एमाले सचिवालय बैठक १० घण्टापछि सकियो, 'निर्वाचन समीक्षा' कार्यदल गठन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक करिब १० घण्टापछि सम्पन्न भएको छ । आइतबार बिहान ११ बजेदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा सुरु भएको बैठक भर्खरै  सम्पन्न भएको हो ।

बैठकले उपाध्यक्ष रामबहादुर थापा को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

एमाले स्रोतका अनुसार कार्यदलले पछिल्ला निर्वाचनको समीक्षा गर्दै पार्टी संगठन सुदृढीकरण, जनआधार विस्तार तथा आगामी राजनीतिक रणनीतिसम्बन्धी सुझावसहितको प्रतिवेदन तयार गर्नेछ ।

बैठकमा पार्टीको सांगठनिक अवस्था, सरकारको कामकारबाही, समसामयिक राजनीतिक परिस्थिति तथा नेताहरूको कार्यविभाजन लगायत विषयमा समेत छलफल भएको बताइएको छ ।
 
नेकपा एमालेले आगामी असारको तेस्रो साताभित्र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले असार १५ देखि २० गतेभित्र बैठक गर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्ट ले बैठकको मिति अध्यक्ष ओली र महासचिव शंकर पोखरेल बीचको परामर्शपछि टुंगो लगाइने बताए ।

उनले केन्द्रीय कमिटी बैठकमा सचिवालयमा उठेका समसामयिक राजनीतिक विषय, पार्टी संगठनका एजेन्डा तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि विस्तृत छलफल हुने जानकारी दिए ।

Share News