विकासन्युज

एमाले केन्द्रीय सदस्यको कार्यविभाजन : अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर । नेकपा (एमाले)को केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई सथानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ । एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिमरूप दिई सर्कुलर पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए  । तीन दिनसम्म चलेको बैठकको अन्तिम दिन अध्यक्ष ओलीले सम्बोधन गर्दे पार्टीमा एकता कायम राख्न आग्रह गरेका थिए ।        बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षालगायतका विषयमा थप अध्ययन गरी एक महिनाभित्र सुझाव दिन पार्टीका उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको भट्टले जानकारी दिए । समितिमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, उपमहासचिव भट्ट, सचिवहरू छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठ प्रदेशका इञ्चार्ज रहने निर्णय भएको नेता भट्टले बताए ।        विसं २०७२ को भूकम्पबाट पार्टी कार्यालय भवन क्षतिग्रस्त भएपछि विभिन्न ठाउँमा कार्यालय सञ्चालन गर्द आएकामा सचिवालय बैठकले मदननगर बल्खुस्थित आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए । सो पार्टीको केन्द्रीय कमिटीको बैठक आउँदो असार दोश्रो साता बस्ने तय भएको छ । 

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गरेका थिए । तर त्यो काम एक दिनपछि अघि बढ्न सकेन । फिर्के मापदण्डको विरोधमा स्थानीयले न्यायालयसम्म गुहारेका थिए । यसलगायत विविध कारणले अतिक्रमण हटाउने प्रयास सफल हुन सकेको थिएन । अहिले भने पोखरा महानगरपालिकाले सङ्घीय सरकारको समेत बलियो साथ पाएपछि फिर्केको खोलाघर हटाउने कार्य आइतबारदेखि सुरु गरेको । पहिलो दिन शान्तिपूर्ण रुपमा सो कार्य सम्पन्न भयो । खोलघरमा निजी/व्यक्तिगत स्थायी ३५ र अस्थायी ९७ संरचना बनेका छन् । यसैगरी संस्थागत स्थायी १८ र अस्थायी १० वटा संरचना छन् । महानगरले अतिक्रमण हटाउने कार्य निरन्तर अभियानका रूपमा चल्ने जनाएको छ । स्थानीयले समेत खोलाघर हटाउने कार्यमा महानगरलाई साथ दिएका छन् । खोलाघरमै बनेका संरचना हटाउनपर्छ भने पनि त्यसपछिको मापदण्डको भने स्थानीयले विरोध गरेका छन् । फिर्के मापदण्ड छ मिटर वैज्ञानिक र व्यवहारिक नभएको गुनासो फिर्के क्षेत्रका नागरिकको छ । फिर्केको खोलाघर खाली गरेपछि महानगरले फिर्के करिडोर परियोजना सुरु गर्ने योजना बनाएको छ । यस परियोजनाका लागि दातृ निकायबाट सहयोग प्राप्त हुने महानगरले जनाएको छ । पोखरालाई ‘हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहर’ का रूपमा स्थापित गर्ने दूरदर्शी अभियान फिर्के करिडोर परियोजना रहेको महानगर प्रमुख धनराज आचार्यले बताए। प्रमुख आचार्यका अनुसार फिर्के करिडोरको मुख्य अवधारणामा फिर्के खोलाको दायाँ–बायाँ कम्तीमा छ मिटर मापदण्ड कायम गर्दै व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, ‘मर्निङ’ तथा ‘इभिनिङ’ वाकका लागि आकर्षक पदमार्ग निर्माण गरिनेछ । 'फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ सहरी पहिचान दिने लक्ष्य राखिएको छ । खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलइडी लाइटिङ तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाइनेछ,' महानगरले प्रमुख आचार्यले भने । करिडोरभित्र ठाउँठाउँमा पोखरेली शैलीमा विश्रामस्थल, कफी पोइन्ट तथा खुला क्याफे, सेल्फी पोइन्ट र दृश्यावलोकनस्थल, सानो खुला पार्क तथा बस्ने चौतारी, सांस्कृतिक तथा कलात्मक संरचना, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र निर्माण गरिने महानगरको योजना छ । 'फिर्के करिडोरलाई केवल हिँड्ने बाटो होइन, जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य बनाउने छौँ । यो भविष्यको पोखराको नयाँ सहरी पहिचान बन्नेछ, जहाँ प्रकृति, आधुनिक पूर्वाधार, पर्यटन, स्वास्थ्य, वातावरण र नागरिक जीवनशैलीको सुन्दर सङ्गम हुनेछ,' आचार्यले भने । पोखरा गणेशटोलका लोकनाथ भण्डारी खोलाघर भत्काइसकेपछि उचित व्यवस्थापन र दिगो विकास योजना ल्याउनुपर्ने बताउँछन् । 'फिर्केखोला खाली गर्ने कार्यमा हामी स्थानीयको सहयोगनै छ । तर मापदण्डको नाममा व्यक्तिको जमिनमा मनपरि मापदण्ड लागू गर्न पाइँदैन । महानगरलाई आवश्यक परे मुआब्जा दिनुपर्दछ । फिर्के वरपरका संरचना भत्काइसकेपछि यसको व्यवस्थित विकासको योजना ल्याउनुपर्छ', भण्डारीले भने । पोखरा १८ अधेरिकुनादेखि वडा न २-४-५-७-८-१७ हुँदै वडा नं ६ स्थित पर्यटकीय गन्तव्य फेवाताल–गाईघाटसम्म फैलिएको फिर्के आठ किमी लामो छ । रासस

गौतमश्री सहकारीका सञ्चालक गौतमलाई २ वर्ष कैद राख्ने अदालतको चेतावनी

काठमाडौं । चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक रामबहादुर गौतमको नाममा ७ दिने सार्वजनिक सूचना म्याद जारी गरेको छ । अदालतले तोकिएको अवधिभित्र उपस्थित नभए निवेदकको मागबमोजिम रकम भुक्तानी नभए गौतमलाई २ वर्ष कैदमा राखी फैसला कार्यान्वयन गरिने चेतावनी समेत दिएको छ ।  निवेदक वादी राजिव श्रेष्ठ र प्रतिवादी रामबहादुर गौतम भएको चेक अनादरमा काठमाडौं जिल्ला अदालतबाट मिति २०८० साल फागुन २९ गते नै फैसला भइसकेको थियो । उक्त फैसला बमोजिम गौतमले तिर्नुपर्ने बिगो रकम ९९ लाख रुपैयाँ र सोको ब्याज समेत भराई पाऊँ भनी वादीले निवेदन दिएका थिए ।  अदालतको फैसला अनुसारको बिगो बुझाउन नआएपछि वादी राजिव श्रेष्ठले प्रतिवादी गौतमलाई २ वर्ष कैदमा राखी पाऊँ भनी पुनः निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतको आदेशानुसार गौतमको नाममा जारी गरिएको पहिलो ७ दिने सूचना म्याद बेपत्ते तामेल (फेला नपरी) भई आएको थियो ।  पहिलो म्याद तामेल हुन नसकेपछि अदालतले पुनः मिति २०८२ साल चैत २ गते गरेको आदेशानुसार आज (२०८३ साल जेठ ११ गते) सार्वजनिक सूचना प्रकाशित गरेको हो ।  सूचनामा भनिएको छ, ‘यो म्याद प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ७ (सात) दिनभित्र यस अदालतमा आफैं उपस्थित हुन आउनु वा आफ्नो कानून व्यवसायी वा आफ्नो वारेश मुकरर गरी पठाउनुहोला । अन्यथा निवेदन माग बमोजिम तपाईँलाई कैदमा राखी फैसला कार्यान्वयन हुनेछ ।’ अदालतले तोकिएको म्यादभित्र उपस्थित नभएमा कानून बमोजिम हुने र पछि कुनै पनि उजुरबाजुर नलाग्ने स्पष्ट पारेको छ ।   

ट्राफिक कारबाही : पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व संकलन

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १०५, राइड सेयरिङमा २३८, रातोबत्तीमा १८४, तीव्र गतिमा १८६, लेनक्रसमा १४, सडक फुटपाथमा १००, हर्न निषेधमा ११९, एकतर्फीमा १३९, अन्यमा एक हजार ३६८ गरि कूल दुई हजार ४५३ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।  उनले भने, 'उपत्यकामा चौबिस घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ४५३ जना चालकहरूलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट जम्मा रकम ११ लाख ५१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।' मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । 

धनराजपत्नी ज्योतिलाई अदालतको २१ दिने अल्टिमेटम

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा जोडिएकी ज्योति गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित हुन ताकेता गरेको छ ।  अदालतले सार्वजनिक सूचनामार्फत गुरुङलाई आफै वा कानुनबमोजिम प्रतिनिधिमार्फत उपस्थित भई आवश्यक कागजात र प्रमाणसहित प्रतिउत्तर दिन निर्देशन दिएको हो । ताकेता गरेको हो । तोकिएको अवधिभित्र उपस्थित नभए कानुनअनुसार मुद्दाको प्रक्रिया अघि बढ्ने अदालतले जनाएको छ । ‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काइस) दिनभित्र आफैं वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला,’ सूचनामा भनिएको छ ।  यो प्रकरण सहकारीको रकम हिनामिनासँग सम्बन्धित छ । मितेरी सहकारीमा ठूलो रकम अनियमितता भएको भन्दै सहकारीका बचतकर्ताले उजुरी दिएपछि विषय सार्वजनिक भएको हो ।  सहकारीको करिब १२ करोड ५० लाख रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ । उक्त रकम फिर्ताका लागि पटक–पटक पहल गर्दा पनि रकम असुल हुन नसकेपछि कानुनी प्रक्रियामा जानुपरेको सहकारी स्रोतले जनाएको छ । ज्योति गुरुङ लामो समयदेखि मितेरी सहकारीसँग आबद्ध रहँदै आएकी थिइन् । सुरुआतमा बचत संकलनको कामबाट सहकारीमा जोडिएकी उनी पछि व्यवस्थापकीय जिम्मेवारीमा पुगेकी थिइन् । उनी महाप्रबन्धक भएपछि आर्थिक अनियमितता भएको आरोप लाग्दै आएको छ । यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान अगाडि बढाइरहेको छ । अदालतको पछिल्लो सूचनासँगै सहकारी रकम अनियमितता प्रकरण फेरि चर्चामा आएको छ । ज्योति नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पत्नी हुन् । ​​ …त्यसपछि सुरु भयो धनराजमाथिको खोजतलास

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन् ।  वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।

यस्तो छ बजारमा तरकारीको मूल्य (मूल्य सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ, ठूलो भारतीय गोलभेँडा ८० रुपैयाँ, सानो लोकल गोलभेँडा ३५ रुपैयाँ, सानो टनेल गोलभेँडा ६२ रुपैयाँ, सानो भारतीय गोलभेँडा ३९ रुपैयाँ र तराईको सानो गोलभेँडा प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै रातो लाम्चो आलु प्रतिकिलो ३५ रुपैयाँ, रातो गोलो आलु २८ रुपैयाँ तथा भारतीय सुकेको प्याज ३६ रुपैयाँ तोकिएको छ। समितिका अनुसार गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ कायम गरिएको छ। बोडी (तने) प्रतिकिलो ५० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, मटरकोसा ७० रुपैयाँ, घिउ सिमी (लोकल) ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ६० रुपैयाँ र घिउ सिमी (राजमा) १०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै भटमासकोसा प्रतिकिलो १३० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर (लोकल र तराई) ५०–५० रुपैयाँ, चिचिन्डो ४० रुपैयाँ, घिरौँला ५० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ४० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ र पिँडालु ५० रुपैयाँ तोकिएको छ। हरियो सागसब्जीतर्फ रायो साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चमसुरको साग १२० रुपैयाँ, मेथीको साग १२० रुपैयाँ र हरियो प्याज १२० रुपैयाँ निर्धारण गरिएको छ। च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, न्यूरो ८० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, सजीवन १२० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, जिरीको साग १०० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले ३०० रुपैयाँ, सौफको साग १२० रुपैयाँ, पुदिना १०० रुपैयाँ, गाँठेमूला ५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १५० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ तोकिएको समितिले जनाएको छ। फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३२५ रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन २२० रुपैयाँ, कागती प्रतिकिलो २६० रुपैयाँ, अनार ४४० रुपैयाँ, दसहरी आँप २८० रुपैयाँ र हरियो अङ्गुर २८० रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी हरियो तरबुजा प्रतिकिलो ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, लोकल काँक्रो प्रतिकिलो ५० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, लोकलक्रस काँक्रो ६० रुपैयाँ, रुखकटहर ७० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, भारतीय लिची २८० रुपैयाँ, एभोकाडो ८०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १८० रुपैयाँ तोकिएको छ। मसलातर्फ अदुवा प्रतिकिलो १६० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, हरियो लाम्चो खुर्सानी १०० रुपैयाँ, बुलेट खुर्सानी ८० रुपैयाँ, माछे खुर्सानी ६० रुपैयाँ, भेडे खुर्सानी ६० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ ९० रुपैयाँ, चाइनिज सुकेको लसुन १९० रुपैयाँ, नेपाली सुकेको लसुन १२० रुपैयाँ तथा सुकेको छ्यापी १४० रुपैयाँ कायम गरिएको छ। माछातर्फ ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी माछा २६० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।

लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।  आज दिउँसो १ः०० बजे बस्ने आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले  प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेशसभामा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।  प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ ।