पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा, विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले  जेठ ६ गते बसेको आयोगको निर्णयअनुसार महाधिवेशन तयारीसम्बन्धी कार्यतालिका स्वीकृत गरिएको जानकारी दिएको हो । 

आयोगका उपप्रमुख राम गुरुङले जारी गरेको परिपत्रमा प्रदेश तथा जिल्ला सभापतिहरूलाई तयारीका कामलाई तीव्र रूपमा अघि बढाउन निर्देशन दिइएको उल्लेख छ ।

परिपत्रअनुसार महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र समयबद्ध बनाउन विभिन्न चरणगत कार्यक्रम तय गरिएको छ । कार्यतालिकामा निर्वाचन समिति गठनदेखि प्रतिनिधिको नामावली संकलन, अधिवेशन प्रतिवेदन पेश तथा इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफलसम्मका कार्यक्रम समावेश गरिएका छन् ।

रास्वपाले ७७ वटै जिल्ला तथा सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । त्यसपछि आधिकारिक परिपत्र र निर्वाचनसम्बन्धी म्यानुअल पठाउने, स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने, जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने लगायतका काम तोकिएको समयसीमाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

महाधिवेशन प्रतिनिधिको नामावली जिल्ला तथा प्रदेश समितिमार्फत केन्द्रीय निर्वाचन आयोगमा पठाइनेछ । त्यसैगरी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण पनि आयोगमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

कार्यतालिकामा इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) प्रयोगसम्बन्धी छलफललाई पनि प्राथमिकतामा राखिएको छ । रास्वपाले आगामी महाधिवेशनलाई प्रविधिमैत्री, छिटो र व्यवस्थित बनाउन इलेक्ट्रोनिक मतदान प्रणाली प्रयोग गर्ने सम्भावनाबारे अध्ययन र छलफल अघि बढाएको देखिएको छ ।

परिपत्रमा सबै प्रदेश सभापतिहरूलाई आफ्नो प्रदेशअन्तर्गतका जिल्ला समितिसँग आवश्यक समन्वय गरी निर्धारित समयभित्र सम्पूर्ण कार्य सम्पन्न गर्न आग्रह गरिएको छ ।

रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनमार्फत पार्टी संगठनलाई संस्थागत बनाउने, नेतृत्व संरचनालाई औपचारिक रूप दिने तथा आगामी राजनीतिक रणनीति तय गर्ने तयारी गरिरहेको छ ।

Share News