विकासन्युज

बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा प्रिया, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । ‘बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसन’को अध्यक्षमा राजन प्रिया निर्वाचित भएका छन् ।  आइतबार सम्पन्न प्रथम साधारणसभाबाट उपाध्यक्षमा रामकुमार शाही ठकुरी र सीता केसी, सचिवमा यज्ञ प्रसाद पौडेल र कोषाध्यक्षमा जनक कुमार ढकाल निर्वाचित भएका हुन् ।  त्यसैगरी सदस्यमा पियुष गजुरेल, दीपेश योगल श्रेष्ठ, लोमश अधिकारी र सुनिता रेग्मी निर्वाचित भएका हुन् । सोही निर्वाचित कार्यसमितिले उपाध्यक्षमा राजेन्द्र प्रसाछे, सचिवमा निमेष बर्तौला र सदस्यमा आरुषी थापा र विमल पौडेललाई मनोनीत गरेको छ । साधारणसभाले अटोमोवाइल क्षेत्रको विकास, साहसिक पर्यटन तथा महिला सशक्तीकरणमा क्रियाशीलता बढाउनुका साथै बागमती प्रदेशका अर्थ, यातायात, खेलकुद तथा पर्यटन मन्त्रालयमा नीतिगत सुधारका लागि सुझाव तथा माग पेश गर्ने निर्णयसमेत गरेको छ ।

‘अटोमोबाइल्स एशोसियसन’को अध्यक्षमा प्रिया

काठमाडौं । ‘बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसन’को अध्यक्षमा राजन प्रिया निर्वाचित भएका छन् ।  आइतबार सम्पन्न प्रथम साधारणसभाबाट उपाध्यक्षमा रामकुमार शाही ठकुरी र सीता केसी, सचिवमा यज्ञ प्रसाद पौडेल र कोषाध्यक्षमा जनक कुमार ढकाल निर्वाचित भएका हुन् ।  त्यसैगरी सदस्यमा पियुष गजुरेल, दीपेश योगल श्रेष्ठ, लोमश अधिकारी र सुनिता रेग्मी निर्वाचित भएका हुन् । सोही निर्वाचित कार्यसमितिले उपाध्यक्षमा राजेन्द्र प्रसाछे, सचिवमा निमेष बर्तौला र सदस्यमा आरुषी थापा र विमल पौडेललाई मनोनीत गरेको छ । साधारणसभाले अटोमोवाइल क्षेत्रको विकास, साहसिक पर्यटन तथा महिला सशक्तीकरणमा क्रियाशीलता बढाउनुका साथै बागमती प्रदेशका अर्थ, यातायात, खेलकुद तथा पर्यटन मन्त्रालयमा नीतिगत सुधारका लागि सुझाव तथा माग पेश गर्ने निर्णयसमेत गरेको छ ।

९७ वर्षको उमेरमा वरिष्ठ पत्रकार रिसालको निधन, पाटन अस्पतालले शरीर अध्ययन गर्ने

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।  मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए ।  उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यु पश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।  वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।  उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए ।  वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए ।  रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् । 

शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घट्यो, कमिसनमा कुरा नमिल्दा गोदाममै थन्किए

काठमाडौं । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । बिक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताब पुग्ने सम्भावना घटेको हो । कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरे पनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो । निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न बिक्रेता कम आएको आरोप लगाएको छ । सरकारले कक्षा १ र ५ जनक शिक्षालाई छाप्न लगाएको थियो । सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिइ बिक्री गरेको जनक शिक्षाको आरोप छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश कार्यालयमा पाठ्यपुस्तक बिक्री सुरु भएपनि गोदाममै थन्क्याउनु परेको केन्द्रले जनाएको छ । जिल्ला स्थित पुस्तक बिक्रेताले पुस्तक खरिद गर्न नआएका कारण लिमिटेडको गोदाममा पुस्तक थन्किएको प्रदेश प्रमुख भैरव बाबु पन्तले बताए । उनका अनुसार हालसम्म ६६ प्रतिशत पनि पुस्तक बिक्री भएको छैन ।  स्थानीय तहले बिक्रेतालाई रकम दिएर पुस्तक ढुवानी गर्ने गरेको छ । डोल्पामा फागुनमा शैक्षिक सत्र सुरु हुने गर्दछ । त्यहाँ हालसम्म किताब पुग्न सकेको छैन । जनक शिक्षाले पुस्तक बिक्रेतालाई जिल्ला अनुसारको कमिसन उपलब्ध गराउँदै आएको छ । मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्लाले सुर्खेतबाट पुस्तक खरिद गर्दै आएका छन् ।

नेपाल मेडिकल कलेजले तोकिएको भत्ता नदिँदा पीजी चिकित्सक फेरि आन्दोलित

काठमाडौं । नेपाल मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलित बनेका छन् । सरकार र चिकित्सा शिक्षा आयोगबीच भएको सम्झौता अनुसार तोकिएको निर्वाहभत्ता नपाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।  गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजलाई सरकारी आठौं तहको सरकारी मेडिकल अधिकृत सरह ४८ हजार भत्ता दिन लिखित निर्देशन दिएपनि काठमाडौं मेडिकल कलेजले नदिएपछि आन्दोलनमा उत्रनु परेको चिकित्सकहरूले बताएका छन् ।  उनीहरूले सरकारले तोके बमोजिम निर्वाह भत्ता पाउनुपर्नेमा पुरानै तरिकाले भत्ता दिएको भन्दै आपत्ती जनाएका छन् । आवासीय चिकित्सक विष्णु झाले कलेजले सरकारकै निर्णयलाई वेवास्ता गर्दै तलव नदिएको बताए । कलेजले भने आफूलाई कुनै तलब वृद्धिको पत्र कतैबाट प्राप्त नभएको भन्दै दिन अस्वीकार गरेको छ ।  चिकित्सकहरूले भने यो विषयमा सोमबार भोलि चिकित्सा शिक्षा आयोगको कार्यालय घेराउन गर्ने बताएका छन् । ‘कलेजले कुनैपनि पत्र नपाएको बताएको छ, आयोगले हामीले पत्राचार गरिसकेका छौं भनेको छ,’ उनी भन्छन्, ‘यहाँभित्र चलखेल भएको छ, बाहिर निर्णय एउटा आउँछ भित्र कुरा अर्कै आउँछ, हामीलाई सरकारको यस्तो रवैया स्वीकार छैन ।’ शुल्क फिर्ता माग गर्दै आन्दोलन   निजी मेडिकल कलेजले विद्यार्थीहरूको शोषण कसरी गरिरहेका छन् भन्ने अर्को उदाहरण पनि नेपाल मेडिकल कलेजभित्रै देखिन्छ । नेपाल मेडिकल कलेजमा इन्टर्न चिकित्सकहरू आन्दोलित बनेका छन् ।  काठमाडौं विश्वविद्यालय अन्तर्गत २०७५,०७६ मा एमबीबीएस तथा बीडीएस अध्ययन गरेका इन्र्टन चिकित्सकहरूबाट कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नदिएपछि उनीहरू आन्दोलित बनेका हुन् ।  उनीहरूका अनुसार प्रति विद्यार्थीबाट ५ लाख बढी शुल्क कजेजल लिएको छ । लयबाट र्दा कलेजले लिएको शुल्क फिर्ता पाउनुपर्ने भन्दै आन्दोलित बनेका छन् । कलेजले केयु दर्ता शीर्षकमा १५ हजार, काउन्सिल दर्ता ३ हजार, केयु परीक्षा शुल्क ४० हजार, आन्तरिक परीक्षा शुल्क १ लाख ५० हजार ,इन्टर्नसिप शुल्क २ लाख, कम्युनिटी पोस्टिङ तथा  स्किल ल्याब १ लाख ८० हजार तथा सेक्युरिटी डिपोजिट  १  लाख गरी जम्मा ६ लाख ८८ हजार अतिरिक्त शुल्क लिएको  इन्टर्न चिकित्सकको दाबी छ।

स्वास्थ्य बीमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । स्वास्थ्य बीमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ ।  बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक गर्दै  कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताए ।  'स्वास्थ्य बीमा कोषमा बीमितबाट प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने रकम मात्र जम्मा हुने गरेको छ । बोर्डले अन्य स्रोतबाट आम्दानी प्राप्त गर्न सकेको देखिँदैन,' उनले भने, 'चालु आर्थिक वर्षको फागुन मसान्तमा बोर्डमा जम्मा रु एक अर्ब रकम रहेको छभने भुक्तानी दिनुपर्ने रकम १६ अर्ब ४५ करोड छ । यस्तो आम्दानी र खर्च बीचको अन्तर निरन्तर फराकिलो हुँदै गएको छ । चालु आर्थिक वर्षमा बोर्डले जम्मा २६ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको छ तर प्राप्त हुने रकम स्वीकृत बजेटकोे एक तिहाइ मात्र हुने देखिन्छ ।' काफ्लेका अनुसार स्वास्थ्य बिमा कोषमा बढ्दो दायित्व र प्रत्येक वर्ष कोषले घर भाडाबापत दुई करोड ३४ लाख भुक्तानी दिँदै आएको छ । कार्यरत कर्मचारीको तलब भत्ता तथा दर्ता सहयोगी प्रोत्साहन बापत बर्सेनि करोडौं भुक्तानी गर्ने गरेको र जुन निरन्तर बढ्दै गएको उनको भनाइ छ ।  'सेवा प्रदायकलाई भुक्तानी दिने रकम मासिक करिब दुई अर्ब थपिने गर्दछ । अन्य प्रशासनिक खर्च पनि नियमित ढङ्गबाट बढेको देखिन्छ । यसबाट स्वास्थ्य बिमा कोषमा आम्दानी र खर्चबीचको अन्तर निरन्तर बढ्दै गएको छ,' काफ्लेले भने, 'बेरुजु बढ्दो छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखापरीक्षणको अवधिसम्म बोर्डको बेरुजु रु दुई अर्ब ८५ करोड २४ लाख ८९ हजार ४९५ रहेको छ । बोर्डको वार्षिक आन्तरिक आम्दानीको ७५ प्रतिशत बेरुजु देखिनु आफैमा चुनौतीपूर्ण छ । बेरुजु फर्स्यौट गर्नेतर्फ थप मेहनत गर्नुपर्ने देखिन्छ ।” उनले स्वास्थ्य बिमामा प्रतिपरिवारले गर्ने औसत प्रिमियम भुक्तानी रु तीन हजार ८०० रहेको भन्दै स्वास्थ्य बिमाबाट प्रतिपरिवारले लिएको सेवाको औसत भुक्तानी रु आठ हजार ३५० देखिएको बताए । सेवा लिनेको दरमा समानता, कुल सङ्ख्यामा असमानता रहेको काफ्लेको भनाइ छ ।  उनका अनुसार प्रदेशमा रहेका बीमितमध्ये आर्थिक वर्ष २०७८÷७९ मा कोशी र बाग्मती प्रदेशमा स्वास्थ्य सेवा लिने ४२ प्रतिशत, गण्डकीमा ३६ प्रतिशत, लुम्बिनीमा ३४ प्रतिशत थिए भने मधेसमा २६ प्रतिशत, कर्णालीमा ३४ प्रतिशत र सुदूरपश्चिममा २५ प्रतिशत रहेका थिए । उक्त दर आर्थिक वर्ष २०८०÷८१ मा क्रमशः कोशीमा ४६, बाग्मती र गण्डकीमा ४४, लुम्बिनीमा ३९, मधेसमा २९, कर्णालीमा ५४ र सुदूरपश्चिममा ४० प्रतिशत रहेको छ । काफ्लले आर्थिक तथा सामाजिक दृष्टिमा पछाडि परेका प्रदेशहरूमा बिमामा सहभागिता निकै कम रहेकाले त्यहाँ सेवा लिनेको सङ्ख्या पनि निकै कम र यसैगरी उक्त प्रदेशका बहुसङ्ख्यक नागरिक स्वास्थ्य बिमामा समेटिन बाँकी रहेको बताए । उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ जिल्लाका ७४९ वटा स्थानीय तहमा विस्तार भएको छ ।  'कार्यक्रम लागू भएदेखि हालसम्म कुल ८९ लाख ५२ हजार १३५ जना व्यक्ति स्वास्थ्य बिमामा आबद्ध भएका छन् । आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा क्रियाशील बीमितको सङ्ख्या ५७ लाख ५३ हजार ८१७ रहेको छ जुन कुल जनसङ्ख्याको २० प्रतिशत हो,' उनले भने, 'जसमध्ये सामान्य क्रियाशील बीमित ४३ लाख दुई हजार ७०९ अर्थात् कुल बीमितमध्ये ७५ प्रतिशत र क्रियाशील लक्षित बीमित १४ लाख ५१ हजार १०८ अर्थात् २५ प्रतिशत रहेका छन् । क्रियाशील बीमितको सङ्ख्या विश्लेषण गर्दा अझै पनि बहुसङ्ख्यक अर्थात् ८० प्रतिशत नागरिकलाई समेट्न थप मेहनत गर्नुपर्ने देखिन्छ ।'

लोमस फर्मास्युटिकल्स र हिमाल डेन्टल अस्पतालबीच साझेदारी, डेन्टल सेवाको गुणस्तर वृद्धि गर्ने

काठमाडौं । नेपालको औषधि उत्पादन तथा वितरणमा सक्रिय लोमस फर्मास्युटिकल्स र डेन्टल सेवा क्षेत्रको संस्था हिमाल डेन्टल अस्पतालबीच रणनीतिक सहकार्यको औपचारिक समझदारी भएको छ । समझदारीअनुसार हिमाल डेन्टल अस्पतालले अब आफ्ना अस्पताल र सेवा केन्द्रहरूमा लोमस फर्मास्युटिकल्सका सम्पूर्ण डेन्टल उत्पादनहरू प्रयोग गर्नेछ । यसका साथै, लोमस फर्मास्युटिकल्सले हिमाल डेन्टलले आयोजना गर्ने शैक्षिक कार्यक्रम, गोष्ठी, सेमिनार र जनचेतनामूलक अभियानहरूमा सक्रिय सहयोग पुर्‍याउनेछ । दुवै संस्थाले यो सहकार्यलाई दीर्घकालीन र आपसी लाभदायक साझेदारीको रूपमा व्याख्या गरेका छन्। सहकार्यले नेपाली डेन्टल सेवा तथा शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिमा टेवा पुर्‍याउने विश्वास गरिएको छ । समझदारीपत्रमा हस्ताक्षर हिमाल डेन्टल अस्पतालका प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्ट र लोमस फर्मास्युटिकल्सका निर्देशक तथा युवा उद्यमी प्रणव जंग पाण्डेले गरेका थिए । डा. भट्टले भने, 'हामी सधैं गुणस्तरीय सेवा र नवीनतम प्रविधिमा विश्वास गर्छौं । यो सहकार्यले हाम्रो सेवामा थप विश्वास र प्रभावकारिता ल्याउनेछ ।' त्यस्तै, निर्देशक पाण्डेले भने, 'स्वास्थ्य सेवामा गुणस्तरीय सामग्रीको पहुँच अत्यावश्यक हुन्छ । हिमाल डेन्टलजस्तो संस्थासँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं । यसलाई दीर्घकालीन साझेदारीको रूपमा अगाडि बढाउँछौं ।' दुवै संस्थाले भविष्यमा संयुक्त रूपमा विविध कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन् । यो सहकार्य स्वास्थ्य सेवा क्षेत्रमा निजी क्षेत्रबीचको समन्वयको उदाहरणीय मोडेल बन्ने अपेक्षा गरिएको छ ।

गण्डकीमा प्रभु बैंकको उद्यम र उपभोक्तालाई लक्षित केन्द्रको उद्घाटन

काठमाडौं । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी सेवा केन्द्रको स्थापना गरेको छ । गण्डकी प्रदेशमा स्थापित उक्त केन्द्रको औपचारिक उद्घाटन बैंकका प्रदेश प्रमुख अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि रानाले बैंकको यो नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्‍याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए । बैंकको यो केन्द्रमार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । केन्द्रले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा उपलब्ध गराउनेछ । त्यस्तै, उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरू पूरा गर्न विभिन्न प्रकारका ऋण योजनाहरू केन्द्रबाट उपलब्ध हुनेछन् । कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । यसले प्रदेशमा आर्थिक गतिशीलता र उद्यमको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । यसमा व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण, वित्तीय परामर्श सेवा र द्रुत तथा प्रभावकारी कागजी प्रक्रियाजस्ता सेवाहरू रहेको बैंकले जनाएको छ । इच्छुक ग्राहकहरूले प्रभु बैंकको गण्डकी प्रदेश कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् ।