काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो हावा (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मी रहने सम्भावना रहेको जनाएको हो ।
विभागका अनुसार ती क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने तथा केही स्थानमा ४० डिग्री सेल्सियसभन्दा बढी मापन हुने सम्भावना छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा मध्यम स्तरको तातो लहर तथा पहाडी क्षेत्रमा तातो दिनको अवस्था रहने देखिएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो ।
विभागले सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा जेठ ६ गतेदेखि नै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भइरहेको जनाएको छ । साथै सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको उल्लेख गरिएको छ ।
तातो लहरबाट प्रभावित हुनसक्ने जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् । यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लालाई पनि निगरानीमा राखिएको विभागले जनाएको छ ।
विभागले अत्यधिक गर्मीका कारण थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, मांसपेशी दुख्ने, बान्ता हुने तथा बेहोस हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्ने जनाएको छ ।
यसबाट बच्न दिउँसोको अत्यधिक गर्मीमा घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा बाहिर ननिस्किन, चर्को घाममा हिँडडुल नगर्न, हल्का तथा सुतीका कपडा लगाउन र बाहिर निस्कँदा टाउको छोप्न विभागले सुझाव दिएको छ ।
त्यसैगरी प्रशस्त पानी तथा झोल पदार्थ पिउन, स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न तथा मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने नियमित बुलेटिनमार्फत अद्यावधिक सूचना लिन पनि विभागले आग्रह गरेको छ ।