राष्ट्रिय वाणिज्य बैंकले निशुल्क एससीटी यूपीआई डेबिट कार्ड दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निशुल्क स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) यूपीआई डेबिट कार्ड दिने भएको छ । बैंकले बिना कुनै शुल्क उक्त एससीटी यूपीआई डेबिट कार्ड दिने जनाएको छ । बैंकको ६०औँ वार्षिक उत्सवको अवसरमा उक्त योजना ल्याएको हो । साथै सो योजना चैत मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्नेछन् । एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, ई–कमर्सजस्ता सेवा लिन सक्नेछन् ।
नेपाल बैंकले ३४ वटा सटर भाडामा दिने, प्रतिवर्गफुट १६२ रुपैयाँ, २ वर्षमा १० प्रतिशत भाडा वृद्धि
काठमाडौं । नेपाल बैंकले सटरहरू भाडामा दिने भएको छ । बैंकको प्रादेशिक कार्यालय गण्डकी प्रदेशको पोखरा पृथ्वीचोक स्थित व्यावसायिक भवनमा रहेका सटरहरू भाडामा दिने भएको हो । बैंकको स्वामित्वमा रहेको पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित अफिस कम कर्मसियल कम्प्लेक्स (पोखरा मल) मा रहेका बैंक प्रयोजन बाहेक ३४ वटा सटर भाडामा दिने भएको हो । भाडामा लिन इच्छुकले १५ दिनभित्र बोलपत्र फाराम पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरू सरकारी प्रतिनिधि तथा बोलपत्रदाता र निजका प्रतिनिधिको रोहबरमा १६औँ दिनमा खोलिनेछ । बोलपत्रदाता तथा निजका प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न वाधा पर्ने छैन । बोलपत्र पेश गर्ने व्यक्ति तथा कम्पनीले एउटा सटरदेखि सम्पूर्ण सटरका लागि आवेदन दिन सक्नेछ । बैंकका अनुसार भुइँ तल्लाको हकमा प्रतिवर्गफुट न्यूनतम १६२ रुपैयाँ र पहिलो तथा दोस्रो तल्लाको हकमा प्रति वर्गफुट न्यूनतम ६२.८८ रुपैयाँ तोकिएको छ । आवेदन दिँदा सो मूल्यभन्दा कम नहुने गरी अलग अलग भाडा रकम खुलाई बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ । हाल भाडामा बसिरहेका व्यक्ति तथा कम्पनीले आवेदन दिन चाहेमा बोलपत्र पेश हुने समयसम्मको बाँकी घरभाडा वक्यौता रकम बुझाई सो को निस्सा बोलपत्र साथ पेश गर्नु पर्नेछ । बैंकको बोलपत्र फारामको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्ने व्यक्ति तथा कम्पनीको हकमा विगत ३ वर्षदेखि व्यवसाय सञ्चालन गरेको र वार्षिक कारोबार कम्तिमा १ करोड रुपैयाँ भएको हुनु पर्नेछ । प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले घरभाडा वृद्धि हुने गरी ५ वर्षको लागि सम्झौता गरिनेछ ।
कुलमानको पछि लाग्दा सरकारका ५० राम्रा काम पनि नराम्रो भए : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार सानो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ सिन्धुलीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सङ्घीय सरकारको मन्त्रालय सङ्ख्यालाई घटाएर १०/१२ वटा मात्र बनाउनुपर्ने सुझाव दिए । ‘मन्त्रालयको सङ्ख्या धेरै हुनु समस्या हो, सरकार सानो बनाउनुपर्छ,’ उनले भने । महामन्त्री थापाले सङ्घमा संसदीय व्यवस्था उपयुक्त रहेको तर प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली लागू गर्नुपर्ने बताए । ‘प्रदेशमा मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने र अधिकतम पाँच मन्त्री राख्न दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने । प्रदेश सरकारलाई आर्थिक र प्रशासनिक रूपमा अधिकारसम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए । महामन्त्री थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सरकारको चासोलाई अनावश्यक भन्दै त्यसको आलोचना गरे । ‘३/४ महिनापछि सेवानिवृत्त हुन लागेका व्यक्तिको पछि लागेर सरकार किचकिच गरिरहेको छ, यो बेठिक हो,’ उनले भने, ‘५० राम्रो काम गर्दा एउटा नराम्रो भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । राम्रो गर्न सकिँदैन भने कम्तीमा नराम्रो काम नगर्नोस् ।’ मन्त्रीहरूलाई सही मार्गमा लैजान महामन्त्री थापाले प्रधानमन्त्रीसँग आग्रहसमेत गरे । ‘प्रधानमन्त्री भनेको मन्त्रिपरिषद्को नेतृत्वकर्ता हो । राम्रो कामको श्रेय पनि प्रधानमन्त्रीले पाउँछन्, नराम्रो कामको अपजस पनि लिनुपर्छ,’ उनले भने । सङ्घीयताको मर्मअनुसार प्रदेशलाई थप अधिकार दिनुपर्ने र सरकारको कार्यसम्पादन सुधार गर्नुपर्ने उनको धारणा छ ।
आजको मौसम: कोशी, बागमती र गण्डकीमा आंशिक बदली हुने, एक/दुई स्थानमा हल्का हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू/भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अनाउन विभागले अनुरोध गरेको छ ।
दोर्दी खोला जलविद्युतले चैत १९ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले चैत १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमुजुङ र नक्साल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड, व्यापार बढाउँदै
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले जानकारी दिए । चलचित्र प्रदर्शन भएदेखि नै कलाकारसँग चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिइरहेको निर्देशक कँडेलले आगामी दिनमा चलचित्रले अझै राम्रो व्यापार गर्ने बताए । ‘दर्शकको प्रतिक्रिया निकै राम्रो छ, उहाँहरूले अन्य साथीभाइ, घरपरिवारलाई चलचित्र हेर्न सिफारिस गर्छु भन्नुभएको छ । यसले आइतबारदेखि चलचित्रको व्यापार राम्रो हुने देखिन्छ । मेरा लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो,’ निर्देशक कँडेलले भने । निर्देशक कँडेलसँगै दर्शक भेट्न पारसबम ठकुरी, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुलीलगायत कलाकार चलचित्र भवन पुगेका थिए । युवाको होस्टेल जीवनमात्र नभई ‘टिनएज’मा आउने उतारचढाव, तन्नेरी पुस्ताको कथा र व्यथा ‘होस्टेल ३’ मा देख्न पाइने ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रूपमा परिचय बनाउनुभएका अभिनेता ठकुरीले बताए । ‘यो चलचित्रमा प्रस्तुत गरिएको विषय र त्यसलाई निर्वाह गर्ने हामी कलाकार उस्तै उमेर समूहका छौँ । यसकारण पनि यो सबै युवाले महसुस गर्न सक्ने चलचित्र बनेको छ भन्नेमा विश्वस्त छौँ । टिकटकरका रूपमा चिनिएर अहिले चलचित्रमा अभिनय गर्न पाउँदा निकै उत्साहित छु । मैले पाएको अवसरलाई पूर्ण रूपमा सदुपयोग गरेको छु,’ अभिनेता ठकुरीले भने । विशेषतः यसलाई ‘नयाँ पुस्ता’को चलचित्र भन्न सकिन्छ । नेपाली चलचित्रमा देखिएको नयाँ पुस्ताको कमीलाई ‘होस्टेल ३’ पूरा गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक कँडेलले बताए । ‘म आफैँ निर्देशकका रूपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहेनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा अभिनयका लागि मौका दिएको छु,’ उनले भने । यस अगाडिका ‘होस्टेल’का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनुका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो ।
नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति
काठमाडौं । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो । उक्त पहिचान तथा नामकरण गरी हालै अन्तर्राष्ट्रिय जर्नल ‘जुट्याक्सा’मा प्रकाशित गरिएको अनुसन्धानकर्ता एवं संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए । उनकै नेतृत्वको अनुसन्धान टोलीले छेपारोका उक्त नयाँ प्रजाति फेला पारेको हो । उक्त अध्ययन टोलीमा नेपालबाट सन्तोष भट्टराईको नेतृत्वमा विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे र इशान अग्रवाल, जर्मनीका फ्रान्क तिल्लक तथा अस्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी थिए । नयाँ फेला परेका प्रजातिमध्ये चितवनको उत्तरी क्षेत्र कविलास, शक्तिखोर, गैरीवारी, उपरदाङगढीलगायत तनहुँको बन्दीपुर र दमौलीदेखि भिमादसम्म फेला परेको प्रजातिको नामकरण ‘चितवन वेन्ट–टोड गेक्को’ भनेर नामकरण गरिएको छ । दोस्रो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने ल्वाङ्ग, घान्द्रुक क्षेत्र तथा कास्कीको नौडाँडा क्षेत्रमा फेला परेको प्रजातिको नाम अन्नपूर्ण संरक्षण क्षेत्रले समुदायमा आधारित जैविक विविधता संरक्षणमा खेलेको भूमिकाको कदरस्वरूप तथा अन्नपूर्ण हिमशृङ्खलाका नाममा ‘एक्याप वेन्ट–टोड गेक्को’ भनेर नाम राखेको छ । तेस्रो प्रजाति मनास्लु संरक्षण क्षेत्रमा भेटिएको थियो । सो प्रजातिको नाम नेपालकै वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर–सरीसृप) संरक्षणमा गरेको यागदानस्वरूप सो प्रजातिको नामाकरण ‘करण वेन्ट–टोड गेक्को’ भनेर राखिएको छ । यसरी फेला पारिएका नयाँ प्रजाति यस अनुसन्धानका मुख्य शोधकर्ता सन्तोष भट्टराईको विद्यावारिधि अध्ययनका क्रममा सन् २०२३ को अप्रिलदेखि सेप्टेम्बरसम्म भेटिएका थिए । उक्त प्रजाति पक्का गरेपछि जर्नलमा प्रकाशित गरी हालैमात्र सार्वजनिक गरिएको हो । वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालमा पहिले पनि तीन वटा प्रजाति फेला परेका र सो प्रजातिको नमुना विदेशका सङ्ग्रहालयमा राखिएकाले अहिले फेला परेका प्रजाति संसारमै नयाँ भनेर यकीन गर्न विदेशमा सङ्ग्रहित नमुनाको अध्ययन तथा तुलना साथै तिनीहरुकै आनुवंशिक अध्ययन गरी यकीन गरिएको हो । यसरी अध्ययन गर्न नेपाल, भारत, अस्ट्रेलिया र जर्मनीका अनुसन्धानकर्ताको टोली सामेल भएको थियो । साथै सो अध्ययन टोलीले इलामबाट पहिले फेला परेको भनिएका दुई प्रजाति अनुवांशिक अध्ययन गर्दा ती प्रजाति नभई एक प्रजाति भएको यकीन गरेको छ । गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारो संसारभरि तीन सय ५० भन्दाबढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका तीन नयाँसहित जम्मा पाँच प्रजातिमात्र पाइएको छ । सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिको रेकर्ड हुन बाँकी नै रहेको संरक्षणकर्मी बताउँछन् । सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन, अनुसन्धान तथा संरक्षणमा प्राथमिकीकरण गर्नुपर्ने देखिएको अध्ययन टोलीको नेतृत्व गर्नुभएका भट्टराईले बताए ।
प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरी, छुट्टै धार्मिक महत्व
काठमाडौं । नेपालमा पोखरी र तालहरूको कुरा गर्दा ठूला, गहिरा र अग्ला स्थानमा रहेका ती सुन्दर जलाशयको स्मरण हुन्छ । तीमध्ये केही ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ, जहाँ पर्यटक प्रकृतिको अनुपम सुन्दरतामा हराउँछन् । ताप्लेजुङमा पनि यस्ता दर्जनौँ ताल छन्, जसका बारेमा धेरैलाई थाहा नहुन सक्छ । तीमध्ये एउटा अनुपम सौन्दर्य बोकेको पोखरी हो सिदिङवा गाउँपालिकाको कालिखोलामा अवस्थित तिम्बुङ पोखरी । सदरमुकाम फुङ्लिङबाट करिब ७ घण्टा गाडी यात्रा र एक दिनको पैदल यात्रापछि पुग्न सकिने यो पोखरी हाल पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको यस पोखरीलाई लिम्बू समुदायले ‘तिम्मक वरक’ भन्ने गर्थे । लिम्बू भाषामा‘तिम्मक’को अर्थ बन्दुक र ‘वरक’ को अर्थ पोखरी हो । किम्बदन्तीअनुसार परापूर्वकालमा यहाँबाट बन्दुक पड्किएको जस्तै आवाज आउने भएकाले यसलाई तिम्मक वरक भनिन्थ्यो, जुन अहिले ‘तिम्बुङ पोखरी’ का बारेमा जानकार इन्द्रप्रसाद बेघाको भनाइ छ । तिम्बुङ पोखरी प्राकृतिक रूपमा अनुपम त छँदैछ, धार्मिक हिसाबले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । जनविश्वासअनुसार यहाँ वरदान मागेमा पूरा हुन्छ । पौराणिक कथाअनुसार देवीदेवताहरू घना बस्तीका कारण स्वच्छ वातावरण खोज्दै हिँड्दा यो स्थानमा बसोबास गर्न पुगेका थिए । त्यसैले पनि यो ठाउँ आध्यात्मिक रूपमा पवित्र मानिन्छ । हिमाली क्षेत्रकै सुन्दर पोखरीमध्ये एक मानिने तिम्बुङ पोखरी ४ हजार ३५० मिटर उचाइमा अवस्थित छ । पोखरीको पानी स्वच्छ, नीलो र मनमोहक देखिन्छ, जसले आगन्तुकलाई लोभ्याउने गर्छ । हिमाली हावापानी, अग्ला पहाड, शीतल बतास र सुगन्धित जडीबुटीको सुगन्धले यहाँको वातावरणलाई स्वर्गीय बनाएको छ । सरकारले २०७५ सालमा नेपालका १ सय नयाँ पर्यटन गन्तव्य पहिचान गर्दा तिम्बुङ पोखरीलाई पनि समावेश गरेको थियो । त्यसयता यहाँ आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि भए पनि अझै पनि पर्याप्त लगानी र प्रचारप्रसारको अभाव देखिन्छ । हालसम्म आउने पर्यटकको अनुभव भने रोमाञ्चक छ । ‘यस्तो सुन्दर पोखरी देख्न पाइने कल्पना पनि गरेको थिइन, कठिन यात्रा भए पनि यहाँ आएपछि प्रकृतिको काखमै हराएको अनुभूति हुने गरेको छ,’ तिम्बुङ पोखरी पुगेकी पवित्रा साउदेनले भनिन् । पर्याप्त पूर्वाधार नहुँदा धेरै सम्भावना भएको यो ठाउँ अझै ओझेलमा परेको उनी बताउँछिन् । उचित प्रवद्र्धन भएमा पर्यटनको मुख्य केन्द्र बन्नसक्ने झापाबाट तिम्बुङ पोखरी घुम्न आएका आन्तरिक पार्यटक माङ्गा उराउ बताउँछन् । स्थानीय पालिकाले आफ्नै स्रोतबाट यो क्षेत्रमा केही लगानी गर्नसकेमा पर्यटनबाट आन्तरिक आम्दानीको राम्रो स्रोत बन्नसक्ने सुनसरीबाट घुम्न आउनुभएका पर्यटक घनश्याम साहको भनाइ छ । तिम्बुङ पोखरीको संरक्षण र प्रवद्र्धनका लागि एक संरक्षण समिति गठन गरिएको छ । समितिले तीनै तहका सरकारसँग समन्वय गरेर विकासका केही काम अघि बढाइसकेको छ । पाँचथर र ताप्लेजुङ दुवै जिल्लाबाट पोखरी पुग्न पैदलमार्ग निर्माण गरिएको छ । पोखरीबाट ढुङ्गाको सोलिङ र सिँढी निर्माण गरिएको छ । थप पूर्वाधार विकासका लागि आवश्यक समन्वय भइरहेको संरक्षण समितिका सल्लाहकार कैलाश राई बताउँछन् ।