विकासन्युज

आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु, प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया सुरु भएको हो । प्रदेश तथा स्थानीय तहका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि आगामी माघ मसान्तभित्रमा प्रस्ताव पेस गरि सक्नुपर्नेछ । ‘प्रदेश र स्थानीय तहले अन्य स्रोतबाट कार्यान्वयन गर्ने आयोजना वा कार्यक्रम र सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव पेस गर्नुपर्नेछ,’ आयोगले प्रस्ताव माग गर्दै भनेको छ ।’  प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगले तयार पारेको प्राथमिकीकरण सहितको सिफारिस तथा प्रदेश सरकारको सिफारिस र स्थानीय तहको हकमा कार्यपालिकाबाट सिफारिस चाहिने आयोगले जनाएको छ । समपूरक र विशेष अनुदानका लागि आयोगको विद्युतीय सूचना व्यवस्थापन प्रणालीमार्फत मात्रै प्रस्ताव पेस गर्न सकिने पनि आयोगले जनाएको छ । त्यस्तै, प्रस्ताव पेस गर्दा समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ को प्रावधानभित्र रही पेस गर्न समेत आयोगले आग्रह गरेको छ । कार्यविधिअनुसार यी शीर्षकमा अनुदान लिनका लागि आयोजनाको सम्भाव्यता अध्ययन, ड्रइङ, डिजाइन, स्पेसिफिकेसन सहितको विस्तृत विवरणको लागत अनुमान पेस गर्नुपर्ने हुन्छ । त्यस्तै, वातावरणीय अध्ययन प्रतिवेदनलगायत कागजात चाहिन्छन् । अनुदान माग गर्न स्थानीय तहको हकमा सम्बन्धित कार्यपालिकाको निर्णय र प्रदेशको हकमा सम्बन्धित प्रदेश योजना आयोगको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषदले निर्णय गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

बुटवल औद्योगिक प्रदर्शनी: २० करोडको कारोबार र ८ लाख दर्शक भित्र्याउने लक्ष्य

काठमाडौं । १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल स्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ नाराका साथ आयोजना हुन लागेको महोत्सवमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरू प्रदर्शनीका लागि राखिने सङ्घले जनाएको छ ।  बुटवलस्थित रामनगरमा हालै निर्माण भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुनेछन् । स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको महोत्सव आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।  ‘स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक छ । हामीले आयोजना गर्ने प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास लिइएको छ,’ अध्यक्ष पराजुलीले भने ।  देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वर्द्धन र विकासमा यो महोत्सवले टेवा पुर्याउने आयोजकले विश्वास लिएका छन् । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टल रहनेछन् । प्रदर्शनीमा करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

झण्डा प्रयोगमा नयाँ व्यवस्था, राजनीतिक दलले १० वटा मात्रै प्रयोग गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने छन् । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो । आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई ३/४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्य दृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख गरेको छ । प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटा मात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ । यसैगरी निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न पाइने छैन । चुनाव प्रचारका क्रममा जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने व्यवस्था गर्न लागिएको छ । अनलाइन, वेवपेज, टीभी, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम, काउण्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवार बारेमा कुनै पनि प्रचारप्रसार गराउन पाइने छैन । तर, राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारिक वेवपेजमा त्यस्तो प्रचार सामग्री राख्न भने बाधा पर्ने छैन । दलको झण्डाको वा दल एवं उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन पाइनेछैन । कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चार पाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका कुनै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नहुने गरी आचारसंहिताको प्रस्ताव गरिएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने गरी आचारसंहिताको प्रस्ताव गरिएको जनाएको छ ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, बिक्रीदर १४५.९५ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८७ पैसा र बिक्रीदर २२ रुपैयाँ ९६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ १४ पैसा , ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ०९  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

ढुवानीका लागि मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने

काठमाडौं । अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो । परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा व्यवसायलाई आर्थिक रुपमा नकारात्मक असर पर्ने गरी कुनै पनि शुल्क नलगाउने वा नलाग्ने व्यवस्था गर्न भनिएको छ । मन्त्रालयले संविधान र प्रचलित कानुनको व्यवस्था विपरीत स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भई ढुवानीका लागि मात्र सम्बन्धित स्थानीय तहको माग हुँदै मालवस्तुको ढुवानीमा कुनै प्रकारको कर तथा शुल्क असुली गर्न नमिल्ने स्मरण गराएको छ । ‘नेपालको संविधान, प्रचलित कानुन विपरीत कुनै पनि कर,दस्तुर र शुल्क नलगाउने र नलाग्ने व्यवस्था मिलाउन सबै प्रदेश सरकारलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने’ भनी निर्णय भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सो निर्णय गत मङ्सिर २३ गते अर्थमन्त्रीस्तरीय निर्णय भएकाले आवश्यक कारबाहीका लागि सम्बद्ध सबैलाई पत्राचार गरिएको जनाएको छ । केही स्थानीय तहले अर्को स्थानीय तहबाट आएको कृषि उपजमा कर, शुल्क तथा शुल्क उठाएको भन्ने जानकारीमा आएपछि अर्थ मन्त्रालयले त्यस्तो निर्णय गरेको हो । 

एमाले महाधिवेशन: मतदान स्थगित, बुधबार ८ बजेदेखि सुरु हुने

काठमाडौं । नेकपा एमालेको मतदान स्थगित भएको छ । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरू पालो कुर्दै लामबद्ध भइरहेको अवस्थामा मतदान स्थगित भएको हो । भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रतिनिधिहरू भोट हाल्न केही समय लाइन बसेका थिए । केही बेरमा मतदान हुने भनिए पनि अन्तिममा आएर प्राविधिक कारण कारण मतदान स्थगित भएको बताइएको छ ।

नेतृत्व चयनका लागि मतदाता लाइन लागे, ओली–पोखरेल एकैसाथ मतदानस्थलमा

काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरू मतदानमा सहभागी हुन उत्साहपूर्वक लाइनमा बसेका छन् । देशभरबाट महाधिवेशन प्रतिनिधिहरू पालो कुर्दै लामबद्ध भएका हुन् । साथै मतदान गर्न अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एकैसाथ मतदान स्थल आइपुगेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित मतदानस्थल हलमा ओली र पोखरेल एकैसाथ मतदान स्थल आइपुगेका हुन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार प्राविधिक तथा व्यवस्थापनसम्बन्धी अन्तिम तयारी पूरा भएपछि केही समयमै मतदान प्रक्रिया औपचारिक रूपमा सुरु गरिनेछ । विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरिने भएकाले उम्मेदवारहरूको विवरण अन्तिम रूपमा प्रणालीमा प्रविष्ट गर्ने काम चलिरहेको आयोगले जनाएको छ । मतदान अझै सुरु नभइसके पनि प्रतिनिधिहरूमा मतदानप्रतिको उत्साह र चासो देखिएको छ। मतदानस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्वयंसेवकहरू व्यवस्थापनमा खटिएका छन् । महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूको चयन हुने भएकाले यस निर्वाचनलाई एमालेको भावी राजनीतिक दिशा र नेतृत्व निर्धारण गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ । प्रतिनिधिहरूको ठूलो उपस्थिति र चासोले महाधिवेशनको अन्तिम चरण थप निर्णायक बन्दै गएको संकेत गरेको छ ।

घोकेर होइन, बुझेर पढ्दा टपर बनेका शाक्य र घिमिरे

काठमाडौं । पास धेरै विद्यार्थी हुन्छन् तर, टपर तिनैमध्येको सबैभन्दा उति उत्तम विद्यार्थी बन्छन् । हरेक विद्यार्थीले टपरको स्तरमा मिहिनेत गर्दैनन् । कमैले मिहिनेत गर्छन् तर तिनैमध्ये पनि जो सर्वोत्कृष्ट बन्छ उसले घोकेर पढ्दैन, बुझेर पढेको हुन्छ ।  काठमाडौंको किलागलका साहस शाक्य मल्टिमिडिया टेक्नोलोजी विषयमा सर्वोत्कृष्ट नम्बरसहित टपर बने । मंगलबार ललितपुरमा रहेको द प्लाजामा भएको इस्लिङ्टन कलेजको १६ औं दीक्षान्त समारोहमा टपरको रूपमा दीक्षित हुँदा निकै खुसी थिए ।  साहस शाक्य कक्षा १ देखि १२ सम्म काठमाडौंको सेन्ट जेभियर्समा पढेका उनी पढाइमा राम्रा विद्यार्थी हुन् । प्लस टु कम्प्युटर साइन्स लिएर पढेका उनले ब्याचलर्समा भने  मल्टिमिडिया टेक्नोलोजी रोजे । जहाँ ग्राफिक डिजाइन, भिडियो एडेटिङ, एनिमेसन, टेक्नोलोजीहरू पढाइ हुन्छ ।  सानैदेखि आर्टमा रुचि राख्ने शाक्य  सिक्ने अवसर र ठाउँको खोजीमा थिए । उनले यो विषयमा पढाइ हुने ठाउँ खोज्दा इस्लिङ्टन कलेज भेटे ।   ‘मलाई आर्ट गर्न, पेन्टिङ, ड्रइङ गर्न मन पर्थ्यो,’ उनी भन्छन्, ‘ठाउँ खोज्दै जाँदा यो कलेज भेटेँ अनि निकै मिहिनेत गरेँ र आज राम्रो परिणाम हात पारेको छु । म निकै खुसी छु,’ उनले भने । टपर हुनुभयो टपर बन्न कति मिहिनेत गर्नुभयो भयो भन्ने प्रश्नमा शाक्य भन्छन्, ‘टपर हुन्छु भनेर कहिल्यै पढिनँ तर, पढाइमा खुब मिहिनेत गर्छु । त्यसैको फलस्वरूप टपर भएको हुँ । ’  शाक्य हरेक विद्यार्थीले आफूले आफैलाई मूल्याङ्कन गर्नुपर्ने बताउँछन् । ‘म कसरी पढिरहेको छुँ, के यो पढाइले म आफ्नो विषयमा दक्ष हुन सक्छु ? यति कुरा विद्यार्थीले बुझ्नुपर्छ, विद्यार्थीले यो कुरा आफै बुझ्नुभयो र आफैलाई सुधार्ने प्रयास गर्नुभयो भने टपर अवश्य भइन्छ,’ उनले भने ।  उनलाई पढ्न, कलेज जान रमाइलो लाग्छ । बिहान ७ बजे उनी कलेज जान्छन् । १२ देखि १ बजेसम्म कलेज चल्छ । उनलाई पहिला मल्टिमिडियाको विषयमा केही थाहा थिएन । यसमा कलेजले पनि धेरै सहयोग गरेको बताउँछन् शाक्य ।  ‘कलेजले पनि सहयोग गर्यो, मैले पनि मिहिनेत गरेँ र टप गरेँ,’ उनले भने ।  इस्लिङ्टन कलेजको १६ औं दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरू शाक्यले ब्याचलर्सपछि मास्टर कहाँ गर्ने भन्ने योजना बनाइसकेका छैनन् तर यसका लागि राम्रो अवसर र कलेजको खोजी भने गरिरहेका छन् । सके नेपालमै नभए विदेशमा गएर पनि उनलाई यो विषयमा मा स्नातकोत्तर गर्न मन छ । उनी जहाँ पढे पनि काम भने नेपालमै अलिक फरक तरिकाले योजना बनाएको बताउँछन् ।  नेवारी समुदायमा बाहिर ल्याउन सक्ने थुप्रै विषय भएकाले उनी ती विषयलाई प्रोजेक्टका रूपमा बाहिर ल्याउने बताउँछन् ।  शाक्य नेपाली विद्यार्थी विदेशबाट नफर्किनुको कारण नै अवसर नहुनु रहेको औंल्याउँछन् । यो फिल्डमा राम्रो काम गरिरहेकाहरू पनि भएकाले नेपालमा काम गर्ने अवसर नभएको उनी बताउँछन् ।   *** भक्तपुरको कौशलटार बस्ने अम्स घिमिरेलाई पनि टपर हुन्छु भन्ने लागेको थिएन । तर उनले पढाइमा मिहिनेत भने जहिले गर्थे । मंगलबार इस्लिङ्टनको दीक्षान्त समारोहमा उनी टप भए । कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी विषयमा कलेजकै सर्वोत्कृष्ट भए । ‘म टप हुन्छु, सबैभन्दा सर्वोत्कृष्ट नम्बर ल्याउँछु भने कहिल्यै पढ्दिनँ,’ उनी भन्छन्, ‘म पढेको कुरालाई कत्तिको व्यवहारमा ल्याउन सक्छु भन्ने तरिकाले पढ्छु, मिहिनेत पनि गर्छु, आज टपर हुँदा निकै खुसी लागेको छ । साथै नर्भस पनि भएको छु ।’ अम्स घिमिरे  टपर हुन कसरी पढ्नुपर्छ भन्ने प्रश्नमा घिमिरे भन्छन्, ‘पढ्ने हरेक व्यक्तिको आफ्नो तरिका हुन्छ । कसैलाई लेखेर पढ्दा याद हुन्छ भने कसैलाई बोलेर पढ्दा त कसैलाई मनमनै पढ्दा । अब ठ्याक्कै यही तरिका हुन्छ भन्ने त हुँदैन नि ।’ घिमिरे हरेक दिन आफूले पढेको अनि कलेजमा पढाइएका कुरा घरमा आएर गहिरिएर हेर्छन् । तर परीक्षाको लागि भने परीक्षा आउनुभन्दा एक हप्ता अगाडि वा केही दिन अगाडिमात्र तयारी गर्छन् ।  अघिपछि किताब नहेर्ने तर परीक्षाको समयमा घोक्दा याद नहुने घिमिरे बताउँछन् । हरेक दिन समय निकालेर कलेजमा पढाएका कुरालाई घरमा गएर हेर्नेमात्र हो भने पनि धेरै कुराहरू बुझिने र परीक्षामा पनि लेख्न सजिलो हुने उनको भनाइ छ ।   ‘म परीक्षा पास गर्न मात्र नभइ यो पढेको कुरा कसरी व्यवहारमा उतार्न सक्छु भन्ने हिसाबले पढ्छु,’ उनी भन्छन्, ‘म परीक्षाको बेलामा धेरै पढ्ने मान्छे होइन, अगिपछि पढिएन भने परीक्षाको बेलामा जति घोटिए पनि केही हुँदैन।’ घिमिरेले नर्सरीदेखि कक्षा एकसम्म धुम्बारहीमा रहेको युनिभर्सल एकेडेमीमा पढे । कक्षा दुईदेखि १० सम्म प्यारागन पब्लिक स्कुलमा पढे । कक्षा ११ र १२ मा जेभिएर एकेडेमी लैनचौरमा अध्ययन गरे । प्लस टुमा विज्ञान विषय लिएर पढेका उनी कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी विषय लिएर इस्लिङ्टनमा अध्ययन गरे । उनी अहिले आइटीमा  आवश्यक्ता र राम्रो अवसर हुँदा यो विषय रोजेको बताउँछन् ।  ‘अहिले डेटा इज पावर भनेजस्तै आफूसँग डेटा छ भने बलियो हुने भन्ने हुन्छ,’ घिमिरे भन्छन्, ‘अहिले ठूलाठूला राष्ट्रले साइबर सेक्युरिटीमा धेरै लगानी गरिरहेका छन्, मेरो रुचि पनि यसैमा थियो, त्यसैले पनि यो विषय रोजेको हुँ।’  घिमिरे नेपालमा पढ्न र यही केही गर्न चाहने विद्यार्थीका लागि राम्रो अवसर नरहेको गुनासो गर्छन् ।  उनी विदेश गए पनि स्वदेशमै फर्किएर केही गर्नुपर्नेमा जोड दिन्छन् । ‘देश-विदेशको अनुभव लिनुपर्छ, अवसर पाए मलाई पनि जान मन छ तर, काम भने आफ्नै देशमा गर्ने हो,’ उनले भने ।