धनराजपत्नी ज्योतिलाई अदालतको २१ दिने अल्टिमेटम

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा जोडिएकी ज्योति गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित हुन ताकेता गरेको छ । 

अदालतले सार्वजनिक सूचनामार्फत गुरुङलाई आफै वा कानुनबमोजिम प्रतिनिधिमार्फत उपस्थित भई आवश्यक कागजात र प्रमाणसहित प्रतिउत्तर दिन निर्देशन दिएको हो । ताकेता गरेको हो । तोकिएको अवधिभित्र उपस्थित नभए कानुनअनुसार मुद्दाको प्रक्रिया अघि बढ्ने अदालतले जनाएको छ ।

‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काइस) दिनभित्र आफैं वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला,’ सूचनामा भनिएको छ । 

यो प्रकरण सहकारीको रकम हिनामिनासँग सम्बन्धित छ । मितेरी सहकारीमा ठूलो रकम अनियमितता भएको भन्दै सहकारीका बचतकर्ताले उजुरी दिएपछि विषय सार्वजनिक भएको हो । 

सहकारीको करिब १२ करोड ५० लाख रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ । उक्त रकम फिर्ताका लागि पटक–पटक पहल गर्दा पनि रकम असुल हुन नसकेपछि कानुनी प्रक्रियामा जानुपरेको सहकारी स्रोतले जनाएको छ ।

ज्योति गुरुङ लामो समयदेखि मितेरी सहकारीसँग आबद्ध रहँदै आएकी थिइन् । सुरुआतमा बचत संकलनको कामबाट सहकारीमा जोडिएकी उनी पछि व्यवस्थापकीय जिम्मेवारीमा पुगेकी थिइन् । उनी महाप्रबन्धक भएपछि आर्थिक अनियमितता भएको आरोप लाग्दै आएको छ ।

यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान अगाडि बढाइरहेको छ । अदालतको पछिल्लो सूचनासँगै सहकारी रकम अनियमितता प्रकरण फेरि चर्चामा आएको छ । ज्योति नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पत्नी हुन् । ​​


…त्यसपछि सुरु भयो धनराजमाथिको खोजतलास

Share News