विकासन्युज

गौतमबुद्ध विमानस्थलबाट ४ अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान, अन्य एयरलाइन्स पनि आकर्षित

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट ४ अन्तरराष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन् । यसअघि मौसमी अवस्था र यात्रु अभावले नियमित उडान हुन सकिरहेको थिएन । अहिले उक्त विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कुवेतको जजिरा एयरवेज, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एसियाले अन्तरराष्ट्रिय उडान गरिरहेका हुन् । भैरहवामा ४ अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान भइरहेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनले विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन भएसँगै विमानस्थल चलायमान बन्ने र अन्य एयरलाइन्स पनि आकर्षित हुने विश्वास व्यक्त गरे । गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा–काठमाडौं भएर उडान गर्दै आएको छ । जजिरा एयरवेज र थाई एयर एसियाले गत माघ २४ गतेदेखि पुनः उडान सुरु गरेका विमानस्थल कार्यालयले जनाएको छ । फ्लाई दुबईले एकमहिना अघिदेखि पुनः उडान सुरु गरेको थियो । जजिरा एयरवेज र थाई एयर एसियाले गत कात्तिकदेखि उडान सुरु गरेका हुन् । गौतमबुद्ध विमानस्थलबाट फेब्रुअरी महिनामा कूल ११५ उडानमार्फत ६ हजार ८७९ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालमै केही हुन्छ भन्ने सन्देश दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, ५०० जनाको सहभागिता रहने

काठमाडौं । सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौंमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजजार तथा सामाजिक सुरक्षामन्त्री शरतसिह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । उनले भने, ‘मुलुकभित्र के-कस्तो रोजगार आवश्यक छ, त्यसका लागि कस्तो शीप चाहिन्छ । उद्यमशीलताका आधारमा उत्पादन बढाउने र रोजगारी प्रदान गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।’ शीपको अभावमा मानिस बेरोजगार हुनुपरेको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताए । उनले भने, ‘वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै हो । नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ भन्ने सन्देश सम्मेलनमार्फत दिऔँ ।’ उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जना नीतिगत र कानुनी व्यवस्थाका लागि सम्मेलनमा सुझाव प्राप्त हुने मन्त्रालयको विश्वास छ । वैदेशिक रोजगार ऐन र राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन तथा सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि गठित कार्यदलको प्रतिवेदनउपर समेत सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दशवर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयको भनाइ छ । सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्तारविज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता रहने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । नेपालको रोजगारीको क्षेत्रमा देखापरेका सङ्कुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न आवश्यक नीति र कार्यक्रम तर्जुमाका लागि ठोस राय सुझाव प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य रहने मन्त्रालयको भनाइ छ । वैदेशिक रोजगारी अर्थतन्त्र र समाजको अभिन्न अङ्ग भएकाले वैदेशिक मुद्रा आय आर्जनको प्रमुख श्रोत भएको छ । विप्रेषणलाई के कसरी मुलुकको रूपान्तरणमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा बहस हुनेछ । वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिको रूपमा मात्र लिने गरिएको छ । सामाजिक न्यायसहितको समावेशी विकास गर्नेगरी सोह्रौँ योजनाले लिएको लक्ष्य प्राप्तिका लागि यस मन्त्रालयले विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्दै आएको छ । मुलुकमा आन्तरिक रोजगारीमा नेपाली श्रमिकको उपयुक्त प्रशोचन हुन नसक्दा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको तथा आर्थिक वर्ष २०८०/०८१ मा कूल ७ लाख १४ हजार २९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिएको सो अवसरमा जानकारी दिइयो । वैदेशिक रोजगारीले नेपालको रोजगार व्यवस्थापन तथा वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष सहयोग गरे पनि मुलुकको दीर्घकालीन सामाजिक र आर्थिक विकासमा यसको प्रभाव न्यून रहेको मन्त्रालयको भनाइ छ ।

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन गर्ने भएको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोल र सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल गर्ने, फार्मेसीका लागि आवश्यक औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो । नागरिकको आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आवद्ध नभएका नागरिकहरुका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरु ‘जेनेरिक फार्मेसी’को अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य रहेको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । औषधि ब्राण्डका आधारमा नभइ औषधिमा भएका तत्वका आधारमा बिरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो । यसलाई व्यवस्थापन गर्न कामपाले विसं २०८१ मा फार्मेसी सञ्चालन नियमन सम्बन्धी निर्देशिका जारी गरेको छ । यही निर्देशिकाअनुसार कामपाले औषधि पसलहरुको नियमन गर्ने भएको हो । कामपाका फार्मेसीहरु सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुखको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट प्रमुखले मनोनयन गरेको विज्ञ सदस्य हुनुहुन्छ भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव छन् । कामपाले एउटा केन्द्रीय फार्मेसी र अन्य पाँच ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा, शनिबारदेखि मौसम सुधार हुने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले देशका केही स्थानमा बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अहिले कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको उनले बताए । दुई दिनदेखि बिग्रिएको मौसम शनिबारदेखि सुधार हुँदै जानेछ । ‘आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ,’ मौसमविद् अधिकारीले भने, ‘शनिबारदेखि मौसम विस्तारै सुधार हुँदै जानेछ ।’ प्रि-मनसुनी गतिविधि सक्रिय भएको जनाउँदै उनले पश्चिमी न्यूनचापीय प्रणालीको समान्य प्रभावका साथै स्थानीय वायुको सामान्य प्रभावले बदली र केही स्थानमा वर्षा गराएको उल्लेख गरे । महाशाखाका अनुसार बिहिबार र आज काठमाडौंको आकाश सामान्यतया बदली रहेको छ ।

शिक्षिकाबाट उद्यमी बनेकी अञ्जु

काठमाडौं । जब उनले किन्डरगार्डेन शिक्षकको रूपमा काम सुरु गरिन् तब उनको शिक्षाप्रति मोह बस्यो । त्यो मोह यस्तो थियो कि न उनलाई डाक्टर बन्नुपर्छ भन्ने लाग्यो न अधिकृत । उनलाई केबल लाग्यो अब म शिक्षक बन्नुपर्छ । कक्षामा गएर जब तीन/चार वर्षका बालबालिकासँग रमाउँथिन् लाग्थ्यो, म एउटा फूलबारीमा छु, जहाँ थरिथरिका फूल र कोपिलासँग रमाइरहेकी छु । त्यही मोहले शिक्षा क्षेत्रमा सुनौलो भविष्य बनाइरहेकी एक शिक्षिका अञ्जु भट्टराई उद्यमी बन्न पुगिन् । अन्जु काठमाडौंको कागेश्वरी मनोहरा ९ मा रहेको अक्षरा स्कुलकी कार्यकारी निर्देशक हुन् । २८ वर्षदेखि शिक्षा क्षेत्रमा जमेकी उनले विभिन्न पदमा रहेर काम गरिन् । तीन वर्ष किन्डर गार्डेनको शिक्षक, ७ वर्ष कन्सल्टेन्सीको निर्देशक हुँदै १४ वर्षसम्म अक्षरा स्कुलमा प्रधानाध्यापकको भूमिकामा रहेकी उनी दुई वर्षदेखि सोही स्कुलको निर्देशकको भूमिका छिन् । किन्डरगार्डेनदेखि निर्देशकसम्मको यात्रामा पुग्दा सजिलो भने पक्कै थिएन । आएका बाधा व्यवधानसँग जुझ्दै उनी अहिले एक कुशल नेतृत्वकर्ता बनेकी छन् । उनी भन्छिन्, ‘महिला भएर नेतृत्वमा पुग्न खुब संघर्ष गर्नुपर्दो रहेछ ।’ अब्बल अञ्जु, रोलमोड आमा अञ्जुको जन्मघर खोटाङ दिक्तेल हो । उनका बुवा नेपाल आर्मीमा सरकारी जागिरे अनि आमा उद्यमी हुन् । जुन ठाउँ बुवाको सरुवा हुन्थ्यो प्राय: त्यही ठाउँमा पुगेर उनकी आमा व्यवसाय सुरु गर्थिन् । यही क्रममा अन्जुको जन्म पनि ताप्लेजुङमा भयो । उनी दुई/तीन वर्षकी हुँदा आमा फिदिङ सरिन् । उनको बाल्यकाल केही समय फिदिङमा वित्यो । विस्तारै छोराछोरी बढ्दै गएपछि आमाले निधो गरिन् अब एकै ठाउँ बसेर छोराछोरी पढाउनुपर्छ । त्यसपछि उनी पनि आमासँगै खोटाङ दिक्तेल आफ्नो घर फर्किन् । त्यो समयमा छोरीहरू पढाउनुपर्छ भन्ने सोंच आइसकेको थिएन । तर, छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच भएका अभिभावकले छोरीलाई स्कुल भर्ना गराइरहेका थिए । अञ्जुका बुवाआमालाई पनि छोरीलाई पढाउनुपर्छ भन्ने थियो । उनलाई खोटाङमै रहेको सरस्वती माविमा भर्ना गरियो । अञ्जु पछिका दुईजना भाइलाई विराटनगरमा बोर्डिङमा अध्ययन गर्न राखियो । अञ्जुका लागि घरमै शिक्षक राखियो । ‘छोरी पढाउन हुँदैन भन्ने बेला पनि मेरो लागि बुवाले घरमै शिक्षक राखिदिनुभयो, जसरी हुन्छ छोरीलाई पढाउनुपर्छ भन्ने आमाबुवाको अठोट र मेरो मिहिनेतले म यो ठाउँमा पुगेकी हुँ,’ विकासन्युजसँग कुरा गर्दै उनले भनिन् । अञ्जुले २०५३ सालमा एसएलसी दिइन् । एसएलसीमा उनले राम्रो अंक ल्याइन् । त्यो बेला एसएलसीमा फर्स्ट डिभिजन ल्याउनु धेरै राम्रो मानिन्थ्यो । अञ्जुले खोटाङ जिल्लाबाटै उत्कृष्ट नम्बर ल्याएर पास गरिन् । गाउँमा राम्रो नम्बर ल्याएर एसएलसी पास गरिसकेपछि उनी प्लस टुका लागि मधेस झरिन् । अञ्जुको घर विराटनगरमा पनि थियो । उनले त्यहाँ कक्षा ११ मा व्यवस्थापन विषय लिएर अध्ययन सुरु गरिन् । बिहान कलेज गएर पढ्दा दिउँसोको समय खाली हुन्थ्यो । त्यही खालि समयमा सुरु गरिन् पढाउने काम, जुन कामले उनलाई अहिले पनि खुसी दिएको छ। अन्जुलाई आफ्नी आमा र उनको संघर्ष गर्दा मिहिनेत गर्नुपर्छ भन्ने सानैदेखि लाग्थ्यो । के सानो, के ठूलो उनी जहाँ पुग्यो उतै केही न केही व्यवसाय सुरु गर्थिन् । उनलाई हेर्दा अञ्जुलाई लाग्थ्यो संघर्ष नै जीवनको सबैभन्दा ठूलो कर्म हो । उनलाई खोटाङका पहाड देख्दा लाग्थ्यो- मेरी आमा यही पहाड हुन्, जसले जस्तो परिस्थितिलाई पनि सहज बनाउँथिन् । अञ्जु आफ्नो संघर्ष र आफू यो ठाउँमा पुग्नुको पछाडि आमाको भूमिका महत्त्वपूर्ण रहेको बताउँछिन् । आमाले गरेको हिम्मत र आँटले पेटमा बच्चा हुँदा पनि काम गर्न नछोडेको अनुभव सुनाउँछिन् । भन्छिन्, ‘आफूलाई कहिले दिक्क लाग्दा आमालाई सम्झन्छु, आमाको संघर्षलाई हेर्छु फेरि, आफै सहज भएको महसुस गर्छु ।’ शिक्षणको सुरुवात अञ्जुले सबैभन्दा पहिले शिक्षणको सुरुवात विराटनगरको पुस्पलाल चोकमा रहेको प्यारागन बोर्डिङ स्कुलबाट गरेकी थिइन् । जहाँ उनले किन्डरगार्डेन शिक्षक रूपमा काम सुरु गरिन् । त्यो बोर्डिङको प्रधानाध्यापक थिइन् सावित्रा काफ्ले । उनी सावित्रालाई देखेर पनि आफू यो क्षेत्रमा प्रभावित भएको बताउँछिन् । उनले त्यहाँ तीन वर्ष काम गरिन् । त्यसपछि उनी स्नातकका लागि काठमाडौं आइन् । उनी काठमाडौं आउँदा बोर्डिङको काम छोड्नि । विसं २०५८ सालमा पढ्न काठमाडौं आएकी उनले २०५९ सालमा विवाह गरिन् । विवाह गरेको १ वर्षमै छोरा जन्मियो । त्यसको अर्को वर्षमै अर्को छोरा जन्मियो । उनका श्रीमान पनि यही शिक्षा क्षेत्रका व्यवसायी थिए । उनको काठमाडौंमा विद्यालय कलेज थिए । ‘शिक्षा क्षेत्रमै काम गर्न मन पराउने म जीवनसाथी पनि यही क्षेत्रको पाउनु भनेको मेरा लागि शिक्षा क्षेत्र नै हो भन्ने जस्तो लाग्यो,’ उनी भन्छिन्, ‘सायद म जन्मेकै शिक्षा क्षेत्रमा काम गर्नको लागि हो, मलाई मन पर्ने पेसा पनि यही थियो, पछि जीवनसाथी पनि यही क्षेत्रको भेटेँ र पनि मलाई यो क्षेत्रमा काम गर्न सहज भयो ।’ बाआमाको चाहना सरकारी जागिर अञ्जुलाई यही शिक्षण पेसा मन परिसकेको थियो । तर, उनका बुवाआमालाई भने छोरी सरकारी जागिरे भइदिए हुन्थ्यो भन्ने थियो । हरेक बाआमालाई आफ्नो सन्तानप्रति चिन्ता हुन्छ यो स्वाभाविक हो । किनकि सरकारी जागिरे हुँदा छोरीको भविष्य सुनिश्चित हुन्छ भन्ने सोंच बाआमाको थियो । उनको परिवारमा पनि प्रायः सबै जना सरकारी जागिरे थिए । सरकारी जागिर हुँदा भविष्य सुरक्षित ठानिन्छ । अझ छोरीका लागि सबैभन्दा सुरक्षित अहिले पनि ठानिन्छ । आमाबुवाकै मन राख्न अञ्जुले प्लस टु पढ्दै गर्दा सरकारी जागिरको तयारी गर्नुपर्‍यो भन्ने लाग्यो । उनले केही समय यसको तयारी पनि गरिन् । तर, उनको भित्री मनले मानिरहेको थिएन । ‘मेरो मनले नै नमानिरहेको क्षेत्रमा मैले कसरी प्रगति गर्न सक्थेँ र ? त्यसपछि मैले तयारी नै गर्न छोडेँ,’ विगत सम्झँदै अञ्जुले भनिन् । उनलाई अब फरक खालको शिक्षा काठमाडौंमा आफै सुरु गर्नुपर्छ भन्ने लाग्यो । उनलाई काठमाडौंमा सञ्चालन भइरहेको शिक्षाभन्दा फरक खाले शिक्षा दिने हुटहुटी थियो । जहाँ विद्यार्थीले किताबका कुरामात्र होइन , योग ध्यान, आध्यात्मिक कुरा पनि सिक्न पाऊन् । हामी कसका सन्तान हौं, हामीले पूज्दै आएका भगवान को हुन् ? उनीहरूले दिन खोजेको सन्देश के हो ? यस्ता ज्ञान विद्यार्थीलाई सिकाउन आवश्यक रहेको महसुस उनलाई लाग्यो । त्यसपछि परिकल्पना गरिएको स्कुल हो- अक्षरा स्कुल । अञ्जु आफ्नो रुचि बुझेर काम गर्दा पछि खुसी मिल्ने बताउँछिन् । कुनै पनि व्यक्तिले आफ्नो रुचि बुझ्न सक्नुपर्छ । भन्छिन्, ‘म आफ्नो काममा खुसी छु, मैले जे मन पर्‍यो त्यही क्षेत्रमा काम गर्ने अवसर पाएँ ।’ अक्षरा स्कुल आजभन्दा १५ वर्षअघि ‘संस्कारयुक्त शिक्षा’ भन्ने अवधारणासहित जन्मेको विद्यालय हो अक्षरा । ८६ जना विद्यार्थी र तीन रोपनी जग्गाबाट सुरु भएको यो विद्यालयमा अहिले ७ सय बढी विद्यार्थी छन् भने २३ रोपनी जग्गामा स्कुल फैलिएको छ । यो विद्यालयमा २ सय ३० जना शिक्षक कर्मचारी छन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै उनीहरूलाई माटो र प्रकृतिसँग लडिबुडी गर्न सिकाउनु विद्यालयको उद्देश्य हो । यही उद्देश्यलाई मध्येनजर गर्दै विद्यालयले विद्यार्थीका लागि उस्तै खेल मैदान बनाएको छ । ‘स्कुल जाने भनेपछि चिटिक्क, सफा सुग्घर भएर जानुपर्छ भन्ने बुझाइ सहरी क्षेत्रका अभिभावकको छ, यो राम्रो हो तर, विद्यार्थीलाई माटो के हो माटोमा लडीबुडी गर्दाको अनुभव कस्तो हुन्छ भन्ने अनुभव पनि लिन दिनुपर्छ,’ अन्जु भन्छिन, ‘यही भावनालाई मध्यनजर गर्दै हामीले बालबालिकाले खेल्ने ठाउँ पनि त्यस्तै बनाइएका छौं ।’ सहर बजारका बालबालिका अहिले माटो र प्रकृतिबाट पनि उत्तिकै टाढा छन् । उनी माटो र प्रकृतिबाट टाढा रहेर विद्यार्थीले राम्रो शिक्षा ग्रहण गर्न नसक्ने बताउँछिन् । ‘धेरै सेवा सुविधाका कारण विद्यार्थीले संघर्ष गर्न सिकेका छैनन्, हामीले यस्ता विद्यार्थीलाई विद्यालयमै सिकाउने अभ्यास गरिरहेका छौं,’ अन्जुले भनिन् । सहरमा विद्यार्थी समाज कम पाउँछन् । गाउँमा समाजबाटै विद्यार्थीले धेरै कुरा सिकिरहेका हुन्छन् तर विद्यालय शिक्षामा धेरै सीमाहरु हुन्छ । गाउँको तुलनामा ठ्याक्कै उल्टो सहरमा हुन्छ । यसलाई मध्यनजर गर्दै अक्षरा विद्यायले सबै वातावरण उपलब्ध गराउने प्रयास गरिरहेको उनले बताइन् । यो स्कुलले इतिहास, योग ध्यान अध्यात्म र संस्कृत शिक्षालाई पनि शिक्षासँग जोड दिइरहेको छ । जहाँ क्रिकेट खेल्न, फुटबल खेल्नदेखि लिएर हरेक खेलहरू खेल्न खेलमैदान छ भने गुणस्तरीय शिक्षाका लागि म्याथ ल्याब, साइन्स ल्याब लाइब्रेरीलगायतका प्रविधिहरू पनि पठन संस्कृति विद्यालयमा छन् । जसका कारण यो विद्यालय अभिभावकको रुचिमा परेको छ । शिक्षिकाबाट उद्यमीसम्म एउटा सामान्य शिक्षकबाट सुरु भएको अञ्जुको शैक्षिक यात्रा अहिले शैक्षिक उद्यमीका रूपमा अगाडि बढेको छ । तीन वर्ष शिक्षक र २५ वर्ष निर्देशकको भूमिकामा रहेर काम गरेकी अञ्जुलाई शिक्षक र व्यवस्थापन काम गर्न कुन पाटो सजिलो भनेर गरिएको प्रश्नमा उनी भन्छिन्, ‘शिक्षक एउटा बन्दा कोठाभित्रको उत्तरदायित्व हो, यसमा जिम्मेवारी लिने कुरा सीमित हुन्छ भने निर्देशक बनेर विद्यालयको नेतृत्व गर्दा जिम्मेवारी पनि ठूलो हुन्छ ।’ एउटा नेतृत्वकर्ताको काँधमा विद्यार्थीमात्र होइन अभिभावक, शिक्षक, कर्मचारी लगायतको जिम्मेवारी हुन्छ । ‘बालबालिकालाई पढाइसँगै सहकार्य गर्न, रचनात्मक काम गर्ने क्षमता सिर्जनात्म्क काम गर्ने क्षमता, नेतृत्वदायी क्षमताका विषयमा बढी सिकाउन आवश्यक छ,’ उनी भन्छिन् । उनी शिक्षकदेखि उद्यमीसम्मको यात्राले आफ्नो सोंचलाई समेत बहुआयामिक बनाएको दाबी गर्छिन् । भन्छिन्, ‘म एउटै कुरालाई धेरै तरिकाले सोंच्न सक्छु, म शिक्षकको पीडा र कामलाई पनि महसुस गर्न सक्छु, बुझ्न सक्छु शिक्षक बनेर विद्यालयमा साथीहरूलाई सहयोग गर्न पनि सक्छु, शिक्षक भएर काम गरेकाले यो पीडा पनि बुझ्ने क्षमता छ ।’ महिलाले नेतृत्व गरेको संस्था अब्बल आजभोलि शिक्षा क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहभागिता हुने गरेको भएपनि त्यो पर्याप्त छैन । नारी एउटा नारी मात्र नभइ आमा, छोरी, बुहारी सबै हुँदा उसको जिम्मेवारीले अघि बढ्न समस्या हुने गरेको अञ्जु बताउँछिन् । ‘महिलालाई कार्यालय, घरसँगै छोराछोरी जन्माउने, हुर्काउने जिम्मा पनि हुन्छ,’ उनी भन्छिन्, ‘पहिलेभन्दा अहिले सम्मान र अवसर बढ्दै गएको छ, तर सन्तान जन्माउनुपर्ने कारणले समाजका लागि गर्नुपर्ने योगदान दिन सकस हुन्छ ।’ उनका अनुसार अवसरका ढोकाहरू भने बढ्दै गएका छन् । हरेक संघसंस्थामा पुरुषको नेतृत्व बढी हुने गरेको भएपनि महिलाले नेतृत्व गरेका संस्था पुरुषले नेतृत्व गरेको तुलनामा अब्बल हुने गरेको उनको बुझाइ छ । अञ्जुलाई अझै यो स्कुललाई कसरी उत्कृष्ट बनाउने भन्ने हुटहुटी छ । यसका लागि उनी अभिभावक, शिक्षक, विद्यार्थीसँग बारम्बार छलफल गर्छिन् । अब छिट्टै १२ का कक्षा सुरु गर्ने तयारी विद्यालयको छ । ‘विद्यार्थीको सर्वाङ्गीण विकास गर्नुपर्छ, त्यसमा पनि विद्यार्थीमा सबैभन्दा संस्कार महत्त्वपूर्ण हो,’ उनी भन्छिन् ,‘पछिल्लो समय आध्यात्मिक चेतनाको जनजागरणमा पनि विद्यालयले काम गरिरहेको छ ।’ विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने, नेपालीपन सनातन संस्कृति, नेपालको इतिहास, नेपालको माटो चिन्न सक्ने व्यक्ति बनाउन सक्नु नै विद्यालयको सफलताको रूपमा लिन सकिने उनको भनाइ छ । ‘जिन्दगीका गोरेटामा सुख, दुःख आउँछन्, त्यसलाई सामना गर्दै संर्घर्ष गरी अघि बढे आफ्नो लक्ष्यमा पुग्न सकिन्छ । तर, आफ्नो रुचि स्पष्ट हुनुपर्छ,’ उनले भनिन् । सरकारको पाठ्यक्रम अक्षरा विद्यालयले नेपाल सरकारको पाठ्यक्रम अनुसार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । प्राथमिक शिक्षादेखि १० कक्षासम्म अध्ययन गराउँदै आएको यो विद्यालयले कक्षा कोठाभित्रको सिकाइ प्रविधिमा बालमैत्रीपूर्ण वातावरणमा अध्ययन गराउँदै आएको छ । निर्देशक अञ्जु नेपाल सरकारको पाठ्यक्रम उत्कृष्ट रहेको बताउँछिन् । उनी भन्छिन्, ‘पाठ्यक्रम राम्रो छ तथापि केही सुधार गर्नुपर्ने पक्ष पनि छन् ।’ उनी पाठ्यक्रममा विषयवस्तु धेरै भएर अवधारणा अनुसार काम हुन नसकेको बताउँछिन् । ‘पाठ्यक्रमको आफ्नै खुट्टा हुँदैन, यो आफै चल्न सक्दैन, त्यसलाई कार्यान्वयन गर्ने जिम्मा शिक्षा विद्यालयको हो,’ उनले भनिन् । शिक्षा अनुभवमा आधारित हुनुपर्छ । त्यसका लागि ज्ञान, सीप र व्यवहार आवश्यक हुन्छ । अञ्जु नेपालको समग्र शिक्षा हर्दा पाठ्यक्रमको कार्यान्वयन पक्षमा कमजोर रहेको बताउँछिन् । यसका लागि शिक्षकहरूमा तालिमको कमी देखिन्छ । ‘सरकारी स्कुलमा शिक्षकलाई तालिम बढी छ अभ्यास र प्रयोगको कमी छ, निजी स्कुलमा तालिम कम छ अभ्यास गर्न प्रयास गरेको देखिन्छ,’ उनी भन्छिन् ।

रेटिनोब्लास्टोमाबारे सचेतना अभियान तथा आर्क लाईट वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । ओपन आइज नेपाल र निजगढ तिलगंगा सामुदाायिक आँखा अस्पतालको सहकार्यमा निजगढमा रेटिनोब्लास्टोमा (बालबालिकाकाे आँखामा हुने क्यान्स) बारे सचेतना अभियान तथा आर्क लाईट वितरण कार्यक्रम सम्पन्न भएको छ । ५० जना प्राथमिक स्वास्थ्य सेवा कार्यकर्ताहरूको लागि बालबालिकामा हुने रेटिनोब्लास्टोमाको प्रारम्भिक पहिचानको महत्व र प्रविधिबारे तालिम दिइएको हो । तालिममा आँखा क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारले रेटिनोब्लास्टोमा बारेमा प्रकाश पारेकी थिइन् । रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो । यो नवजात शिशुदेखि पाँच वर्ष मुनिका बालबालिकामा देखा पर्दछ । १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पुुर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्दछ । नेपाललगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५०% रहेको छ तर विकसित देशहरुमा भने ५% भन्दा कम पाइएको छ । रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएता पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामानै चिकित्सक कहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ । रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन् । जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो । यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु,आखाँको आकार ठूलो हुदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन् । उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान सम्म जाने जोखिम रहन्छ। यो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखमा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरिरका अन्य भागमा पनि क्यान्सर देखिने संभावना धेरै हुन्छ । यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ । यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी,थरमोथेरापी,क्रायथेरापी र रेडियोथेरापी इत्यादी प्रमुख उपचार पद्दतिमा पर्दछन् । प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखा सहित आँखा वरपरका हड्डी समेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारण मध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिन्छ । तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्षदेखि हुदै आईरहेको छ । विगत ६ वर्ष देखि आँखाको क्यान्सर रोग विभागबाट नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले उपचार गराउँदै आएकी छन् । बर्सेनि ३५ देखि ४५ नयाँ बिरामीको संख्या उपचारको लागि आउने गरेका छन् जसमध्ये १५ जनाको दुबै आँखामा रोग लागेको पाइएको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आईज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ ।

‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक, महिला उद्यमीले १० करोड रुपैयाँसम्मको कर्जा पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरूमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो । यस योजनाले महिलाहरूलाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित विश्वास बैंकले लिएको छ । महिलाहरूले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिइ कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत आकर्षक सुविधासहित न्यूनतम् ब्याजदरमा बैंकले महिला उद्यमीहरूलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ । महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उनीहरूकै नेतृत्वमा व्यवसाय सञ्चालन भएका व्यवसायहरू मात्र यस कर्जाका लागी योग्य हुने बैंकले जनाएको छ । यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिँदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।   ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

आगामी बजेटबारे दुई मन्त्रालयसँग अर्थमन्त्री पौडेलले गरे छलफल

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा–छुट्टै छलफल गरेको छ । छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नुपर्ने कार्यक्रम, स्थगित गर्नुपर्ने कार्यक्रम, हटाउनुपर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरुको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्तिलगायतका विषयमा समीक्षा गरी तिनीहरुलाई प्रभावकारी बनाउने गरी कार्यक्रम बनाउन अनुरोध गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा राज्य र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्न जरुरी रहेको बताए । उनले बीमा कार्यक्रमलाई दीर्घकालीन बनाउने गरी कार्यान्वयन गर्न उपयुक्त हुने धारणा व्यक्त गरे । उद्योग मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले नीतिगत विषयहरुलाई सम्बोधन गर्न र उद्योग तथा व्यापारिक क्षेत्रमा सहज हुने वातावरण सिर्जना गर्न आग्रह गरे । उनले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि र देशमा कसरी औद्योगीकरण गर्ने सकिन्छ, त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए । उद्योगमन्त्री दामोदर भण्डारीले नीतिगत रुपमा सुधार गर्दै तिनीहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले कार्यान्वयन क्षमता कमजोर हुने र परिणाम दिन नसक्ने प्रवृतिमा सुधार गर्नुपर्ने बताए । छलफलमा अर्थ सचिव, राजस्व सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, उद्योग मन्त्रालय सचिव, विभागीय प्रमुखलगायतको उपस्थिति थियो । अर्थ मन्त्रालयले यसअघि नयाँ आर्थिक वर्षको बजेटबारे भौतिक, सहरी र उर्जा मन्त्रालयसँग छलफल गरिसकेको छ ।