काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको उनले स्प्रष्ट पारे ।
आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भने, ‘तिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।’
अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेका हुन् । शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ ले जानकारी दिए ।