विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकको एक शाखा एक एटीएम, सञ्चालन गर्दै एकैपटक ५० वटा मेसिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक ५० वटा एटीएम मेसिन सञ्चालनमा ल्याउने भएको छ । बैंकले काठमाडौं उपत्यका र उपत्यकाबाहिरका शाखा कार्यालयमा ५० वटा एटीएम मेसिन सञ्चालनमा ल्याउने भएको हो । बैंकका अनुसार उक्त एटीएम मेसिन आपूर्ति तथा जडानका लागि २ वटा कम्पनी छनोट भएका छन् । बैंकका अनुसार ललितपुरको ज्वागलस्थित एलाइट सोलुसन प्रालि र काठमाडौंको गैरीधारास्थित एनसीएटी सिस्टम एण्ड सोलुसन प्रालिले एटीएम मेसिन आपूर्ति तथा जडानको जिम्मेवारी पाएका हुन् । एलाइट सोलुसनले ४० वटा (फ्रन्ट लोडिङ) मेसिन र एनसीएटी सिस्टम एण्ड सोलुसनले १० वटा एटीएम मेसिन (रियर लोडिङ) आपूर्तिको कार्य गर्नेछ । इलाइटले ७ करोड ३१ लाख २४ हजार ९६७ रुपैयाँमा ४० वटा मेसिन आपूर्ति तथा जडान गर्नेछ भने एनसीएटी सिस्टमले १ करोड ९२ लाख ४१ हजार ४८२ रुपैयाँमा १० वटा एटीएम जडान गर्नेछ ।  बैंकका अनुसार दुइटा कम्पनीले ३ वर्षसम्म सीएएमसीको कार्य समेत गर्नेछन् । बैंकका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार बैंकले ५० वटा मेसिन जडान गर्न लागेको जानकारी दिए । बैंकको एक शाखा एक एटीएम मेसिन रणनीति अनुरूप ५० वटा मेसिनका लागि २ वटा कम्पनी छनोट भएको उनले बताए ।  ‘बैंकको एक शाखा एक एटीएम मेसिन रणनीति छ । बैंकको शाखा विस्तार अन्तर्गत ठाउँठाउँमा एटीएम मेसिन जडान गर्न लागिएको हो । यसबाहेक अन्य ठाउँमा पनि एटीएम मेसिन चाहिन्छन्,’ उनले भने, ‘एटीएम मेसिन दुर्गम देखि सुगम सम्म पुर्याउने रणनीति छ । त्यसबाहेक व्यवसाय हेरेर कुनै शाखामा २/४ वटा एटीएम मेसिन पनि दिनुपर्ने हुन सक्छ । जस्तो विशाल बजार शाखा मातहत ४/५ वटा छन् । केन्द्रीय कार्यालय अगाडि पनि ४ वटा छन् ।’  पछिल्लो समय विभिन्न सरकारी निकाय तथा कार्यालयबाट एटीएम मेसिनको माग बढिरहेको उनले बताए । सोही अनुसार बैंकले एटीएम मेसिनको संख्या पनि थपिरहेको उनको भनाइ छ । ‘आवश्यकता अनुसार शाखा कार्यालयमा मेसिन सञ्चालन हुन्छ । यो बजेटमा नै छुट्याएको हो । माग अनुसार उपत्यका भित्र र बाहिर दुर्गमदेखि सुगम, पहाडदेखि तराईसम्म मेसिन जडान गरिनेछ,’ उनले भने । 

कमलपोखरीलाई उज्यालो, स्वच्छ र सौन्दर्यपूर्ण बनाउँछौं : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कमलपोखरीलाई सौन्दर्य र सुरक्षासहित आधुनिक तर पारम्परिक शैलीमा पुनर्जीवन दिने काम तीव्र गतिमा अघि बढेको छ । उक्त योजनाको दोस्रो चरणको कामको अनुगमन गर्दै उपप्रमुख सुनिता डंगोलले रातको उज्यालो व्यवस्था, वर्षाको पानी पुनःभरण प्रणाली र आकर्षक सौन्दर्यीकरणमा जोड दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी हुन् । उनले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका अधिकारीहरूलाई कार्य योजनाअनुसार जिम्मेवारी पूरा गर्न आग्रह गरेकी छन् । पोखरी वरपर राखिएका चैत्य र मूर्तिहरूमा आगन्तुकले क्षति पुर्‍याएको देखेपछि उपप्रमुख डंगोलले सिसिटिभी क्यामरा जडान गरी निगरानी प्रणाली सुदृढ पार्न निर्देशन दिएकी हुन् । अनुगमनमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले पोखरीको विकासमा जनअपेक्षाअनुरूप जनमैत्री संरचना निर्माणमा ध्यान दिइएको जानकारी दिए । कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसलाई परम्परागत, सांस्कृतिक तथा पर्यटकीय पोखरीका रूपमा विकास गर्ने उद्देश्यअनुसार पुनःनिर्माणको काम भइरहेको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यसको संरचना निर्माण गरिएको थियो । हाल दोस्रो चरणअन्तर्गत सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यो दोस्रो चरणको योजना ३ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको हो । योजना कार्यादेश २०८१ सालको भदौ १९ गते दिइएको हो र कार्य सम्पन्नको समय सीमा २०८२ साउन १५ गतेसम्म तोकिएको छ । यो योजना सार्वजनिक निर्माण विभागमार्फत कार्यान्वयनमा आएको हो । पोखरीको वरिपरि रहेको क्षेत्र र सडक किनारका लागि ट्याक्टिकल अर्बनिजम अन्तर्गत पनि काम भइरहेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले साविकको प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रमा पार्क निर्माण गरिरहेको छ । यसमा बस बिसौनी, पौधारोपण, फूलबारी र विश्रामस्थल निर्माण भइरहेको छ । फुटपाथ र सडक किनारमा फल्चा शैलीमा परम्परागत बस्ने ठाउँ, पोखरी र सडकको दृश्यावलोकन गर्न मिल्ने स्थानहरू निर्माण हुँदैछन् । आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार चालु आर्थिक वर्षभित्र ट्याक्टिकल अर्बनिजमअन्तर्गत ३२ स्थानमा करिब २ करोड रुपैयाँको लागतमा काम सम्पन्न गरिने लक्ष्य रहेको छ । यसअन्तर्गत कमलपोखरीका चारै कुनामा कमल रोप्ने र माछा राख्ने योजना समेत रहेको छ, जसले पोखरीको जैविक तथा सौन्दर्य पक्षमा थप योगदान दिनेछ । पोखरी वरिपरि साँझ र विहान हिँड्न सकिने वातावरण बनाउने प्रयास भइरहेको छ। यसका लागि वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग पत्राचार गरिसकेको छ । वडा नं. १ का सचिव सर्वज्ञराज पौडेलले पोखरीको सौन्दर्य र सुरक्षाका लागि नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न प्रयास भइरहेको जानकारी दिए । कमलपोखरीको वरिपरि पैदल मार्ग, चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, तथा उद्यान रहेका छन् । पोखरीका चार ओटै कुनामा संस्कृति झल्किने आकर्षक मण्डपहरू छन् । मुलढोकासँगै पूर्वतर्फ एक ठूलो मण्डप रहेको छ, र सम्पूर्ण मिलाएर ५ वटा मण्डप निर्माण गरिएको छ । पोखरी छिर्ने गेट परम्परागत नेपाली शैलीको बनाइएको छ । पुनःनिर्माणका क्रममा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिएको छ, जसले सम्पदाको मौलिकता झल्काउँछ । कमलपोखरीको पुनर्जीवनले काठमाडौंको ऐतिहासिक सम्पदा संरक्षण, पर्यटकीय प्रवर्द्धन र जनमैत्री सार्वजनिक स्थलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

मेहनत र इमान्दारिताबाटै देश निर्माण हुन्छ : डा प्रकाशशरण महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले देश निर्माणका लागि सबै तह र क्षेत्रका व्यक्तिहरूबाट मेहनत र इमान्दारिता अपरिहार्य रहेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसद महतले राजनीतिक वृत्तदेखि निजी क्षेत्रसम्म इमान्दारिता र निष्ठापूर्वक काम नगरी देश अघि बढ्न नसक्ने स्पष्ट पारे । उनले भने, 'जहाँ हामी काम गर्छौं, त्यो हाम्रो जिम्मेवारी हो भन्ने सोच्न जरुरी छ । मेहनत र खबरदारी दुबै गर्नुपर्छ ।' सांसद महतले सत्तामा बसे पनि वा नबसे पनि नेपाली काँग्रेसले सधैं सही कुरा समर्थन र गलतको विरोध गर्ने नीति अख्तियार गर्दै आएको उल्लेख गरे । उनले नयाँ राजनीतिक दलहरू सजिलो अवस्थामा मात्र अगाडि आउने तर असहज अवस्थामा पन्छिने प्रवृत्ति देखिएको बताउँदै त्यसले जनताको अधिकारको संरक्षण गर्न नसक्ने धारणा राखे । 'कमी कमजोरी जो जहाँ भए पनि हुन्छ,' उनले भने, 'तर लोकतन्त्रको सौन्दर्यता भनेकै जनताको खबरदारी हो। जनताको आवाज नसुनेको अवस्थामा पराजित हुनुपर्छ ।' कार्यक्रममा बोल्दै सांसद महतले वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई अधिकार र जिम्मेवारी सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । जनताको अपेक्षा अनुसार सेवा दिनसक्नुपर्ने बताउँदै उनले कर्मचारी संघले संस्थागत सुधारमा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका महतले आफ्नो पार्टी सधैं जिम्मेवार, अनुभवसिद्ध र प्रतिवद्ध रहेको दाबी गर्दै कठिन परिस्थितिमा पनि काँग्रेस दृढ भएर उभिने पार्टी भएको उल्लेख गरे ।  

तरकारी र फलफूलको मूल्यसूची : कति महँगो, कति सस्तो ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । थोक बजारमा फलफूल र तरकारीको मूल्य घटबढ भइरहने हुँदा दैनिक मूल्य सूची सार्वजनिक गर्ने गरिएको छ । आजको बजार मूल्य अनुसार, गोलभेंडा (ठूलो नेपाली) प्रतिकिलो रु ४०, भारतीय गोलभेंडा प्रतिकिलो रु ५०, सानो लोकल गोलभेंडा रु २०, तराई गोलभेंडा रु २५ मा उपलब्ध छ । आलु रातो (नेपाली) प्रतिकिलो रु ३५, भारतीय आलु रातो रु ४० तोकिएको छ । प्याज (भारतीय) प्रतिकिलो रु ४८, गाजर (लोकल) रु ५०, गाजर (तराई) रु ३५, बन्दा (लोकल) रु १५, बन्दा (तराई) रु १२, काउली (स्थानीय) रु ३५, मूला (रातो) रु ५०, सेतो लोकल मूला रु २०, भन्टा (डल्लो) प्रतिकिलो रु ५० तोकिएको छ । त्यस्तै, बोडीको मूल्य प्रतिकिलो रु ७०, मटरकोसा रु ६०, घिउ सिमी (लोकल) रु ८०, टाटे सिमी रु ७०, तिते करेला रु ११०, लौका रु ५०, परबर रु ९०, घिरौँला रु ७०, झिगुनी रु ८० मा निर्धारण गरिएको छ । सागसब्जीको सूचीमा, पालुङ्गो साग प्रतिकिलो रु ८०, रायो साग रु ६०, चमसुर साग रु १००, तोरीको साग रु ६०, प्याज हरियो रु ४०, च्याउ (कन्य) रु २००, च्याउ (डल्ले) रु २८०, कुरिलो प्रतिकिलो रु ६०० कायम गरिएको छ । फलफूलतर्फ, स्याउ (झोले) प्रतिकिलो रु २५०, फुजी स्याउ रु ३५०, केरा (दर्जन० रु १६०, कागती रु ३००, अनार रु ३५०, हरियो अंगुर रु २००, भारतीय सुन्तला रु १५०, तरबुजा रु ७०, जुनार रु २००, रुख कटहर रु १२० तोकिएको छ । अदुवा प्रतिकिलो रु १२०, हरियो धनिया रु २००, लसुन (चाइनिज) रु ३२०, लसुन (नेपाली) रु ३००, खुर्सानी (हरियो) रु ९०, अकबरे खुर्सानी रु २५०, सिताके च्याउ रु ८०० मा निर्धारण गरिएको छ । आजको थोक मूल्य सूचि बजारको आपूर्ति र माग अनुसार घटबढ हुनसक्छ । उपभोक्ताले मूल्य जानकारी राखेर उचित निर्णय गर्न सक्ने उद्देश्यले बजार समितिले दैनिक मूल्य सूची प्रकाशन गर्ने गर्दछ ।

एशियन लाइफ इन्स्योरेन्स अठारौं वर्षमा प्रवेश, चुक्ता पूँजी ३ अर्ब ३९ करोड पुग्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  स्थापनाको सत्रौं वार्षिकोत्सव विविध सामाजिक तथा संस्थागत गतिविधिहरूका साथ भव्य रूपमा सम्पन्न गरेको छ । कम्पनीले २०६४ सालको चैत्र २१ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको हो र यस वर्ष अठारौं वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको हो । वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत देशभर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमहरूमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बीमा मात्र नभई सामाजिक उत्तरदायित्वमा समेत अग्रणी भूमिका खेल्ने उद्देश्य लिइएको कम्पनीले जनाएको छ । 'रक्तदान जीवनदान' भन्ने नारालाई आत्मसात गर्दै, कम्पनीले चैत्र २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो । सो कार्यक्रममा कम्पनीका प्रधान कार्यालय तथा काठमाडौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारीहरूसहित विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ७४ जनाले रक्तदान गरे । त्यस्तै, वार्षिकोत्सवकै अवसरमा कम्पनीले चैत्र १८ गते काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता पनि आयोजना गर्‍यो । यस प्रतियोगिताले कर्मचारीबीचको सहकार्य, आत्मीयता र ऊर्जा अभिवृद्धिमा टेवा पुगेको विश्वास गरिएको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै, देशभरका ८६ शाखा तथा उपशाखा कार्यालयमार्फत वृद्धाश्रम, अनाथालय, सामुदायिक विद्यालय तथा सामाजिक संघसंस्थाहरुलाई करिब १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री, खाद्यान्न तथा फर्निचर सहयोग गरिएको छ । यस कार्यक्रमले संस्थागत सामाजिक प्रतिबद्धतालाई अझ प्रस्ट्याएको कम्पनीले जनाएको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठले कम्पनीको व्यवसायिक यात्रामा १७ वर्षदेखि साथ दिने सम्पूर्ण सेयरधनी, बीमित, एजेन्ट, कर्मचारी तथा शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरे । उनले कम्पनीले जीवन बीमाको उत्कृष्ट सेवा प्रवाह गर्दै बीमित तथा सेयरधनीलाई उच्च प्रतिफल दिन प्रतिबद्ध रहेको बताए । आर्थिक पक्षमा हेर्दा कम्पनीको हालसम्मको प्रगति उल्लेखनीय देखिन्छ । चालू आव २०८१र८२ को फागुन मसान्तसम्ममा जीवन बीमाकोष ४४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने कूल बीमाशुल्क संकलन ५७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कूल लगानी ४९ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा कम्पनीले कूल बीमाशुल्क ५ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ भने सक्रिय बीमालेखको संख्या १६ लाख ४२ हजार पुगेको छ। कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीले आगामी दिनहरूमा अझ आधुनिक, दिगो र विश्वासिलो जीवन बीमा सेवा प्रदान गर्दै बीमा क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान दिने अठोट व्यक्त गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले समाज, बीमित र देशको समृद्ध भविष्य निर्माणतर्फ उन्मुख योजनाहरूमार्फत आफ्नो सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

शिवम् सिमेन्ट कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड १७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित भएको छ । कर्पोरेट खबरद्वारा आयोजित इश्वरलाल १७ औं कर्पोरेट बिजनेश अवार्ड २०२५ कार्यक्रममा शिवम् सिमेन्ट्सका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भईसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो । यसअघि पनि शिवम् सिमेन्ट्सले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गर्दै आएको छ, जसमध्ये केही उल्लेखनीय अवार्डहरू यस प्रकार छन् : -एनएस गुणस्तर पुरस्कार  -ऊर्जा र वातावरण दक्षता पुरस्कार  -वर्षको उत्कृष्ट व्यवस्थित कम्पनी  -उत्कृष्ट अन्तर्राष्ट्रिय नेतृत्व उपलब्धि पुरस्कार -श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार  -संगठन बिक्री उत्कृष्टता पुरस्कार -कर्पोरेट उत्कृष्टता पुरस्कार        

बिम्स्टेक शिखर सम्मेलन सुरु

बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत गरेकी थिइन् । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुले सम्बोधन गर्नेछन् ।

कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी, कुन पदमा कति ?

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११८ जना कर्मचारी मागेको छ । बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि ११८ जना कर्मचारी मागेको हो ।  बैंकले १ जना शाखा प्रमुख, ४८ जना व्यवसाय अधिकृत, ३ जना सूचना प्रणाली अधिकृत, १ जना कानून अधिकृत, १ जना कम्प्युटर अधिकृत, ५ जना कर्जा अधिकृत र लेखापाल ५९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।  योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।