सेवाग्राही मर्कामा परेसँगै भाडाका सटर खाली गर्न निर्देशन
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा सेवाग्राही मर्कामा परेसँगै भाडाका सटर खाली गराउन सार्वजनिक सूचना जारी गरिएको छ । कार्यालयले सार्वजनिक सूचना गरेर कार्यालय प्राङगणमा रहेका पाँच भाडाका सटर खाली गराउन ३५ दिने सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप र नागरिकलाई निर्वाध सरलीकृत सेवा वितरण गर्नका लागि भाडाका सटर खाली गराउन लागेको जानकारी दिए । ‘कार्यालयमा अत्यधिक सेवाग्राहीको चापको कारणले कार्यालयका लागि कोठाको अभाव कायमै रह्यो’, उनले भने, ‘कार्यालय प्राङ्गणभित्रै राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका निःशुल्क फर्म भर्नका लागि ठाउँ चाहिएकाले पनि सटर खाली गर्न लागेका हौँ ।’ जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रले कार्यालयको प्रवेशद्वारमा नै पाँच सटर भाडामा लगाएको थियो । कार्यालयको प्राङ्गणमा अर्जेन्ट साइबर, न्यू क्वालिटी प्रिन्टर्स एण्ड नाइनल स्टाम्प र तीन सटर फोटो फेस डिजिटल स्टुडियोले भाडामा लिँदै आइरहेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रजिअको जिम्मेवारी सम्हालेसँगै कार्यालय परिसरमा रहेका बिचौलियाको अन्त्य गर्दै कार्यालय परिसरभित्रै निःशुल्क रुपमा राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका अनलाइन फारम भर्ने व्यवस्था मिलाउने बताएका छन् ।
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय भएको हो । मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए । अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ । मन्त्री पौडेल स्वयंले समेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन् । देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् । विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ । हाल भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि दुई सय मृगौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अंग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन् । हाल सचेतना अभावमा दान गर्न चाहनेको संख्या न्यून छ । मृत्युपश्चात हुने दान बढाउन सकिए धेरैको ज्यान जोगाउन सकिने शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठ बताउँछन् । हाल एक हजार बढी मृगौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतिक्षामा छन् । र, उनीहरुले मृत्युपश्चात हुने दानमा अधिक निर्भर गर्नु परिरहेको छ । हाल नेपालमा मृगौला र कलेजो मात्र प्रत्यारोपण गर्ने गरिए पनि अब २ फोक्सो र मुटुका लागि समेत प्रत्यारोपण गर्ने गरी क्षमता विकास गर्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको छ । मन्त्रालयमा आइतबार भएको ‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समिति’को बैठकले उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका गर्न विभिन्न निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । विसं २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त समिति गठन गरेको थियो । उपप्रधानमन्त्री सिंहले भने, ‘फोहर व्यवस्थापनमा सबैले आवश्यक मापदण्ड पालना गर्नुपर्छ । फोहर वर्गीकरण, पुनःप्रयोगलगायत विषयमा सबैले ध्यान दिन जरुरी छ । यसमा मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय रहन्छ ।’ उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका माग सम्बोधन गर्न विकल्पका बारेमा छलफल गरी अघि बढ्न सकिने उल्लेख गरे । यसमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । आज भएको छलफलबारे जानकारी दिँदै मन्त्रालयका सचिव मणिराम गेलालले उपत्यकाको फोहर व्यवस्थापनको नेतृत्व काठमाडौं महानगरपालिकाले लिने जनाउँदै स्थानीयको जायज माग व्यवस्थापनका लागि विभिन्न सुझाव आएको बताए । फोहर ओसार्न वैकल्पिक बाटो निर्माण, ल्याण्डफिल साइटको जग्गा अधिग्रहणका बारेमा स्पष्टता, कुहिने फोहर उपत्यकामा विसर्जन गरी मल बनाउनेलगायत विषयमा आज निर्णय भएको उनले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भरतमणि सुवेदी, ललितपुर महानगरपालिका प्रमुख एवं उपत्यका मेयरर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जन, विभिन्न नगरपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतलगायत उपस्थित रहेको थियो ।
कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सूर्य नेपाल गल्फ : सेन्ट्रल ओपन सोमबारदेखि सुरु, ३३ जना व्यावसायिक गल्फरले भाग लिने
काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गत सेन्ट्रल ओपन टुर्नामेन्ट सोमबारदेखि सुरु हुने भएको छ । गोकर्ण गल्फ क्लबमा प्रतियोगिता हुन लागेको हो । आयोजकका अनुसार नयाँ सिजनमा आठवटा प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ३३ जना व्यावसायिक गल्फरको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । डिफेन्डिङ च्याम्पियन सद्भव आचार्यसँगै भुवन नागरकोटी, निरज तामाङ, धन थापा, सञ्जय लामा, रवि खड्का, तोरण शाही र कुमार कामीजस्ता अनुभवी खेलाडीहरू यस प्रतियोगिताको मुख्य दावेदार हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार सेन्ट्रल ओपन ७२ होलमा खेलाइनेछ । प्रतियोगिताको च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, उपविजेताले १ लाख तथा तृतीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । गल्फ टुरका अन्य प्रतियोगितामा काठमाडौं ओपन, इस्टर्न ओपन, वेस्टर्न ओपन, सूर्य नेपाल च्यालेन्ज, एनपीजीए टुर च्याम्पियनसीप म्याच प्ले र प्रिमियर गल्फ च्याम्पियनसीप छन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले सूर्य नेपाल गल्फ टुर आफ्नो १८औं वर्षमा प्रवेश गरेकाे बताउँदै नेपालमा गल्फका लागि उत्कृष्ट मञ्च प्रदान गरेकाे जानकारी दिए । सूर्य नेपाल गल्फ टुर २०२४-२५ ले नेपालको गल्फ कोर्सहरूमा उच्च स्तरको प्रतिस्पर्धा प्रस्तुत गर्ने आयोजकको विश्वास छ ।
म्याग्दीमा करिब तीन हजार उद्योग सञ्चालनमा, ३०० जनालाई रोजगारी
म्याग्दी । यस जिल्लामा करिब तीन हजार उद्योग सञ्चालनमा रहेका पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । दशौँ उद्योग दिवस–२०८१ का अवसरमा आज पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख पोषानाथ शर्माले तीन हजार तीन सय ८४ उद्योग दर्ता भएकामा दुई हजार नौ सय १९ वटा सञ्चालनमा रहेका जानकारी गराए । ‘पछिल्लो केही वर्षयता उद्योग ब्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ’, उनले भने, ‘वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज भएका हुन् ।’ आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ वटा खारेज भएका थिए । कार्यालयका अनुसार २०८०/८१ मा ३१ वटा उद्योग र ५३ वटा व्यावसायिक फर्म खारेज भएका हुन् । आर्थिक वर्ष २०७९/८० मा १४ वटा उद्योग र २९ वटा व्यावसायिक फर्म खारेज भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा सात सय ६२, २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । गत वर्ष तीन सय २२ उद्योग र तीन सय ९४ व्यावसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगमा तीन सय जनालाई रोजगारी सिर्जना भएको कार्यालय प्रमुख शर्माले बताए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायी विदेश पलायन हुने र अन्य पेसा रोज्नेक्रम बढेको बताए । उद्योग वाणिज्य सङ्घको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फर्महरु पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका हुन् । यसैगरी दशौँ उद्योग दिवस–२०८१ का अवसरमा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान गरेको छ । रघुगङ्गा गाउँपालिका–१ बेगकी मेनुका सिलाइकटाइ तथा प्रशिक्षण केन्द्रका मेककुमारी पुन, बेनी नगरपालिका–८ गणेशटोलको वेदना सु–सेन्टरका सुकलाल किसान र बेनी नगरपालिका–७ कुरिलाखर्कको शर्मा कृषि तथा पशपक्षी फार्मका सञ्चालक कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन), जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले उनीहरुलाई दोसल्लो ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । प्रदेशसभा सदस्य जुग्जालीले म्याग्दीमा आवश्यकता र सम्भावनामा आधारित भएर सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक भएको बताए । गण्डकी प्रदेशसभाबाट स्थानीय मदिरासम्बन्धी कानुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउँदै म्याग्दीमा पनि यस किसिमका उद्यम स्थापना गरी मदिरा आयात घटाउन आवश्यक देखिएको विचार व्यक्त गरे । रासस
बैंकिङ क्षेत्रमा थपिए कर्जाका १९ हजार नयाँ ग्राहक, कहाँ गए विकास बैंकका १ हजार ४३१ ऋणी ?
काठमाडौं । बैंकिङ क्षेत्रमा तीन महिनाको अवधिमा करिब १९ हजार नयाँ ऋणी थपिएका छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैंकहरूमा १ प्रतिशत अर्थात् १८ हजार ९६४ नयाँ ऋणी थपिएर कुल १९ लाख १२ हजार २३४ ऋणी ग्राहक रहेका छन् । गत असारसम्म १८ लाख ९३ हजार २७० ऋणी ग्राहक थिए । समीक्षा अवधिमा वाणिज्य बैंक र फाइनान्स कम्पनीले नयाँ ऋणी थप्दा विकास बैंकमा भने ऋणीको संख्या घटेको देखिन्छ । यस अवधिमा वाणिज्य बैंकहरूले कर्जातर्फ १९ हजार ८८३ नयाँ ऋण ग्राहक थपेर १५ लाख ८३ हजार ६६९ ऋणी पुर्याएको छ । जबकि गत असारसम्म वाणिज्य बैंकमा १५ लाख ६७ हजार ५०८ ऋणी थिए । यस्तै, फाइनान्स कम्पनीहरूले पनि तीन महिनाको अवधिमा ५१२ नयाँ ऋणी थपेका छन् । असोजसम्म फाइनान्स कम्पनीबाट ऋण लिनेको कुल संख्या ४३ हजार ६४७ पुगेको छ । जबकि तीन महिनाअघि अर्थात् गत असारमा ४३ हजार १३५ मात्रै ऋणीले फाइनान्स कम्पनीबाट ऋण लिएका थिए । तीन महिनामा ऋणीको संख्या उल्लेख्य बढेको भएपनि कर्जाको आकार भने बढ्न नसकेको बैंकरहरू बताउँछन् । पछिल्लो समय बैंकरहरू आक्रामक रूपमा कर्जा विस्तारमा लागेका छन् । तर, स-साना रकमका कर्जामात्रै जाँदा कर्जाको आकार कम रहेको र ऋणीको संख्या बढेको हुन सक्ने एक बैंकरले बताए । विकास बैंकहरूले तीन महिनामा १ हजार ४३१ ऋणी गुमाउनु परेको छ । अर्थात् असारको तुलनामा असोजमा विकास बैंकका १ हजार ४३१ ऋणी बाहिरिएका हुन् । असोजमा विकास बैंकहरूबाट २ लाख ८१ हजार १९६ ऋणी कर्जा लिएका छन् । जबकि गत असारसम्म विकास बैंकहरूबाट २ लाख ८२ हजार ६२७ ऋणीले कर्जा लिएका थिए । तर, विकास बैंकमा कार्यरत उच्च व्यवस्थापकहरू भने कर्जा असुली राम्रो भएकाले ऋणीको संख्या घट्न पुगेको तर्क गर्छन् । साथै, विकास बैंकका ऋणीलाई वाणिज्य बैंकहरूले तानेका कारण संख्या घट्न पुगेको उनीहरूको भनाइ छ । ‘कोही ऋणीले कर्जा चुक्ता गरेर बसेका छन्, कोही ऋणी बाहिरिएका छन्, कोही ऋणीलाई वाणिज्य बैंकहरूले तानेका छन्,’ लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उमेश रेग्मीले भने, ‘माहोल बनेन, व्यवसाय सुधार भएन भन्नुहुन्छ, उहाँहरू जग्गा जमीन बेच्दै कर्जा चुक्ता गरेर बस्नु भएको छ, समग्रमा कर्जाको माग छैन, पर्ख र हेरको अवस्थामा छन् ।’ उनका अनुसार विकास बैंकका ऋणीहरू वाणिज्य बैंकमा जाने ल्याकत राख्छन् । किनभने उनीहरूको कर्जाको आकार पनि ठूलो नै हुन्छ । त्यसैले विकास बैंकका ऋणीहरू वाणिज्य बैंकतिर गएका हुन सक्ने उनले बताए । ३ महिनामा पौने ११ लाख निक्षेपकर्ता थपिए समीक्षा अवधिमा ऋणीका ग्राहकसँगै पौने ११ लाख निक्षेपका ग्राहक थपिएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा बैंक तथा वित्तीय संस्थामा १० लाख ७९ हजार ५७८ निक्षेपतर्फका ग्राहकहरू थपिएका छन् । असोजसम्म ५ करोड ६९ लाख ७५ हजार ३५८ निक्षेप खाता रहेका छन् । जबकि गत असारमा निक्षेप खाताको संख्या ५ करोड ५८ लाख ९५ हजार ७८० थिए । समीक्षा अवधिमा वाणिज्य बैंकमा ४ करोड ८८ लाख ३६ हजार ४३२ वटा, विकास बैंकमा ७२ लाख २४ हजार ८९१ वटा र फाइनान्स कम्पनीमा ९ लाख १४ हजार ३५ वटा निक्षेप खाता रहेका छन् ।
माउण्टेन इनर्जीले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने
काठमाडौं । माउण्टेन इनर्जीले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । यसका लागि माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालिबीच लगानीसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुणकुमार केसी र सीता हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरे । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा माउण्टेन इनर्जीले लगानी गर्ने भएको हो । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । माउण्टेनले चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासमा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको चूक्ता पूँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको ‘रिटेन अर्निङ’ १ अर्ब ३३ करोड रहेको छ ।