कक्षा १२ को प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप २ जना पक्राउ

काठमाडौं । कक्षा १२ को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका अनुसार राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै बाहिरिएको विषयमा अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा ‘क्लास १२ म्यानेजमेन्ट ओन्ली’ नामक व्हाट्सएप ग्रुप तथा फेसबुक म्यासेन्जरमार्फत उत्तरसहित प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका–५ स्थायी घर भएका २९ वर्षीय सन्तोष बन्जारा र गण्डकी गाउँपालिका–३ स्थायी घर भएका २० वर्षीय अचिन अधिकारी रहेका छन् । उनीहरूलाई काठमाडौंको रत्नपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । यस अघि पनि २ जना आरोपी पक्राउ गरिएको छ ।

Share News