विकासन्युज

नयाँ सवारी साधन मन्त्रालयमै राखिने, चलाएर थोत्रा भइसकेकालाई सिंहदरबार बाहिर पठाइने

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका सवारी साधनको विषयमा बेला बखत चर्चा हुने गर्छ । सरकारले पुराना सवारी साधनको मर्मत सम्भार तथा उचित व्यवस्थापन नगरेर नयाँ सवारी साधन खरिद गर्न लागेको भन्दै आलोचना पनि हुने गर्छ । सञ्चार माध्यमले समेत सिंहदरबार पुराना सवारी साधनको पार्किङ स्थल अर्थात् कवाडी खाना भएको भन्दै आलोचना गर्ने गरेका छन् ।  यो समस्याबाट छुटकारा पाउन सरकारका सचिवहरूले अनौठो निर्णय गरेका छन् । गत चैत ४ गते बसेको सचिवहरूको बैठकले सिंहदरबारभित्रका मन्त्रालयमा रहेका  सवारी साधनलाई मन्त्रालय मातहतका निकायमा पठाएर मन्त्रालयमा नयाँ सवारी साधन मात्रै राख्ने निर्णय गरेको हो ।  सचिवस्तरीय सो बैठकको निर्णय छ, ‘सबै मन्त्रालयले सिंहदरबार परिसरभित्र आ-आफ्नो मन्त्रालय र मातहतका निकायका नाममा रहेका पुराना र काम नलाग्ने सवारी साधन सिंहदरबार बाहिरका कार्यालयमा हस्तान्तरण वा भण्डारण गरी जिन्सी सामग्रीको उचित व्यवस्थापन एबम् सिंहदरबार सौन्दर्यको कार्य समयमै सम्पन्न गर्ने गराउने ।’ सचिवहरुको यो निर्णयले विभिन्न सरकारी कार्यालयहरु भने समस्यामा परेको गुनासो गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको एक कार्यालयका प्रमुखले सचिवहरुको यो निर्णयले आफूहरुलाई समस्या भएको सुनाए ।  ‘सबै नयाँ सवारी साधन मन्त्रालयका कर्मचारीले प्रयोग गर्ने, हामी कार्यालयहरुमा कार्यरत कर्मचारीले पुरानै सवारी साधन चलाउनु पर्ने देखियो, पुराना सवारी साधनको व्यवस्थापन पनि हामीलाई नै गर्नु भनिएको छ,’ ती अधिकारीले भने, ‘सचिवहरुले मन्त्रालयमा कार्यरत कर्मचारी र सिंहदरबार बाहिरका कर्मचारीलाई गर्ने व्यवहार फरक भयो ।’ भौतिक पूर्वाधार तथा यायतायात मन्त्रालयकी सूचना अधिकारी शोभा श्रेष्ठले सिंहदरबारलाई सुन्दर बनाउने योजना अनुरुप यो निर्णय गरेको बताइन् । ‘मर्मत गर्न मिल्ने सवारी साधनलाई मर्मत गरेर चलाउन सकिन्छ, कबडा भइसकेकालाई लिलाम गर्न सक्नुहुन्छ, मन्त्रालयले हस्तान्तरण गरेपछि ती कार्यालयहरुलाई लिलाम गर्ने बाटो पनि खुल्छ,’ उनले भनिन् ।  सरकारले सिंहदरबारको सौन्दर्यता बढाउन कबाडी अवस्थामा रहेका सवारी साधनलाई मन्त्रालय मातहतका विभिन्न कार्यालयमा पठाउने निर्णय गरेको हो । अहिले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका पार्किङ पुराना तथा थोत्रा सवारी साधनले भरिएका छन् ।  समयमै मर्मत गर्नुको सट्टा नयाँ सवारी साधन खरिद गर्ने सरकारी प्रवृतिको कारण सिंहदरबार अहिले कबाडीखानाझैं बनेको छ । सरकारले वार्षिक अर्बौं रुपैयाँ नयाँ सवारी साधन खरिदमा खर्च गर्दैै आएको छ ।  चालु आर्थिक वर्षको बजेटमा सरकारले सरकारी निकायमा पुराना र प्रयोगविहीन सवारी तथा सामान ६ महिना भित्र लिलाम गर्ने उद्घोष पनि गरेको थियो । 

सविनकी श्रीमतीलाई भाटभटेनीले दियो जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसा महर्जनलाई भाटभटेनी सुपरमार्केटले रोजगारी दिने भएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले मंगलबार उक्त घोषणा गरेका हुन् । यसअघि नै भाटभटेनीले उक्त घटनामा निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख र सविन महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको थियो । अध्यक्ष गुरुङ स्वयं दुवै परिवारको घरमै पुगेर चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरणको क्रममा उनले यो दुःखद घडीमा पीडित परिवारहरूसँग ऐक्यबद्धता जनाउन आफू उपस्थित भएको बताएका थिए । चैत १५ गते राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बन्दा तीनकुनेमा सविन महर्जनको गोली लागेर र सुरेश रजकको आगोमा परेर मृत्यु भएको थियो ।

नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउने, कसूरजन्य सम्पत्तिको व्यवस्थापन गर्ने

काठमाडौं । नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउने प्रक्रिया सुरु गरिएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकले नेपाललाई ग्रे लिष्टबाट हटाउने कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । जिम्मेवार निकाय, गतिविधिहरू तथा ती सम्पन्न गर्ने समय सीमासहितको कार्ययोजना अब कार्यान्वयन गरिने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट हटाउने कार्ययोजना अनुसार काम गर्दै गर्दा भविष्यमा पुनः ग्रे सूचीमा नपर्ने गरी दीर्घकालीन दृष्टिकोणले कार्य गर्नुपर्ने आवश्यकता औंल्याए । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपालमा आवश्यक कानुनको अभाव नभएको स्पष्ट पार्दै, दृढ इच्छाशक्तिका साथ काम गर्न सके नेपाललाई सजिलै ग्रे लिष्टबाट हटाउन सकिने धारणा व्यक्त गरे । महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन कायम गर्नु अत्यावश्यक रहेको बताए । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै, प्रविधिको प्रयोग गर्दै कार्ययोजना अनुसार अघि बढेमा नेपाल ग्रे लिष्टबाट बाहिरिन सक्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा हतारमा काम गर्नुको सट्टा सुरुदेखि नै कार्ययोजनाका आधारमा कार्य गर्नुपर्ने बताइन् । बैठकमा सहभागीहरूले जोखिम मूल्यांकन, अन्तर(निकाय समन्वय, नियमन तथा निरीक्षण, अनुसन्धान र अभियोजन, साथै कसूरजन्य सम्पत्तिको व्यवस्थापन जस्ता क्षेत्रमा प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिए । उनीहरूले कानुनको व्यवस्थाभन्दा कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को ग्रे सूचीमा परेको थियो।

संविधान संशोधनका लागि समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री ओलीले

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताएका छन् । मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गरे । 'सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छौँ । त्यसका लागि एउटा नेकपा एमाले र नेपाली काँग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर प्याण्डोराका बाकस खोलेजस्तो गर्दैनौँ । प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ।' उनले राजतन्त्र फेरि ल्याउने भनेर केही केही लागेको स्मरण गरे । ‘विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेका छन् । हामीले नयाँ पुस्ता सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सकिँदैन’ उनले भने ‘गणतन्त्र यस देशको वर्तमान र भविष्य हो । प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।’ प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको उल्लेख गरे । ‘यो श्रेष्ठ प्रणाली हो, हामीले यसको रक्षा गर्नुपर्छ । कलिलो अवस्थाको व्यवस्थाका केही कमजोरी भए होलान् तर सुधार गरेर जानुको विकल्प छैन ।’, उनले भने, ‘हामी अब गतिमा गइसकेका छौँ । यस प्रणालीअन्तर्गत संसदको सपथ खाने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने खालका सोच राख्नु हुँदैन ।’ प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको बताए । ‘सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ । त्यसकारण नेपालको दुई छिमेकीसँग अशल मित्रता छ ।’   

१७ वर्षपछि हत्या अभियुक्त पक्राउ, साधुको भेषमा मन्दिरमा बसोबास

काठमाडौं । पर्सा प्रहरीले झण्डै १७ वर्षदेखि फरार रही साधुको भेषमा भारतमा लुकेर बसेका एक अभियुक्तलाई पक्राउ गरेको छ । मिति २०६४ साल वैशाख २५ गते पर्सा जिल्लाको बहुअर्वाभाठा–९ निवासी ढोडा मुखिया विनलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा फरार रहेका लोकनाथ साह तेलीलाई पक्राउ गरिएको हो । उनले जग्गा विवादका क्रममा छलफलका लागि बोलाई ढोडा मुखियामाथि गोली प्रहार गरी हत्या गरेका थिए । उक्त घटनामा सर्वोच्च अदालतले २०६९ साल असोज २४ गते निज तेलीलाई साविक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा १३ (१०) अनुसार सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।  तर फैसला लागेपछि उनी फरार रहँदै आएका थिए । प्रहरी अनुसन्धानका क्रममा उनले भारतको चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा विगत १० वर्षदेखि साधुको भेषमा पुजारीको रूपमा लुकिछिपी बसिरहेको खुल्न आएको हो । पर्सा प्रहरीले उनलाई सोमबार वीरगञ्जबाट पक्राउ गरी सोही अदालतको फैसलाअनुसार कारबाही अघि बढाएको जनाएको छ । पक्राउपछि उनलाई मंगलबार पर्सा जिल्ला अदालतमा पेश गरिएको हो ।

चितवनका २७९ उद्योग बन्द

चितवन । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनका लागि दर्ता गरिएका अधिकांश उद्योग बन्द भएका हुन् । कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएका छन् ।  उनका अनुसार यस वर्ष  २७३ नयाँ उद्योग दर्ता भएका छन् । निजी फर्ममा २६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएका छन् । यो सङ्ख्या गत वर्ष सोही अवधिमा ३२९ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए । उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका हुन् । वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उनले बताए ।   यस आर्थिक वर्षमा दुई हजार १६७ उद्योग नवीकरण भएका छन् । त्यसमध्ये नौवटाले नामसारी गरेका छन् भने ३१ वटाले ठाउँसारी गरेका छन् । यस्तै, २८ वटाले कारोबार संशोधन, सुविधा सिफारिस तिनले लिएको कुमालले जानकारी दिए ।

एकैदिन ३२ आरोही अन्नपूर्णको चुचुरोमा, दुई शेर्पाको खोजी जारी

म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।  सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए ।  अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए । आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन् भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।  आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबुक’ मा लेखेका छन् ।  ‘सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।  वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूले भरिएको छ ।  अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ ।  पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

माईतीघरमा शिक्षकहरुको आन्दोलन (फोटोफिचर)

काठमाडौं । शिक्षा प्रणालीमा सुधार र पेशागत सुरक्षाको माग गर्दै शिक्षकहरूले माईतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । केही दिन यता जारी यो आन्दोलनमा विभिन्न जिल्लाबाट आएका शिक्षकहरू सहभागी भएका छन् ।