नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन, उद्योगीलाई अनअराइभल भिसा उपलब्ध गराउने पहल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडले द्विपक्षीय वाणिज्य सम्बन्धलाई थप सुदृढ बनाउन संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी गरेका छन् । थाइल्याण्डको राजधानी बैंककमा भएको द्विपक्षीय वार्तामा यो निर्णय लिइएको हो । यस परिषद्ले दुवै देशमा लगानी प्रवर्द्धन र आदानप्रदानको सहजिकरण गर्ने लक्ष्य राखेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको लगानी वातावरण सुधारिएको र विदेशी लगानीका लागि सरकारले सहज वातावरण उपलब्ध गराएको बताएका छन् । उनले थाइल्याण्डका व्यवसायीलाई नेपालमा पर्यटन, सेवा, खाद्यवस्तु प्रशोधन, प्याकेजिङ र निर्माण सामग्री उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । त्यसैगरी, थाइ चेम्बर अफ कमर्ससँग नेपालबाट आउने उद्योगीलाई अनअराइभल भिसा उपलब्ध गराउन पहल गर्ने विषयमा पनि कुरा गरिएको छ । अध्यक्ष ढकालले थाइ व्यवसायीहरूको चिन्ता व्यक्त गर्दै नेपालमा राजनीतिक स्थिरता नभएको कारण लगानीमा केही असर पर्न सक्छ भन्ने धारणा राखे पनि सरकारको नीतिगत सुधारका कारण लगानी प्रभावित नहुने विश्वास व्यक्त गरेका छन् । यो संयुक्त वाणिज्य परिषद् दुवै देशका लागि आर्थिक र व्यापारिक सम्बन्धलाई थप प्रगति र सहयोग प्रदान गर्ने ठूलो कदम हुनेछ ।
अब ७ सय ५३ वटै पालिकामा नागरिक आरोग्य सेवा विस्तार गरिन्छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारको योजनाअनुसार नागरिक आरोग्य सेवालाई अब ७५३ वटै पालिकामा विस्तार गरिने जानकारी दिएका छन् । उनले यो योजना अनुसार सरकारले आगामी आर्थिक वर्षको बजेटमा नागरिक आरोग्य सेवाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार काठमाडौंको बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले आयुर्वेदलाई नेपालका मौलिक जीवनपद्धति र संस्कृति मान्दै यसको व्यापक विकासमा सरकार लागिपरेको बताएका छन् । उनले नेपाललाई आयुर्वेद हब बनाउने उद्देश्यका साथ विश्वभर यो उपचार प्रणालीको प्रचार गर्ने कुरा पनि जोड दिएका छन् । मन्त्री पौडेलले आयुर्वेद उपचार प्रणालीलाई सबै नेपालीको पहुँचमा पुर्याउन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको उल्लेख गरेका छन् । 'आयुर्वेद नेपालको मौलिक प्रणाली हो, र यो हाम्रो जीवन पद्धति र सभ्यता पनि हो,' उनले भने, 'नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्नेछ र यससँगै आयुर्वेद उपचार प्रणालीको बारेमा सबैलाई जानकारी दिने प्रयास गरिनेछ ।' मन्त्री पौडेलले रोग बढ्न नदिनका लागि सरकारले निरोगी नेपाली अभियान चलाइरहेको र स्क्रिनिङ कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गर्ने योजना रहेको बताए ।
सिद्धार्थ प्रिमियर ‘नन लाइफ इन्स्योरेन्स अफ द इयर २०२५’ बाट सम्मानित
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले '१७औं कर्पोरेट बिजनेस अवार्ड २०२५' अन्तर्गत 'नन लाइफ इन्स्योरेन्स अफ द इयर २०२५' सम्मान प्राप्त गरेको छ । कर्पोरेट खबरद्वारा आयोजित एक समारोहमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, वीरेन्द्र बैदवार क्षेत्रीलाई रक्षामन्त्री मानवीर राइले सम्मानपत्र प्रदान गरे । यो अवार्ड विभिन्न उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, बीमा, सूचना प्रविधि र नवउद्यमी विधामा प्रदान गरिएको हो । 'नन लाइफ इन्स्योरेन्स अफ द इयर २०२५;' को लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सफल भएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको यो सम्मान कम्पनीको दीर्घकालीन मेहनत र उत्कृष्ट सेवाको प्रमाण हो, जसले ग्राहक र उद्योगको विश्वसनीयता निर्माण गरेको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री
बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् । थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताएका हुन् । उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मलाई विश्वास छ शिखर सम्मेलनको विषयवस्तुले हामीलाई त्यो मापन प्रदान गर्दछ, जुन जनता, समृद्धि र कल्याणको पक्षमा छ ।’ प्रधानमन्त्री ओलीले हाम्रो सम्भावनालाई उजागर गर्न र हामीसँग भएका स्रोत साधनलाई पुँजीकृत गर्न एकीकृत प्रयास आवश्यक रहेको बताए । उनले यस क्षेत्रका अर्थतन्त्रहरु समान छैनन् भन्ने कुरा स्वीकार गर्दै विशेष आवश्यकता भएका सदस्य राष्ट्रलाई सक्षम बनाउन प्राथमिकताका साथ सहयोग गर्न आग्रह गरे । जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट सृजना गरेको उल्लेख गर्दै उनले यहाँका हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको बताए । ‘यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ’, प्रधानमन्त्री ओलीले भने । पहाडहरूको दुर्दशा र पहाड-महासागरबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’को पहिलो संस्करण आयोजना गर्न लागेको समेत उनले जानकारी दिए । उनले बिम्स्टेकले दुई गतिशील क्षेत्रहरू (दक्षिण एसिया र दक्षिणपूर्व एशिया)बीचको अद्वितीय सहकार्यको उदाहरण दिने भएकाले साझा र एकीकृत प्रयासमा हातोमालो गर्न आग्रह गरे । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर भएको छ । शिखर सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरुले सम्बोधन गरेका थिए ।
हावाको गतिले घटायो वायु प्रदूषण
काठमाडौं । हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ । ‘एयर क्वालिटि इन्डेक्स’ कोे तथ्याङ्कअनुसार बिहीबार मध्यान्हमा पनि पहिलो प्रदूषित सहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय ४८ एक्यूआईसम्म पुगेको थियो । आज भने यो समाचार तयार गर्दासम्म प्रदूषण घटेर एक सय ४७ एक्यूआईमा झरेको छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौँमा पुगेको बताए । 'काठमाडौं कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ', उनले भने, 'प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौँ । यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय जरूरी छ ।'
नेपाल टेलिकमका ७ जना उपप्रबन्धक बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सात जना उपप्रबन्धक बढुवाका लागि सिफारिस भएका छन् । १० औं तहअन्तर्गत प्राविधिक टेलिकम सेवा समुहको निर्देशक प्रबन्ध पदका लागि ५ जना सिफारिस भएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका अनुसार ७ जना मध्ये ५ जनाले बराबर ९६.६७८ अंक पाएर सिफारिस भएका छन् । उपप्रबन्धक पदमा कार्यरत रामनारायण महतो, निरोल प्रसाद कोजु, गोविन्द सिंह धामी, निरज बज्राचार्य र सञ्जिव कुमार देवलाई पदपूर्ति समितिले बढुवाका लागि सिफारिस गरेको हो । यसैगरी प्रबन्ध लेखा पदका लागि लागि उपप्रबन्धक लेखा पदमा कार्यरत हरिशरण महर्जन र कृष्ण कुमार लामेछाने पनि बराबर ८७.५२ अंक पाएर बढुवा पदका लागि सिफारिस भएका हुन् ।
ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने
काठमाडौं । निसान मोटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका अटो ट्यारिफहरू पछि मेक्सिकोमा बनेका दुई इन्फिनिटी एसयूभीहरूको लागि अमेरिकाबाट नयाँ अर्डरहरू नलिने निर्णय गरेको बिहीबार जनाएको छ । यस निर्णयले संयुक्त उद्यम प्लान्टमा आफ्नो सञ्चालनलाई निकै घटाउने विज्ञहरू बताउँछन्। निसानले जनवरीमा घोषणा गरेअनुसार अप्रिल महिनादेखि टेनेसीको स्मिर्ना प्लान्टमा रोक्ने भनेको एक सिफ्टको उत्पादनलाई निरन्तरता दिँदै दुई सिफ्ट सञ्चालन गर्ने भएको छ । जापानी अटोमेकर निसानले अब मेक्सिकोमा मर्सिडिज–बेन्जसँग मिलेर सञ्चालन गरिएको कम्पास प्लान्टमा उत्पादन गरिएका इन्फिनिटी क्यूएक्स फिफ्टी र क्यूएक्स फिफ्टी फाइभ एसयूभीहरूको लागि अमेरिकी बजारमा थप अर्डर स्वीकार नगरिने जनाएको छ । तर, अन्य बजारहरूका लागि ती मोडेलहरूको उत्पादन जारी रहने बताइएको छ । अन्य बजारहरूमा कति उत्पादन निर्यात भइरहेको छ भन्ने कुरा अहिले स्पष्ट छैन । मेक्सिकोको राष्ट्रिय तथ्यांक एजेन्सीका अनुसार यी दुई इन्फिनिटी मोडेलहरू अहिलेसम्म मेक्सिकोबाट केवल अमेरिकामा निर्यात गरिएको थियो । शुक्रबार जापानस्थित निसानका प्रवक्ताले यी मोडेलहरू मध्य पूर्व र क्यानडाजस्ता अन्य बजारहरूमा पनि पठाउने जानकारी दिए । तर थप विवरण तत्काल उपलब्ध गराउन सकेनन् । ट्रम्पको २५ प्रतिशत विश्वव्यापी कार र ट्रक ट्यारिफ बिहीबारदेखि लागू भएको छ । निसान अमेरिकामा पुराना मोडेलहरू र हाइब्रिड गाडीहरूको अभावका कारण संघर्षरत छ । यसले जापानी अटोमेकरहरूमध्ये सबैभन्दा धेरै संख्यामा गाडीहरू मेक्सिकोबाट अमेरिकामा निर्यात गर्ने भएकाले नयाँ ट्यारिफबाट विशेष रूपमा प्रभावित हुने देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा तीन पटकसम्म नाफा अनुमान घटाएको थियो । निसानका नयाँ सीईओ ४६ वर्षीय इभान एस्पिनोसाले नयाँ गाडीहरू विकास गर्न आवश्यक समयलाई निकै छोटो बनाउने प्रतिबद्धता जनाएका छन् । उनी पहिला कम्पनीको योजनाका प्रमुख थिए र मेक्सिकोका नागरिक हुन् ।
मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेस कलेजबीच समझदारी, बैंकिङ साक्षरताबाट रोजगारी दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र साउथवेस्ट्रन बिजनेस कलेजबीच बैंकिङ साक्षरता विस्तार र व्यवसायिक सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत बैंकले कलेजका विद्यार्थीहरूलाई आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना, लगानी, र जोखिम व्यवस्थापनसम्बन्धी साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ । साथै योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप तथा तालिमको अवसर पनि प्रदान गरिनेछ । सम्झौताबाट विद्यार्थीहरूमा वित्तीय चेतना बढाउने, व्यावसायिक दक्षता अभिवृद्धि गर्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य लिइएको छ । बैंकका अनुसार यो दीर्घकालीन सहकार्यले व्यावसायिक शिक्षालाई व्यवहारमा उतार्ने सशक्त माध्यम बन्नेछ । यसबाहेक, मुक्तिनाथ विकास बैंकले डिजिटल सेवामा पनि ध्यान दिएको जनाएको छ । बैंकले हालै 'मुक्तिनाथ फाइदा एप' सार्वजनिक गर्दै, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, खाता खोल्ने सुविधा, इन्टरनेट बैंकिङ र रेमिट्यान्स सेवा जस्ता डिजिटल सुविधाहरू घरमै बसि उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।