विकासन्युज

एमाले महाधिवेशनमा मतदानपूर्व भोट माग्ने होड : पोखरेल पक्ष सक्रिय, ओली पक्ष ढिलो

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनको मतदान नजिकिँदै जाँदा भोट माग्ने क्रम तीव्र बनेको छ ।  महाधिवेशनस्थल भृकुटीमण्डप वरपर नेताहरूको चहलपहल बढेको छ भने प्रतिनिधिहरूसँग भेटघाट र छलफलमा उम्मेदवारहरू व्यस्त देखिन्छन् । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल मतदान सुरु हुनुअघि नै भृकुटीमण्डपस्थित मतदानस्थलमा उपस्थित भई प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै भोट मागिरहेका छन् ।  पोखरेलसँगै उनको प्यानलबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरू पनि मतदानस्थलमै डटेर समर्थन जुटाउने प्रयासमा छन् ।  उनीहरू समूहगत रूपमा मात्र होइन, व्यक्तिगत संवादमार्फत पनि प्रतिनिधिहरूलाई आफ्नो पक्षमा पार्न सक्रिय देखिएका छन् । पोखरेल पक्षका नेताहरूले पार्टीभित्र संस्थागत नेतृत्व, सामूहिक निर्णय प्रक्रिया र भावी दिनमा संगठन सुदृढीकरणका एजेन्डा अघि सार्दै प्रतिनिधिहरूसँग समर्थन मागिरहेको बताइएको छ । मतदानस्थलमा उनीहरूको निरन्तर उपस्थितिले प्रतिनिधिहरूमाझ चासो र चर्चासमेत बढाएको छ । यता अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवारहरू भने समाचार तयार पार्दासम्म मतदानस्थलमा पुगिसकेका छैनन् । ओली पक्षका नेताहरू अन्य स्थानमा प्रतिनिधिहरूसँग भेटघाट र छलफलमा रहेको बताइए पनि मतदानस्थलमा ढिलो उपस्थिति जनाउँदा विभिन्न अड्कलबाजी हुन थालेका छन् ।  केही प्रतिनिधिहरूले अन्तिम समयमा ओली पक्ष पनि संगठित रूपमा मतदानस्थलमा आउने अपेक्षा व्यक्त गरेका छन् । महाधिवेशनमा दुई प्रमुख प्यानलबीच प्रतिस्पर्धा हुने देखिएकाले मतदान पूर्वको यो समय निर्णायक मानिएको छ ।

राष्ट्रपतिका सल्लाहकार थापाले दिए राजीनामा, सक्रिय राजनीतिमा फर्किने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले राजीनामा दिएका छन् ।  नेपाली कांग्रेसका पूर्वसहमहान्त्रीसमेत रहेका थापाले फेरि सक्रिय राजनीतिमा फर्किनका लागि राजीनामा दिएको बताएका छन् । आसन्न राष्ट्रियसभा निर्वाचनमा धनकुटाबाट सिफारिससमेत भएका थापाले आफू सक्रिय राजनीतिमा फर्कन चाहेको बताएका छन् ।  विकासन्युजसँग कुरा गर्दै थापाले भने, ‘पार्टीको महाधिवेशनसमेत आएकोले त्यसको तयारी समेत गर्नुपर्ने भएकोले मैले राष्ट्रपतिज्यूको सल्लाहकार पदबाट राजीनामा दिएको हुँ ।’ थापाले कांग्रेसको पदाधिकारी तहमा दाबी रहने संकेतसमेत गरेका छन् ।  उनले भने, ‘आसन्न आम निर्वाचन र पार्टीको महाधिवेशनलाई सफल बनाउन मैले आफू समेत सक्रिय हुनुपर्ने ठानेर राजीनामा दिएको हुँ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत रहेका सुनिल राजनीतिमा आएको छोटो समयमा सफलताको स्वाद चाख्ने नेता हुन् ।

दोस्रो किस्ता नतिर्ने उद्योगको लाइन जुनसुकै बेला काटिन सक्ने, प्राधिकरणले फेरि पठायो पत्र

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद फेरि सतहमा आएको छ । प्राधिकरणले बक्यौता रकमको दोस्रो किस्ता नबुझाउने उद्योगी–व्यवसायीहरूलाई पत्र काट्दै बक्यौता नतिरे जुनसुकै बेला लाइन काटिन सक्ने चेतावनी दिएको छ ।  लाइन काटिएपछि पहिलो किस्ता बुझाएर विद्युत् उपभोग गरिरहेका उद्योगहरूले नियमित किस्ता नतिरेपछि प्राधिकरणले पुनः ताकेता गरेको हो । प्राधिकरणका अनुसार बक्यौता तिर्न २८ किस्ताको सुविधा दिइएको छ । तर, पहिलो किस्ता तिरेर लाइन जोडाएका उद्योगहरूले दोस्रो किस्ता बुझाउन आनाकानी गरेपछि प्राधिकरणले एक्सन लिने तयारी गरेको हो । प्राधिकरणका अनुसार गत मंसिरको पहिलो साता नै विद्युत् वितरण केन्द्रहरूमार्फत उद्योगहरूलाई दोस्रो किस्ता बुझाउन पत्राचार गरिएको थियो । तर, तोकिएको समयमा केही उद्योगले मात्र रकम बुझाए ।  आइतबार पुनः बाँकी रहेका सबै उद्योगलाई पत्र पठाउँदै तत्काल रकम बुझाउन ताकेता गरिएको हो । पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नगर्ने र भुक्तानीको म्याद सकिएका उद्योगहरूलाई लक्षित गरी गत हप्तादेखि लाइन काट्ने अभियान सुरु गरिएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार यो कुनै नयाँ निर्णय नभई पुरानै नियम र प्रक्रियाअनुसार कार्यान्वयन गरिएको हो ।  ‘जस–जसको भुक्तानी गर्ने म्याद सकिँदै गयो, हामीले क्रमशः लाइन काट्दै गएका छौं,’ प्रवक्ता ढकालले भने, ‘यो गत हप्तादेखि नै सुरु भएको हो । हामीले विचार गरेरै म्याद सकिएकाहरूको लाइन काट्न थालेका हौं ।’ लाइन काट्न थालेपछि बक्यौता रकम उठ्न थालेको प्राधिकरणले जनाएको छ । प्रवक्ता ढकालका अनुसार केही उद्योगीहरू सम्पर्कमा आएका छन् भने धेरैले आफ्नो बाँकी बक्यौता तिर्न थालेका छन् ।  ‘लाइन काट्ने प्रक्रिया सुरु भएपछि धेरैले तिर्नुभएको छ । भुक्तानीको अपडेटहरू आइरहेको छ,’ उनले विकासन्युजसँग भने ।  प्राधिकरणले बक्यौता रकम असुलीलाई कडाइका साथ अघि बढाउने नीति लिएको देखिन्छ । म्याद सकिएका सबै उपभोक्तालाई क्रमशः कारबाहीको दायरामा ल्याइने र नियमअनुसार लाइन काटिने प्रक्रिया जारी रहने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार बक्यौता विवादमा लाइन काटिएपछि पहिलो किस्ता बुझाएर लाइन जोडाउने उद्योगको संख्या २२ थियो । तीमध्ये रिलायन्स स्पिनिङ मिल्सले अदालतबाट अन्तरिम आदेश पाएकाले हाललाई उक्त उद्योग बाहेक अन्य २१ उद्योगलाई प्राधिकरणले ताकेता गरेको छ । मंसिर पहिलो हप्ता नै पत्र पठाए पनि हालसम्म ६ वटा उद्योगले मात्रै दोस्रो किस्ता बुझाएका छन् । बाँकी १५ उद्योगले अझै रकम बुझाएका छैनन् । यसअघि गत कात्तिक ४ गते प्राधिकरणले बक्यौता नतिर्ने २५ ठूला उद्योगको लाइन काटेको थियो ।  लाइन काटिएपछि करिब एक महिनाको अवधिमा उद्योगहरूले पहिलो किस्ता बुझाउँदै लाइन जोडाएका थिए ।

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे सम्झौता, होटेल अन्तर्राष्ट्रिय ब्रान्डमा सञ्चालन हुने

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अन्तर्राष्ट्रिय होटेल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटेल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।  यस सम्झौतासँगै बन्दीपुरस्थित होटेल अब लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्ड अन्तर्गत सञ्चालनमा आउने भएको छ । सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्सको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विलास पवारले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार होटेलको व्यवस्थापन, ब्रान्डिङ, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संशोधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच लेमन ट्री होटल्समार्फत सुनिश्चित हुनेछ । यस सहकार्यले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । १०० भन्दा बढी होटेल र ९ हजारभन्दा बढी कोठासहित भारत, मध्यपूर्व तथा एसियाका विभिन्न मुलुकमा उपस्थिति रहेको लेमन ट्री होटल्सको वैश्विक नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्ट र अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँगको सहकार्यले बन्दीपुरको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीका अनुसार यो सहकार्य बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका लागि रणनीतिक माइलस्टोन हो । अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले होटेलको अकुपेन्सी दर वृद्धि, विदेशी मुद्रा आर्जन, राजस्व स्थायित्व तथा कम्पनीको ब्रान्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय रोजगारी सिर्जना हुने र सेवा गुणस्तर तथा पर्यटन पूर्वाधारमा सुधार आउने अनुमान गरिएको छ । बन्दीपुरस्थित होटेल छिट्टै लेमन ट्री होटल्सको ब्रान्ड नाम र मानकअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको  छ।

एमाले ११ औं महाधिवेशनमा युवाका लागि छुट्याइएका केन्द्रीय सदस्य पदमा आंशिक निर्विरोध

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ । यस महाधिवेशनलाई पार्टीको भावी दिशा र संगठनात्मक पुनर्संरचनाको दृष्टिले महत्त्वपूर्ण मानिएको छ । यही सन्दर्भमा यसपटक एमालेले ४० वर्षमुनिका युवालाई नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा १५ सिट विशेष रूपमा छुट्याएको छ । पार्टी विधानअनुसार युवाको सहभागिता सुनिश्चित गर्न गरिएको यो व्यवस्थाअन्तर्गत खुला, महिला, मधेशी, आदिवासी जनजाति लगायत विभिन्न समूहबाट प्रतिनिधित्व गरिने व्यवस्था गरिएको छ ।  निर्वाचन समितिका अनुसार हालसम्म खुलातर्फका २ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । अखिलबाट पार्टी राजनीतिमा आएका नरेश रोकाया र सुशील थापा निर्विरोध भएका हुन् ।  त्यस्तै, मधेशीतर्फ छुट्याइएका २ पदमध्ये १ पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । मधेशको युवा कोटामा अमरेशकुमार यादव निर्विरोध भएका हुन् । तर, मधेशीतर्फको बाँकी एक केन्द्रीय सदस्य पदमा उम्मेदवारी नपरेपछि उक्त पद हाल रिक्त रहेको निर्वाचन समितिले जनाएको छ । सो पदका लागि थप प्रक्रिया अपनाइने वा आगामी केन्द्रीय कमिटी बैठकबाट पूर्ति गरिने विषयमा भने औपचारिक निर्णय भइसकेको छैन । एमाले नेतृत्वले युवालाई संगठन र नीति निर्माणको केन्द्रमा ल्याउने रणनीतिका रूपमा यो व्यवस्था अघि सारेको बताउँदै आएको छ । पार्टीभित्र लामो समयदेखि अनुभवी नेताहरूको वर्चस्व रहेको भन्दै युवा पुस्तालाई जिम्मेवारी दिने माग उठ्दै आएको थियो । यसपटकको महाधिवेशनमा गरिएको व्यवस्था त्यसैको निरन्तरता भएको नेताहरूको भनाइ छ । यद्यपि युवाका लागि छुट्याइएका सबै पदमा प्रतिस्पर्धा नदेखिनु भने पार्टीभित्र छलफलको विषय बनेको छ । कतिपय नेता तथा प्रतिनिधिहरूले युवालाई अवसर दिए पनि संगठनभित्र अझै प्रभावशाली समूह र प्यानल राजनीतिका कारण स्वतन्त्र प्रतिस्पर्धा कमजोर देखिएको टिप्पणी गरेका छन् । महाधिवेशनमा अध्यक्ष, पदाधिकारी तथा अन्य केन्द्रीय सदस्य पदका लागि भने प्रतिस्पर्धात्मक निर्वाचन हुने देखिएको छ । मतदान परिणामले पार्टीको आन्तरिक शक्ति सन्तुलन, आगामी रणनीति र राष्ट्रिय राजनीतिमा एमालेको भूमिकामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ । एमालेले यस महाधिवेशनमार्फत नेतृत्वमा पुस्तान्तरण, समावेशिता र संगठनात्मक सुदृढीकरणको सन्देश दिन खोजेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन आगामी दिनमा कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न भने खुला नै रहेको देखिन्छ ।

लाभांश पारित गर्न तारागाउँ रिजेन्सीले डाक्यो साधारणसभा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २३ गते २९औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बुधबार बिहान ११ बजे नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गर्ने जनाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

मङ्सिरसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा कम, तर गत वर्षको तुलनामा सुधार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनासम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम भए पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सुधार देखिएको छ । मङ्सिरसम्मको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ रहेपनि ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । चालु आवको पाँच महिनामा लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।  अर्थ मन्त्रालयका अनुसार चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएको छ ।  मङ्सिर महिनाको मात्र लक्ष्य ९५ अर्ब २० करोड रुपैयाँ निर्धारण गरिएको थियो । तर, मङ्सिर महिनाभर ८० अर्ब २७ करोड रुपैयाँ सङ्कलन भएको मन्त्रालयले जनाएको छ । उक्त राजस्व संकलन लक्ष्यको ८४.३१ प्रतिशत प्राप्त भएको हो । मङ्सिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ । यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु वर्षको अवस्था केही सकारात्मक देखिन्छ । गत २०८१/८२ मा वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो भने मङ्सिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ थियो । गत वर्ष मङ्सिरसम्म जम्मा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै, मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको थियो ।

क्रिप्टो बजारमा भूकम्प : बिटकोइन ८६ हजार डलरभन्दा तल, बजार पूँजीकरण ३ ट्रिलियनमुनि

काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा मंगलबार ठूलो हलचल मच्चिएको छ । बिटकोइनदेखि अन्य प्रमुख क्रिप्टोकरेन्सीसम्म २४ घण्टामा ४ प्रतिशतभन्दा बढी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  यससँगै क्रिप्टोको विश्वव्यापी बजार पूँजीकरण (ग्लोबल मार्केट क्याप) पनि २४ घण्टामा ३.७५ प्रतिशतले घटेको छ । यस गिरावटपछि ग्लोबल मार्केट क्याप फेरि ३ ट्रिलियन डलरभन्दा तल झरेको छ ।  उता बिटकोइनको मूल्य पनि ४ प्रतिशतभन्दा बढी घट्दै ८६ हजार डलरभन्दा तल पुगेको छ । सोमबार बिहान ८:३० बजे क्रिप्टोकरेन्सीको ग्लोबल मार्केट क्याप ३.०५ ट्रिलियन डलर थियो । मंगलबार बिहान ८ः३० बजे यो घटेर २.९३ ट्रिलियन डलरमा सीमित भयो । यसरी ०.१२ ट्रिलियन डलर (करिब १७.६ लाख करोड रुपैयाँ) बराबरको गिरावट आएको छ । पछिल्ला दुई हप्तामा क्रिप्टोकरेन्सीमा आएको यो सबैभन्दा ठूलो गिरावट हो ।  यस गिरावटका कारण क्रिप्टोकरेन्सीको ‘फियर एन्ड ग्रिड इन्डेक्स’ २१ मा पुगेको छ । यो सूचक १०० को तुलनामा जति कम हुन्छ, मानिसहरूमा क्रिप्टोप्रति त्यति नै डर बढी हुन्छ।  पछिल्लो समय बिटकोइनसहित प्रायः सबै क्रिप्टोकरेन्सीमा गिरावट देखिँदै आएको छ । पछिल्ला २४ घण्टामा बिटकोइनको मूल्य ४.४७ प्रतिशत घटेर करिब ८५ हजार ७०० डलरमा पुगेको छ । पछिल्ला ७ दिनमा बिटकोइन ५ प्रतिशतभन्दा बढीले घटिसकेको छ । दुई महिनाअघि अक्टोबरमा बिटकोइनको मूल्य करिब १ लाख २५ हजार डलरसम्म पुगेको थियो । त्यसयता हालसम्म ठूलो गिरावट आएको छ । बिटकोइनबाहेक अन्य क्रिप्टोकरेन्सीमा पनि ठूलो गिरावट देखिएको छ । पछिल्ला २४ घण्टामा इथेरियम ४ प्रतिशतभन्दा बढी घट्दै ३ हजार डलरभन्दा तल झरेको छ । रिपलमा पनि उल्लेखनीय कमी आएको छ । २४ घण्टामा रिपलको मूल्य ६ प्रतिशतभन्दा बढी घटेर २ डलरभन्दा तल पुगेको छ । हाइपरलिक्विड क्रिप्टो पनि ८ प्रतिशतभन्दा बढी घटेर करिब १.५० डलरमा पुगेको छ । पाई नेटवर्कमा पनि करिब ५ प्रतिशतको गिरावट आएको छ । क्रिप्टोकरेन्सीमा आएको गिरावटलाई फेडरल रिजर्भसँग जोडेर हेरिएको छ । केही विज्ञहरूका अनुसार क्रिप्टोकरेन्सीमा तीव्र विक्री र लिक्विडेसन बढेकाले मूल्यमा ठूलो गिरावट आएको हो । यसबाहेक केही जानकारहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले पनि क्रिप्टोकरेन्सी बजारमा असर पारिरहेको छ, जसका कारण मूल्य घटिरहेको छ ।