डोल्पामा पनि सञ्चालनमा आयो नेपाल टेलिकमको फोरजी सेवा
काठमाडौं । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा जेठ ८ गतेदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सेवा विस्तार गरेको जनाएको छ । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको छ । यो माथिल्लो डोल्पामा सञ्चालनमा आएको पहिलो फोरजी साइट हो । हालसम्म डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका, शे–फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा फोरजी सेवा विस्तार हुन बाँकी रहेको छ । कम्पनीले निकट भविष्यमा ती क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । फोरजी सेवा विस्तारसँगै अब सो क्षेत्रमा अनलाइन सेवाहरू सहज रूपमा प्रयोग गर्न सकिने भएको छ । यसले स्थानीय बासिन्दा, पदयात्री तथा पर्यटकहरूको सञ्चार पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ । यसका साथै प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल सञ्जालसँग जोड्दै समग्र क्षेत्रीय विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । ‘राष्ट्रको सञ्चार’को रूपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
कर्मचारीलाई थप काममा लगाउँदा बैंकहरूले अतिरिक्त पारिश्रमिक दिनुपर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूलाई अतिरिक्त समयमा काममा लगाउँदा अतिरिक्ति सेवा सुविधा दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै कार्यालय समयका अतिरिक्त काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्ति पारिश्रमिक दिन भनिएको हो । ‘कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ । साथै बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन नं. १४ को बुँदा नं. ३. बमोजिम हुने गरी काममा लगाउनु पर्नेछ । यस्तै, राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । ‘ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन संस्थाले त्यस्ता ग्राहकहरूका लागि विशेष काउण्टर तोकी सेवा प्रदान गर्नुपर्नेछ,’ निर्देशनमा उल्लेख छ । बैंक वित्तीय संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्न राष्ट्र बैंकको निर्देशन छ । बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतप्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ । आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलेसमेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ । त्यस्तै, क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधिसमेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो । स्वीकृतिप्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चूडामणि पौडेलको यही जेठ ६ गतेको निर्णयअनुसार प्रकाशन गरिएको हो । मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा एक हजार ४५९ संस्थाहरू समावेश छन् । सरकारले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारको कारबाही अभियान सुरु गरेको छ । यही जेठ १ गते काठमाडौं उपत्यकाका अवैध तथा शङ्कास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएकामध्ये ३२ जनालाई नेपाल प्रहरीले कारबाहीका लागि मुद्दा दायरको तयारी गरेको छ । वैदेशिक अध्ययनका क्रममा झुठो विवरण देखाइ कारोबार गर्ने, सरकारी निकायका छाप–लेटर प्याड अनधिकृतरूपमा बनाइ प्रयोग गर्ने, बिना दर्ता सञ्चालन भएकाजस्ता प्रकृतिका विकृतिप्रति निर्मम भएर कानुनी कारबाही अघि बढाइएको हो । शैक्षिक परामर्श क्षेत्रमा शुद्धीकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ । नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घले शुद्धीकरणको अभियानमा आफूहरूको साथ रहने तर सबै व्यवसायीलाई त्रसित नबनाउन आग्रह गर्दै आएको छ ।
ठमेलमा प्रहरीमाथि हातपात गर्ने सात जना विदेशी महिला पक्राउ
काठमाडौं । ठमेलमा प्रहरीमाथि हात हाल्ने सात जना विदेशी महिला पक्राउ परेका छन् । बिहीबार उनीहरूले डयुटीमा खटिएका प्रहरी कर्मचारीहरू माथि गालीगलौज गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । विदेशी महिलाले ठमेल एरियामा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेक्ने गरेका थिए । उनीहरुले अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरेर दुःख हैरानी दिने काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । यसअघि पनि ठमेलबाट ९ जना विदेशी महिला पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरू सबैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । केही महिनाअघि ठमेलबाट युगाण्डा महिलाहरू समेत पक्राउ परिसकेका थिए । उनीहरूलाई अध्यागमन विभागले एक वर्षसम्म नेपाल आउन नपाउने गरेर स्वदेश फिर्ता गरिसकेको छ ।
नयाँ संसद भवनमा आगामी बजेट भाषणको तयारी (फोटो फिचर)
काठमाडौं । नेपालको संसदीय इतिहासमा नयाँ अध्यायको शुरुवात हुँदैछ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबारस्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्नेगरी सरकारले अन्तिम तयारी तीब्र पारेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं भाडा तिरेर चल्दै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ । गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवन जलाइएको थियो । मुख्य सभाहल, गजुर ढाँचाको विशाल फलामे गुम्बज तथा सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । नेपाली संसदीय इतिहासमा एउटा ठूलो सङ्क्रमणकालीन यात्रा अब टुङ्गिने बिन्दुमा पुगेको छ । यो संरचना नेपालकै सबैभन्दा सुरक्षित, भूकम्प–प्रतिरोधी र अत्याधुनिक प्रविधिले युक्त संरचना हो । बजेट भाषणको चटारोलाई मध्यनजर गर्दै २४ सै घण्टा सिफ्टमा कामदारहरू परिचालन गरिएका छन् । नव–निर्माणाधीन यस भवनको सबैभन्दा ठूलो आकर्षण यसको माथिल्लो गुम्बज संरचना हो । भूकम्प र हावाहुरी प्रतिरोधी डिजाइनमा तयार गरिएको डवल–डेकर फलामे ट्रसको आकर्षक गोलाकार गुम्बजले मुख्य प्रतिनिधि सभा हलको छाना ढाकेको छ । दिउँसोको उज्यालो सिधै छिर्ने गरी पारिएको यो गुम्बज संरचनाले उर्जा वचतमा समेत मद्दत गर्ने प्राविधिकहरूको भनाइ छ । राजनीतिक वृत्तमा पनि यस नयाँ संरचनामा बजेट भाषण गर्नुलाई नेपालको स्थायी लोकतन्त्र र राज्यको आफ्नै निर्णयक्षमताको प्रतिकका रूपमा हेरिएको छ । तस्बिरहरु : अनुप प्रधान
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउँदै सरकार, मन्त्री यादवले गरिन् निरीक्षण
काठमाडौं । हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौंडा औद्योगिक क्षेत्रको निरीक्षण गरेकी छिन् । निरीक्षणपछि मन्त्री यादवले बन्द अवस्थामा रहेको कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा सरकारले आवश्यक तयारी तीव्र रूपमा अघि बढाइने बताइन् । उनले उद्योग सञ्चालनमा देखिएका समस्या पहिचान गरी समाधानका लागि धमाधम काम अघि बढाइने बताइन् । सरकारले लामो समयदेखि बन्द रहेका सार्वजनिक उद्योगहरूलाई पुनः सक्रिय बनाउने नीति अनुसार हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर काम अघि बढाउने तयारी गरेको छ। मन्त्री यादवले औद्योगिक क्षेत्रको अवस्थाबारे समेत जानकारी लिँदै आवश्यक पूर्वाधार, लगानी र व्यवस्थापकीय सुधारमार्फत उद्योगलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिइन् ।
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा, १९ लाख राजस्व संकलन
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट १९ लाख ७० हजार दुई सय रुपैयाँ राजस्व संकलन गरिएको छ । जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र गतिमा १३१, लेनक्रसमा ७३, सडक फुटपाथमा ९०, हर्न निषेधमा ९५, एकतर्फीमा १०५, अन्यमा ९८६ लाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । मादकपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारी यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेका बेला आज काठमाडौंको थली क्षेत्रमा गरिएको ‘लागुपदार्थ सेवन (लापसे) चेकिङ’ का क्रममा उनीहरू पक्राउ परेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले सवारी चालकहरूमा विशेष परीक्षण गरेको थियो । सो क्रममा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाइरहेको अवस्थामा पाँच जना चालक फेला परेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा परेकामध्ये दुई जना बस चालक, एक जना मिनीट्रक चालक, एक जना लाइट गाडी चालक तथा एक जना हात्ती भ्यान चालक रहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले संयुक्त टोलीद्वारा गरिएको चेकिङका क्रममा चालकहरूको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक जाँच गर्दा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।
इन्डोनेसियाली महिला आरोहीद्वारा आमादब्लमको सफल आरोहण
काठमाडौं । इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको नेपालस्थित इन्डोनेसियाली दूतावासले जनाएको छ । उक्त आरोहण ‘इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन–२०२६)’ अन्तर्गत गरिएको हो । यस अभियानलाई इन्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली आरोहण क्षेत्रमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ । यो अभियान विश्वका तीन ठूला हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरण हो । योजनाअनुसार सन् २०२७ मा मनास्लु हिमाल तथा अन्तिम लक्ष्यका रूपमा पाकिस्तानस्थित केटु हिमाल आरोहण गर्ने लक्ष्य राखिएको छ । इन्डोनेसियामा महिला अधिकार र समान अवसरका पक्षमा आवाज उठाएकी राष्ट्रिय व्यक्तित्व आर.ए. कार्तिनीको आदर्शलाई आत्मसात् गर्दै सञ्चालन गरिएको यस अभियानले महिलालाई साहसिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ । नाद्या गत अप्रिल २९ मा नेपाल आइपुगेकी थिइन् । उनलाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालसहित यहाँस्थित इन्डोनेसियाली समुदायले स्वागत गरेका थिए । आरोहणका क्रममा उनले बेस क्याम्पदेखि क्याम्प–१ र क्याम्प–२ सम्म क्रमिक अनुकूलन गरेकी थिइन् । प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पाले साथ दिएका थिए भने अन्तिम चरणमा सोनाम शेर्पा र पुर्बा तामाङ सहभागी रहेका थिए । लगभग १८–१९ घण्टासम्मको कठिन यात्रापछि नाद्याले सफलतापूर्वक चुचुरोमा पुग्न सफल भएको जनाइएको छ । आरोहणपछि उनी सकुशल काठमाडौं फर्किएकी छन् । यस उपलब्धिको सम्मानस्वरूप नेपालस्थित इन्डोनेसियाली समुदाय र बंगलादेशस्थित इन्डोनेसियाली दूतावासका प्रतिनिधिहरूले स्वागत कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा आमादब्लम सफल आरोहण गर्ने अर्की महिला आरोही फुर्की स्यारोनीलाई पनि सम्मान गरिएको थियो । हालसम्म आमादब्लम सफल आरोहण गर्ने इन्डोनेसियाली आरोहीको संख्या १२ पुगेको बताइएको छ । दूतावासका अनुसार नेपालका हिमाल आरोहण केवल साहसिक यात्रा मात्र नभई उद्देश्य, सपना र राष्ट्रिय गौरवसँग जोडिएको अभियान हो ।