विकासन्युज

निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउने हो : मन्त्री खड्का

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन् । तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इन्जिनियरिङ कम्पनीसँग हस्ताक्षर कार्यक्रममा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले उर्जा क्षेत्रको विकास गर्न चाहेको बताए ।  ‘सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउन चाहन्छ, निजी क्षेत्रलाई साथमा लिएर मुलुक समृद्ध हुन्छ भनेर हामीले द्रुत गतिमा अध्यादेशमार्फत कानुन ल्याएका हौँ,’ उनले भने ।  मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उक्त लक्ष्यलाई पूरा गर्न टनेल बोरिङ मेसिनजस्ता प्रविधिबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले स्रोतको प्रयोग गरेर जलविद्युत केन्द्र निर्माण गर्दैगर्दा स्थानीय स्तरमा रोजगारी समेत सिर्जना हुने बताए ।  ‘स्रोतमाथिको अधिकार सबै नागरिकको बराबर हुन्छ, विपन्न वर्गले पनि स्रोतको उपयोग गर्न पाउनुपर्छ भनेर सरकारले गरिब तथा विपन्न वर्गका लागि जलविद्युत आयोजनालाई धरौटी राखेर २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको सेयरको व्यवस्था गर्न लागेको छ, यसमा निजी क्षेत्र पनि आबद्ध हुनुपर्छ,’ मन्त्री खड्काले भने । एउटा वर्ग र समुदाय धनी भएर मुलुक समृद्ध बन्न नसक्ने उनको भनाइ छ ।  भारत र चीनको बीचमा रहेको नेपालले दुवै देशका लगानीकर्तालाई भित्र्याएर फाइदा लिनुपर्ने मन्त्री खड्काले उल्लेख गरे । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले २०४६ सालको परिवर्तनपछि सरकारले लिएको नीतिका कारण ऊर्जा क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताए ।  नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे । सचिव भट्टराईले तमोर आयोजनाको निर्माणसँगै ताप्लेजुङ जिल्ला, सिङ्गो कोशी प्रदेश र मुलुकलाई नै फाइदा हुने बताए । तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले नेपालमा वर्तमान समयमा भइरहेको लोडसेडिङ अन्त्यका लागि यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  आगामी ४ वर्षभित्र सक्ने लक्ष्यका साथ उक्त आयोजना ५१ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । जसमा १२ अर्ब रुपैयाँ लगानीकर्ता, ८ अर्ब रुपैयाँ पब्लिक सेयर, २९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट र बाँकी २ अर्ब रुपैयाँ बत्ती बलेपछि भुक्तानी गर्ने गरी लगानी जुटाइएको छ । चाइना रेल्वे इन्जिनियरिङ कम्पनीका प्रतिनिधि लु सियारुङले सबैको साथ र सहयोग लिएर उक्त आयोजनालाई समयमै सम्पन्न गरिने बताए । उनले नेपालको आर्थिक विकासमा आफ्नो कम्पनीले निरन्तर काम गरिरहेको उल्लेख गरे । उक्त कम्पनीले  हालसम्म एक सयभन्दा बढी जलविद्युत आयोजना निर्माण गरिसकेको छ । 

यात्रु नभएपछि आएन जहाज, उडान अवरुद्ध

काठमाडौं । दाङको तुलसीपुर स्थित टरि गाउँ विमानस्थलमा बिहीबार एक जना पनि यात्रु नपाएपछि जहाज सेवा अवरुद्ध भएको छ । गत सोमबारदेखि हवाई सेवा सुरु भएको थियो । बिहीबार पनि जहाज आउने तालिका थियो । तर, तुलसीपुरबाट एक जना पनि यात्रुले टिकट काटेका थिएनन् ।  काठमाडौंबाट पनि ३ जनाले मात्र टिकट काटेका थिए । यात्रु नभएपछि बिहीबारको उडान अवरुद्ध भएको एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए ।  ३ महिना सेवा अवरुद्ध भएपछि सोमबारदेखि सेवा सुरु भएको हो । हालको भाडा न्यूनतम् ७ हजार १०० रुपैयाँ मात्र कायम गरिएको छ । नियमित भाडा ८ हजार ७७५ रुपैयाँ भए पनि हाललाई ७ हजार १०० रुपैयाँ मात्र कायम गरिएको छ । टरि गाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरू नेपालगन्ज वा भैरहवा जानुपर्ने अवस्था छ । विमानस्थलको धावन मार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्र बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरू भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था छ ।  हाल विमानस्थलको धावन मार्ग ७५० मिटर छ । उक्त धावन मार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । 

प्रधानमन्त्रीले ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने, ४ बजे नरेन्द्र मोदी भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक मारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कार्यसूची प्रस्तुत गरिने छन् । तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ ।  सम्बोधनपछि कार्यसूचीहरू पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । सम्मेलनमा दिवा भोजपछि स्थानीय समयअनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय भेटवार्ता हुनेछ ।  यी सबै कार्यक्रमहरू बैङ्कक स्थित होटल साङ्‌ग्रिलामा हुने छन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् ।  बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्ड स्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एक नारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलगायत छन् । 

पानी उद्योगमा छैनन् प्रयोगशाला, २० वटा दर्ता भएपनि सञ्चालनमा १२ मात्रै

काठमाडौं । दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरूमा प्रयोगशाला नभएको पाइएको हो ।  प्रयोगशाला नभएपछि तत्काल प्रयोगशाला सञ्चालनमा ल्याउन निर्देशन समेत गरिएको डिभिजनका सूचना अधिकारी विवेक कुमार सुवेदीले बताए ।  ‘हामीले दाङका सबै पानी उत्पादन तथा प्रशोधन उद्योगमा अनुगमन गर्‍यौं । ती उद्योगमा प्रयोगशाला नभएपछि तत्काल प्रयोगशाला सञ्चालन गरेर प्रमाणसहित कार्यालयमा जानकारी दिन भनेका छौँ,’ उनले भने ।  उनका अनुसार प्रयोगशाला नहुँदा उपभोक्तामा कस्तो पानी गएको छ, भन्ने कुरा थाहा हुँदैन । जसले गर्दा बेला-बेलामा उपभोक्तामा अशुद्ध पानी समेत जाने गरेको भन्दै यसलाई तत्काल सञ्चालनमा ल्याउन भनेको सूचना अधिकारी सुवेदीले बताए ।  प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ अनुसार प्रयोगशालाको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । यदि प्रयोगशाला नराखेको सन्दर्भमा प्रत्येक महिनामा एक पटक प्रशोधित तथा अप्रशोधित पानीको भौतिक तथा रासायनिक विश्लेषण मान्यता प्राप्त प्रयोगशालाबाट गराउनुपर्ने कुरा उल्लेख छ । तर, यो कुरामा पानी उद्योगले ख्याल नगरेको उनको भनाइ छ । उद्योगहरूले 'आरो मेसिन’बाट पानी प्रशोधन गरेर सिधै बजार पठाउने गरेका छन् । तर, मेसिनमा केही समस्या आएमा त्यो पानी शुद्ध छ की छैन भनेर प्रयोगशालामा मात्रै परीक्षण गरेर बजार पठाउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन । जिल्लामा हाल १२ वटा पानी उद्योग सञ्चालनमा छन् । तीमध्ये उपभोक्तामा दूषित पानी गएपछि तुलसीपुर-९ स्थित भद्रकाली ड्रिङ्किङ वाटर (कुबेर जल) ले भने प्रयोगशाला सञ्चालनमा ल्याएको सूचना अधिकारी सुवेदीले बताए ।  अन्यले भने अझै पनि सञ्चालनमा ल्याएका छैनन् । ती सबै उद्योगलाई प्रयोगशालाको व्यवस्था गर्न लिखित निर्देशन गरिएको उनको भनाइ छ । जिल्लामा २० वटा पानी उद्योग दर्ता भए पनि सञ्चालनमा भने १२ वटा मात्रै छन् । 

नर्भिक अस्पतालको क्याफेमा भेटियो लेबल नभएको खाद्य सामग्री, सरसफाइमा कमजोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ । बिहीबार कामपाको उपप्रमुख एवं अनुगमन संयोजक सुनिता डङ्गोलले थापाथली स्थित प्रसूतिगृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य वस्तुका नमूना सङ्कलन तथा परीक्षण कार्यको शुभारम्भ गरेकी हुन् । त्यसक्रममा संयुक्त अनुगमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमुनाको स्थलगत परीक्षण विश्लेषण गरेको थियो । घुम्ती प्रयोगशालाबाट हुने कामका विषयमा जानकारी लिँदै उपप्रमुख डङ्गोलले, खाद्य स्वच्छताबाट उपभोक्ता अधिकार सुरक्षित गराउन घुम्ती प्रयोगशालाबाट तथ्यमा आधारित विवरण प्राप्त हुने बताइन् । यसबाट प्राप्त हुने नतिजाका विषयमा कुरा गर्दै उनले भनिन्, ‘स्वच्छ खाद्य व्यवसायका लागि वैज्ञानिक कार्यक्रम तर्जुमा गर्न घुम्ती प्रयोगशालाबाट महत्त्वपूर्ण आधार निर्माण हुनेछ ।’  कामपाको सहकार्यबाट गुणात्मक नतिजा प्राप्त हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालको अपेक्षा गरे । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको चमेना गृह (सुनिल क्यान्टिन), स्टाफ क्यान्टिन (मनकामना माई क्यान्टिन), अस्पतालको निःशुल्क खाजा, सुप तथा अन्य बिरामीका लागि तयार गर्ने भान्छा र नर्भिक अस्पतालको क्याफे केयर प्रालिको अनुगमन निरीक्षण गरिएको हो । अनुगमनका क्रममा सुनिल क्यान्टिन र मनकामना क्यान्टिनबाट दूध, पानी र खाने तेलको स्थलगत नमूना सङ्कलन र परीक्षण गरियो । घुम्ती प्रयोगशालाको परीक्षणबाट यी खाद्यवस्तुको गुणस्तर मापदण्ड अनुसारको पाइएको छ । यस्तै क्यान्टिनबाट लिइएको मःमसँग खाने अचारको नमूना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना ‘रिफरेन्स’ प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।  नर्भिक अस्पतालको क्याफे केयरबाट नमूना लिइएको क्रिम दुनटको नमूना पनि ‘रिफरेन्स’ प्रयोगशालामा पठाइएको छ । कामपाका ‘फुड टेक्नोलोजिष्ट’ भारती अधिकारीका अनुसार स्त्रीरोग अस्पतालको चमेना गृहमा मासु तथा मासु जन्य पदार्थ र तरकारी तथा सागसब्जीसँगै राखिएको पाइएको थियो । ग्यास चुलो, रेफ्रिजरेटर फोहर अवस्थामा भेटिएको र व्यक्तिगत सरसफाइमा कमजोर देखिएको उनले जानकारी दिइन् । उनका अनुसार लेबल नभएको खाद्य सामग्रीको प्रयोग भेटिएको र ‘सिन्थेटिक’ रङको अनुचित प्रयोग भेटिएको थियो ।

वायु प्रदूषणले संवैधानिक अधिकार हनन्, देखिन्छन् यस्ता समस्या

प्रगति ढकाल काठमाडौं । वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्यान्हसम्ममा पनि पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो ।  प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरण विज्ञ तथा चिकित्सकले विशेष चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकार वालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने ? र असर कम गर्ने विषयमा छलफल गरेका थिए । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०-५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू–बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घ रोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए ।  विपद् व्यवस्थापन तथा जलवायु विद् डा.धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा बर्षा हुन पनि नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको तहीँ थुप्रिएर पनि वायु प्रदूषण बढिरहेको बताए ।  ‘यो समयमा तापक्रम बढ्दै गएको छ, कृषि वस्तु बाल्ने, वन डढेलो, पानी नपर्दा सडकको धुवाँधुलो वातावरणमा गएर मिस्सिनु, पश्चिमी वायु कमजोर हुँदा पानी पर्न सकेन । पानी परेको भए वायुमण्डलमा थुप्रिएको प्रदूषणमा जमिनमा खस्थ्यो र प्रदूषण हट्थ्यो,’ उनले भन, ‘तसर्थ जलवायु परिवर्तनले पारेको असरका कारण पनि मौसमी अवस्थामा परिवर्तन आउने, वर्षा हुन नसक्दा सुक्खा बढ्ने तथा आगलागी बढ्ने, वायुमा रहेको प्रदूषण हट्न नसकी प्रदूषण बढाउँछ ।’ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसम विद् प्रतिभा मानन्धरले भने यो साता नै वर्षाको सम्भावना रहे पनि मौसम धुम्म नै रहने बताए ।  ‘बिहीबारदेखि हल्का हावा चल्ने सम्भावना छ । तर प्रदूषण हटाउने किसिमको हावा चल्दैन । पानी भने अर्को साता पर्ने सम्भावना पनि देखिन्छ । तर महाशाखाले पूर्वानुमान मात्र गर्ने भएकाले लामो समयमा पूर्वानुमान नमिल्न पनि सक्छ । किनकि त्यो बेलासम्ममा परिवर्तन हुनसक्छ,’ उनले भने । मानन्धरले वर्षा नहुँदा वातावरणीय प्रदूषण बढ्नुका साथै  भिजिबिलिटी (पारदर्शिता) कम भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको बताए । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चार वर्षयता हिउँदे वर्षा कम भएको प्रिमनसुन लागिसक्दा पनि राम्रोसँग वर्षा हुन नसक्नु, वन डढेलो तथा अन्य आगलागीका घटना बढ्नु, वातावरणमैत्री पूर्वाधार निर्माण हुन नसक्नु लगायत कारण प्रदूषण बढेको छ । ‘काठमाडौं कचौरा आकारमा पनि छ । पानी नपर्दा सतहमा रहेको प्रदूषण तल खस्न पाउँदैन र हावा पनि चलेको छैन । जसले गर्दा प्रदूषण उपत्यकामा नै थुप्रिएर बसेको छ,’ उनले भने ।  जेठसम्म वायु प्रदूषण उच्च  विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ ।  विभागले वायु प्रदूषणको समयमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।  डढेलोको कारण प्रदूषण  डढेलो विद् सुन्दर शर्माले यस वर्ष पनि हिउँदमा कम पानी पर्नु तथा प्रिमनसुन सुरु भएपछि पनि वर्षा हुन नसक्दा डढेलोको घटना बढेको र यसले वातावरणीय प्रदूषण बढाइरहेको बताए ।  ‘बुधबार मात्र २५३ स्थानमा डढेलो लागेको छ । मुलुक भर डढेलोको जोखिम रहे पनि विशेषगरी पर्सा, मकवानपुर, चितवन, बारा, उदयपुरलगायत ४५ जिल्लामा डढेलो बढी लागेको देखिन्छ । हामीसँग डढेलो नियन्त्रणका लागि पर्याप्त साधन नहुनु, युवाहरू नहुँदा आगो नियन्त्रण गर्ने जनशक्तिको अभावले अझै चुनौती छ । डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि नियन्त्रण हुँदैन,’ उनले भने ।  मुटुरोगीलाई बढी असर पछिल्लो समय बढिरहेको वायु प्रदूषणका कारण विशेषगरी मुटुरोगीलाई बढी असर गर्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउँछन्, मुटुरोगी विशेषज्ञ डा रञ्जित शर्मा ।  ‘मुटुरोगीलाई प्रदूषणको समयमा श्वासप्रश्वासमा बढी समस्या हुने, हृदय घात हुनसक्ने, अनियन्त्रित रक्तचाप हुने, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगीले अझै सतर्कता अपनाउनुपर्छ,’ उनले भने, ‘प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा प्रदूषण बढी हुने भएकाले विशेषगरी मुटुरोग भएकाहरू घरबाहिर निस्कँदा ख्याल गर्नुपर्छ, आवश्यक पर्दा मात्र निस्किनुपर्छ । माक्सको प्रयोग गर्नुपर्छ ।’ आँखा समस्या तिलगङ्गा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा मुना कुँवरले प्रदूषित वायुमा हुने ब्याक्टेरिया वा भाइरसले आँखामा सङ्क्रमण गर्न सक्ने र जसले कन्जक्टिभाइटिस (आँखा पाक्ने रोग) जस्ता समस्या निम्त्याउन सक्ने र हावामा रहेका प्रदूषक तत्वहरूले आँसु बनाउने ग्रन्थिलाई असर गरी आँखा चिलाउने, पोल्ने र रातो हुने समस्या आउने भन्दै सतर्कता अपनाउन आग्रह गरे ।  ‘अहिलेको प्रदूषणले आँखा चिलाउने वा सुक्खा हुने हुँदा दृष्टि धमिलो देखिने समस्या देखिएको छ । प्रदूषणले आँखा चिलाउने, सुन्निने र अत्यधिक पानी बग्ने एलर्जीको प्रतिक्रिया निम्त्याउन सक्छ । यहाँ आउने बिरामी पनि आँखा पोल्यो भन्नुहुन्छ,’ उनले भने, ‘प्रदूषण बढी भएका ठाउँमा चस्मा वा सन ग्लास लगाउने, आँखालाई बारम्बार सफा पानीले धुने, प्रदूषण प्रभावित क्षेत्रमा कम समय बिताउने, सकेसम्म घर बाहिर ननिस्कने, आँखा सुक्खा भएमा औषधि प्रयोग गर्ने, पोषण युक्त खाना खाने र यदि समस्या बढ्दै गएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।’  छालामा पनि समस्या  छाला रोग विशेषज्ञ डा प्रज्ज्वल पुडासैनीले प्रदूषणका कारण छालामा पनि विभिन्न प्रकारका समस्या निम्तिन सक्ने भन्दै यस्तो बेला उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिए ।  ‘प्रदूषण बढेको बेलामा केमिकल र धुलोका कणले छालामा एलर्जी गराउन सक्छ । जसले गर्दा छाला रातो हुने, पोल्ने वा दाग आउन सक्छन् । डन्डिफोर पनि आउन सक्छ । छालाको चमक हराउन सक्छ । प्रदूषणले छालाको रोग प्रतिरोधी क्षमता कम गर्न सक्छ, जसले गर्दा विभिन्न प्रकारका सङ्क्रमण हुनसक्छ । छाला सुक्खा हुने र चिलाउने समस्या आउनुका साथै छालाको क्यान्सरसमेत हुनसक्छ,’ उनले भने ।  यसैगरी पुडासैनीले वायु प्रदूषणका कारण घाम तथा हावामा धेरै समय बस्ने वा काम गर्ने व्यक्तिको छालामा बढी असर गर्ने र प्रदूषणका कारण कम उमेरमा नै छाला चाउरिएर बुढ्यौली पनजस्तो देखिने बताए ।  ‘छालालाई प्रदूषणबाट जोगाउन नियमित रूपमा सफा पानीले अनुहार सफा गर्ने, सकेसम्म घर बाहिर ननिस्कने, निस्किनै पर्दा सन क्रिम लगाउने, घर बाहिर निस्कँदा मास्क लगाउने र प्रदूषणबाट छाला जोगाउन उचित स्याहार आवश्यक छ । यदि छालासम्बन्धी समस्या लामो समयसम्म रहन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ,’ उनले भने ।  गर्भवती प्रभावित काठमाडौं नयाँबानेश्वर स्थित निजामती कर्मचारी अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा जितेन्द्र परियारले वायु प्रदूषणका कारण सामान्य मानिसलाई भन्दा बढी गर्भवतीलाई असर गर्ने बताउँछन् ।  ‘गर्भवतीले धूमपान गर्न हुँदैन, जसरी धूमपानले बच्चाको वृत्ति विकासलाई असर गर्छ, त्यसरी नै प्रदूषणका कारण पनि गर्भमा रहेको बच्चालाई असर गर्छ । प्रदूषण न्यूनीकरणका लागि राज्यले नीति नै बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यस्तो बेलामा सकेसम्म गर्भवतीहरू घर बाहिर ननिस्कने, निस्कन पर्दा माक्सको प्रयोग गर्नुपर्छ,’ उनले भने ।  जनचेतनासहित आपत्काल घोषणा गर्न सुझाव वातावरणविद भूषण तुलाधरले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताए ।  ‘अहिले कतिपय बेलामा वायु प्रदूषणको अवस्था तीन सय एक्युआई कटेको छ । तीन सय कट्ने बित्तिकै विपद्को अवस्था घोषणा गर्नुपर्ने मापदण्ड छ । अहिले प्रदूषणको अवस्था घटबढ हुँदा घोषणा गर्नु पर्दैन । तर प्रदूषण बढ्दो छ । कसरी सतर्कता अपनाउने ? व्यापक जनचेतनासहित प्रदूषण बढिरहेमा आपत्कालीन अवस्था पनि घोषणा गर्नुपर्छ,’ उनले भने ।  स्वच्छ वातावरणको हक खोइ ? वातावरण कानुनका विज्ञसमेत रहनुभएका वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले संवैधानिक सर्वोच्चता भएका मुलुकमा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक कार्यान्वयन नहुँदा मानवअधिकार नै हनन भएको भन्दै टिप्पणी गरे ।  ‘यतिबेला एकदमै प्रदूषण बढिरहेको छ । संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिए पनि नागरिकले मौलिक हकको प्रत्याभूति गर्न पाइरहेका छैनन्,’ उनले भने, ‘अनि संविधानमा व्यवस्था भएको मौलिक हक राज्य सञ्चालकका लागि मात्र हो त ? नागरिकले खै प्रत्याभूति गर्न पाएका ? अब न्यायिक निष्पक्षतामा अनुसन्धान हुनुपर्दछ ।’ नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक प्रत्याभूति गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (१) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (२) मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षति बापत पीडितलाई प्रदूषणबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चित गरिएको छ । धारा ३० को उपधारा (३) मा राष्ट्रको विकाससम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यस धाराले बाधा पुर्‍याएको मानिने छैन भनी उल्लेख छ । संविधानको भाग ४ मा उल्लेखसित राज्यका नीतिमा वातावरणीय सन्तुलन, पर्यावरणीय दिगो विकास, प्राकृतिक प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्न पूर्वतयारी, उद्धार, राहत एवं पुनःस्थापना, प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोग, वातावरण अनुकूल विकास, विकासमा सहभागिता अभिवृद्धिलगायत व्यवस्था समेटिएको छ । नीतिगत व्यवस्था कस्तो छ ? काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्य योजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्य योजनामा उल्लेख छ ।  राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्न जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारको रणनीति छ । प्रमुख सहर, औद्योगिक प्रतिष्ठान लगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिने रणनीतिमा उल्लेख छ । ‘औद्योगिक तथा अन्य क्षेत्रबाट निस्कने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिने छ । उद्योग र अन्य व्यवसायहरूबाट निष्काशन हुने प्रदूषण युक्त धुवा, धुलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइने छ,’ नीतिमा उल्लेख छ, ‘घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्न शौर्य चुलो, विद्युतीय चुलो, बायोग्यास, सुधारिएको चुलो, चिम्नीजस्ता उपकरणको प्रवर्द्धन गरिने छ । ऊर्जा किफायत भवन निर्माणमा जोड दिइने छ ।’ काठमाडौं उपत्यकाको वायु साँच्चिकै हानि कारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेको सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदन आइरहेका छन् । सार्वजनिक ‘इन्भारोमेन्ट परफर्मेन्स इन्डेक्स २०१८’ को १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ । वातावरण विभागले उपत्यकालाई लक्षित गरी धुलिखेल, पुल्चोक, रत्नपार्क, त्रिवि कीर्तिपुर, सैँवु, सैनिक विद्यालय भक्तपुरमा प्रदूषण मापन केन्द्र स्थापना गरेको छ । सेन्ट्रल सिस्टममा डाटा जाने र सर्वसाधारणले प्रदूषण अवस्थाको जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ । दीर्घकालीन रणनीति आवश्यक वातावरणविद भूषण तुलाधरले बर्सेनि हिउँद र प्रिमनसुनको समयमा वातावरणीय प्रदूषण बढिरहेको भन्दै न्यूनीकरणका लागि मुलुक भर प्रदूषण न्यूनीकरणसम्बन्धी दीर्घकालीन रणनीति आवश्यक रहेको र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।  ‘अहिले प्रदूषण बढिरहेको बेला तत्काल के गर्ने भनेर सरकार तयार हुनुपर्छ । डढेलो नियन्त्रण गर्ने, खुला ठाउँमा आगो लगाउन नदिने, जनचेतना अभिवृद्धि, धुवाँ निकाल्ने सवारीसाधनलाई कडाइका साथ कारबाही गर्ने लगायत काम गर्नुपर्छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा चाहिँ विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने, सुधारिएको चुलोलाई प्राथमिकता दिने गर्नुपर्छ । वायु गुणस्तर कार्ययोजना मुलुक भर तत्काल बनाउनुपर्छ ।’  राष्ट्रिय जनगणना २०७८ मा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्ने गरेको देखाउँछ ।  ‘घरभित्रको प्रदूषणले महिला तथा बालबालिकालाई अझै बढी प्रभाव पार्छ,’ तुलाधरले भने, ‘नेपालमा वार्षिक ४८ हजार ५०० जनाको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।’ प्रदूषण नगर्न निर्देशन  वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई अबदेखि प्रदूषण नगर्न निर्देशन दिए पनि कडाइका साथ कारबाही भने गर्न नसकिएको बताए ।  ‘जसले प्रदूषण गर्नुभएको छ, प्रदूषण नगर्नका लागि हामीले निर्देशन दिएर सुझाव दिएका छौँ । प्रदूषणलाई कारबाही भने गर्न सकिरहेका छैनौँ । वातावरणीय प्रदूषण न्यूनीकरणका लागि निर्देशन नमान्नेलाई कारबाही पनि गर्छौँ,’ उनले भने ।  महानिर्देशक सुवेदीका अनुसार प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराइनेलाई निर्देशन गरेर सुझाव दिइएको छ । विभागले डढेलो लगाउने कार्य सार्वजनिक अपराध भएको हुँदा यस्ता कार्य नगर्न, घरायसी ठोस तथा प्लाष्टिक जन्य फोहर र कृषि जन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न सुझाव दिएको छ ।

सहकारीमा दुई कार्यकालभन्दा बढी सञ्चालक बन्न नपाइने, सीईओलाई पनि कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाहरुका सञ्चालकका लागि कडाइ गरेको छ । राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन नसक्ने व्यवस्था गरेको हो  कुनै पनि सदस्य एकै अवधिमा एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।  यस्तै, सञ्चालक समितिमा अध्यक्षसहित कम्तिमा पाँच र बढीमा नौ जना जना सदस्य रहन सक्ने, उपलब्ध भएसम्म समितिमा कम्तिमा तेत्तीस प्रतिशत महिला सदस्यको प्रतिनिधित्व निश्चित गर्नुपर्ने र परिवारको एकभन्दा वढी ब्यक्ति एकै अवधिमा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको पदाधिकारीको रुपमा निर्वाचित हुन नपाउने व्यवस्था गरेको छ ।  सहकारीको सञ्चालक समितिमा निर्वाचित हुनका लागि प्रचलित कानुनबमोजिम कालोसूचीमा नपरेको वा कालोसूचीमा परेको भएमा फुकुवा भएको मितिले तीन वर्ष पूरा भएको हुनु पर्ने र सञ्चालकले आफू जमानी बसी कुनै पनि ऋण प्रवाह गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।  सञ्चालक कालो सूचीमा परेमा र आफँैले वा परिवारका सदस्यले लिएको ऋण र जमानी दिएको ऋण खराब वर्गमा वर्गीकृत भएमा त्यस्तो सञ्चालक स्वतः पदमुक्त हुनेछ । तर समस्याग्रस्त संस्थाको हकमा प्रचलित व्यवस्थाबमोजिम हुनेछ । सञ्चालकले आफ्नो पदको दुरुपयोग गरी कुनै प्रकारको व्यक्तिगत फाइदा हुने वा संस्थालाई हानी हुने क्रयाकलापहरुमा संलग्न हुन नहुने व्यवस्था गरेको छ ।  यस्तो छ सीईओका लागि व्यवस्था राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लागि पनि विभिन्न नीतिगत व्यवस्था गरेको छ । सहकारी संस्थाबाट आफूले वा एकाघर परिवारको नाममा ऋण नलिएको, फौजदारी अभियोगमा कारवाही नभएको, कालोसूचीमा नपरेको वा कालोसूचीबाट फुकुवा भएको तीन वर्ष पूरा भएको, अन्य सहकारी संस्थाहरुमा संलग्न नभएको र राजनैतिक दलको सदस्य नभएको व्यक्ति सहकारीको सीईओ हुन पाउने व्यवस्था गरेको छ । यस्तै, २१ वर्ष उमेर पूरा भएको, ठूला कारोवार गर्ने सहकारी संस्था बाहेकको हकमा न्यूनतम शैक्षिक योग्यता दश जोड दुई वा प्रवीणता प्रमाणपत्र तह र ठुलो कारोबार गर्ने संस्थाहरुको हकमा स्नातक तह उत्तीर्ण भएको हुनु पर्ने, सञ्चालकको एकाघर परिवारको व्यक्ति कार्यकारी प्रमुख÷संस्था प्रमुखको रुपमा कार्य गर्न नपाउने र कार्यालय प्रमुखको नियुक्तिसम्बन्धी जानकारी नियमनकारी निकायलाई १५ दिनभित्र दिनु पर्ने व्यवस्था गरेको छ ।