विकासन्युज

निर्माण क्षेत्रका ‘ठेकेदार महिला’

काठमाडौं । निर्माण व्यवसायी भन्नेवित्तिकै धेरैको दिमागमा आउने चित्र हो पुरुष । किनकि सडक, घर, भवनको ठेक्कापट्टा गर्ने काम पुरुषको हो भन्ने सोच अझै जनमानसमा छ । जसका कारण झट्टै दिमागमा पुरुषको चित्र आउँछ । तर, आजभोलि महिलाहरू पनि यो व्यवसायमा सक्रिय बन्दै गएका छन् । यिनै मध्येकी एक व्यवसायी हुन् मोहन कालीकोटे । उनी यो क्षेत्रमा काम गर्दै आएको २६ वर्ष भयो । अविरल निर्माण सेवाबाट काम सुरु गरेकी उनी विसं २०६० सालदेखि कञ्चन निर्माणसेवा कम्पनी स्थापना गरेर यो क्षेत्रमा लागेकी हुन् । अवस्था सहज थिएन, ठेक्का पाउन निर्माण व्यवसायीबिच निकै हानथाप हुन्थ्यो । जुन कम्पनीमा ठेक्का खुलेको थाहा भयो, व्यवसायीको लाम लाग्थ्यो । मोहन पनि त्यही लाइनमा हुन्थिन् । पुरुषको लाइनमा देख्नेबित्तिकै धेरैले उनलाई हाँसेरै उडाउँथे । मोहनलाई यस्ता कुराले छोएन । उनी आफ्नो काममा लाग्दै गइन् । यही क्रममा उनले काठमाडौं उपत्यकाका सडकदेखि विभिन्न विद्यालय बनाउने सम्मका धेरै ठेक्का पाएर काम सम्न्नि गरिसकेकी छन् । मोहन कालीकोटे । उनी भन्छिन्, ‘काम हो, जुनसुकै काम जसले गर्दा पनि हुन्छ, तर त्यसमा संघर्ष आवश्यक हुन्छ, जसका कारण म यो ठाउँमा पुग्न सकेँ ।’ उनलाई यो ठाउँमा पुग्दा थुप्रै चुनौतीका चाङसँग पैठेजोरी खेल्नुपर्यो । २०६२/६३ को कुरा हो । सडक डिभिजन कार्यालयले एउटा सडकको ठेक्का लागि सूचना जारी गरेको थियो । ठेक्काका लागि विभिन्न निर्माण व्यवसायी कम्पनी फाइल दर्ता गर्न लाइन लागेका थिए । उनी पनि गइन् । तर, उनलाइ रोक्न धेरै प्रयास भयो । ती दिनहरु स्मरण गर्दै उनले विकासन्युजसँग भनिन्, ‘मलाई पुरुष व्यवसायीहरूले फाइलले पाखुरामा हान्थे, हातबाट फाइल भुइँमा झारिदिने नियत उनीहरूको हुन्थ्यो तर मैले खुट्टाले फाइल भित्र पठाएर पनि दर्ता गरेको छु ।’ मोहनले काठमाडौं उपत्यकाका रिङरोडदेखि थुप्रै भित्रि सडक निर्माण गरेकी छन् । काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा पनि उपत्यकाको सडक मर्मत गर्ने जिम्मा उनकै कम्पनीको थियो । मैले काठमाडौंका भित्रिसडक, भवन निर्माणका काम थुप्रै गरेँ, ’उनी भन्छिन्, ‘उपत्यकामा सडकको काम गर्न निकै सकस हुन्छ, राती काम सकेर बिहान काम पुरा गरिसक्नुपथ्यो, मैले कामका लागि न दिन भनेँ न रात भनेँ । तर, अहिले पनि मैले विभिन्न ठेक्काको करोड बढी पैसा पाउन सकेको छैन ।’ मोहनको घर पूर्वको इलाम हो । उनी इलाममै हुर्किन्, बढिन् । एसएलससी पास गरेपछि उनले धरानमा विवाह गरिन् । छोराछोरी जन्मिसकेपछि उनलाई जिम्मेवारी थपियो । छोराछोरीको पालन पोषणका लागि उनी दुबइ जाने तयारीमा काठमाडौं आइन् । उनले म्यानपावर कम्पनीलाई ९० हजार बुझाइन् । तर, उनलाई विदेश नपठाउँदै म्यानपावर कम्पनी हरायो । विदेश जान नसकेपछि गाउँमा पनि फर्कने अवस्था थिएन । त्यसपछि उनी काठमाडौंमा संघर्ष गर्दै बसिन् । उनले नापी कार्यालयमा सरकारी जागिर गरिन् । काठमाडौंमा बस्दै जाँदा उनको संगत राजनीतिज्ञहरूसँग हुन थाल्यो । उनलाई पनि राजनीतिप्रति आस्था बढ्यो । त्यसपछि उनी सरकारी जागिर छोडेर राजनीतिमा लागिन् । भन्छिन्, ‘म यो क्षेत्रमा आउनु रहेछ र त विदेश पनि भएन, जागिर पनि भएन, अहिले म जुन क्षेत्रमा जसरी पुगे यसमा निकै खुसी छु ।’ उनी अहिले महिलाको सहभागिता निर्माण क्षेत्रमा पनि उल्लेख्य रहेको बताउँछिन् । श्रीमानको सहयोगले ठेकेदार बनेकी गंगा गंगा पोखरेल । बर्दियाको गुलरिया नगरपालिकाकी गंगा पोखरेललाई निर्माण व्यवसायमा लागेको २० वर्ष भयो । विवाह नहुँदासम्म उनलाई यो क्षेत्रबारे खासै ज्ञान थिएन । जब उनले विवाह गरिन् त्यसपछि सुरु भयो उनको निर्माण व्यवसायीको यात्रा । किनकि उनका श्रीमान ठेकेदार थिए । उनी सडकदेखि भवन निर्माणका काम गर्थे । श्रीमानले एक्लै हाकेको व्यवसायमा गंगाले काँध थापिन् । त्यसपछि श्रीमान श्रीमती दुवै मिलेर यो व्यवसायमा अघि बढे । त्यति बेला निर्माण क्षेत्रमा महिलाहरु फ्याट्फुट्ट मात्रै देखिन्थे । जानअञ्जानमा सुरु गरेको यो यात्रामा श्रीमानको सहयोगले अहिले उनको परिचय नै ठेकेदार बनेको छ । उनलाई गाउँमा सबैजनाले यही नामले चिन्छन् । गंगा अहिले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा काम गरिरहेकी छन् । उनले भण्डारी निर्माण सेवा र देउराली निर्माण सेवामार्फत् काम गरिरहेकी छन् । भण्डारी निर्माण सेवाको नेतृत्व गंगाले गरिरहेकी छन् भने उनका श्रीमानले देउराली निर्माण सेवा कम्पनीको नेतृत्व गरिरहेका छन् । ‘म यहाँसम्म पुगेको श्रीमानकै कारण हो, काखमा तीन वर्षको छोरा हुँदै मैले यो काम सिकेँ, मेरो सफलतामा रोलमोडल मेरै श्रीमान हुनुहुन्छ,’ उनले भनिन् । गंगा निर्माण क्षेत्रमा काम गर्न ठूलो चुनौती रहेको बताउँछिन् । ‘हामीलाई धेरै समस्या छ । पाठेघरको समस्यादेखि गर्भवतीसम्मको पीडा । त्यसमा पनि अझ पुरुषहरुको तुलनामा महिलालाई हेर्ने दृष्टिकोण समाजमा फरक छ,’ उनी भन्छिन्, ‘ यो चिर्न आवश्यक छ ।’ उनी पहिलेको तुलनामा अहिले मान्छेको सोंच परिर्वतन हुँदा यो क्षेत्रमा धेरै सुधार आएको बताउँछिन् । पहिले महिलाले गरेको काम मन नपराउनेहरु अहिले तारिफ गर्छन् । अन्य क्षेत्रमा जस्तै हाल निर्माण क्षेत्रमा पनि महिलाको सहभागिता बढेको उनको भनाइ छ । गंगा अहिले सडक निर्माण पुल, भवन, सिंचाइ खानेपानीलगायत क्षेत्रमा काम गरिरहेकी छन् । गंगा अहिले निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्यका रुपमा पनि काम गरिरहेकी छन् भने महिला ठेकेदार समन्वय समितिकी संयोजक समेत हुन् । उनी यसअघि निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष थिइन् । सुदूरपश्चिममा निर्माणको काम गरिरहेकी यमुना यमुना भट्ट । निर्माण क्षेत्रकी अर्की अब्बल व्यवसायी हुन् यमुना भट्ट । यमुना विसं २०६५ सालदेखि निर्माण क्षेत्रमा आवद्ध छिन् । उनी सुरुवातमै जिल्ला संघमा सदस्य आवद्ध भएकी थिइन् भने हाल केद्रीय सदस्य छिन् । जसले पुरुष प्रधान समाजलाई उछिन्दै एक साहसी निर्माण व्यवसायीको परिचय बनाएकी छन् । सुदुरपश्चिम प्रदेशको धनगढी घर भएकी उनले सप्तशती निर्माण सेवा कम्पनीमार्फत् काम गरिरहेकी छन् । सुदुरपश्चिमका विभिन्न भौतिक पूर्वाधार निर्माण कार्यमा उनी सक्रिय छिन् । ‘पूर्वाधार निर्माणका कामहरु गर्न गाह्रो छ, घरको सम्पूर्ण जिम्मेवारी हाम्रै काधँमा हुन्छ, जसमा चुलो चौकोका कामसँगै बच्चाहरुको रेखदेखको काम पनि आफै गर्नुपर्छ,’ उनी भन्छिन्, ‘चुनौतीका बाबजुत पनि काम गरिएको छ ।’ असहले आफूले गरेको कामले सम्मान पाउने गरेको उनले सुनाइन् । ‘सुरु–सुरुमा कामप्रति विश्वास नै गर्दैनथे, ठेक्का लगाए पनि महिलाले के काम गर्न सक्छिन् र भन्ने बुझाइ हुन्थ्यो, विस्तारै काम गर्दै गइयो, धेरैको मन जित्न सफल भइयो, अहिले पृथक किसिमको सम्मान पाइन्छ, खुसी लाग्छ,’ उनले सुनाइन् । काममा इमान्दारिता र लगनशिलता देखायो भने विश्वास जित्न सकिने उनको भनाइ छ । उनका श्रीमान् सरकारी इन्जिनियर भएपनि उनी अहिले रिटायर्ड भइसकेका छन् । कर्मचारीदेखि मालिकसम्म गीता शाही । गीता शाहीको घर जुम्ला हो । उनी हाल ललितपुरमा बस्दै आएकी छन् । सुरुमा निर्माण कम्पनीमै काम गरेकी गीता हाल कम्पनीकी मालिक छिन् । उनी निर्माण क्षेत्रमा विस २०६५ सालदेखि आवद्ध भएकी हुन् । उनले हाल एस एल कन्स्ट्रक्सन कम्पनीमार्फत् काम गरिरहेकी छन् । निर्माण क्षेत्रमा पुरुषको तुलनामा महिलालाई बढी समस्या रहेको उनको अनुभव छ । ‘महिलालाई यो क्षेत्रमा ठूलो कठिनाइ छ, केही महिला यो क्षेत्रमा भएपनि अझ पनि महिलालाई पत्याउने अवस्था छैन,’ उनी भन्छिन्, ‘विश्वास आवश्यक छ ।’ ‘महिला पनि ठेक्कापट्टा गर्न सक्छन् भन्ने प्रश्न उठ्ने गर्छ । तर, हामीले काम गरेर देखाएका छौं,’ उनी भन्छिन्, विगतको तुलनामा अहिले महिलाले पनि गर्न सक्छन् है भन्ने विश्वास जागेको छ ।’ उनले कान्तिपथ सडक निर्माणदेखि अन्य धेरै ठूला आयोजना सफलताका साथ सम्पन्न गरेको सुनाइन् । उनी निर्माण व्यवसायी महासंघकी केन्दीय सदस्य हुन् भने पुर्वाधार महिला महासंघकी अध्यक्ष पनि हुन् । पूर्वाधार महिला महासंघ भनेको निर्माण क्षेत्रको महिलाहरुको संगठन हो । यो दर्ता गरेको दुई महिना भएको छ । महिलाहरुलाई निर्माण क्षेत्रमा ल्याउनका लागि यो संस्थाको स्थापना गरिएको उनले सुनाइन् ।

बैंकबाट वालेटमा रकम पठाउँदा १० लाखको सीमा, सरकारी राजस्वदेखि एसएसएफको रकम भुक्तानी गर्दा सीमा नलाग्ने

काठमाडौं । डिजिटल माध्यमबाट राजस्व तिर्दा सीमा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गर्दै एक वालेटबाट अर्को वालेटमा रकम जम्मा÷भुक्तानी गर्ने उपर्युक्त अधिकतम सीमासम्बन्धी व्यवस्थाले बाधा नपुग्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंक खाताबाट वालेट र वालेटबाट अन्य बैंक खाता (क्यूआर समेत)मा रकम जम्मा गर्दा प्रतिदिन २ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँको सीमा तोकेको छ । यस्तै, एक वालेटबाट अर्काे वालेटमा रकम जम्मा गर्दा प्रतिदिन ५० हजार रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँको सीमा निर्धारण गरिएको छ । तर, राष्ट्र बैंकले नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता शुल्कहरू भुक्तानी गर्दा अधिकतम सीमा लागू नहुने व्यवस्था गरेको हो । यस्तै, विद्युत, दूरसञ्चार, तथा खानेपानी महशुल, बीमा प्रिमियम, योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ)को रकम भुक्तानी र विद्यालयको शुल्क बराबरको रकमको भुक्तानी गर्दा सीमा नलाग्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ । वालेटमा अधिकतम ५० हजार रुपैयाँभन्दा बढी मौज्दात ओभरनाइट ब्यालेन्स राख्न पाइने छैन । सो सीमा भन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने छ । भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिटेन्स भित्र्याउन सक्नेछन् । यसरी रेमिटेन्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएकोसीमाले बाधा पु¥याएको मानिने छैन । विदेशबाट वालेटमा प्राप्त रेमिटेन्स रकम वालेटको ओभरनाइट ब्यालेन्सको सीमाभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्नेछ । वालेटबाट वालेट प्रयोगकर्ताको आफ्नै बैंक खाता (वालेटमा लिंक गरिएको) मा रकमान्तर गर्दा कुनै सीमा लाग्ने छैन । यूएसएसडी प्रणालीमा आधारित भुक्तानी कारोबारको अधिकतम सीमा दैनिक १० हजार रुपैयाँ प्रति कारोबार ५ हजार रुपैयाँ हुनुपर्ने छ ।

एआई पूर्वाधार प्रविधिमा माइक्रोसफ्टको ऐतिहासिक लगानी

काठमाडौं । माइक्रोसफ्टले सन् २०२७ को अन्त्यसम्ममा दक्षिण अफ्रिकामा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार विस्तार गर्न ५.४ अर्ब रेन्ड (लगभग २९७ लाख अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जोहानेसबर्गमा आयोजित एक कार्यक्रममा यो घोषणा गरे । उक्त कार्यक्रममा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा पनि उपस्थित थिए । स्मिथले दक्षिण अफ्रिकाको जोहानेसबर्ग र केप टाउनमा पहिलो इन्टरप्राइज–स्केल डाटा सेन्टर स्थापना गर्न विगत तीन वर्षमा कम्पनीले २० बिलियन रेन्ड लगानी गरेको बताए । कार्यक्रममा बोल्दै रामाफोसाले लगानीको स्वागत गर्दै यसले दक्षिण अफ्रिका र यसको अर्थतन्त्रमा निरन्तर विश्वास झल्काउने उल्लेख गरे । ‘दक्षिण अफ्रिकी अर्थतन्त्रमा अपार सम्भावना छ र व्यापार गर्नको लागि एक अनुकूल ठाउँ हो, जहाँ उनीहरूको लगानी सुरक्षित छ,’ उनले भने ।

बुवाको पथलाई पछ्याउँदै विधाता, पाँच तारे होटलको नेतृत्व

काठमाडौं । विधाता श्रेष्ठले होटल क्षेत्रमा लागूँला भनेर कहिल्यै सोंचेकी थिइनन् । उनलाई व्यवसाय नै गरेपनि अन्य क्षेत्रमा लाग्छु भन्ने मनमा थियो । ‘सोंचेजस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन’ भन्ने गीतले भनेजस्तै परिस्थितिले उनलाई अर्कै मोडमा ल्याएर उभ्याइदियो । जहाँ उनलाई ‘नाइँ’ भन्ने छुट थिएन । उनले त्यही बाटोलाई सहजै स्वीकारेर अघि बढ्नु थियो, बढिन् पनि । जीवनमा आइलाग्ने अनेकन चुनौतीको सामना गर्दै साहस र समर्पणताका साथ विधाता अघि बढिन् र सफल पनि भइन् । उनले आफ्नो बुवाको अवसानपछि उनकै व्यवसायलाई अगाडि बढाइरहेकी हुन् । बुवाले सुरु गरेको व्यवसायलाई आफ्ना बल, मिहिनेत र सोंचले थप उचाइमा पुर्‍याउन विधाता सफल भएकी छिन् । यदि उनले त्यतिबेला आफूलाई सक्दिनँ, गर्दिनँ भनेर पछि हटेको भए सायदै होटल र्‍याडिसन आज नेपालमा हुँदैनथ्यो । आँटिली विधाताले त्यो अवस्था आउन दिइनन्, उनले आज पनि र्‍याडिसनलाई त्यो उचाइँमा पुर्‍याइरहेकी छिन् जति हिजो उनका बुवाले पु¥याउने सपना बोकेका थिए । जिम्मेवारीले डोर्याएको यात्रा सन् १९९० मा काठमाडौंमा जन्मिएकी विधाता माइली सन्तान हुन् । उनका एक दिदी र बहिनी छन् । स्कुलको पढाइ शुभताराबाट गरेकी उनले मल्पी कलेजबाट ‘ए लेभल’ गरेपछि थप पढाइका लागि बेलायत गइन् । उनले सन् २०१२ मा बेलायतको युनिर्भसिटी अफ इष्ट आंग्लियाअन्र्तगत नर्विज बिजनेस स्कुलबाट एडभान्स बिजनेस म्यानेजमेन्टमा पोष्ट ग्रयाजुएसन गरिन् । त्यसपछि उनी नेपाल फर्किन् । सन् २०१४ मा विधाताले बुवाकै सल्लाहमा होटलमा कर्पोरेट म्यानेजर भएर बुवालाई सघाउन थालिन् । बुवालाई सघाउन र केही सिक्न होटल प्रवेश गरेकी विधातालाई सिंगो होटलको जिम्मेवारी आफ्नै काँधमा आउँछ भन्ने कहिल्यै सोंचेकी थिइनन् । उनका बुवा विके श्रेष्ठ र्‍याडिसनका प्रबन्ध निर्देशक थिए । मिजासिलो व्यक्तित्वका रुपमा चिनिने श्रेष्ठ होटल संघ नेपाल (हान) का पूर्वअध्यक्षसमेत हुन् । उनले आफ्नो मिहिनेतले होटल र्‍याडिसनको उचाइँ सधै उच्च नै राख्दै आएका थिए । श्रेष्ठ होटलप्रति मात्रै नभएर परिवारप्रति पनि उत्तिकै जिम्मेवार थिए । सबै कुरामा राम्रै गरिरहेका श्रेष्ठ आफ्नै जीवनबाट भने हारे । उनको अवस्था बिग्रँदै गयो, जति उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गयो, त्यति नै बढी जिम्मेवारी माइली छोरी विधाताको काँधमा सर्दै जान थाल्यो । क्यान्सरपीडित श्रेष्ठले सन् २०१७ मा संसारबाट बिदा लिए । बुवाको निधनपछि होटल सम्हाल्ने ठूलो जिम्मेवारी विधाताको काँधमा आइपर्‍याे । हुन त उनका बुवाले सानैदेखि तीनै जना छोरीहरूलाई मानसिक रूपमै आफूपछि व्यवसाय अघि बढाउने हिसाबले तयार पारेका थिए । सानैदेखि तीन जना छोरीहरूलाई व्यवसायमा तयार पार्नका लागि प्रयासलाई विधाताले मनन् गरेपनि कहिले कसरी कतिबेला जिम्मेवारी निभाउनुपर्छ भन्ने कुरा थाहा थिएन । यसरी परिस्थितिले उनलाई र्‍याडिसनजस्तो ‘पाँच तारे’ होटल सम्हाल्ने जिम्मेवारी आइपर्‍याे। बुवाकाे पथ पछ्याउँदै बुवाको पदमा अर्थात प्रबन्ध निर्देशक भएर कुर्सीमा बस्दै गर्दा सुरुवाती चरणमा विधातालाई चुनौती नै थियो । उनको लागि पहिलो चुनौती भनेकै बुवाले मिहिनेत र संघर्षले स्थापित होटलको साखलाई बचाइराख्नु थियो । दोस्रो बुवाको बाँकी सपनालाई पूरा गर्नु थियो । त्यस्तै, कर्मचारीको विश्वाससमेत जित्नु थियो र यी दुबै कुरामा सचेत थिइन् उनी । उनको लागि प्रबन्धक निर्देशक भएर काम गर्नु सहज पक्कै थिएन । सुरुवाती दिनमा केही व्यक्तिहरूले विधाताको क्षमतामाथि प्रश्न उठाउन भ्याएका थिए । सुरुवाती संघर्षका दिन सम्झिँदै विधाताले भनिन्, ‘जब म बुवाको कुर्सीमा प्रबन्धक निर्देशक भएर गएँ, केही व्यक्तिहरूले यसले होटलको नेतृत्व गर्न सक्छ र ? भनेर मेरो क्षमतामाथि प्रश्न उठाए । अविवाहित छे, एक न एक दिन बिहे गरेर गइहाल्छे, त्यसपछि के ? भन्नसम्म भ्याएका थिए ।’ अरूबाट आउने यी र यस्तै अनेक नकारात्मक प्रतिक्रियाहरूबाट विधाता एकरति पनि विचलित भइनन् । अरूले जे भनेपनि उनलाई आफ्नो क्षमतामाथि विश्वास थियो । जसरी पनि काम गर्नुछ, बुवाको सपना पूरा गर्नुपर्छ भन्ने लक्ष्यसहित उनी निरन्तर अघि बढिरहिन् । आफ्नो काममा आमा र काकाले त्यतिबेला धेरै नै साथ दिएको कुरा सम्झिन्छिन् विधाता । ‘म एक्लैले होटललाई यहाँसम्म ल्याउन सायदै सकिँदैन थियो होला । तर, मलाई मेरो अंकल (अनलराज श्रेष्ठ) र आमाले धेरै सहयोग गर्नुभयो, त्यसले पनि मलाई अघि बढ्न थप बल पुग्यो’, उनले भनिन् । त्यसबाहेकका अरू चुनौती भने एकपछि अर्को गर्दै थपिँदै गएको स्मरण गर्छिन् विधाता । उनले नेतृत्व सम्हाल्न थालेपछि भूकम्पको सामना गर्नुपर्यो । भूकम्पबाट राम्रोसँग ‘रिकभर’ हुन नपाउँदै नाकाबन्दी सुरु भयो । त्यसको असर होटल क्षेत्रमा पुगेको उनले सुनाइन् । नाकाबन्दी लगत्तै विश्वभरि नै कोरोनाको महामारी सुरु भयो । भूकम्प, नाकाबन्दी र कोरोनाको कारण विश्व अर्थतन्त्रमै ठूलो असर पुग्यो । त्यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा पुग्यो । यसबाट होटल क्षेत्र पनि अछुतो रहन सकेन । होटल क्षेत्रलाई पनि पहिल्यैको लयमा फर्किन समय लाग्यो । अहिले पनि धेरै होटल पहिलेको अवस्थामा पुग्न सकेका छैनन् । यसरी आफ्नो नेतृत्वपछि केही न केही चुनौतीको सामना उनले गरिहनुपर्‍यो । यी सबै चुनौतीबाट पनि उठेर होटललाई राम्रै ढंगबाट व्यवस्थापन गर्न सफल भएको उनले सुनाइन् । पुरानै चार्म फर्काउने प्रयास र्‍याडिसन फ्रेञ्चाइज होटल हो । त्यसैले यसको व्यवस्थापनदेखि सबै सर्भिस अन्तर्राष्ट्रियस्तरको हुन्छ । होटलले अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड पछ्याउनैपर्छ । त्यो अभ्यासमा आफूहरूले सक्दो प्रयास गरेको विधाता सुनाउँछिन् । विधाताले नेतृत्व सम्हाल्न थालेपछि व्यवस्थापनको केही पाटोमा उनले परिवर्तन गरिन् । विशेषगरी जनशक्तिमा । ‘हामीले अन्तर्राष्ट्रियस्तरको सुविधा दिइरहेका छौं, सबै नियम पालना गरेका छौं । कर्मचारीहरूको सेवासुविधा उनीहरूको लेभलअनुसार दिएका छौं,’ उनले भनिन्, ‘ अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड पछ्याउनका लागि यहाँका कर्मचारीलाई थप तालिम दिएर हुन्छ कि या विदेशबाटै प्रशिक्षकहरू ल्याएर हुन्छ, तालिम दिने गरेका छौं ।’ कर्मचारीहरूसँग पनि राम्रो सम्बन्ध स्थापित गर्न माहिर छिन् विधाता । कम्पनी सुरुवाती चरणदेखिका कर्मचारी यही होटलमा अहिले पनि काम गरिरहेका छन् । पूराना कर्मचारीबाट अनुभव लिने र आफ्नो नयाँ आइडिया सेयर गरेर अघि बढिरहेकी छिन् उनी । कर्मचारीसँग घुलमिल हुनेदेखि बाहिर बजारमा विभिन्न व्यक्तिसँग कनेक्ट भएर आफै नै लागिपरेकी छिन् उनी । आफै नलाग्दासम्म अहिलेको प्रतिस्पर्धी बजारमा टिक्न गार्‍हो छ भन्ने उनले राम्रोसँग बुझेकी छन् । होटल सञ्चालनमा आएको २५ वर्षभन्दा बढी भइसकेको छ । त्यस हिसाबले होटलको केही पार्ट रिनोभेट (पुनःनिर्माण) भएको छ । विधाताको नेतृत्वपछि नयाँ डिजाइनसहित दुई तल्लाको पुनःनिर्माण भएको छ । आगामी दिनमा लबीहरू परिवर्तन गर्ने तयारी रहेको उनले सुनाइन् । त्यस्तै, उनकै बुवाको सपनाअनुसार नयाँ अपार्टमेन्ट निर्माण हुने चरणमा छ । आउने दिनमा ग्राहकको आवश्यकताअनुसार होटलले सेवा थप्दै लैजाने योजना रहेको उनले सुनाइन् । होटलमा महिला सहभागिता विगतको तुलनामा हस्पिटालिटी क्षेत्रमा महिला सहभागिता बढ्दै गएको छ । नेतृत्व तहमा पनि महिला सहभागिता विस्तारै बढ्दै गएको विधाता सुनाउँछिन् । ‘होटल संघ नेपाल(हान) को नेतृत्व तहमा महिला पुगिसकेका छन् । मेची क्राउन, पार्क भिलेजजस्ता होटलहरूको नेतृत्व महिलाले नै गरिरहनुभएको छ । यसरी हेर्दा विस्तारै यो क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको छ । तर, पर्याप्त होइन । अझै महिलाहरु यो क्षेत्रमा आउनु आवश्यक छ,’ उनले भनिन् । महिलामाथि हेर्ने दृष्टिकोणमा पनि विस्तारै परिवर्तन हुँदै गएको अनुभव उनले पनि गरेकी छन् । महिलाले के गर्न सक्छन् र भन्ने समाजले आज महिलाले गर्न सक्छ भन्ने विश्वास गर्न सक्ने अवस्था सिर्जना भएको उनी बताउँछिन् । महिला सहभागिता बढाउन उनीहरूलाई अवसरको साथसाथै हौसला बढाउनुपर्ने उनले औंल्याइन् । होटल क्षेत्रमा चुनौती र सम्भावना कोरोना महामारीले थला परेको नेपालको अर्थतन्त्र अहिले पनि राम्रोसँग तँग्रिन सकेको छैन । अझै पनि होटल, पर्यटनजस्ता क्षेत्रहरूले आर्थिक रूपमा माथि उठ्न संघर्ष गर्नुपरेको छ । नेपालको अर्थतन्त्रलाई उठाउने एउटा क्षेत्र पर्यटन पनि हो । तर, यो क्षेत्र आफै माथि उठ्न नसक्दा देशको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । नेपालमा आउने पर्यटकको संख्यामा समेत सुधार हुन सकेको छैन । नेपालमा सबैभन्दा धेरै पर्यटक आउने भनेको छिमेकी मुलुक चीन र भारतबाटै हो । यी देशबाटै पछिल्लो समय पर्यटकको संख्या घट्दै गएको छ । विधाता भारतबाट आउने पर्यटकको लागि टिकट नै महँगो हुँदा नेपाल आउन नखोज्ने औंल्याउँछिन् । पर्यटकको संख्या बढाउन टिकट केही कम गर्नुपर्ने र सडकमार्ग सुरक्षित हुनुपर्ने बताउँछिन् । ‘भारतलाई यहाँ आउन भिजा महँगो छ जबकि दुबईमा भिजा निःशुल्क छ । कम्तीमा हवाई टिकट मात्रै कम गर्ने र सडक पूर्वाधार समयमै बनाउने हो भने पर्यटक भित्र्याउन समस्या छैन,’ उनले भनिन् । नेपालको सडक र हवाई यात्रा सुरक्षित छ भनेर भन्दा पनि असुरक्षित छ भन्ने सन्देश विदेशमा पुगेको छ । यो सन्देश कम हुने गरी नेपालले काम गर्नु आवश्यक औल्याउँछिन् विधाता । त्यस्तै, आन्तरिक उडान राम्रोसँग हुन सकेको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेको छैन । यो पूर्ण रूपमा सञ्चालनमा आएपछि नयाँ ढंगबाट गइएन भने पर्यटन क्षेत्र बुम हुन गार्‍हो हुने उनले बताइन् । पछिल्लो समय होटलको संख्या बढेअनुसार पर्यटकको संख्या बढ्न सकेको छैन त्यसतर्फ सरकारले सोच्नुपर्ने विधाता बताउँछिन् । उनी भन्छिन्, ‘होटलको संख्या बढेअनुसार पर्यटक बढ्न सकेको छैन । यसमा सरकारले के गर्न सकिन्छ सोंच्ने बेला भएको छ । बैंक मर्जरमा गएजस्तो होटल मर्जरमा जान सक्दैन । त्यस्तो अवस्था नहोस् ।’ नेपाल भन्नेबित्तिकै यहाँ हिमालमात्रै छैन । मुलुक अनेक धर्म र संस्कृतिले भरिपूर्ण छ । नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । यहाँ पशुपति, मुक्तिनाथदेखि लिएर लुम्बिनीजस्ता ठाउँ छन् । ती सबै क्षेत्रलाई विस्तार गर्नुपर्ने र पर्यटक बढाउनुपर्ने आवश्यक छ । यसमा नेपाल पर्यटन बोर्डले नेतृत्व लिएर पर्यटन क्षेत्रमा काम नाट्टा, टानजस्ता गर्ने संस्थाहरूलाई बजेटिङमा सहयोग गर्नुपर्ने विधाता बताउँछिन् ।

सामुदायिक विद्यालय हाँकिरहेका ‘हेडम्याम’

काठमाडौं । एक समयमा महिला चुलो र चौकामा मात्र सीमित थिए । अहिले समय फेरियो । राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै छ । कुनै समय विद्यालयमा पढ्नसमेत बन्देज छोरीहरू अहिले त्यही क्षेत्र अर्थात विद्यालयको नेतृत्व गरिरहेकी छन् । उनीहरूले हाँकेका विद्यालयहरूले एसईई लगायत हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याइरहेका छन् । आज हामी नारी दिवसको अवसरमा काठमाडौं उपत्यकामा रहेका सामुदायिक विद्यालयको नेतृत्व गरिरहेकी महिलाहरुको संक्षिप्त समाचार सामग्री तयार पारेका छौं । धुम्रबराह माविको चित्र फेरेकी सुजाता आजभन्दा करिब २५ वर्षअघि सुजाता राजलवट काठमाडौंको धुम्बाराहीमा रहेको धुम्रबराह माध्यमिक विद्यालय शिक्षकको रूपमा पुगिन् । त्यहाँको अवस्था देख्दा उनलाई अचम्म लाग्यो । काठमाडौंमा रहे पनि सामुदायिक विद्यालयको अवस्था कन्तबिजोग थियो । विद्यार्थीहरू सुकुलमा बसेर अध्ययन गरिरहेका थिए । विद्यालयको अवस्थाबारे उनले प्रधानाध्यापकसँग कुरा राखिन् । तर, कुनै प्रगति भएन । सुजातालाई त्यत्तिकै बस्न मन लागेन । उनले विद्यालयको बारेमा समाजमा रहेका अगुवा अनि अभिभावकसँग कुराकानी गर्न थालिन् । विद्यालयको दुरावस्थाको विषयमा कुरा उठाइन् । तर, कुरा कसैले सुनेनन्, किनकि उनी आवाज सुनुवाइ हुने ठाउँमा थिइनन् । त्यसको चार वर्षपछि सुजाता त्यही विद्यालयको प्रधानाध्यापक बनिन् । त्यसपछि उनले कडा रूपमा आवाज उठाइन् । उनले विद्यालय वरिपरि रहेका समाजसेवी, बुद्धिजीवीलाई भेटिन् । विस्तारै अभिभावकले पनि यो कुरामा ध्यान दिन थाले । कक्षा ६ सम्म मात्र पढाइ हुने यो विद्यालयमा विस्तारै कक्षा थपिँदै गए । विद्यार्थीले बेञ्चलगायत अन्य भौतिक सुविधा प्राप्त गरे । सुजाता राजलवट । अहिले २१ वर्ष भयो, यो विद्यालयको नेतृत्व उनै सुजाताले गरिरहेकी छन् । उनी भन्छिन्, ‘भुइँमा बसेर अध्ययन गर्ने विद्यार्थीलाई अहिले डेस्क बेञ्चमा बस्नेमात्र होइन, त्यही अनुसारको शिक्षा दिने विद्यालय बनाउन सफल भएकी छु ।’ सुजाताका अनुसार अहिले यो विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । जहाँ अहिले ५ सय भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने शिक्षक कर्मचारी १९ जना छन् । सुजाता आफूसँग गर्न सक्ने इच्छा र आँट भयो भने नेतृत्वमा पुगेपछि धेरै काम गर्न सकिने दाबी गर्छिन् । उनी काम गर्दै जाँदा आउने चुनौतीको सामना गर्दै अगाडि बढ्न सक्यो भने मात्र जीवन सोंचेजस्तो हुने बताउँछिन् । महिलाको एउटैमात्र भूमिका हुँदैन, उसले दोहोरो, तेहेरो भूमिका निभाउनुपर्छ । उनी भन्छिन्, ‘एउटा महिला बिना घरपरिवार, देश मात्र नभइ पुरुष नै अधुरो हुन्छ, यसको मतलब महिलामात्र सबै थोक हो, पुरुष होइन भन्ने होइन ।’ उनी नारीले नेतृत्व गर्ने हरेक संस्था सफल हुने बताउँछिन् । उत्कृष्ट ज्ञानोदय बनाउने विष्णु उपत्यकामा रहेका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयभित्र पर्छ ज्ञानोदय माध्यमिक विद्यालय । काठमाडौंको कलंकीमा रहेको यो विद्यालयले एसईईमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । यही कारणले नै यो विद्यालय पढाउन अभिभावकको लाइन लाग्छ । विद्यालयमा अहिले ४ हजार ७ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालय भएपनि यो विद्यालयले अहिले अंग्रेजी भाषामा शिक्षण गराइरहेको छ । समयको मागअनुसार परिमार्जन भएको विद्यालय देशभरकै उत्कृष्ट विद्यालयभित्र पर्ने गर्छ । इसीडी (प्रारम्भिक बाल विकास) देखि कक्षा १२ सम्म पढाइ हुने यो स्कुलमा विद्यार्थीको निकै आकर्षण छ । यहाँ भर्नाको समयमा ५ सय विद्यार्थीको सिटमा दुई हजार बढी विद्यार्थी भर्ना हुन आउँछन् । अहिले यो विद्यालयको नेतृत्व गरिरहेकी छिन् विष्णु घिमिरे रिमालले । मोरङ घर भई काठमाडौंमा शिक्षण पेशामा आवद्ध रिमाल विगत दुई वर्षदेखि यो स्कुलको नेतृत्व गरिरहेकी छन् । दुई दशक बढी समयदेखि शिक्षण पेशामा आबद्ध रिमाल विद्यार्थी, अभिभावक र शिक्षकहरूको त्रिकोणात्मक सहयोगले विद्यालय सञ्चालनमा सहज भएको बताउँछिन् । विष्णु घिमिरे रिमाल । उनी भन्छिन्, ‘हामी विद्यालयको हरेक काम समूहमा बसेर छलफल गर्छौं, नेतृत्वकर्तासँग समूह राम्रो छ भने हरेक चुनौतीसँग जुधेर अगाडि बढ्न सकिन्छ ।’ महिलामात्र अध्ययनरत पद्मकन्या विद्याश्रम काठमाडौंको डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रम विद्यालय एउटा यस्तो विद्यालय हो, जहाँ महिला अर्थात छात्रामात्र अध्ययन गर्छन् । यो विद्यालय नेपालको सबैभन्दा पुरानो विद्यालयअन्र्तगत पर्छ । रिता तिवारी । राणाशासनमा महिलाको अध्ययनका लागि बनाइएको यो विद्यालयमा अहिले ८ सय ६० वटा विद्यार्थी अध्ययन गरिरहेका छन् । जुन विद्यालयको नेतृत्व गरिरहेकी छन् रिता तिवारीले । रिताको घर काठमाडौंको कमल पोखरी हो । उनले यो विद्यालयको नेतृत्व सम्हालेको १२ वर्ष भयो । एउटा निजी स्कुलबाट शिक्षकको रूपमा शिक्षण पेसा सुरु गरेकी उनी अहिले यो विद्यालयको प्रमुखका रूपमा काम गरिरहेकी छिन् । शिक्षक हुँदै प्रधानाध्यापकको पदसम्म पुग्दा उनले पनि धेरै संघर्ष गर्नुपर्यो । रिता भन्छिन्, ‘सुरु सुरुमा काम गर्न गाह्रो थियो, तर आजभोलि बानी भइसक्यो । काम गर्न पनि पहिलेको भन्दा अवस्था सहज भइसकेको छ ।’ विद्यार्थीलाई विज्ञान र गणित विषयमा अध्ययन गराउँदै आएकी उनी पहिलेभन्दा अहिले समाज परिवर्तन हुँदै गइरहेको बताउँछिन् । ‘समय परिवर्तन भएको छ, पहिले महिला घरभन्दा धेरै पर जाने अवस्था थिएन, उनीहरूलाई नेतृत्व दिँदासमेत नाक खुम्च्याइन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले महिला आफै प्रतिस्पर्धा गरेर नेतृत्वमा जानसक्ने भइसकेका छन्, यो खुसीको कुरा हो ।’ भानुलाई भव्य बनाउन चाहेकी शारदा भानु माध्यामिक विद्यालय काठमाडौंको रानीपोखरीमा अवस्थित छ । जहाँ इसीडी देखि कक्षा १२ सम्म पढाइ हुन्छ । यो विद्यालयमा अहिले करिब १ हजार जना विद्यार्थी अध्ययन गरिरहेका छन् । करिब एक हजार विद्यार्थीका लागि अध्ययन गराउने आन्तिरिक र सरकारी दरबन्दी गरेर अहिले यो विद्यायमा ४३ जना शिक्षक कर्मचारी छन् । यो विद्यालयको नेतृत्व गरिरहेकी छिन् शारदा पौडेलले । उनको घर स्याङ्जा हो । अहिले उनी काठमाडौंमा बस्छिन् । २०७१ सालदेखि भानु माध्यामिक विद्यालयमा आवद्ध उनी २०७८ सालदेखि प्रधानाध्यापकको भूमिकामा काम गरिरहेकी छिन् । शारदा अहिले पनि महिलालाई सितिमिति पत्याइहाल्ने समाज नभएको बताउँछिन् । उनी भन्छिन्, ‘पुरुष सहकर्मी धेरै छन्, उनीहरूलाई हरेक पल म काम गर्न सक्छु भन्ने प्रमाणित गरिरहनुपर्छ ।’ शारदा पौडेल । शारदा अहिले महिला नेतृत्वमा पुगे पनि गर्न सक्छु भन्ने विश्वास दिलाउन उनीहरूले धेरै मिहिनेत गर्नुपर्ने बताउँछिन् । ‘अहिले पनि म प्रधानाध्यापकको कुर्सीमा बसिरहँदा पनि हेडसर खोइ भनेर धेरैजना सोध्नुहुन्छ,’ उनी भन्छिन्, ‘अझै नेतृत्वतहमा पुरुष नै हुन्छन् र हुनुपर्छ भन्ने सोंच धेरैमा छ ।’ कसरतमा छिन् करुणा नेपाल आदर्श मावि काठमाडौंको गणबहालमा छ । यो विद्यालयको नेतृत्व तीन वर्षदेखि करुणा प्रधानले गरिरहेकी छिन् । शिक्षण पेसामा लागेको लामो समयपछि अहिले उनी विद्यालयको नेतृत्व गरिरहेकी हुन् । विद्यालयमा अहिले ४ सय ८५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने ८५ जना शिक्षक कर्मचारी छन् । काठमाडौंमा जन्मे हुर्केकी करुणा महिलाहरू अहिले हरेक क्षेत्रको नेतृत्व तहमा पुगिसकेको बताउँछिन् । करुणा प्रधान । ‘महिलाले घरलाई सुन्दर बनाउँछिन्, घरभन्दा बाहिर जुन संस्थामा आवद्ध हुन्छिन्, तिनलाई पनि उनले सुन्दर बनाउँछिन्,’ उनी भन्छिन्, ‘महिलाले नेतृत्व गरेका शैक्षिक संस्थामात्र होइनन्, हरेक संस्था कम्पनी उत्कृष्ट बनेका छन् ।’ नेपाली समाज परिवर्तन भइसकेको भन्दै उनी अब पहिलेजस्तो संघर्ष गर्नुपर्ने अवस्था नरहेको बताउँछिन् । नन्दी माविमा गीताको नेतृत्व काठमाडौंको नक्सालमा रहेको नन्दी माविमा कक्षा १ देखि १२ सम्म अध्यापन हुन्छ । जहाँ अहिले ५ सय भन्दा बढी विद्यार्थीहरू छन् भने ३६ जना शिक्षक कर्मचारी छन् । गीता काफ्ले । यो स्कुलको नेतृत्व अहिले गीता काफ्लेले गरिरहेकी छिन् । वि.सं २०५० सालमा दोलखाबाट शिक्षण पेशा सुरु गरेकी उनी अहिले वि.सं २०६३ सालदेखि काठमाडौंको नन्दी माविमा आवद्ध छिन् । शिक्षकको रूपमा यो स्कुलमा प्रवेश गरेकी उनले वि.सं २०७२ सालदेखि यही विद्यालयमा प्रधानाध्यापकको भूमिका छिन् । गीता शिक्षण पेसामा मात्र नभइ हरेक संस्थामा काम गर्दा हुने चुनौतीले नै अवसर सिर्जना गर्ने बताउँछिन् । उनी भन्छिन्, ‘यात्राको दौरानमा कोही न कोही पछाडि कुरा काट्ने मान्छे आवश्यक हुँदो रहेछ, जसले थप संघर्ष गर्न दबाब सिर्जना गर्छ, जसको दबाबले राम्रो पदमा पुग्न मान्छेलाई सफल बनाउँछ ।’ गीता चुनौतीसँग लडेर सफलतामा पुग्नु नै रमाइलो हुने बताउँछिन् । उनी कुनै पनि नेतृत्वमा पुगेका महिलाले समयअनुसार आफूलाई अपडेट र आफ्नो समूहलाई मिलाएर लैजाने सामथ्र्य राख्न सके कसैले प्रश्न गर्ने ठाउँ नहुने उनको अनुभव छ । पद्मोदयको प्रमुख पोखरेल काठमाडौंको पुतलीसडकमा रहेको पद्मोदय माध्यमिक विद्यालय सामुदायिक विद्यालय हो । यो विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढेको छ । यहाँ ईसीडीदेखि कक्षा १२ सम्म अध्ययन गराइन्छ । एसईई र प्लस टुमा राम्रो नतिजा आउने यो विद्यालयमा विद्यार्थीको भर्नाको समयमा निकै सकस हुने गरेको शिक्षकहरू बताउँछन् । तर, भवनको अभावमा विद्यार्थी आएजति भर्ना गर्न सकिने अवस्था छैन । अहिले कक्षा १ देखि १० कक्षामा मात्र ६ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । डा. शर्मिला पोखरेल । यसैगरी, प्लस टुमा ७ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यो विद्यालयको नेतृत्व अहिले डा. शर्मिला पोखरेलले गरिरहेकी छिन् । ‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने नारा दिएर सञ्चालनमा आएको यो विद्यालयको नेतृत्व गरिरहेकी शर्मिला विद्यार्थीलाई शिक्षामात्र नभई संस्कार दिन आवश्यक रहेको बताउँछिन् । जबरजस्त नेतृत्व गरेकी जानुका गुणस्तरीय शिक्षा दिँदै आएको अर्को विद्यालय हो नीलबाराही माध्यमिक विद्यालय, जुन काठमाडौंको टंकेश्वरमा रहेको छ । हाल एक हजार बढी विद्यार्थी अध्ययनरत रहेका यो विद्यालयमा ईसीडीदेखि कक्षा १२ सम्म अध्ययनपन हुने गर्छ । डा. जानुका नेपाल । सामुदायिक विद्यालयमा राम्रो नतिजा ल्याउन सफल यो विद्यालयको प्रधानाध्यापक हुन् डा. जानुका नेपाल । काभ्रेको साँगामा रहेको जनज्योति माविबाट शिक्षणको काम सुरु गरेकी जानुका हाल २० वर्षदेखि यो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा रहेकी छिन् । ३३ वर्षदेखि शिक्षण पेशामा आवद्ध जानुका विभिन्न चुनौतीसँग लड्दै यो स्थानसम्म आइपुगेकी हुन् । नील बाराहीको नेतृत्व गर्दा पनि उनले निकै चुनौती खेप्नु परेको थियो । महिलाले नेृतृत्व गर्न सक्छन् र भन्ने पुरुषवादी सोंचका कारण प्रधानाध्यापक बन्न नै संघर्ष गर्नुपरेको उनले बताइन् । विद्यालयमा प्रधानाध्यापकको भूमिका खाली हुँदा विद्यालय व्यवस्थापन समिति र त्यो बेलाको वडा सचिवले जानुकालाई विश्वास गर्न सकेनन् । प्रधानाध्यापक बाहिरबाट ल्याउनुपर्छ भन्ने कुरा उठिरहेको बेला जानुकाले म जिम्मेवारी लिन्छुभन्दा पनि स्वीकार गर्न सकेनन् । ‘विद्यालयका अन्य शिक्षकहरूले म्याडमले नै नेतृत्व गर्न सक्नुहुन्छ भनेपछि बल्ल मलाई पत्याएको हो, यो समाज सितिमिति महिलालाई विश्वास गर्न सक्दैन,’ जानुकाले भनिन् ।

३०६ वटा व्यापार बन्द, नयाँ उद्योग दर्ता घट्दा बन्द हुने क्रम बढ्दो

काठमाडौं । मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनि उद्योग एवं व्यापारिक फर्म हुने क्रम बढ्दो छ । आर्थिकमन्दीका कारण आर्थिक वर्ष २०७८/७९ यता मकवानपुरमा निरन्तर उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दै गएको हो । चालु आव २०८१/८२ को ७ महिनाको अवधिमा उद्योग र वाणिज्यतर्फका ३०६ वटा व्यापार बन्द भएका छन् । उद्योग तथा वाणिज्य कार्यायल मकवानपुरका अनुसार आव २०८१/८२ मा उद्योगतर्फ १२७ र वाणिज्यतर्फका १७९ उद्योग व्यापारको लगतकट्टा गराएका छन् । अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ गरी ६०४ उद्योग व्यापार बन्द भएको थियो । यस्तै आव २०७९/८० मा मकवानपुरमा उद्योगतर्फ ११० र वाणिज्यतर्फ १७३ गरी २८३ उद्योग व्यापारको लगतकट्टा गरिएको थियो भने आव २०७८र७९ मा उद्योगतर्फ ११८ र वाणिज्यतर्फ ७२ गरी १९० उद्योग व्यापारको लगतकट्टा गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव, युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायतका कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको लगतकट्टा हुने सङ्ख्या बढेको कार्यालय प्रमुख भुसालले बताए । प्रमुख भुसालका अनुसार मकवानपुरमा बर्सेनि उद्योग व्यवसायको लगतकट्टा बढ्दै जाँदा नयाँ उद्योग व्यवसाय दर्ता भने घट्दै गएको छ । चालु आव २०८१/८२ को सात महिनामा नयाँ उद्योग र वाणिज्यतर्फ ४३० नयाँ व्यवसायी दर्ता भएको छ । चालु आवमा उद्योगतर्फ २५७ र वाणिज्यतर्फ १७३ गरी ४३० नयाँ उद्योग व्यापार दर्ता भएको कार्यालय प्रमुख भुसालले बताए । जबकी अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ गरी ७०१ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । आव २०७९/८९ मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० गरी १ हजार २५२ उद्योग व्यापार दर्ता भएको थियो । चालु आव २०८१/८२ को ७ महिनाको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगतकट्टालगायतका शीर्षकबाट १ करोड ७० लाख ३२ हजार ८०५ रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए । लामो समयदेखिको आर्थिकमन्दीका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम समेत बढ्दै गएका छन् । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन् ।

पूर्वराजालाई अध्यक्ष दाहालको सुझाव: पार्टी खोलेर चुनाव लड्न आए हुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको उनले स्प्रष्ट पारे । आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भने, ‘तिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।’ अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए । अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेका हुन् । शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ ले जानकारी दिए ।

कृषि मन्त्रालयले अघि सारेका कार्यक्रमबाट उत्पादन बढेको छ: मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यन्त्रीकरण तथा व्यावसायीकरणका विभिन्न कार्यक्रमबाट खाद्यान्न, तरकारी, फलफूललगायत कृषिउपजको उत्पादन वृद्धि भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धानको उत्पादन गत वर्षको तुलनामा २ लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ लाख ५५ हजार मेट्रिक टन पुगेको जानकारी दिए । ताजा तरकारी र फलफूलको क्षेत्रफल र उत्पादन तथा उत्पादकत्वसमेत बढ्दै गएको उनको दाबी छ । हाल बाह्रै महिना ताजा तरकारीको उपलब्धता हुनु, स्याउ, सुन्तला, केरा, आँपलगायत स्वदेशी उत्पादनले ओगट्ने बजारको हिस्सा बढ्दै जानु सकारात्मक पक्ष रहेको उनले उल्लेख गरे । पछिल्लो समय पशुजन्य उत्पादनमा पनि मुलुक आत्मनिर्भरतातर्फ अघि बढिरहेको बताउँदै मन्त्री अधिकारीले चालु आवको तथ्याङ्क अनुसार दूधको उत्पादन २६ लाख १६ हजार मेट्रिक टन, माछा १ लाख १९ हजार मेट्रिक टन, मासु ४ लाख ३१ हजार मेट्रिक टन र अण्डाको उत्पादन १ अर्ब ६० करोड भन्दा बढी रहेको जानकारी दिए । उनले बढ्दो जनसङ्ख्या र विविधतासँगै मुलुकभित्रको कृषिउपजको उत्पादनबाट माग परिपूर्ति हुननसक्दा आयात भएको भन्दै धान चामल, गहुँ, मकै, आलु, प्याज, लसुन र केही मात्रामा फलफूलको आयात बढी देखिएको बताए । स्वदेशमा कृषिउपजको उत्पादन वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउन मन्त्रालयले योजनाबद्ध पहल गरिरहेको बताउँदै उनले यसका लागि बालीको क्षेत्रफल विस्तार, सिँञ्चित क्षेत्रको विस्तार, रसायनिक मल र उन्नत बीउविजनको सहज उपलब्धता, उत्पादन लक्ष्यित अनुदानका कार्यक्रम सञ्चालन, उन्नत जात तथा पशुनश्लको विकास तथा प्रवर्द्धन, बाली विशेष कार्यक्रमलाई प्राथामिकता दिई सञ्चालनमा ल्याइएको जानकारी गराए । कृषिउपजको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि विशेष कृषि उत्पादन कार्यक्रममार्फत् समयमा रसायनिक मलको उपलब्धता सुनिश्चितता गर्ने कार्यलाई प्राथामिकतामा राखिएको मन्त्री अधिकारीले उल्लेख गरे । स्वदेशमा रसायनिक मल कारखाना स्थापनाका लागि लगानी बढी लाग्ने भए पनि हालसम्म कुनै सरकारले रकम विनियोजन नगरेको बताउँदै उनले वर्तमान सरकारले सम्भाव्यता अध्ययनको काम गरेको जानकारी दिए । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आत्मनिर्भर बन्ने र यसको निर्यातसमेत गर्ने लक्ष्यका साथ मन्त्रालयले गुणस्तरीय स्रोत सामग्रीमा आमकृषकको पहुँच वृद्धि गर्ने, पहाडी क्षेत्रमा बाँझो तथा खेतीयोग्य जमिनमा फलफूलखेती विस्तार, स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण, कृषि उपज विशेष उत्पादन क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालनलगायत काम गरिरहेको मन्त्री अधिकारीले बताए ।