपाली यू-१९ महिला क्रिकेट टोली स्वदेश फर्कदैँ
काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको हो । यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी गराए । उनले टोलीलाई विमानस्थलमा स्वागतका लागि तयारी भइरहेको समेत बताए । युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ । एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।
पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
काठमाडौं । लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वास जन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ । लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ । मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार छ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा दुई हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य सङ्क्रमणबाट ग्रसित भएको भेटिएका छन् । पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदुषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामीहरू अत्यधिक रूपमा अस्पतालमा उपचारका लागि पुगेका छन् । उनीहरुले प्रदुषण र धुवाँले निमोनिया, छातीको सङ्क्रमण र छालाका रोगहरूसहित विभिन्न भाइरल रोगहरूमा वृद्धि गरेको जनाएका छन् । पाकिस्तानका विभिन्न भागहरूमा धुलो तथा धुवाँको प्रदुषण बढेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी यातायातका साधनलाई अतिआवश्यक कामका लागि बाहेक पालो मिलाएर सेवा दिन निर्देशन गरेको छ भने विद्यालय र कलेजहरू बन्द गरिएका छन् । पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धुवाँलाई नासाको ‘मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोरेडियो मिटर’ ले पनि रिपोर्ट गरेको छ । सन् २०२४ को ‘नोभेम्बरको सुरुमा उत्तरी पाकिस्तानी आकाश धुवाँले ढाँकिदा हावाको गुणस्तर घटेकाले विद्यालयहरू बन्द भएको र सयौँ मानिसहरू अस्पतालमा पठाइएको नासा मोडिसले जनाएको छ । नासाले देशमा एक्यूआईको घट्दो स्तरलाई पनि ध्यानमा राख्दै पाकिस्तानको पञ्जाब क्षेत्रका केही भागहरूमा वायु गुणस्तर सूचकाङ्क नोभेम्बर १० मा एक हजार ९०० भन्दा माथि पुगेको जनाएको छ । पाकिस्तानी मिडिया स्रोतका अनुसार पाकिस्तानको पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले प्रदुषण ‘प्रकोप’ घोषणा गरी आपतकालीन उपायहरू सुरु गरेको घोषणा गरेको थियो । प्रदूषणबारे जानकारी दिँदै मोडिसले धुवाँको सतह बाक्लो भएकाले पाकिस्तानको परिदृश्यलाई पूर्ण रूपमा अस्पष्ट पारेको बताएको छ । पछिल्लो समयमा विश्वको सबैभन्दा बढी प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको लाहोर सहर परेको छ । रासस
मुस्ताङमा स्याउको बढ्दो माग, पुर्याउनै मुस्किल
गण्डकी । मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपत हुने गरेको छ । पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रुपमा स्याउ बिक्रीसमेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गरिरहेका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पाले बताए । पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । ‘उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन,’ शेर्पाले भने, ‘यहाँ उत्पादन भएको स्याउ थोक मूल्यमा ठेकेदारले नै खरिद गरेर लैजाने गरेका छन् ।’ विगतमा परम्परागत रुपमा स्याउखेती गरिँदै आएकामा पछिल्लो समय नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमका कारण उत्पादन बढेको किसान बताउँछन् । ‘नर्सरीमा नेदरल्याण्ड्सबाट ल्याएको हाइडेन्सिटी प्रजातिको स्याउका बिरुवा उत्पादन गरेका छौँ,’ शेर्पाले भने, ‘उत्पादित बिरुवा उपल्लो डोल्पा, रुकुम, रोल्पालगायतका स्थानसम्म पुगेको छ ।’ बर्सेनि १८ हजारसम्म स्याउका बिरुवा बिक्रीवितरण गरिरहेको उनले जानकारी दिए । मुस्ताङको मुख्य फलफूल खेतीका रूपमा रहेको स्याउको व्यावसायिक खेती २०२२ पछि मात्र सुरु भएको पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालय, फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर मुस्ताङमा वितरण गरेको थियो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा प्रत्येक घरमा स्याउका तीन-तीन बिरुवा वितरण गरिएको थियो । त्यसयता स्याउको व्यावसायिक खेतीले बर्सेनि गति लिएको छ । स्थानीयवासीले स्याउको व्यापारसँगै यसबाट मदिरासमेत बनाउन थालेका छन् । मुस्ताङमा पछिल्ला वर्षमा स्याउ खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिए । उनका अनुसार मुस्ताङमा कूल आठ सय ९० हेक्टर क्षेत्रफलमा स्याउको खेती भइरहेकामा ६ सय १६ हेक्टरमा स्याउको उत्पादन भइरहेको छ । जिल्लामा गत वर्ष ९१ करोड ८६ लाख रुपैयाँको स्याउ बिक्री भएकामा त्यसको ९० प्रतिशत जिल्ला बाहिर बिक्री भएको थियो । जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसयस, रिचा रेड डेलिसियस, फुजी जस्ता स्थानीय जातका स्याउका साथै उन्नत जातका माला मेमा, रेड डेलिसियस किङरोट, फुजी के कु फुब्रिक्स, गोल्डेन मेमा डेलिसियस स्याउको खेती गरिएको छ । पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको प्रमुख राजेश गुरुङले जानकारी दिए । ‘पछिल्लो समय किसान उच्च घनत्व प्रविधिमा स्याउ लगाउन आकर्षित बनेका छन्,’ उनले भने । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, शीतोष्ण बागबानी विकास केन्द्रमार्फत तथा स्थानीय तहको समन्वयमा यसमा लाग्ने रोगकिरा व्यवस्थापनलाई प्राथमिकता दिएपछि स्याउको उत्पादन बढ्दै गएको प्रमुख गुरुङको भनाइ छ । केही वर्षयता तापक्रम बढ्दा पनि मुस्ताङका उपल्ला भूभागमा स्याउ खेती बढ्दै गएको स्थानीयवासी बताउँछन् । मुस्ताङका टुकुचे, मार्फा, जोमसोम, ठिनी, खिङ्गा, छुसाङ, कागबेनीलगायतका स्थानमा स्याउको व्यावसायिक खेती भइरहेको छ । विशेषतः मुस्ताङमा स्थानीय प्रजातिभन्दा पर्याप्त उत्पादन हुने प्रजातिका स्याउ लगाउन थालिएको ठिनीका निरज थकालीले बताए । स्याउको उत्पादन बढेपछि उवा, फापरलगायत रैथाने बाली लगाउन छाडिएको छ । ‘स्याउको उत्पादन बढ्दै जान थालेपछि रैथाने बाली लगाउने ठाउँमा किसानले स्याउ लागाउन थालेका छन्,’ थकालीले भने, ‘हिमाली क्षेत्रमा खेतीयोग्य जमिन कम हुने भएकाले थोरै जमिनमा कुन खेती गर्दा अधिकतम फाइदा हुन्छ त्यसतर्फ किसान लाग्ने गरेका छन् ।’ बगैँचाबाट स्याउ प्रतिकिलो रु एक सय ५० मा बिक्री भइरहेको थकालीले जानकारी दिए । ‘बजारमा यहाँको स्याउको माग बढ्दो छ । तर मागअनुसार उत्पादन हुनसकेको छैन,’ उनले भने, ‘यस वर्ष उत्पादन सकिएको छ, तर माग उत्तिकै छ ।’ स्थानीय जातको स्याउले लगाएको सात र आठ वर्षमा मात्र फल दिने गर्दछ भने हाइडेन्सिटी प्रविधिबाट लगाइएको बिरुवाले दुई/तीन वर्षपछि नै फल दिने गरेका कारण यसतर्फ किसानको आकर्षण बढेको हो । सामान्यतः स्याउ चैत र वैशाखमा फुल्ने, जेठमा फल लाग्ने गर्दछ भने भदौको दोस्रो सातापछि पाक्ने र बजारमा जाने क्रम सुरु हुन्छ । रासस
निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेन : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधीलाई अझै पत्ता लगाउन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गुनासो गरेका हुन् । उनले जलनपीडितहरुको समस्या पनि विकराल रहेको बताए । प्रविधिको विकाससँगै घरेलु र महिला हिंसाका घटना अहिले सतहमा देखिरहेको बताए । नेपाल महिला अधिकारको सम्बन्धमा समावेशी रहेको भएपनि महशुस हुने किसिमले व्यवस्थापन गर्न नसकेको जानकारी दिए । उनले इमर्जेन्सी सेवा सबैलाई निःशुल्क हुनुपर्ने भएपनि टिकट काटेर आएमात्रै बिरामी भर्ना गर्ने नत्र फर्काइदिने संस्कृति राम्रो नभएको बताए । पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने ? भन्दै प्रश्न गरे । ‘उपचारात्मक पक्षबाट भन्दा हामीले यसमा सैद्धान्तिक पाटोमा केही काम गरेका छौँ । सबैकुरा भइसकेको छ तर भएको महशुस हुन किन सकेको छैन । कहाँनेर समस्या छ । भएको महशुस हुन यस कारणले सकेन कि, निर्मला पन्तको हत्यारा, बलात्कारी को हो, आजसम्म पत्तै लागेन’, उनले भने । मन्त्री पौडेलले सबैले व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताए ।
बजार दोहोरो अंकले बढ्यो, १० अर्ब बढीको कारोबार
काठमाडाैं । साताको अन्तिम दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । बजार परिसूचक १३.९५ अंकले बढ्दा २ हजार ७ सय ४८.७८ विन्दुमा उक्लिएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेचबाट १० अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । जानकीको ३५ करोड २४ लाख रुपैयाँ बढीको सेयर कारोबार हुँदा न्यादी ग्रुपको ३२ करोड ६ लाख, समृद्धि फाइनान्सको २७ करोड ५८ लाख, नेपाल फाइनान्सको २१ करोड ६३ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज १५९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन ३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज गुरास लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्कट लागेको छ । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
गरिमा विकास बैंक र फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सम्झौता
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । कात्तिक २८ गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालको तर्फबाट अध्यक्ष रेशम प्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्नका लागि सहजीकरण गर्नेछ । सो संघमा आबद्ध उद्यमीहरुले गरिमा विकास बैंक लिमिटेडबाट विकास बैंकले केही समयअधि सार्वजनिक गरेको आर्कषक व्याजदर योजना अन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, सेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरु समेत प्राप्त गर्ने बैंकले जनाएको छ । सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्नेछ ।
हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्कासन गर्ने, विद्युत् नियमन आयोगसँग माग्यो स्वीकृति
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कात्तिक २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद प्रस्ताव गरेको नेप्से मार्फत जनाएको छ । हाल कायम चुक्तापुँजी १ अर्ब ६ करोडको ५० प्रतिशतले आउने ५३ लाख २७ हाजर ८५ कित्ता सेयर हकप्रद मार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । हकप्रद बिक्री तथा वितरण पश्चात हिमालयन पावरको चुक्तापुँजी १ अर्ब ५९ लाख पुग्नेछ । कम्पनीकाअनुसार सञ्चालक समितिले स्वीकृत गरेको हकप्रद प्रस्ताव नियमन विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति हुन बाँकी रहेको छ । आयोग र बोर्डले स्वीकृति दिए पश्चात तोकिएको मितिसम्म कायम सेयरधनीले हकप्रदको लागि आबेदन दिन पाउनेछन् ।
बिहीबारबाट नागढुङ्गा सडक एक साताका लागि बन्द हुने
काठमाडौं । नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ । उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ ।