अब ७ सय ५३ वटै पालिकामा नागरिक आरोग्य सेवा विस्तार गरिन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारको योजनाअनुसार नागरिक आरोग्य सेवालाई अब ७५३ वटै पालिकामा विस्तार गरिने जानकारी दिएका छन् । उनले यो योजना अनुसार सरकारले आगामी आर्थिक वर्षको बजेटमा नागरिक आरोग्य सेवाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार काठमाडौंको बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले आयुर्वेदलाई नेपालका मौलिक जीवनपद्धति र संस्कृति मान्दै यसको व्यापक विकासमा सरकार लागिपरेको बताएका छन् । उनले नेपाललाई आयुर्वेद हब बनाउने उद्देश्यका साथ विश्वभर यो उपचार प्रणालीको प्रचार गर्ने कुरा पनि जोड दिएका छन् ।

मन्त्री पौडेलले आयुर्वेद उपचार प्रणालीलाई सबै नेपालीको पहुँचमा पुर्याउन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको उल्लेख गरेका छन् । 'आयुर्वेद नेपालको मौलिक प्रणाली हो, र यो हाम्रो जीवन पद्धति र सभ्यता पनि हो,' उनले भने, 'नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्नेछ र यससँगै आयुर्वेद उपचार प्रणालीको बारेमा सबैलाई जानकारी दिने प्रयास गरिनेछ ।'

मन्त्री पौडेलले रोग बढ्न नदिनका लागि सरकारले निरोगी नेपाली अभियान चलाइरहेको र स्क्रिनिङ कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गर्ने योजना रहेको बताए ।  

Share News