इन्डोनेसियाली महिला आरोहीद्वारा आमादब्लमको सफल आरोहण
काठमाडौं । इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको नेपालस्थित इन्डोनेसियाली दूतावासले जनाएको छ । उक्त आरोहण ‘इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन–२०२६)’ अन्तर्गत गरिएको हो । यस अभियानलाई इन्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली आरोहण क्षेत्रमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ । यो अभियान विश्वका तीन ठूला हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरण हो । योजनाअनुसार सन् २०२७ मा मनास्लु हिमाल तथा अन्तिम लक्ष्यका रूपमा पाकिस्तानस्थित केटु हिमाल आरोहण गर्ने लक्ष्य राखिएको छ । इन्डोनेसियामा महिला अधिकार र समान अवसरका पक्षमा आवाज उठाएकी राष्ट्रिय व्यक्तित्व आर.ए. कार्तिनीको आदर्शलाई आत्मसात् गर्दै सञ्चालन गरिएको यस अभियानले महिलालाई साहसिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ । नाद्या गत अप्रिल २९ मा नेपाल आइपुगेकी थिइन् । उनलाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालसहित यहाँस्थित इन्डोनेसियाली समुदायले स्वागत गरेका थिए । आरोहणका क्रममा उनले बेस क्याम्पदेखि क्याम्प–१ र क्याम्प–२ सम्म क्रमिक अनुकूलन गरेकी थिइन् । प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पाले साथ दिएका थिए भने अन्तिम चरणमा सोनाम शेर्पा र पुर्बा तामाङ सहभागी रहेका थिए । लगभग १८–१९ घण्टासम्मको कठिन यात्रापछि नाद्याले सफलतापूर्वक चुचुरोमा पुग्न सफल भएको जनाइएको छ । आरोहणपछि उनी सकुशल काठमाडौं फर्किएकी छन् । यस उपलब्धिको सम्मानस्वरूप नेपालस्थित इन्डोनेसियाली समुदाय र बंगलादेशस्थित इन्डोनेसियाली दूतावासका प्रतिनिधिहरूले स्वागत कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा आमादब्लम सफल आरोहण गर्ने अर्की महिला आरोही फुर्की स्यारोनीलाई पनि सम्मान गरिएको थियो । हालसम्म आमादब्लम सफल आरोहण गर्ने इन्डोनेसियाली आरोहीको संख्या १२ पुगेको बताइएको छ । दूतावासका अनुसार नेपालका हिमाल आरोहण केवल साहसिक यात्रा मात्र नभई उद्देश्य, सपना र राष्ट्रिय गौरवसँग जोडिएको अभियान हो ।
भीमसेनथापा गाउँपालिकामा वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्न गराउन अक्युपञ्चर सेवा सुरु
गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ । भीमसेनथापा-५ स्थित बगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि अक्युपञ्चर सेवाको थालनी गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, 'गाउँमा अक्युपञ्चर सेवाको सुरु भएपछि नसा, जोर्नी र पक्षघातजस्ता बिरामीको औषधिविना उपचार हुने भएपछि उपचारका लागि अन्यत्र धाउनु पर्दैन । नागरिकलाई घरदैलोमा सर्वसुलभ र प्रभावकारी वैकल्पिक स्वास्थ्योपचार सेवा पुर्याउने उद्देश्यले यो सेवाको थालनी गरिएको हो ।' जिल्लामा पहिलो पटक भीमसेनथापा गाउँपालिकाले अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत पालिकाभित्र यो सेवा सुरु गरेको शाखा प्रमुख खनालको बताए । 'स्थानीयस्तरमा आधुनिक चिकित्सा पद्धतिसँगै परम्परागत तथा वैकल्पिक उपचारको पहुँच विस्तार भएको छ', उनले भने, 'यसबाट अक्युपञ्चर विधिबाट उपचार गर्न चाहने जिल्लाभरका बिरामी लाभान्वित हुनेछन् ।' स्वास्थ्य शाखा प्रमुख खनालका अनुसार विशेषगरी जीर्ण खालका जोर्नीको दुखाइ, मांसपेशीको दुखाइ तथा विभिन्न किसिमका नसा (स्नायु)सम्बन्धी समस्या भएका बिरामीका लागि यो सेवा अत्यन्तै उपयोगी हुनेछ । साथै पक्षघात (प्यारालाइसिस)जस्ता जटिल शारीरिक समस्या भएका बिरामीका लागि यो पद्धतिबाट उपचार गर्दा सहज हुने उनले बताए । रासस
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत, सेप्टेम्बरदेखि यातायात सञ्चालन गर्ने लक्ष्य
काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ । आयोजनाकाअनुसार हालसम्मको वित्तीय प्रगति भने ५८ प्रतिशत रहेको छ । पाँच वर्षको निर्माण अवधि (६० महिना) तोकिएको यस आयोजनामा डिजाइन, स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै रहने गरी ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा काम भइरहेको छ । निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) का रूपमा रहने आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख राजेश पौडेलकाअनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङमार्गमार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीब्र पारिएको छ । आयोजनामा शुरुवाती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिएका थिए । नेपालमा ईपीसी मोडलको यो नयाँ अभ्यास भएकाले डकुमेण्टेसनमा समस्या, रुख कटानको अनुमतिमा ढिलाइ र बजेट व्यवस्थापनमा देखिएका कठिनाइले आयोजनाको गतिमा केही असर पुगेको थियो । यद्यपि, हाल यी समस्याहरू समाधानको क्रममा रहेको र म्याद थप (ईओटी) तथा माइलस्टोन समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले जानकारी दिए । उनले भने, ‘हामी अहिले चौथो वर्षको निर्माण अवधिमा छौँ । आउँदो सेप्टेम्बरसम्म इलेक्ट्रो–मेकानिकल जडान तथा सुरक्षाका सम्पूर्ण उपायहरू सुनिश्चित गरी सुरुङबाट सवारी साधन पठाउने हाम्रो लक्ष्य छ ।’ सुरुङ मार्गसँगै एप्रोच सडक (मेन रोड १ र २) मा ‘रिजिड पेभमेन्ट’ गर्ने कार्यको समेत स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरको जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ र ‘स्लोप प्रोटेक्शन’ (भीर संरक्षण) का कामहरू गरिनेछन् । पैदल यात्रीका लागि रकसेडभित्रको बाटो प्रयोगमा ल्याइने र बाहिरी भागबाट खानेपानीको व्यवस्थापन गरिने योजना छ । यो आयोजनाको शुरुवाती लागत अनुमान करिव १० अर्ब रुपैयाँ रहे पनि प्रतिष्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिव ७ अर्ब रुपैयाँमा सम्झौता भएको हो । सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्तै जोखिमयुक्त रहेकाले यात्राको दूरी छोट्याउनु भन्दा पनि पहिरोजन्य जोखिमबाट जनधनको क्षति रोक्नु र सुरक्षित यात्रा सुनिश्चित गर्नु यस सुरुङमार्गको मुख्य उद्देश्य रहेको आयोजनाले स्पष्ट पारेको छ ।
संख्याका भरमा दम्भ नपाल्न प्रधानमन्त्रीलाई गगनको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जवाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे । सरकारलाई जवाफदेही बन्न आग्रह सरकारमा शक्तिको कारण जवाफदेहिता नदेखिएको भन्दै थापाले चिन्ता व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेर करिब दुई तिहाइको शक्ति प्राप्त गरेर सरकार चलाउने मेण्डेड पाएको भए पनि ठिक ढंगले नचलाएको उनकाे भनाइ छ । विगतमा बहुमत प्राप्त गरेका सरकारले ठिक ढंगले सञ्चालन गर्न नसकेको स्मरण गर्दै थापाले जवाफदेही हुन आग्रह गरे । ‘सरकार चलाउने जनमत रास्वपाले पाएकोमा सम्मान गर्छौं,’ थापाले भने, ‘तर, सरकार जवाफदेही बन्नुपर्छ ।’ करिब दुई तिहाइको जनमत र लोकप्रिय छु भन्दैमा संवैधानिक सीमालाई ख्याल गर्न थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे । ‘सरकारले हेक्का राखोस् संविधान र कानुनमाथि कोही पनि हुँदैन,’ थापाले भने, ‘शक्तिशाली र लोकप्रिय भन्दैमा जे पनि गर्न पाइँदैन ।’ पद र शक्ति छ भन्दैमा लहडका भरमा सुकुम्बासी बस्ती भत्काउन नपाइने थापाले बताए । ‘सरकारले बस्ती व्यवस्थित गरोस् हाम्रो साथ रहन्छ,’ थापाले भने, ‘कसैलाई रहर लाग्दैमा सुकुम्बासीको व्यवस्थापन नगरी बस्ती भत्काउन पाइन्छ ?' अतिक्रमण भएको भए खाली गर्ने जिम्मेवारी भए पनि कानुनले तोकेको जिम्मेवारी अनुसार काम गर्न चेतावनी दिए । सरकारले उद्योगी, व्यवसायी, बैंकरलाई मनपरी पक्राउ गरेको भन्दै सभापति थापाले आक्रोस पोखे । ‘मन्त्रीले बोलाउँदा भेट्ने समय नदिएको भन्दै निर्माण व्यवसायीलाई घरबाट प्रहरी लगाएर उठाउने काम भयो,’ थापाले भने, ‘बैंकका सीईओलाई पनि बिना कारण पक्राउ गरेको खबर सुनियो ।’ चित्त नबुझेको खण्डमा जसलाई मन लाग्यो त्यसलाई पक्राउ नगर्न थापाले चेतावनी दिए । ‘कानुन विपरीतका कार्यमा असहमति रहेको र त्यस्ता कार्य दोहोर्याए कांग्रेसले प्रतिवाद गर्छ,’ थापाले भने । थापाले कांग्रेस जिउँदो रहेको भन्दै कमजोर नठान्न आग्रह गरे । नागरिकको जनजीविकामा गम्भीरता खै ? कांग्रेस सभापति थापाले आम नागरिकको जनजीविकासँग जोडिएको विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । मध्यपूर्वको संकटले नागरिकको दैनिक जीवनमा असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘इन्धनको मूल्यवृद्धिले जनजीवन प्रभावित भएको छ,’ थापाले भने, ‘सामान्य श्रम गरेर आम्दानी गरेका नागरिकको भान्सा चलाउन हम्मे भएको छ । यसका लागि सरकारले काम गरोस् ।’ ढुवानी खर्च र लागत खर्च बढेकाले दैनिक उपभोग्य वस्तुको भाउ बढेको बताउँदै भान्सा थेग्न नसक्ने अवस्थामा पुगेको थापाले बताए । ‘पम्प लगाएर सिँचाई गर्ने किसानलाई इन्धनको मूल्यवृद्धिले असर गरेको छ । मलको व्यवस्थापन हुन सकेको छैन । निर्माण क्षेत्रमा समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार जिम्मेवार बनोस् हामी सहकार्य गर्न तयार छौं ।’ सहकारीबाट पीडित बनेकाहरुलाई करिब एक खर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था भए पनि सरकारले केही करोड निकासा गरेको भनेर लोकप्रियतामा रमाउन खोजेको आरोप लगाए । स्वास्थ्य बिमामा देखिएको समस्या समाधान गर्न कांग्रेस सभापति थापाले आग्रह गरे । ‘स्वास्थ्य बीमा हामीले सुरु गरेको हो । अहिले थला परेको छ । सरकारले व्यवस्थित गरोस्,' थापाले भने । सीमा क्षेत्रमा सय रुपैयाँ भन्दा बढी सामानमा कडाइ गर्दा सीमा क्षेत्रका नागरिक समस्यामा परेको भन्दै यो विषयमा संवेदनशील बन्न आग्रह गरे । जनजीविकाका सवालमा सरकारले आह्वान गरेमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए । थापाले भने, ‘प्रधानमन्त्री तपाईँ कहाँ हुनुहुन्छ । हामी छलफल गर्न चाहन्छौं ।’ संविधान संशोधनलाई खेलाँची नठान कांग्रेस सभापति थापाले सरकारले अहिले संविधान संशोधन गर्न गठन भएको कार्यदलप्रति प्रश्न उठाउँदै संविधान संशोधनको विषयलाई खेलाँची नठान्न आग्रह गरे । २०७२ को संविधानमा नेपालीको भावना जोडिएको बताए । ‘संविधानमा कतिपय नचाहेका विषय पनि छन् । संशोधन गर्नुपर्ने छ हेक्का रहोस् यो भावनासँग जोडिएको विषय हो । संविधान संशोधनलाई खेलाँचीको विषय नबनाओस्,' थापाले भने, ‘दुई-चार जना बसेर संविधान संशोधन हुन सक्दैन । सरकारले ढंग पुर्याएको छैन । विविधता भएको समाजका भावनालाई ठिक ढंगले सम्वोधन गरिएन भने दुर्घटना हुन सक्छ । भदौ २४ को दोषीलाई कारबाहीको माग कांग्रेस सभापति गगन थापाले भदौ २४ को घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ‘भदौ २३ र २४ जेनजी आन्दोलन भयो । पूर्वन्यायाधिशको संयोजकत्वमा छानबिन समिति पनि बन्यो । समितिले २३ गतेको विषयमा प्रतिवेदन दिएर कारबाही प्रक्रिया अघि बढाएको भए पनि भदौ २४ को घटना पनि छानबिन हुनुपर्छ,' उनले भने, ‘भाद्र २४ मा सबैभन्दा धनजनको क्षति पुगेको छ । दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’ जेनजी आन्दोलनको बारेमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सुशासनमा गम्भीर बन थापाले सुशासनका मामलामा गम्भीर बन्न सरकारलाई आग्रह गरे । सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारले गठन गरेको आयोगको क्षेत्राधिकार प्रष्ट हुनुपर्ने बताए । सुशासनको विषयमा गल्ती गरेको भए परीक्षामा उत्रिन आफू तयार भएको बताउँदै प्रधानमन्त्री र सरकारका मन्त्री यो परीक्षामा सहभागी हुन तयार हो की होइन भनेर प्रश्न गरे । मन्त्रीहरूको विषयमा उठेका प्रश्नको विषयमा छानबिन हुनुपर्ने थापाले बताए । ‘मन्त्रीहरूका सम्पत्ति विवरणमा वैध स्रोत के हो ? परिवारले कहाँबाट आर्जन गर्यो ?,' थापाले भने ।
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति
पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ । हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए । बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । याङवरक–३ स्थित रिजाल भिरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रुपमा बगाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड सुचारु गराउने पहल सुरु भएको छ । सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन थालेको र हालसम्म दुई वटा घर बगाएको जानकारी आएको प्रनाउ कर्णले जानकारी दिए । यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ । हेंवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ । गए राति आएको बाढीपहिरोले याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको स्थानीयवासी तेजबहादुर योङ्याले जानकारी दिए । रासस
मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक
मुस्ताङ । नेपाल-चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ । चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा संयुक्त सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बसेको हो । बैठकमा झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका आठ जना चिनियाँ प्रतिनिधिमण्डलको सहभागी थियो । चिनियाँ प्रतिनिधिमण्डलमा झोङ्बा काउन्टीका जनसरकारका उपकाउन्टी प्रमुख डुन्जु युजिए, सुरक्षा ब्युरोका निर्देशक लोयिङ, काउन्टीका सुरक्षा ब्युरोका वैदेशिक सम्पर्क अधिकृत सिरेन झाशी र झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका पाँच जना कर्मचारीहरुको उपस्थिती थियो । नेपालतर्फबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीलगायतको उपस्थिति थियो । यसैगरी नेपाल–चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठकमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छ्युमी विष्टलगायतको उपस्थिति रहेको थियो । लोमान्थाङमा आयोजित नेपाल–चीन संयुक्त सीमा सुरक्षा बैठक द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिए । प्रजिअ शर्माले कोरलानाका क्षेत्रको सीमा सुरक्षा, कोरला नाकाको सीमा सुरक्षा आवागमनमा कसरी सहज बनाउने र सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, चोरी तस्करी र अवान्छित गतिविधिहरुको नियन्त्रणमा कसरी भूमिका खेल्नेलगायतका विषयमा मौखिक छलफल भएको बताए । यसैगरी आगामी दिनमा दुई देशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सम्वन्धलाई थप प्रभावकारी र परिस्कृत तुल्याउँदै लैजाने भन्ने विषयमा छलफल भएको प्रजिअ शर्माले उल्लेख गरे । यसैगरी लोमान्थाङमा आयोजित (नेपाल–चीन) संयुक्त सुरक्षा समन्यात्मक बैठकको सहजीकरण लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गरेका थिए । नेपाल–चीन कोरलास्थित सीमावर्ती दुईदेशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सुमधुर सम्बन्धलाई सुधार गर्दै थप परिस्कृत बनाउँदै लैजाने मौखिक सहमति भएको गाउँपालिका अध्यक्ष बिष्टले उल्लेख गरे । सीमा क्षेत्रमा देखिएका समस्या र चुनौतीहलाई दुई देशका स्थानीय सुरक्षा अधिकारी र जनप्रतिनिधिहरु मिलेर आपसी समन्वय र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाइएको छ । नेपाल–चीन उत्तरी कोरलास्थित नेपाल–चीनका सुरक्षा अधिकारी र स्थानीय जनतिनिधिहरुबीच बर्सेनि आलोपालो समन्वयात्मक बैठक बस्ने प्रचलन छ । चालु वर्षको भदौ महिनामा चीनको स्वशासित क्षेत्र तिब्बतको झोङ्बा काउन्टीमा नेपाल–चीन संयुक्त सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको थियो । बैठकका लागि चिनियाँ टोली कोरलानाका हुँदै मुस्ताङको लोमान्थाङ आइपुगेका थिए । यसैगरी मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्मालगायत सुरक्षा प्रमुखको टोली बिहीबारनै बैठकका लागि लोमान्थाङ पुगेका थिए । रासस
चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
झापा । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ । भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टि इस्टेट’ले ६० बिघा क्षेत्रफलमा चिया र सुपारीको व्यावसायिक खेती एकसाथ अघि बढाएको हो । चिया र सुपारीको पर्यावरणीय आवश्यकताअनुरुप जलवायु र माटो एकअर्कासँग निकै मिल्दोजुल्दो भएकाले मिश्रित खेती सुरु गरिएको इस्टेटका सञ्चालक भक्ति अधिकारीले जानकारी दिए । 'सुपारीको अग्लो बोटले चिया झाडीलाई आवश्यक पर्ने हलुका छहारी दिन्छ', उनले भने, 'यसबाट एउटै बगान र एउटै लगानीबाट चिया र सुपारी दुवैको दोहोरो लाभ लिन सकिन्छ ।' झापामा कुनै व्यावसायिक कम्पनीले संस्थागत रूपमै अन्तरबालीका रूपमा यी दुवै बालीको खेती एकसाथ गरेको यो पहिलोपटक हो । उक्त बगानमा करिब एक दशकअघि नै चियाका बिरुवा रोपेर उत्पादन लिन थालिएको थियो भने सुपारीका बिरुवा तीन वर्षअघि मात्र थपिएको हो । हाल ६० बिगाहा क्षेत्रफलमा ६० हजार सुपारीका बोटहरू हुर्किरहेका छन् । चियाले लगातार उत्पादन दिइरहेको भन्दै उनले सुपारीले भने अबको चार वर्षपछि मात्र उत्पादन दिन थाल्ने बताए । चिया बगानभित्र सुपारी विस्तारका लागि कम्पनीले रु एक करोड अतिरिक्त लगानी गरिसकेको जनाएको छ । आगामी दिनमा कूल १०२ बिघा चिया बगानमै अन्तरबालीका रूपमा सुपारीखेती विस्तार गर्ने कम्पनीको योजना छ । 'हाम्रो बगानमा चिया पहिल्यै थियो', मिश्रित खेतीको अनुभव सुनाउँदै अधिकारीले भने, 'भारतको आसाम भ्रमणका क्रममा त्यहाँ चिया बगानभित्रै सुपारीका बोटहरू हुर्काएको देखेपछि मलाई पनि यो सोच आएको हो । हामीले आसामबाटै उन्नत जातको सुपारीको दाना ल्याएर आफ्नै नर्सरीमा बिरुवा तयार गर्यौँ । अहिले ती बोटहरू तीन वर्षका भइसके ।' ऐतिहासिक रूपमा भारतबाटै नेपाल भित्रिएका यी दुवै बालीको मुख्य निर्यात बजार पनि भारत नै हो। हाल नेपालका ३१ जिल्लाको २१ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चियाखेती फैलिएको छ भने सुपारीखेती मुख्य गरी कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम गरी करिब चार हजार हेक्टरमा छ। मुलुकको कूल सुपारी उत्पादन र क्षेत्रफलको दुई तिहाइभन्दा बढी हिस्सा झापा जिल्लाले मात्र ओगटेकाले यसलाई ‘सुपारीको राजधानी’ समेत भनिन्छ । जिल्लाको करिब तीन हजार हेक्टरमा सुपारीखेती हुन्छ । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका सुपारी उत्पादनका प्रमुख केन्द्र हुन्, जहाँ रैथाने किसानहरूले परम्परागत रूपमै यसको खेती गर्दै आएका छन् । पछिल्लो समय झापामा छहारी मन पराउने बालीहरू चिया, मरिच, अलैँची र केराको अन्तरबाली लगाएर एउटै जमिनबाट बहुआयामिक लाभ लिने उत्कृष्ट अभ्यास भइरहेको छ । मेचीनगर नगरपालिका–४ का अगुवा किसान रवि नेपालले यसअघि नै व्यक्तिगत रूपमा यस्तो मिश्रित खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । व्यावसायिकस्तरमा ठूलो लगानी गरेर चिया र सुपारीको मिश्रित खेती गर्ने जोखिम हडिया रियल टी इस्टेटले पहिलोपटक उठाएको हो । बगानमा सुपारीका बोटहरू क्रमशः हुर्किंदै गएपछि छहारीका लागि पहिले लगाइएका सिरिसलगायतका रुखहरू हटाइएको छ । कम्पनीले सुपारीखेतीको छुट्टै हेरचाह, गोडमेल र मलजलका लागि विशेष प्राविधिक तथा श्रमिकसमेत परिचालन गरेको जनाएको छ । हडिया इस्टेटको यो मिश्रित खेती मोडेल सफल भएमा जिल्लाका अन्य ठूला चिया बगानहरूमा पनि सुपारी खेती विस्तारको नयाँ ढोका खुल्नेछ । यसैको सिको गर्दै मेचीनगर नगरपालिका–१५ स्थित ‘वंशल टी इस्टेट’ले पनि परीक्षणका रूपमा चिया बगानभित्र सुपारीका बिरुवा रोप्न सुरु गरिसकेको छ ।
तरुल किलोको ६० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) रु ७०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३०, आलु रातो (गोलो) प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ५५, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिन्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु ८०, भिन्डी प्रतिकिलो रु ४० र पिँडालु प्रतिकिलो रु ६० कायम गरिएको छ । स्कुस प्रतिकिलो ७०, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकिलो रु १२०, तोरीसाग प्रतिकिलो रु ४०, चमसुरको साग प्रतिकिलो रु १२०, मेथीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३५०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, निगुरो प्रतिकिलो रु ८०, कुरिलो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३२५, कागती प्रतिकिलो २६०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो रु ४५०, आँप (दसहरी) प्रतिकिलो रु २८०, अङ्गुर (हरियो) प्रतिकिलो रु ३८०, तरबुजा (हरियो) प्रतिकिलो रु ३५, भुइँकटहर प्रतिगोटा रु २३०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, रुखकटहर प्रतिकिलो रु ७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लिची (भारतीय) रु २८०, एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, नरिवल (काँचो) प्रतिकिलो रु ८०, नरिवल (हरियो)प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, माछे खुर्सानी प्रतिकिलो रु ६०, भेडेखुर्सानी प्रतिकिलो रु ६०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी सुकेको प्रतिकिलो रु १४०, माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।