काठमाडौं । चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक रामबहादुर गौतमको नाममा ७ दिने सार्वजनिक सूचना म्याद जारी गरेको छ । अदालतले तोकिएको अवधिभित्र उपस्थित नभए निवेदकको मागबमोजिम रकम भुक्तानी नभए गौतमलाई २ वर्ष कैदमा राखी फैसला कार्यान्वयन गरिने चेतावनी समेत दिएको छ ।
निवेदक वादी राजिव श्रेष्ठ र प्रतिवादी रामबहादुर गौतम भएको चेक अनादरमा काठमाडौं जिल्ला अदालतबाट मिति २०८० साल फागुन २९ गते नै फैसला भइसकेको थियो । उक्त फैसला बमोजिम गौतमले तिर्नुपर्ने बिगो रकम ९९ लाख रुपैयाँ र सोको ब्याज समेत भराई पाऊँ भनी वादीले निवेदन दिएका थिए ।
अदालतको फैसला अनुसारको बिगो बुझाउन नआएपछि वादी राजिव श्रेष्ठले प्रतिवादी गौतमलाई २ वर्ष कैदमा राखी पाऊँ भनी पुनः निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतको आदेशानुसार गौतमको नाममा जारी गरिएको पहिलो ७ दिने सूचना म्याद बेपत्ते तामेल (फेला नपरी) भई आएको थियो ।
पहिलो म्याद तामेल हुन नसकेपछि अदालतले पुनः मिति २०८२ साल चैत २ गते गरेको आदेशानुसार आज (२०८३ साल जेठ ११ गते) सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
सूचनामा भनिएको छ, ‘यो म्याद प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ७ (सात) दिनभित्र यस अदालतमा आफैं उपस्थित हुन आउनु वा आफ्नो कानून व्यवसायी वा आफ्नो वारेश मुकरर गरी पठाउनुहोला । अन्यथा निवेदन माग बमोजिम तपाईँलाई कैदमा राखी फैसला कार्यान्वयन हुनेछ ।’
अदालतले तोकिएको म्यादभित्र उपस्थित नभएमा कानून बमोजिम हुने र पछि कुनै पनि उजुरबाजुर नलाग्ने स्पष्ट पारेको छ ।