विकासन्युज

यस्तो छ बजारमा तरकारीको मूल्य (मूल्य सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ, ठूलो भारतीय गोलभेँडा ८० रुपैयाँ, सानो लोकल गोलभेँडा ३५ रुपैयाँ, सानो टनेल गोलभेँडा ६२ रुपैयाँ, सानो भारतीय गोलभेँडा ३९ रुपैयाँ र तराईको सानो गोलभेँडा प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै रातो लाम्चो आलु प्रतिकिलो ३५ रुपैयाँ, रातो गोलो आलु २८ रुपैयाँ तथा भारतीय सुकेको प्याज ३६ रुपैयाँ तोकिएको छ। समितिका अनुसार गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ कायम गरिएको छ। बोडी (तने) प्रतिकिलो ५० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, मटरकोसा ७० रुपैयाँ, घिउ सिमी (लोकल) ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ६० रुपैयाँ र घिउ सिमी (राजमा) १०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै भटमासकोसा प्रतिकिलो १३० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर (लोकल र तराई) ५०–५० रुपैयाँ, चिचिन्डो ४० रुपैयाँ, घिरौँला ५० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ४० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ र पिँडालु ५० रुपैयाँ तोकिएको छ। हरियो सागसब्जीतर्फ रायो साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चमसुरको साग १२० रुपैयाँ, मेथीको साग १२० रुपैयाँ र हरियो प्याज १२० रुपैयाँ निर्धारण गरिएको छ। च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, न्यूरो ८० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, सजीवन १२० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, जिरीको साग १०० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले ३०० रुपैयाँ, सौफको साग १२० रुपैयाँ, पुदिना १०० रुपैयाँ, गाँठेमूला ५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १५० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ तोकिएको समितिले जनाएको छ। फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३२५ रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन २२० रुपैयाँ, कागती प्रतिकिलो २६० रुपैयाँ, अनार ४४० रुपैयाँ, दसहरी आँप २८० रुपैयाँ र हरियो अङ्गुर २८० रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी हरियो तरबुजा प्रतिकिलो ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, लोकल काँक्रो प्रतिकिलो ५० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, लोकलक्रस काँक्रो ६० रुपैयाँ, रुखकटहर ७० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, भारतीय लिची २८० रुपैयाँ, एभोकाडो ८०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १८० रुपैयाँ तोकिएको छ। मसलातर्फ अदुवा प्रतिकिलो १६० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, हरियो लाम्चो खुर्सानी १०० रुपैयाँ, बुलेट खुर्सानी ८० रुपैयाँ, माछे खुर्सानी ६० रुपैयाँ, भेडे खुर्सानी ६० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ ९० रुपैयाँ, चाइनिज सुकेको लसुन १९० रुपैयाँ, नेपाली सुकेको लसुन १२० रुपैयाँ तथा सुकेको छ्यापी १४० रुपैयाँ कायम गरिएको छ। माछातर्फ ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी माछा २६० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।

लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।  आज दिउँसो १ः०० बजे बस्ने आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले  प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेशसभामा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।  प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ ।

चार पटक म्याद थप, काम अझैं भएन

दमौली । लामो समयदेखि अलपत्र परेको तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलको कामले फेरि गति लिएको छ। व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको पुल निर्माण केही समयदेखि रोकिएको थियो। पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार अहिले पुलमा धमाधम काम भइरहेको छ। केही समय काम अलपत्र परे पनि निर्माण व्यवसायीलाई निर्देशन दिएर निर्धारित समयभित्र काम सम्पन्न गर्न सचेत गराइएको उनले बताए। पुलको शिलान्यास विसं २०७७ चैत २३ गते गरिएको थियो। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि काम समयमै अघि बढ्न नसक्दा ढिलाइ भएको छ। सम्झौताअनुसार काम भएको भए अहिले पुल सञ्चालनमा आइसक्ने थियो। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काममा विलम्ब भएको तिवारीले बताए। हालसम्म पुल निर्माणको म्याद चार पटक थपिएको छ। अन्तिमपटक विसं २०८३ असोज ३० गतेसम्मका लागि म्याद थप गरिएको उनले जानकारी दिए। बजेट अभाव नभए थपिएको समयभित्रै निर्माण सम्पन्न गर्ने गरी कार्यालय र निर्माण व्यवसायी दुवै लागिपरेको उनले बताए। उनका अनुसार झापुटारतर्फको स्पानमा स्टिल जडानको काम लगभग सकिएको छ। व्यासतर्फको स्पानमा स्टिल जोड्ने काम पूरा भएपछि पुलको करिब ८५ प्रतिशत काम सम्पन्न हुनेछ। उनले भने, “झापुटारतर्फको स्पानको स्टिलको काम करिब सकिएको छ। व्यासतर्फको स्पानको स्टिल जोडेपछि करिब ८५ प्रतिशत काम सम्पन्न हुनेछ।” गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार ३९४ रुपैयाँ लागतमा पुल निर्माण भइरहेको हो। पुल निर्माणका लागि रसुवा इलाइट जेभी काठमाडौंसँग सम्झौता गरिएको थियो। पुल १५४ मिटर लामो र ९ दशमलव ५० मिटर चौडा हुनेछ। पाइल फाउन्डेसनमा निर्माण हुने यो पुल स्टिल ट्रस प्रविधिको हुनेछ। पुल निर्माण सम्पन्न भएपछि व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। हाल सो स्थानमा झोलुङ्गे पुल रहेको छ। त्यसभन्दा करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा अर्को पक्की पुल निर्माण गरिएको छ। तर त्यहाँबाट दमौली पुग्न करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ। अहिले निर्माण भइरहेको पुलबाट भने दमौली पुग्न पाँच सय मिटर दूरी पनि छैन। हाल रहेको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेपछि केही वर्षअघि जिल्ला अदालतले मोटरसाइकल सञ्चालनमा रोक लगाउने आदेश दिएको थियो। तर उक्त आदेश पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। अहिले पनि स्थानीयवासीले झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारीसाधन वारपार गरिरहेका छन्। झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम अझै कायम छ। साँघुरो पुलमा मोटरसाइकल गुड्दा पैदल यात्रुलाई आवतजावत गर्न समस्या हुने गरेको स्थानीयको भनाइ छ।

बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ ।  आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षे निर्माण अवधि तय गरिएको उक्त आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ । आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङमार्गमार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्नेछ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) का रूपमा रहने व्यवस्था गरिएको छ । आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य प्रभावित भएको थियो । नेपालमा इपिसी मोडलको नयाँ अभ्यास भएकाले आवश्यक कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा देखिएका समस्याले केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ । हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा ‘माइलस्टोन’ समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले बताए ।  सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षणसम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ । पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिनेछ । आयोजनाको प्रारम्भिक लागत अनुमान करिब रु १० अर्ब रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब रु सात अर्बमा सम्झौता गरिएको हो । सिद्धार्थ राजमार्गको उक्त खण्ड पहिरो तथा भूक्षयका दृष्टिले जोखिमयुक्त मानिएकाले सुरक्षित यात्रा सुनिश्चित गर्नु तथा जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

नेपाल तरुण दलको अध्यक्षमा कोइराला नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ )संशोधनसहित) को धारा ४२ (१) )च) बमोजिम काठमाडौंका कोइरालालाई आइतबार (आज ) अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।  गत वैशाख २१ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयअनुसार सभापति थापाले कोइरालालाई अध्यक्षमा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । म्याद समाप्त भई कार्यसमिति स्वतः विघटन भएपछि तरुण दलको अध्यक्ष पद रिक्त थियो । नवनियुक्त अध्यक्ष कोइरालालाई तोकिएको समयभित्रै तरुण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ ।  यसका लागि पार्टीले ९ बुँदे स्पष्ट कार्यादेश र कार्यविवरण समेत उपलब्ध गराएको छ ।  लामो समयदेखि तदर्थ समितिको भरमा चल्दै आएको तरुण दलले नयाँ नेतृत्व पाएसँगै अब महाधिवेशनको प्रक्रिया अघि बढ्ने अपेक्षा पार्टीले गरेको छ ।

रुख ढलेर प्रसारण लाइनमा क्षति: विद्युत् सुचारु गर्न प्राविधिक टोली रातभर खटिने

काठमाडौं । प्रतिकूल मौसमका कारण रुख ढल्दा देशका विभिन्न ठाउँमा विद्युत प्रसारण लाइनमा क्षति पुगी केही स्थानमा विद्युत् आपूर्तिमा अस्थायी अवरोध उत्पन्न भएको छ ।  प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मर्मत तथा पुनः सञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेको प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि विद्युत् आपूर्ति सुचारु गराउन मन्त्रीको सचिवालय सक्रिय रूपमा समन्वयमा जुटेको छ । नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सोमबार बिहानसम्म विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु गर्ने लक्ष्यसहित प्राधिकरणका कर्मचारी, प्राविधिक तथा मजदुरहरू रातभर परिचालित भएका छन् ।  प्राधिकरणले मौसमजन्य जोखिमका कारण केही क्षेत्रमा समस्या देखिए पनि मर्मत तथा पुनः सञ्चालनको काम तीव्र गतिमा अघि बढिरहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पिलुवा-पथलैया-चन्द्रनिगाहपुर खण्डअन्तर्गत टावर नं. १२२-१२३ बीच रुख ढलेपछि प्रसारण लाइन प्रभावित भएको थियो । उक्त क्षेत्रमा ढलेको रुख हटाउने कार्य सम्पन्न भइसकेको छ भने हाल सर्किट चार्ज गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ । त्यस्तै, सोही खण्डको टावर नं. १३६-१३७ बीच ढलेका तीन वटा रुख हटाइसकिएको प्राधिकरणले जनाएको छ । अहिले लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य भइरहेको छ ।  यता अमलेखगञ्ज-कामाने खण्डअन्तर्गत टावर नं. ४६-४७ बीच एक रुख ढल्दा आरटीएस कन्डक्टरमा क्षति पुगेको छ । उक्त क्षेत्रमा मर्मत कार्यका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र स्ट्रिङिङ कार्य सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

एमाले सचिवालय बैठक १० घण्टापछि सकियो, 'निर्वाचन समीक्षा' कार्यदल गठन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक करिब १० घण्टापछि सम्पन्न भएको छ । आइतबार बिहान ११ बजेदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा सुरु भएको बैठक भर्खरै  सम्पन्न भएको हो । बैठकले उपाध्यक्ष रामबहादुर थापा को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । एमाले स्रोतका अनुसार कार्यदलले पछिल्ला निर्वाचनको समीक्षा गर्दै पार्टी संगठन सुदृढीकरण, जनआधार विस्तार तथा आगामी राजनीतिक रणनीतिसम्बन्धी सुझावसहितको प्रतिवेदन तयार गर्नेछ । बैठकमा पार्टीको सांगठनिक अवस्था, सरकारको कामकारबाही, समसामयिक राजनीतिक परिस्थिति तथा नेताहरूको कार्यविभाजन लगायत विषयमा समेत छलफल भएको बताइएको छ ।   नेकपा एमालेले आगामी असारको तेस्रो साताभित्र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले असार १५ देखि २० गतेभित्र बैठक गर्ने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्ट ले बैठकको मिति अध्यक्ष ओली र महासचिव शंकर पोखरेल बीचको परामर्शपछि टुंगो लगाइने बताए । उनले केन्द्रीय कमिटी बैठकमा सचिवालयमा उठेका समसामयिक राजनीतिक विषय, पार्टी संगठनका एजेन्डा तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि विस्तृत छलफल हुने जानकारी दिए ।

खानी उत्खननमा बेथिति, महालेखाले देखायो २३ करोडभन्दा बढी बक्यौता

काठमाडौं । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने २३ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औं वार्षिक प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर २५ रुपैयाँ तथा नियमबमोजिम ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेतको रकम असुल गर्न भनिएको छ । खानी तथा खनिज पदार्थ नियमावलीअनुसार, खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ ।  खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीहरूबाट एक अर्ब ५९ करोड ४५ लाख आठ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । तोकएको समयमा रोयल्टी नबुझाएको खण्डमा ३० प्रतिशतसम्म जरिवाना रकम तिर्नुपर्ने व्यवस्था छ । विभागका अनुसार तीन वटा कम्पनीले १० प्रतिशत स्थानीय शुल्कसमेत गरी चार करोड ९९ लाख ५४ हजार रुपैयाँ दाखिला गर्नुपर्ने देखिएको छ । सो रकम असुल गर्न प्रतिवेदनमा भनिएको छ । खनिज पदार्थ उत्खनन गर्न अनुमति प्राप्त व्यक्ति, फर्म तथा उद्योगले सम्झौतामा तोकिएको परिमाण मात्र उत्खनन गर्नुपर्ने व्यवस्था भए पनि सो अनुरुप नभएको प्रतिवेदनमा उल्लेख छ । विभागले उत्खननकर्ताले बुझाएको परिमाणका आधारमा रोयल्टी लिने गरेकाले खनिज पदार्थको हिसाबकिताब तोकिएको ढाँचामा राख्न महालेखापरीक्षकको कार्यालयले सुझाएको छ । उत्खनन अनुमति र माइनिङ स्किमभन्दा बढी उत्खनन गर्ने कार्य नियन्त्रण गर्नुपर्ने निर्देशन दिइएको छ ।  खनिज कोष स्थापना गर्ने, भौगर्भिक सूचनाको नक्साङ्कन गर्ने, सबै खनिज स्रोतको डेटाबेस तयार गर्नेलगायतका नीति कार्यान्वयन नभएको भन्दै तत्काल प्रक्रिया अगाडि बढाउन भनिएको छ ।