नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन, उद्योगीलाई अनअराइभल भिसा उपलब्ध गराउने पहल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडले द्विपक्षीय वाणिज्य सम्बन्धलाई थप सुदृढ बनाउन संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी गरेका छन् । थाइल्याण्डको राजधानी बैंककमा भएको द्विपक्षीय वार्तामा यो निर्णय लिइएको हो ।

यस परिषद्ले दुवै देशमा लगानी प्रवर्द्धन र आदानप्रदानको सहजिकरण गर्ने लक्ष्य राखेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको लगानी वातावरण सुधारिएको र विदेशी लगानीका लागि सरकारले सहज वातावरण उपलब्ध गराएको बताएका छन् । उनले थाइल्याण्डका व्यवसायीलाई नेपालमा पर्यटन, सेवा, खाद्यवस्तु प्रशोधन, प्याकेजिङ र निर्माण सामग्री उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

त्यसैगरी, थाइ चेम्बर अफ कमर्ससँग नेपालबाट आउने उद्योगीलाई अनअराइभल भिसा उपलब्ध गराउन पहल गर्ने विषयमा पनि कुरा गरिएको छ ।

अध्यक्ष ढकालले थाइ व्यवसायीहरूको चिन्ता व्यक्त गर्दै नेपालमा राजनीतिक स्थिरता नभएको कारण लगानीमा केही असर पर्न सक्छ भन्ने धारणा राखे पनि सरकारको नीतिगत सुधारका कारण लगानी प्रभावित नहुने विश्वास व्यक्त गरेका छन् ।

यो संयुक्त वाणिज्य परिषद् दुवै देशका लागि आर्थिक र व्यापारिक सम्बन्धलाई थप प्रगति र सहयोग प्रदान गर्ने ठूलो कदम हुनेछ ।   

Share News