विकासन्युज

जुम्लाका घरघरमा राहदानी पुर्याउँदै सरकार

काठमाडौं । जुम्ला जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु गरेको छ । जिल्लाका ८ वटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिए । प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्‍याउनका लागि भएको सम्झौताअनुसार गत वैशाख २४ गते ६१ थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ । यसैगरी वैशाख २८ गते १९ वटा र जेठ ५ गते २५ वटा राहदानी घरमै पुर्‍याइएको छ । गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत जिल्लामा पहिलोपटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ । जिल्ला हुलाक कार्यालयमार्फत सम्बन्धित राहदानी धनीको घरमै पुर्याउने व्यवस्था गरिएको छ । राहदानी बुझ्दा अनिवार्य रूपमा आफ्नो पहिचान खुल्ने आधिकारिक सरकारी कागजात (नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली) साथमा राख्नुपर्नेछ । कुनै अन्य व्यक्तिमार्फत राहदानी बुझ्नुपर्ने भएमा सम्बन्धित व्यक्तिको एकाघरको नाता खुल्ने कागजातसमेत साथमा आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।  हुलाक कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशदत्त रावलले हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धी प्रशासनसँग सम्झौता भएको छ । नागरिकको राहदानी घरमै वितरणका लागि हुलाक कार्यालयले हल्कारामार्फत बढीमा तीन दिनभित्र सेवाग्राहीको घरमै सुरक्षित रुपमा पुर्याउने हुलाक कार्यालय जुम्लाले जनाएको छ । राहदानी लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेकामा सो अवस्थाको अन्त्य गर्दै नागरिकलाई घरदैलोमा नै पुर्‍याउने गरी सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

भूमी सम्बन्धि सेवा दिन ३५ स्थानीय तह मात्रै छनोट

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमार्फत भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाह सुरु गर्न आवश्यक पूर्वाधार पूरा गरेर मात्र आवेदन पठाउन निर्देशन दिएको छ। मन्त्रालयले हाल आवश्यक न्यूनतम् पूर्वाधार सुनिश्चित नगरी आवेदन पठाउने प्रवृत्ति देखिएको भन्दै पूर्वाधार पूरा भएपछि मात्र सम्बन्धित कागजात स्क्यान गरी मन्त्रालयमा पठाउन सबै स्थानीय तहलाई अनुरोध गरेको हो। गत वैशाख १० गते प्रकाशित सूचनापछि हालसम्म २२५ वटा स्थानीय तहबाट पत्र प्राप्त भएको भए पनि पहिलो चरणमा छनोट गरिएका ३५ वटा स्थानीय तहमा समेत आवश्यक पूर्वाधारको तयारी पूरा नभएकाले सेवा सञ्चालनमा ढिलाइ भइरहेको मन्त्रालयले जनाएको छ। सेवा प्रवाहलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि आवश्यक पूर्वाधार पूरा भएपछि मात्रै आवेदन पठाउन भनिएको छ। मन्त्रालयले भूमि व्यवस्थापन सेवा सम्बन्धी विस्तृत विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय तहबाट सेवा प्रवाह विस्तार गर्ने योजनाअन्तर्गत आवश्यक पूर्वाधार सुनिश्चित भएपछि मात्र आगामी चरणको कार्य अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।

काभ्रेमा सुकुम्वासी हटाउँने तयारीमा सरकार, १३७ परिवारले दिए निवेदन

काठमाडौं । सरकारले सुकुम्वासीलाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमार्फत गरेको परिपत्रअनुसार पनौती नगरका विभिन्न वडाबाट १३७ सुकुम्वासी परिवारले आफूलाई व्यवस्थित गर्न निवेदन दिएका छन् । नगरको सार्वजनिक सूचनाअनुसार रोसी खोला-आसपास बसेका सुकुम्वासीले उक्त सङ्ख्यामा हालसम्म निवेदन गरेको नगर कार्यालयले जनाएको छ । नगर कार्यालयका अनुसार निवेदन आउनेक्रम रहेपनि ती परिवारलाई स्थानान्तरण गर्ने गरी उनीहरूका घर खाली गराउन प्रक्रिया थालिएको छ । नगरले विशेष गरी खोला किनार र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई प्राथमिकतामा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढाउने तयारी थालिएको नगर प्रमुख रामशरण भण्डारीले बताए । उनका अनुसार अझै नगर क्षेत्र तथा सम्बन्धित वडा कार्यालयमा सार्वजनिक जग्गा तथा सुकुम्वासी वस्तीसम्बन्धी निवेदन सङ्कलन कार्य जारी राखिएको छ । नगर कार्यालयका अनुसार हालसम्म वडा नं ७ र ८ लगायत विभिन्न वडाबाट १३७ जनाको निवेदन दर्ता भइसकेको छ । यस्तै बाँकी वडाबाट समेत विवरण आउने क्रम जारी रहेको जनाइएको छ । यस्तै वडा नं २ बाट ५३, वडा नं ४ बाट ७, वडा नं ५ बाट ८, वडा नं ७ बाट १५, वडा नं ८ बाट ७, वडा नं ९ बाट ९, वडा नं १० बाट २४, वडा नं ११ बाट ८ तथा वडा नं १२ बाट ६ परिवारको निवेदन दर्ता भएको हो । नगर कार्यालयले पहिलो चरणमा रोसी खोला छेउका जोखिमयुक्त बस्ती हटाउने योजना बनाएको जनाएको छ । वर्षायाममा बाढी र कटानको उच्च जोखिम हुने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षालाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइएको भण्डारीको भनाइ छ । स्थानीय तहले सार्वजनिक जग्गाको संरक्षणसँगै दीर्घकालीन व्यवस्थापनको विकल्प खोज्ने तयारीसमेत गरिरहेको जनाएको हो । यसका लागि वास्तविक सुकुम्वासीको पहिचान, तथ्याङ्क सङ्कलन र आवश्यक समन्वयको काम भइरहेको जनाइयो ।

३ दिन तातो हावाको लहर चल्ने, तापक्रम ४० डिग्री माथि पुग्ने चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो हावा (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मी रहने सम्भावना रहेको जनाएको हो । विभागका अनुसार ती क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने तथा केही स्थानमा ४० डिग्री सेल्सियसभन्दा बढी मापन हुने सम्भावना छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा मध्यम स्तरको तातो लहर तथा पहाडी क्षेत्रमा तातो दिनको अवस्था रहने देखिएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो । विभागले सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा जेठ ६ गतेदेखि नै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भइरहेको जनाएको छ । साथै सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको उल्लेख गरिएको छ । तातो लहरबाट प्रभावित हुनसक्ने जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् । यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लालाई पनि निगरानीमा राखिएको विभागले जनाएको छ । विभागले अत्यधिक गर्मीका कारण थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, मांसपेशी दुख्ने, बान्ता हुने तथा बेहोस हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्ने जनाएको छ । यसबाट बच्न दिउँसोको अत्यधिक गर्मीमा घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा बाहिर ननिस्किन, चर्को घाममा हिँडडुल नगर्न, हल्का तथा सुतीका कपडा लगाउन र बाहिर निस्कँदा टाउको छोप्न विभागले सुझाव दिएको छ । त्यसैगरी प्रशस्त पानी तथा झोल पदार्थ पिउन, स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न तथा मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने नियमित बुलेटिनमार्फत अद्यावधिक सूचना लिन पनि विभागले आग्रह गरेको छ ।

अबदेखि सार्वजनिक गाडीमा लगेज ट्याग, नम्बर मिलाएर मात्रै झोला बुझाइने

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ ।  यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ । यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको जानकारी दिए । उनले भने, ‘सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवाञ्छित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ । यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको हो । प्रारम्भिक चरणमा जेठ १५ बाट यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ ।’ राष्ट्रिय यातायात व्यवसायीक महासङ्घका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिए । उनका अनुसार यात्रुको लगेज सुरक्षित राख्ने विषय लामो समयदेखि चुनौतीका रूपमा रहेको थियो । उनले भने, 'जहाजमा जस्तै अब बसमा पनि लगेज ट्याग प्रणाली लागू हुनेछ । यसले यात्रुको झोला साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या हटाउनेछ । यात्रुले ढुक्क भएर यात्रा गर्न सक्ने वातावरण बन्नेछ ।' यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो । कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसारपसारमा सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए । नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ । यस प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ । सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ । ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा प्रविधिमैत्री तथा डिजिटल प्रणालीसमेत जोड्ने योजना बनाइएको छ । आवश्यक परे क्युआर कोड वा डिजिटल रेकर्ड राख्ने अभ्यास पनि सुरु गर्न सकिने बताइएको छ । यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान-२०८३ को पनि शुभारम्भ गरेको जनाएको छ । वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै उक्त अभियान शुरू गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले मनसुन अवधिमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी साधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ । सार्वजनिक यातायात क्षेत्रमा नयाँ सुरक्षा अभ्यासको रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्नुका साथै सार्वजनिक यातायात सेवा थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि...

काठमाडौं । चितवन र नवलपुर हुँदै बग्ने गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार साँझ अचानक पल्टियो । सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्‍याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे उद्धारका गुहार माग्दै थिए । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट स्थित नारायणी नदीमा जब यो दृश्य देखियो तब मान्छे नदी किनारमा जम्मा हुन थाले । नारायणी नदीमा भएको यो घटना कुनै भवितव्य दुर्घटना नभइ विपद् प्रतिकार्य अभ्यासका लागि सुरक्षाकर्मी आफैले गराएको कृत्रिम अभ्यासको घटना हो । नवलपुरमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वार्टरले जिल्लाको कावासोतीमा रहेका सरोकारवालालाई ‘समुदायमा आधारित विपद् प्रतिकार्य तथा खोज उद्धार’सम्बन्धी दिएको प्रशिक्षणमा सुरक्षाकर्मीले डुङ्गा पल्टाएका हुन् । डुङ्गा पल्टिएपछि पल्टिएको डुङ्गालाई कसरी सुल्टो बनाएर ज्यान जोगाउने भन्ने विषयमा नदीमा नै सुरक्षाकर्मीले अभ्यास गरेर देखाएका थिए । योसँगै उनीहरुले नदीमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा घरेलु सामग्रीले तयार पारिएका जीवन सुरक्षित पार्ने विधिसमेत प्रदर्शनी गरेका थिए । तालिमका क्रममा सुरक्षाकर्मीले घर वरिपरि फालिएका विभिन्न सामग्रीलाई सङ्कलन गर्दै बाढी तथा डुबान क्षेत्रबाट सुरक्षित स्थानमा जान मिल्ने उपकरणको तयारीबारे समुदायलाई जानकारी दिएका थिए । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वार्टर नवलपुरका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले खोलामा कसरी उद्धार गर्ने, कसरी सुरक्षित रहने तथा घरेलु उपकरण प्रयोग गरेर कसरी खोलामा डुब्नबाट जोगिन सकिन्छ भन्नेबारे प्रशिक्षण दिएका थिए । खड्काले प्लाष्टिकका बोतल, जर्किन, सवारीसाधनको ट्युब, केराको थम्बा (बोट), सुकेको बाँसको सामग्री लगायतबाट नदीमा तैरिने सामग्री निर्माण गरी बाढी तथा डुबानजन्य विपद्बाट जोगिने उपायबारे समुदायलाई जानकारी गराएका थिए । उनले नदीजन्य विपद्मा परेका समुदायका उद्धारका लागि र्याफ्टिङ डुङ्गा लैजाँदा त्यसलाई कसरी सञ्चालन गर्ने र कसरी मानिसलाई उद्धार गर्ने भन्नेबारे सहभागीलाई जानकारी गराएका थिए । कारितास नेपालको आयोजनामा बिहीबारदेखि सुरु भएको उक्त प्रशिक्षणमा कावासोती नगरपालिकाका ३० जना सरोकारवालाको सहभागिता रहेको संस्थाका वरिष्ठ जिल्ला अधिकृत सुजन गौलीले जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने तालिममा कावासोती नगरपालिकाको वडा नम्बर १ देखि १७ सम्मका विपद् व्यवस्थापन समितिका सदय तथा सामुदायिक वन, विद्यालय, युवा क्लब, स्वास्थ्य संस्था, सामुदायिक प्रहरी र नगरप्रहरीको सहभागिता रहेको गौलीले बताए । प्रशिक्षणका क्रममा सशस्त्र प्रहरी बलको टोलीले सहभागीलाई एलपी ग्यासको सिलिण्डरमा आगलागी भएमा नियन्त्रण लिने उपाय, दुर्घटनामा घाइतेको उद्धार तथा नदीमा हुने विपद्मा उद्धारका अभ्यास गराइने उनले बताए । तालिममा सहभागी प्रशिक्षणपश्चात समुदायमा फर्किएर विपद्को समयमा खोज तथा उद्धारको काममा खटिने गौलीको भनाइ छ । सशस्त्र प्रहरी बलले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा समुदायमा रहेका व्यक्तिलाई विपद् प्रतिकार्य अभ्यास गराउँदै आएको सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वार्टर नवलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले बताए । नवलपुरका धेरै पालिका मनसुनजन्य विपद्को जोखिममा रहेका भन्दै समुदायका हरेक व्यक्तिलाई यस प्रकारको तालीम आवश्यक रहेको बताए ।

गण्डकी र कोशीमा भारी पानी पर्ने, यस्तो छ देशभरको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै  स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना  छ । गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी भू-भागमा तातो दिन तथा तराई  भू-भागमा तातो लहर हुने सम्भावना रहेको छ । साथै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली  प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा  मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी र तराई भू-भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।  समिति सभापति हरि ढकालले हस्ताक्षर गरेको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेख छ ।  निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरुलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पायक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ ।  समितिले होल्डिङ सेन्टरमा रहेका वास्तविक सुकुम्बासीको पहिचान एवं उचित व्यवस्थापन गरी समितिलाई सात दिनभित्र जानकारी गराउन भनेको छ । विपद्सम्बन्धी जोखिम न्यूनीकरणका पूर्वतयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ । विपद्का बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बिमा गर्न पनि समितिले सरोकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ ।