विकासन्युज

४० लघुवित्तमा राष्ट्र बैंकको निरीक्षण, ३ लघुवित्तमा विशेष, २ लाई हर्जाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्ष विभिन्न २ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही स्वरूपमा जरिवाना तिराएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा न्यूनतम अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २ वटा लघुवित्त संस्थालाई कारबाही स्वरूप हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ । तर, कुन संस्था हुन भनेर नाम भने खुलाइएको छैन । गत वर्ष राष्ट्र बैंकले ४० वटा लघुवित्तको स्थलगत निरीक्षण गरेको थियो भने ३ वटा लघुवित्तको विशेष स्थलगत निरीक्षण गरेको थियो । यस्तै, राष्ट्र बैंकबाट पुनरकर्जा, व्यवसायिक कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिता अध्ययन गर्न नियुक्त भएको परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा २ वटा लघुवित्तलाई कारबाही तथा निर्देशन दिइएको छ । यस्तै, निर्देशन विपरित कार्य गरेबापत ७ वटा लघुवित्तलाई कारवाही तथा निर्देशन दिइएको छ । साथै, २७ वटा संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ । गत असारसम्म लघुवित्त संस्थाहरूको कुल सम्पत्ति÷दायित्व ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, यी संस्थाहरूको कुल निक्षेप र सापटी क्रमशः १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ र २ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा र लगानी क्रमशः ४ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँ र १० अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

तस्करी बढ्ने देखिएपछि सुनचाँदीको भन्सार दर घटाइयो

काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्न सक्ने आशंकासहित भन्सार दर घटाइएको हो । सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको हो । आइतबारदेखि नै नयाँ दर कार्यान्वयनमा आएको भन्सार विभागले जानकारी दिएको छ । भारतबाट सुन तस्करी भएर नेपालमा आउन नदिन भन्सार दर घटाउने निर्णय भएको विभागले जनाएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० प्रतिशत पु¥याएको थियो ।

नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै, छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या

काठमाडौं । पाल्पाका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् । व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताए । दसौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा आयोजित कार्यक्रममा सहभागीले व्यवसाय सञ्चालनको क्रममा नाम तथा उद्देश्य सच्याउनुपर्ने अवस्थामा नाम परिवर्तन गर्दा दर्ताभन्दा बढी शुल्क बुझाउनुपर्ने अवस्था रहेका बताएका थिए । यस्तो विद्यमान अवस्थालाई परिवर्तनको आवश्यक उनीहरुको सुझाव थियो । कार्यक्रममा राज्यको कर नीति र अनुगमनको नीति परिवर्तन गर्नुपर्ने रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताए । उनले सङ्घले उद्योगी र व्यवसायीलाई परेको विभिन्न समस्या समाधानका लागि सङ्घले सहजिकरण गर्दै आइरहेको बताए । घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र रामपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्योग व्यवसायलाई प्रवद्र्धनका लागि प्रदेश सरकारले औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन ल्याएको जानकारी दिए । ‘ऐन प्रमाणित भएर कार्यान्वयनको चरणमा रहेको छ, नाम परिवर्तनको क्रममा देखिएको समस्या समाधानको लागि पहल गरिनेछ, हामीले व्यवसायी तथा उद्योगीको हितका लागि सहज हुने गरी कार्य गर्ने प्रयत्न गरेका छौँ,’ उनले भने । पाल्पामा हाल ३ हजार ७५६ उद्योग र ४ हजार २८५ वाणिज्य फर्म सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्यामकुमार पौडेलले जानकारी दिए । पछिल्लो समय जिल्लामा उद्योग दर्ताभन्दा धेरै खारेज गर्नेको सङ्ख्या बढेको उनले बताए । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीय तहमा स्थानान्तरण हुने गरेपछि कार्यालयमा नयाँ दर्ता गर्ने व्यवसायी तथा उद्योगी कम हुँदै गएका हुन् । सङ्ख्यागत रुपमा जिल्लामा उद्योगी तथा व्यवसायी बढेका छन् भने घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने सङ्ख्या भने कम देखिएको छ ।

एशयिन लाइफले ३ रोपनी घर र जग्गा खरिद गर्दै

काठमाडौं । एशयिन लाइफ इन्स्योरेन्सले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले काठमाडौं तथा ललितपुरमा २ देखि ३ रोपनी जग्गा खरिद गर्न लागेको हो । कम्पनीकाअनुसार काठमाडौं वा ललितपुर महानगरपालिका रिङ्गरोडभित्र वा जोडिएका स्थानमा .घर तथा जग्गा आवश्यक परेको छ । उक्त स्थानमा घर तथा जग्गा बिक्री गर्न इच्छुकले ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ । प्रस्तावित जग्गामा कम्तिमा २० फिटको सडक हुनुपर्नेछ ।

मुक्तिनाथ क्यापिटलले मंसिर २० गतेदेखि म्युचुअल फण्ड बिक्री गर्ने

काठमाडौं । मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड–१ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंक, २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि बिक्री खुला गर्नेछ । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले मंसिर २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

वायु प्रदूषण बढ्यो, प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले त्यस्तो प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको हो । विभागका अनुसार, वायु प्रदूषणको मुख्य कारणको रुपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुवाँ, वन डढेलो, खुला रुपमा फोहर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो आदि हुन् । वायु गुणस्तर सूचकाङ्क शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि एक सय ५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । एक सय ५१ देखि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सयसम्म निकै अस्वस्थ तथा तीन सय एकभन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गरिन्छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । विभागले ठोस तथा प्लास्टिकजन्य फोहर तथा कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ । विभागले देशभरका स्टेशनहरुमार्फत वायु प्रदूषण मापन गर्दै आएको छ ।

यूरोसहित अधिकांश मुद्राको मूल्यमा गिरावट, कुन देशको कति छ ?

काठमाडौं । पछिल्लो समय यूरोसहित अधिकांश देशको मुद्राको भाउ घटेको छ । अमेरिकी डलरको मूल्य स्थिर रहेपनि यूरो, स्वीस फ्रयाङ्क लगायतको मूल्य घटेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४०.४६ रुपैयाँ र बिक्रीदर १४१.०८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८.९६ रुपैयाँ र बिक्रीदर १६९.७२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५०.८३ रुपैयाँ र बिक्रीदर १५१.५० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.६५ रुपैयाँ र बिक्रीदर ८८.०४ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.४३ रुपैयाँ र बिक्रीदर ९६.८६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.०३ रुपैयाँ र बिक्रीदर १००.५७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९३ रुपैयाँ र बिक्रीदर ३६.०९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९१ रुपैयाँ र बिक्रीदर ३.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१८ रुपैयाँ र बिक्रीदर ३०.३१ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२१ रुपैयाँ र बिक्रीदर १२.२७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३२ रुपैयाँ र बिक्रीदर १७.४० रुपैयाँ तोकेको छ यस्तै, कुवेती दिनार एकको खरिददर ४३७.८७ रुपैयाँ र बिक्रीदर ४३९.८२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.६१ रुपैयाँ र बिक्रीदर ३५९.२० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.१८ रुपैयाँ र बिक्रीदर ३५१.७४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो । आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत बैठकले आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आह्वान गरेको छ । उपनिर्वाचनको लागि मतदाता परिचयपत्रका अलावा अन्य सरकारी कागजातका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । ‘आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन,’ आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा उल्लेख छ । यही मङ्सिर १६ गते आइतबार विहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा गई मतदानमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न आयोगले मतदातालाई आह्वान गरेको छ ।