‘जेन जेड’ प्रदर्शनकारी : विश्वभर फैलिएको युवाको असन्तुष्टिको लहर
नयाँदिल्ली । एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित विश्वव्यापी विरोध आन्दोलनहरूको नयाँ लहर फैलिँदै गएको छ । सरकारहरूविरुद्धको आक्रोश र सुधारको मागले विश्वका विभिन्न मुलुकमा युवाहरू सडकमा उत्रिएका छन् । यसै साता मडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनालाई सैनिक विद्रोहपछि पदबाट हटाइएपछि देश त्याग्न बाध्य हुनुपर्यो । यो परिवर्तन हप्तौँदेखि निरन्तर भइरहेका युवा नेतृत्वका आन्दोलनको परिणाम थियो । आफूहरूलाई ‘जेनेरेसन जेड मडागास्कर’ भन्ने ती प्रदर्शनकारीहरूले राजनीतिक प्रतिष्ठानविरुद्धको असन्तोषलाई सडकमा उतारेका थिए । हिन्द महासागरको उक्त टापु राष्ट्रमा उत्पन्न असन्तुष्टिको लहरले नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्कोमा भइरहेका हालैका विरोध प्रदर्शनहरूको झल्को दिएको छ । यी आन्दोलनहरू विभिन्न तत्कालीन कारणहरूबाट सुरु भए पनि तिनीहरूलाई लामो समयदेखि जरा गाडेका असमानता, बेरोजगारी, भ्रष्टाचार र नेताहरूको नातावादले सघाएको छ । तर सबै आन्दोलनहरूको साझा विशेषता भनेको युवा पुस्ताको अग्रसरता हो । प्रायः नेतृत्वविहीन यी आन्दोलनका सहभागीहरू सन् १९९६ देखि सन् २०१० बीच जन्मिएका, इन्टरनेट युगमै हुर्केका ‘जेन जेड’ पुस्ताका हुन् । बेलायतस्थित अनुसन्धान संस्था सोसल चेन्ज ल्याबका निर्देशक स्याम नाडेल भन्छन्, 'यी विरोधहरूको साझा भावना भनेको परम्परागत राजनीतिक प्रणालीहरूले युवा पुस्ताका चिन्ताहरू चाहे भ्रष्टाचार, जलवायु सङ्कट वा आर्थिक असमानता सम्बोधन गर्न सकेका छैनन् भन्ने हो । जब संस्थागत बाटोहरू बन्द हुन्छन्, विरोध नै तर्कसङ्गत विकल्प बन्छ ।' विश्वभरको आन्दोलन एक अर्काबाट प्रेरित विभिन्न मुलुकका यी आन्दोलनहरू सरकारको अतिक्रमण, उपेक्षा वा अन्यायपूर्ण नीतिबाट भड्किएका छन् । कतिपय देशमा सुरक्षा निकायको कठोर दमन र हिंसात्मक प्रतिक्रिया पनि देखिएको छ । मोरक्कोमा ‘जेनेरेसन जेड २१२’ नामक नेतृत्वविहीन समूह राम्रो सार्वजनिक सेवा र स्वास्थ्य–शिक्षामा खर्च बढाउन माग गर्दै सडकमा उत्रिएको छ । पेरुमा पेन्सन ऐन र व्यापक भ्रष्टाचारविरुद्धको विरोधले शासन सङ्कट निम्त्याएको छ । इन्डोनेसियामा सांसदहरूको भत्ता र जीवनयापन खर्चको मुद्दाले घातक प्रदर्शन निम्त्यायो । त्यसपछि राष्ट्रपति प्रमुख मन्त्रीहरू हटाउन बाध्य भए । दक्षिण एसियामा भने सबैभन्दा प्रभावशाली ‘जेन जेड आन्दोलन’ नेपालमा भयो । सेप्टेम्बरमा प्रधानमन्त्रीको राजीनामासँगै समाप्त भएको यस आन्दोलनले सन् २०२२ को श्रीलङ्काली र सन् २०२४ को बङ्गलादेशी आन्दोलनबाट प्रेरणा लिएको थियो । त्यसैको प्रभावमा मडागास्करका युवाहरूले पनि आन्दोलनलाई सशक्त बनाए । मडागास्करमा सुरुमा नियमित पानी र बिजुली कटौतीविरुद्ध सुरु भएको विरोध केही सातामै सरकारविरुद्धको व्यापक आन्दोलनमा परिणत भयो । अन्ततः बुधबार सैन्य नेताले आफू ‘राष्ट्रपति बनेको’ घोषणा गर्दै सत्ताको बागडोर सम्हाले । ‘वन पिस’ झण्डा : पप संस्कृति र प्रतिरोधको प्रतीक यी आन्दोलनहरूमा एक साझा सांस्कृतिक प्रतीक पनि देखा परेको छ कालो झण्डा । यसमा मुस्कुराइरहेको खोपडी र परालको टोपीसहित क्रसबोन्स चित्रित छ । यो जापानी मङ्गा ‘वन पिस’ बाट प्रेरित प्रतीक हो । यसले अन्यायपूर्ण सरकारविरुद्ध लड्ने समुद्री डाकुहरूको कथालाई चित्रित गर्छ । नेपालमा सिंहदरबार र मन्त्रालयहरूमा यही झण्डा प्रदर्शनकारीहरूले फहराएका थिए । यही प्रतीक फिलिपिन्स, इन्डोनेसिया, मोरक्को र मडागास्करमा पनि देखियो । पेरुको राजधानी लिमामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले सोही झण्डा बोकेर साप्ताहिक विरोधस्थल सान मार्टिन स्क्वायरमा उभिँदै भने, 'हामी सबै भ्रष्ट र हत्यारा नेताहरूविरुद्ध एउटै युद्ध लड्दैछौँ ।' उनका अनुसार पेरुमा सन् २०१७ देखि हत्या र जबरजस्ती असुलीका घटनाहरू बढेका छन्, तर सरकारले अपराधविरुद्धका प्रयासलाई कमजोर बनाएको छ । 'शक्तिको दुरुपयोग र भ्रष्टाचारको विरोधमा हाम्रो आक्रोश स्वःस्फूर्त रूपमा सडकमा आएको हो', उनले भने । गत हप्ता पेरुकी राष्ट्रपति दिना बोलुआर्टे अनुसन्धानको घेरामा परेपछि पदबाट हटाइएको थियो र अन्तरिम राष्ट्रपति जोसे जेरी नियुक्त भएको थियो । तर टाफुरले भने, 'यो पर्याप्त छैन, किनभने नयाँ राष्ट्रपति पनि पुरानो सत्ताको सहयोगी हुनुहुन्छ ।' डिजिटल युगमा ‘जेन जेड’ आन्दोलनको रूपान्तरण इतिहासमा युवाले नै ठूलो आन्दोलनहरूको नेतृत्व गरेका छन् । सन् २०११ को अक्युपाई वाल स्ट्रिट, सन् २०१०–१२ को अरब स्प्रिङ र सन् २०१४ को हङकङको अम्ब्रेला क्रान्ति त्यसका उदाहरण हुन् । तर ‘जेन जेड’ ले डिजिटल मिडियाको प्रयोगलाई नयाँ उचाइमा पुर्याएको छ । 'सूचना आदान–प्रदान र जनसम्पर्कका लागि डिजिटल प्लेटफर्महरू अब शक्तिशाली हतियार बनेका छन् । सबैभन्दा सफल आन्दोलनहरू तिनलाई भौतिक सङ्गठनसँग मिलाएर अघि बढाउँछन्', नाडेलले स्पष्ट पारे । नेपालमा सरकारद्वारा सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्धपछि युवाहरूले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत टिकटक, इन्स्टाग्राम र एक्स प्रयोग गरी आन्दोलनलाई सशक्त बनाए । तिनीहरूले राजनीतिज्ञका सन्तानहरूको विलासी जीवनशैली, गरिब–धनीबीचको असमानता र सरकारविरुद्धको योजनाबद्ध र्यालीहरू प्रचार गरे । कसलाई अन्तरिम नेता बनाउने भन्ने सुझावसम्म पनि उनीहरूले गेमिङ प्लेटफर्म डिस्कोर्ड मार्फत आदान–प्रदान गरे । 'भ्रष्टाचार र अन्यायविरुद्धको आवाज डिजिटल मिडियामार्फत विश्वभर फैलिन्छ । नेपालमा भएको जेन जेड आन्दोलनले अरू देशका युवालाई पनि सशक्त बनायो', नेपालका युवा प्रदर्शनकारी युजन राजभण्डारीले भन्छन्, 'हामी केवल नेपाली होइनौँ, विश्व नागरिक हौँ भन्ने हामीले महसुस गर्यौँ । डिजिटल स्पेसले हामीलाई जोडेको छ र यसले विश्वभर नयाँ युगको शक्ति प्रदर्शन गरेको छ ।' रासस
एमाले संगठन विभागका सचिव ढुंगेल विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने पक्षमा
काठमाडौं । नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने बताएका छन् । अध्यक्ष केपी ओली पक्षीय नेता ढुँगेलले केन्द्रीय कमिटी बैठकमा उक्त विषय उठाएका हुन् । पछिल्ला दिनमा एमालेभित्र भण्डारीको सदस्यता नवीकरणबारे चर्चा चर्किँदै गर्दा उनको समर्थनलाई रहस्यमयी र गज्जबको प्रस्तावका रूपमा लिइएको छ । भण्डारीको नेकपा एमालेमा सदस्यता नवीकरणबारे पार्टीभित्र विभिन्न मत आउँदै गर्दा ढुँगेलले भण्डारीलाई विवादित बनाएर राजनीतिको मुख्यधारमा तान्नु उचित नहुने बताउँछन् । सदस्यता नवीकरण सामान्य प्रक्रिया मात्रै नभई राजनीतिक दायित्व र पारदर्शिताको सवाल पनि हो भन्ने तर्क उनको छ । पार्टीले सदस्यता नवीकरण गर्दा उनी सात वर्षसम्म राष्ट्रपति रहँदा पार्टी त्यागेको तथ्य उल्लेख गर्नुपर्ने ढुँगेलको बताए । साथै सदस्यता दिने हो भने जिम्मेवारी र भूमिकासमेत किटान गर्नुपर्ने, अन्यथा पूर्वराष्ट्रपतिको मर्यादामा रहन आग्रह गर्नुपर्ने सुझाव पनि ढुँगेलले दिएका छन् । ढुँगेलले भण्डारीको एमालेमा ऐतिहासिक योगदान र संगठन विस्तारमा पुर्याएको भूमिकालाई स्मरण गर्दै उनी पुनः सक्रिय हुनुपर्ने धारणा राखेका हुन् । पार्टीभित्र कतिपय नेताहरू भण्डारीलाई प्रतीकात्मक रूपमा राख्न चाहन्छन् । केही नेताहरूले उनलाई संगठनात्मक भूमिकामा फर्काउन उपयुक्त नहुने तर्क दिएका छन् । भण्डारीको सदस्यता नवीकरणको मुद्दा अहिले एमाले नेतृत्वमा छलफलको मुख्य विषय बनेको छ । ढुंगेलको समर्थनले यो बहसलाई अझ रोचक बनाएको छ किनकि उनी स्वयं संगठन विभागका जिम्मेवार नेता हुन् र उनको मतले आगामी निर्णयमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
निरन्तर घट्दै सेयर कारोबार रकम, एक वर्षकै न्यून विन्दुमा नेप्से
काठमाडौं । साताको अन्तिम कारेबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले घटेर २४८७ विन्दुमा झरेको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छ । सेयर बजार बन्द हुँदाको आजको अंक गत वर्षको असोज १३ यताकै न्यून विन्दुमा पुगेको छ । पछिल्ला केही दिनयता बजार लगातार ओरालो लागिरहेको छ । बिहीबार ३११ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार मुक्तिनाथ विकास बैंकको भएको छ । मुक्तिनाथको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको १३ करोड, शिवम् सिमेन्टको ११ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ९ करोड ७९ लाख र हिमालयन रिइन्स्योरेन्सको ९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । बैंकिङ सूचक ०.०२ प्रतिशत बढेको छ भने अरु सूचक घटेका छन् । विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशतले घटेका छन् ।
बुद्ध एयरका मालिकले खोले नयाँ पार्टी, अध्यक्ष बने प्रसाईं
काठमाडौं । नेपाली राजनीतिमा एक नयाँ दलको उदय भएको छ । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री डा. दिनेश प्रसाईं तथा अन्य व्यक्तिहरंको संलग्नतामा गतिशील लोकतान्त्रिक पार्टी नामक नयाँ राजनीतिक दलको निर्वाचन आयोगमा दर्ता भएको हो । आयोगले बिहीबार सो पार्टी औपचारिक निवेदन दिएर दर्ता भएको जानकारी दिएको छ । पार्टीको नेतृत्वमा समाजशास्त्र र नीतिगत विश्लेषणमा लामो अनुभव भएका डा. दिनेश प्रसाईं छन् । उनी पार्टीका अध्यक्ष रहेका छन् । महासचिव पीयूषप्रसाद कायस्थ रहेको केन्द्रीय समितिमा बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत भने सदस्यको हैसियतमा रहेका छन् । पार्टीको विधानमा २० प्रतिशतभन्दा कम मत ल्याएमा सरकारमा नजाने व्यवस्था गरिएको छ । यस्तै, पदाधिकारीले आमनिर्वाचनमा भाग लिन नपाउने व्यवस्था समेत विधानमा गरिएको छ । व्यवसायी बस्नेत कार्य समिति सदस्य रहेकोले निर्वाचनमा उमेदवार बन्न पाउने छन् । पार्टीले आफ्नो घोषणापत्रमा वर्तमान नेपाली राजनीतिलाई विरोधमुखी, पेशागत स्वार्थप्रेरित, र जनताबाट टाढिएको उल्लेख गर्दै यसको विकल्पका रूपमा सिर्जनशील, सोचयुक्त र इमान्दार राजनीतिका लागि प्रतिबद्धता जनाइएको छ । पार्टीको घोषणापत्रमा भनिएको छ, ‘अबको चुनावमा पनि विरोधको राजनीति र पेशागत स्वार्थको राजनीति चलिरह्यो भने नेपाल गहिरो अँध्यारो खोंचमा फस्नेछ । त्यस खोंचबाट निस्कन देशलाई ठूलो मेहनत र बलिदान आवश्यक पर्छ ।’ पार्टीले अबको राजनीति इमान्दारी, त्याग, र नवीन सोचमा आधारित हुनुपर्ने आवश्यकता औंल्याएको छ । घोषणापत्रमा भनिएको छ, ‘त्यसैले अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । इमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं ।’ गतिशील लोकतान्त्रिक पार्टीले आफूलाई वर्तमान दलहरूबाट अलग रूपमा प्रस्तुत गर्दै व्यवसाय, शैक्षिक विचार, र सामाजिक उत्तरदायित्वको समिश्रण भएको नयाँ शक्ति को रूपमा देखाउने प्रयास गरेको छ । पार्टीले युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिने बताएको छ । राजनीतिमा लामो समयदेखि देखिएको विरोधमुखी अभ्यास, पार्टीगत संकीर्णता, र शक्तिकेन्द्रित मानसिकता लाई चुनौती दिँदै यो दलले विकास, रोजगारी सुशासन र समावेशी नेतृत्वलाई आफ्नो प्रमुख एजेन्डा बनाउने उल्लेख गरेको छ ।
आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहेकी उनले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन् । देशमा रहेका दक्ष जनशक्तिलाई अत्यन्तै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने प्रधानमन्त्री कार्कीले बताइन् । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् । मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो ।
जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका मागहरु पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खरेलले यस्तो दाबी गरेका हुन् । उनले आन्दोलनले उठाएका मुद्दाहरु आगामी पाँच महिनाभित्र पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । भ्रष्टाचार विरुद्धका युवा आन्दोलनका म्याण्डेटहरू पूरा गर्न सरकारले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ । आफ्नो कार्यकालभर केही गर्न नसकेपनि नियतवस गलत कार्य नगर्ने पनि बताए । उनले भने, ‘अब सञ्चार मन्त्रालयमा मेरो पाँच महिनाको अवधि बाँकी छ । कति गर्न सकिन्छ त्यो त थाहा छैन तर जानेर, बुझेर, नियतबस खराब केही पनि गर्ने छैन । बरु जस्तो गएको थिएँ त्यस्तै फर्किन्छु । अबको पाँच महिनाको अवधीभित्र जेनजी आन्दोलनले दिएका म्यान्डेटहरु पुरा गर्नुपर्नेछ ।’ उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा सरकार दृढ रहेको पनि बताए ।
जेनजी आन्दोलनपछि २३ अर्ब १९ करोड बीमा दाबी, १ अर्ब ९५ करोड भुक्तानी
काठमाडौं । गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा हुलदंगाबाट भएको सम्पत्तिको क्षतिमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको असोज २८ गतेसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार १६३ वटा दाबी संख्याको सो रकम बराबरको दाबी परेको हो । कम्पनीहरूले असोज २८ गतेसम्ममा १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (अग्रिम भुक्तानीसहित) गरेका छन् । असोज २८ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । उक्त कम्पनीमा ३९४ वटा दाबी संख्याको ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँको दाबी परेको छ । जसमध्ये कम्पनीले बीमितलाई ७८ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ । दोस्रो धेरै दाबी पर्ने कम्पनी दि ओरिएन्टलमा ५ अर्ब २४ करोड ८२ लाख रुपैयाँको ९८ वटा दाबी परेको छ । जसमध्ये कम्पनीले ७१ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । तेस्रोमा आइजीआई प्रुडेन्सियलमा २ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म ३० करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्समा २ अर्ब ४१ करोड ११ लाख रुपैयाँको ४३३ वटा, सगरमाथा लुम्बिनीमा १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँको ३४२ वटा, नेको इन्स्योरेन्समा १ अर्ब १५ करोड ५४ लाख रुपैयाँको २५९ वटा, हिमालयन एभरेष्टमा ९८ करोड ६२ लाख रुपैयाँ बराबरको २७० वटा दाबी परेको छ । जसमा शिखरले ४२ करोड २७ लाख रुपैयाँ, सलिकोले २ करोड ७९ लाख रुपैयाँ, नेकोले ८ करोड ३९ लाख रुपैयाँ र हिमालयन एभरेष्टले २४ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । त्यसैगरी, सानिमा जीआईसीमा ८८ करोड ८५ लाख रुपैयाँ, युनाइटेड अजोडमा ६३ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६० करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ४१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ८९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २१ करोड ८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा ८ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमा सानिमाले २ लाख रुपैयाँ, युनाइटेडले १ करोड ७८ लाख रुपैयाँ, एनएलजीले ३९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ५ करोड २७ लाख रुपैयाँ, प्रभुले १४ लाख रुपैयाँ भुक्तानी गरेका छन् । लघु बीमा कम्पनीहरूमा प्रोटेक्टिभमा १ करोड ३९ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख रुपैयाँ, ट्रस्ट माइक्रोमा ६५ लाख रुपैयाँ, नेपाल माइक्रोमा ५९ लाख रुपैयाँ दाबी परेको छ । दाबी परेकोमध्ये प्रोटेक्टिभले २ लाख रुपैयाँ, टस्टले २२ लाख रुपैयाँ र नेपाल माइक्रोले २ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार (आज) जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख भण्डारीले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सोनललाई बुधबार साँझ पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।