उपत्यका प्रहरी कार्यालयका डिआइजी र ट्राफिक प्रहरी प्रमुख पुरस्कृत
काठमाडौं । काठमाडौं उपत्यकाको समग्र शान्ति, सुरक्षा प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई विशेष रूपमा सम्मान तथा पुरस्कृत गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । विशेषगरी चोरी, डकैती, लागुऔषध कारोबार, सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि तथा विभिन्न आपराधिक घटनामा नियन्त्रण गर्न उनले सक्रियता बढाएको बताइएको छ । त्यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी पनि पुरस्कृत भएका हुन् । ट्राफिक प्रहरी प्रमुख अधिकारीले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न उल्लेखनीय भूमिका खेलेको जनाएको छ । उनको नेतृत्वमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि कडाइ गर्नुका साथै सडक अनुशासन कायम गराउने अभियान प्रभावकारी बनेको थियो । विशेषगरी ट्राफिक जाम न्यूनीकरण, सवारी दुर्घटना नियन्त्रण, लेन अनुशासन लागू तथा आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन उहाँले महत्त्वपूर्ण पहल गरेको जनाइएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सवारी चालकमा ट्राफिक नियमप्रति सचेतनासमेत वृद्धि भएको बताइएको छ । सडकमा हुने जाम, जथाभावी पार्किङलगायतका समग्र अव्यवस्था न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले समयसमयमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको जनाएको छ । यसबाट प्रहरी सङ्गठनभित्र थप उत्साह र जिम्मेवारीबोध बढ्ने विश्वास गरिएको छ ।
प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण
काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बारका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रसहित टोलीले शुक्रबार (आज) प्रधान न्यायाधीश डा. शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ । बारले दर्ता हुन आएका निवेदनहरू सोही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपिठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन बारले माग गरेको छ । ध्यानाकर्षण पत्रमा दरपिठ भएको निवेदन उपर सात दिनभित्रमा सुनुवाइको व्यवस्था गर्न आग्रह गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका । शुक्रबार (आज) मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । मधेस प्रदेशसभाको बैठकमा उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभामा विश्वासको पक्षमा ६२ जना प्रदेशसभाका सदस्यहरूले मत दिए । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३६ जना प्रदेशसभाका सदस्यहरूको मत परेको मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभाको बैठकमा घोषणा गरेका थिए । साथै, प्रदेशसभामा १०७ सदस्य छन् । दुई जना सदस्य निलम्बित छन् भने चार जनाले राजीनामा दिए । अन्य तीन जना भने सभामा अनुपस्थित रहेका सभामुख यादवले जानकारी दिए । प्रदेश सरकारमा रहेका जनमत पार्टीले गत वैशाख २३ गते मुख्यमन्त्री यादवलाई दिएको विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए । मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसका २२, नेकपा (एमाले) २४, नेपाली कम्युनिष्ट पार्टी १५ र नेपाल सङ्घीय समाजवादी पार्टी नेपालका एक सदस्यले विश्वासको मत दिएका हुन् ।
सरकारलाई गगन थापाका पाँच प्रश्न र सुझाव, संख्याका भरमा दम्भ नपाल्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जवाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे । थापाले सरकारलाई गरेका पाँच प्रश्न तथा सुझाव यस्ता छन् । सरकारलाई जवाफदेहिता बन्न आग्रह सरकारमा शक्तिको कारण जवाफदेहिता नदेखिएको भन्दै थापाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेर करिब दुई तिहाईको शक्ति प्राप्त गरेर सरकार चलाउने मेण्डेड पाएको भए पनि ठिक ढंगले नचलाएको बताए । विगतमा बहुमत प्राप्त गरेका सरकारले ठिक ढंगले सञ्चालन गर्न नसकेको स्मरण गर्दै थापाले जवाफदेही हुन आग्रह गरे । ‘सरकार चलाउने जनमत रास्वपाले पाएकोमा सम्मान गर्छौं,’ थापाले भने, ‘तर, सरकार जवाफदेही बन्नुपर्छ ।’ विगतमा सुविधाजनक जनक बहुमत प्राप्त गरेका कार्यकाल पुरा नभएको स्मरण गर्दै त्यस्तो नहोस् भन्दै शुभकामना दिए । करिब दुई तिहाईको जनमत र लोकप्रिय छु भन्दैमा संवैधानिक सिमालाई ख्याल गर्न थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे । ‘सरकारले हेक्का राखोस् संविधान र कानुनमाथि कोही पनि हुँदैन,’ थापाले भने, ‘शक्तिशाली र लोकप्रिय भन्दैमा जे पनि गर्न पाइँदैन ।’ पद र शक्ति छ भन्दैमा लहडका भरमा सुकुम्बासी बस्ती भत्काउन नपाइने थापाले बताए । ‘सरकारले बस्ती व्यवस्थित गरोस् हाम्रो साथ रहन्छ, ’थापाले भने, ‘ कसैलाई रहर लाग्दैमा सुकुम्बासीको व्यवस्थापन नगरी बस्ती भत्काउन पाइन्छ ? अतिक्रमण भएको भए खाली गर्ने जिम्मेवारी भए पनि कानुनले तोकेको जिम्मेवारी अनुसार काम गर्न चेतावनी दिए । सरकारले उद्योगी, व्यवसायी, बैंकरलाई मनपरी पक्राउ गरेको भन्दै कांग्रेस सभापति थापाले आक्रोस पोखे । ‘मन्त्रीले बोलाउँदा भेट्टे समय नदिएको भन्दै निर्माण व्यवसायीलाई घरबाट प्रहरी लगाएर उठाउने काम भयो,’ थापाले भने, ‘बैंकका सिइओलाई पनि बिना कारण पक्राउ गरेको खबर सुनियो ।’ चित्त नबुझेको खण्डमा जसलाई मन लाग्यो त्यसलाई पक्राउ नगर्न थापाले चेतावनी दिए । ‘कानुन विपरितका कार्यमा असहमति रहेको र त्यस्ता कार्य दोहो¥याए कांग्रेसले प्रतिवाद गर्छ,’ थापाले भने । थापाले कांग्रेस जिउँदो रहेको भन्दै कमजोर नठान्न आग्रह गरे । ‘संख्या छ भन्दैमा सरकारले दम्भ नपालोस्,’थापाले भने । नागरिकको जनजीविकामा गम्भीरता खै ? कांग्रेस सभापति थापाले आम नागरिकको जनजिविकासँग जोडिएको विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । मध्यपूर्वको संकटले नागरिकको दैनिक जीवनमा असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘इन्धनको मूल्यवृद्धिले जनजीवन प्रभावित भएको छ,’ थापाले भने, ‘सामान्य श्रम गरेर आम्दानी गरेका नागरिकको भान्सा चलाउन हम्मे भएको छ । ययसका लागि सरकारले काम गरोस् ।’ ढुवानी खर्च र लागत खर्च बढेकाले दैनिक उपभोग्य वस्तुको भाउ बढेको बताउँदै भान्सा थेग्न नसक्ने अवस्थामा पुगेको थापाले बताए । ‘पम्प लगाएर सिँचाई गर्ने किसानलाई इन्धनको मूल्यवृद्धिले असर गरेको छ । मलको व्यवस्थापन हुन सकेको छैन । निर्माण क्षेत्रमा समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार जिम्मेवार बनोस् हामी सहकार्य गर्न तयार छौं ।’ सहकारीबाट पीडित बनेकाहरुलाई करिब एक खर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था भए पनि सरकारले केही करोड निकासा गरेको भनेर लोकप्रियतामा रमाउन खोजेको आरोप लगाए । स्वास्थ्य बिमामा देखिएको समस्या समाधान गर्न कांग्रेस सभापति थापाले आग्रह गरे । ‘स्वास्थ्य बिमा हामीले सुरु गरेको हो,’ थापाले भने, ‘ अहिले थला परेको छ । सरकारले व्यवस्थित गरोस् ।’ सीमा क्षेत्रमा सय रुपैयाँ भन्दा बढी सामानमा कडाई गर्दा सिमा क्षेत्रका नागरिक समस्यामा परेको भन्दै यो विषयमा संवदेनशील बन्न आग्रह गरे । जनजिविकाका सवालमा सरकारले आह्वान गरेमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए । थापाले भने, ‘प्रधानमन्त्री तपाइँ कहाँ हुनुहुन्छ । हामी छलफल गर्न चाहान्छौं ।’ संविधान संशोधनलाई खेलाँची नठान कांग्रेस सभापति थापाले सरकारले अहिले संविधान संशोधन गर्न गठन भएको कार्यदलप्रति प्रश्न उठाउँदै संविधान संशोधनको विषयलाई खेलाँची नठान्न आग्रह गरे । २०७२को संविधानमा नेपालीको भावना जोडिएको बताए । ‘संविधानमा कतिपय नचाहेका विषय पनि छन् । संशोधन गर्नुपर्ने छ, थापाले भने, ‘हेक्का रहोस् यो भावनासँग जोडिएको विषय हो । ’ संविधान संशोधनलाई खेलाँचीको विषय नबनाओस् । ‘दुई चार जना बसेर संविधान संशोधन हुन सक्दैन,’ थापाले भने, ‘सरकारले ढंग पु¥याएको छैन ।’ विविधता भएको समाजका भावनालाई ठिक ढंगले संवोधन गरिएन भने दुर्घटना हुन सक्ने भन्दै संविधान संशोधनको बहसमा कांग्रेसको पनि सरोकार भएको बताए । भदौ २४को दोषीलाई कारबाहीको माग कांग्रेस सभापति गगन थापाले भदौ २४को घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ‘भदौ २३ र २४ जेनजी आन्दोलन भयो । पुर्व न्यायाधिशको संयोजकत्वमा छानविन समिति पनि बन्यो,’ थापाले भने, ‘समितिले २३ गतेको विषयमा प्रतिवेदन दिएर कारबाही प्रक्रिया अघि बढाएको भए पनि भदौ २४को घटना पनि छानविन हुनुपर्छ ।’ ‘भाद्र २४मा सबैभन्दा धनजनको क्षति पुगेको छ,’ सभापति थापाले भने, ‘दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’ जेनजी आन्दोलनको बारेमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सुशासनमा गम्भीर बन थापाले शुसासनका मामलामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानविन गर्न सरकारले गठन गरेको आयोगको क्षेत्राधिकार प्रष्ट हुनुपर्ने बताए । सुशासनको विषयमा गल्ती गरेको भए परीक्षामा उत्रिन आँफू तयार भएको बताउँदै प्रधानमन्त्री र सरकारका मन्त्री यो परीक्षामामा सहभागी हुन तयार होकी होइन ? भनेर प्रश्न गरे । मन्त्रीहरुको विषयमा उठेका प्रश्नको विषयमा छानविन हुनुपर्ने थापाले बताए । ‘मन्त्रीहरुका सम्पत्ति विवरणमा वैघ स्रोत के हो ? परिवारले कहाँबाट आर्जन ग¥यो ? प्रश्न हुनुपर्ने बताउँदै थापाले सम्पत्ति वैध ढंगले सम्पत्ति कमाउने अधिकार सबैसँग भएको बताए ।
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
काठमाडौं । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषाद्को आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । सरकारले यही जेठ ११ गते नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । बैठकले नीता पोखरेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर छविराज पोखरेललाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको शुक्रबार (आज) बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले सामाजिक न्याय, स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादन, रोजगारी सिर्जना र उद्यम विकासलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । प्रदेशसभा सदस्यहरूले सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषयहरू सकारात्मक भए पनि ती प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताएका हुन् । बजेट कार्यान्वयन प्रणालीलाई बलियो बनाउनुपर्ने, योजनामा वित्तीय अनुशासन कायम गर्नुपर्ने तथा खर्च प्रणालीलाई पारदर्शी र नतिजामुखी बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, भगवती अधिकारी, भुवनेश्वर चौधरी, तारा थापा, डिल्लिराज भुसाल, मीनाकुमारी श्रेष्ठ, वसन्ती न्यौपाने, यमबहादुर नेपाली सार्की, धनलक्ष्मी श्रेष्ठ, विष्णुप्रसाद पन्थीसहित १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका थिए । उनीहरूले बजेट प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सुझाव दिएका थिए । प्रदेशसभाको बैठकमा शून्य समयमा दीलकुमारी बुढा, माया पुन, कृष्णाकुश्मा थारु र यमूना रोक्का तामाङले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए ।
निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु
काठमाडौं । गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर शुक्रबार (आज) एक मजदुरको मृत्यु भएको छ । गण्डकी गाउँपालिका-१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका ४१ वर्षीय दुखीलाल यादव रहेको उनको भनाइ छ । दिउँसो करिब २ः४५ बजे पर्खालबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन आधारभूत अस्पतालमा पुर्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो । हाइड्रो निर्माणस्थलमा रहेको अन्दाजी २० मिटर अग्लो पर्खालबाट यादव अचानक तल खसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ । न्यायाधीहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो । जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियोे ।
डुबेर एकैदिन ४ बालिकाको मृत्यु
काठमाडौं । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार (आज) जिल्लाको मनरासिस्वा नगरपालिका-७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका-४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । मनरासिस्वा नगरपालिका-७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो । सरपल्लो गाउँकी तीनै जना बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए । नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार गौशाला नगरपालिका-४ रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी दुई वर्षीया दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताए । मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।