काभ्रेमा सुकुम्वासी हटाउँने तयारीमा सरकार, १३७ परिवारले दिए निवेदन

काठमाडौं । सरकारले सुकुम्वासीलाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमार्फत गरेको परिपत्रअनुसार पनौती नगरका विभिन्न वडाबाट १३७ सुकुम्वासी परिवारले आफूलाई व्यवस्थित गर्न निवेदन दिएका छन् । नगरको सार्वजनिक सूचनाअनुसार रोसी खोला-आसपास बसेका सुकुम्वासीले उक्त सङ्ख्यामा हालसम्म निवेदन गरेको नगर कार्यालयले जनाएको छ ।

नगर कार्यालयका अनुसार निवेदन आउनेक्रम रहेपनि ती परिवारलाई स्थानान्तरण गर्ने गरी उनीहरूका घर खाली गराउन प्रक्रिया थालिएको छ । नगरले विशेष गरी खोला किनार र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई प्राथमिकतामा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढाउने तयारी थालिएको नगर प्रमुख रामशरण भण्डारीले बताए । उनका अनुसार अझै नगर क्षेत्र तथा सम्बन्धित वडा कार्यालयमा सार्वजनिक जग्गा तथा सुकुम्वासी वस्तीसम्बन्धी निवेदन सङ्कलन कार्य जारी राखिएको छ ।

नगर कार्यालयका अनुसार हालसम्म वडा नं ७ र ८ लगायत विभिन्न वडाबाट १३७ जनाको निवेदन दर्ता भइसकेको छ । यस्तै बाँकी वडाबाट समेत विवरण आउने क्रम जारी रहेको जनाइएको छ । यस्तै वडा नं २ बाट ५३, वडा नं ४ बाट ७, वडा नं ५ बाट ८, वडा नं ७ बाट १५, वडा नं ८ बाट ७, वडा नं ९ बाट ९, वडा नं १० बाट २४, वडा नं ११ बाट ८ तथा वडा नं १२ बाट ६ परिवारको निवेदन दर्ता भएको हो ।

नगर कार्यालयले पहिलो चरणमा रोसी खोला छेउका जोखिमयुक्त बस्ती हटाउने योजना बनाएको जनाएको छ । वर्षायाममा बाढी र कटानको उच्च जोखिम हुने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षालाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइएको भण्डारीको भनाइ छ ।

स्थानीय तहले सार्वजनिक जग्गाको संरक्षणसँगै दीर्घकालीन व्यवस्थापनको विकल्प खोज्ने तयारीसमेत गरिरहेको जनाएको हो । यसका लागि वास्तविक सुकुम्वासीको पहिचान, तथ्याङ्क सङ्कलन र आवश्यक समन्वयको काम भइरहेको जनाइयो ।

Share News