आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहेकी उनले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन् । देशमा रहेका दक्ष जनशक्तिलाई अत्यन्तै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने प्रधानमन्त्री कार्कीले बताइन् । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् । मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो ।
जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका मागहरु पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खरेलले यस्तो दाबी गरेका हुन् । उनले आन्दोलनले उठाएका मुद्दाहरु आगामी पाँच महिनाभित्र पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । भ्रष्टाचार विरुद्धका युवा आन्दोलनका म्याण्डेटहरू पूरा गर्न सरकारले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ । आफ्नो कार्यकालभर केही गर्न नसकेपनि नियतवस गलत कार्य नगर्ने पनि बताए । उनले भने, ‘अब सञ्चार मन्त्रालयमा मेरो पाँच महिनाको अवधि बाँकी छ । कति गर्न सकिन्छ त्यो त थाहा छैन तर जानेर, बुझेर, नियतबस खराब केही पनि गर्ने छैन । बरु जस्तो गएको थिएँ त्यस्तै फर्किन्छु । अबको पाँच महिनाको अवधीभित्र जेनजी आन्दोलनले दिएका म्यान्डेटहरु पुरा गर्नुपर्नेछ ।’ उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा सरकार दृढ रहेको पनि बताए ।
जेनजी आन्दोलनपछि २३ अर्ब १९ करोड बीमा दाबी, १ अर्ब ९५ करोड भुक्तानी
काठमाडौं । गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा हुलदंगाबाट भएको सम्पत्तिको क्षतिमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको असोज २८ गतेसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार १६३ वटा दाबी संख्याको सो रकम बराबरको दाबी परेको हो । कम्पनीहरूले असोज २८ गतेसम्ममा १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (अग्रिम भुक्तानीसहित) गरेका छन् । असोज २८ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । उक्त कम्पनीमा ३९४ वटा दाबी संख्याको ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँको दाबी परेको छ । जसमध्ये कम्पनीले बीमितलाई ७८ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ । दोस्रो धेरै दाबी पर्ने कम्पनी दि ओरिएन्टलमा ५ अर्ब २४ करोड ८२ लाख रुपैयाँको ९८ वटा दाबी परेको छ । जसमध्ये कम्पनीले ७१ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । तेस्रोमा आइजीआई प्रुडेन्सियलमा २ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म ३० करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्समा २ अर्ब ४१ करोड ११ लाख रुपैयाँको ४३३ वटा, सगरमाथा लुम्बिनीमा १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँको ३४२ वटा, नेको इन्स्योरेन्समा १ अर्ब १५ करोड ५४ लाख रुपैयाँको २५९ वटा, हिमालयन एभरेष्टमा ९८ करोड ६२ लाख रुपैयाँ बराबरको २७० वटा दाबी परेको छ । जसमा शिखरले ४२ करोड २७ लाख रुपैयाँ, सलिकोले २ करोड ७९ लाख रुपैयाँ, नेकोले ८ करोड ३९ लाख रुपैयाँ र हिमालयन एभरेष्टले २४ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । त्यसैगरी, सानिमा जीआईसीमा ८८ करोड ८५ लाख रुपैयाँ, युनाइटेड अजोडमा ६३ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६० करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ४१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ८९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २१ करोड ८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा ८ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमा सानिमाले २ लाख रुपैयाँ, युनाइटेडले १ करोड ७८ लाख रुपैयाँ, एनएलजीले ३९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ५ करोड २७ लाख रुपैयाँ, प्रभुले १४ लाख रुपैयाँ भुक्तानी गरेका छन् । लघु बीमा कम्पनीहरूमा प्रोटेक्टिभमा १ करोड ३९ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख रुपैयाँ, ट्रस्ट माइक्रोमा ६५ लाख रुपैयाँ, नेपाल माइक्रोमा ५९ लाख रुपैयाँ दाबी परेको छ । दाबी परेकोमध्ये प्रोटेक्टिभले २ लाख रुपैयाँ, टस्टले २२ लाख रुपैयाँ र नेपाल माइक्रोले २ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार (आज) जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख भण्डारीले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सोनललाई बुधबार साँझ पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँगको संयुक्त बैठकमा उनले अदालतको सेवा रोक्न नहुने धारणा राखिन् । काठमाडौं जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन आग्रह गरेका थिए । सो सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध गराउन निर्देशन दिइन् । प्राधिकरणले तत्कालका लागि सशर्त भवन उपलब्ध गराउने समझदारी बनेको छ । अदालत र प्राधिकरणबीच समझदारी गरी भवन उपलब्ध गराउन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी थिइन्।
मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, मन्दिरको रकममा दुरुपयोग
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सिंह महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनीसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियारका अनुसार सिंहले विद्यालय र मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रकम १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँमध्ये ३८ लाख ५० हजार ३१९ रुपैयाँ (झन्डै २८.२५ प्रतिशत) घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए। सो रकमको केही हिस्सा उनले स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा पनि जम्मा गराएको अख्तियारले जनाएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगले गर्यो राजनीतिक दलहरूसँग छलफल
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन आयोगले बिहीबार (आज) प्रमुख राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । आयोगले निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले दलहरूसँग सुझाव संकलन गरेको हो । छलफलका लागि आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजयी भएका दलहरूलाई पत्राचार गरी आमन्त्रण गरेको थियो । छलफलमा विभिन्न प्रमुख दलका प्रतिनिधिहरू सहभागी रहेका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कवीन्द्र बुर्लाकोटी र नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे सहितका नेताहरू बैठकमा सहभागी रहेका छन् । छलफलमा आयोगले आसन्न निर्वाचनको तयारी, समयतालिका, मतदाता नामावली अद्यावधिक, सुरक्षा व्यवस्था, आचारसंहिताको कार्यान्वयन लगायत विषयमा जानकारी गराएको थियो । सहभागी दलका प्रतिनिधिहरूले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण बनाउन आवश्यक सुझावहरू पनि दिएका छन् । निर्वाचन आयोगले निकट भविष्यमा थप प्राविधिक र व्यवस्थापकीय विषयमा समेत दलहरूसँग छलफल गर्दै जाने जनाएको छ ।
साना किसान लघुवित्तले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्ने, १९ कात्तिकसम्म दरखास्त आह्वान
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने भएको छ । लघुवित्तले खुला प्रतिस्पर्धाका माध्यमबाट सीईओ छनोट गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । लघुवित्तको सीईओ बन्न इच्छुकले कात्तिक १९ गतेभित्र दरखास्त दिनुपर्नेछ । चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, लेखाशास्त्र, तथ्याङ्क, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा कम्तीमा स्नातक तहको उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । यस्तै, बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संस्थामा अधिकृत तह वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १० वर्षको कार्यानुभव र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (५ घ) बमोजिम अयोग्य नभएको हुनुपर्ने सर्त राखिएको छ । यसअघि सीईओ रहेका डा. शिवराम प्रसाद कोइरालाको गत भदौ १३ गतेदेखि कार्यकाल सकिएपछि अहिले संस्था सीईओ विहीन छ । नयाँ सीईओ नियुक्त नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कायममुकायम सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनी सचिव अनिल कृष्ण जोशीले जानकारी दिए ।