विकासन्युज

विश्व र भीष्मले १.२५ अर्ब लगानीमा सञ्चालनमा ल्याए टेम्पल बेल बुटिक

काठमाडौं । पर्यटन राजधानी पोखराको लेक साइडमा १ अर्ब २५ करोड रुपैयाँ लगानीमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो ।  नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे ।  होटलमा नेपाली काष्ठ कला, ढुङ्गा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ । पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मियता र मौलिकता प्रदान गर्ने विश्वास लिइएको छ ।  करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा २ वटा इन्टरकनेक्टेड ब्लकहरू, ५५ वटा रुमका साथै स्विमिङ पुल, स्पा, सम्मेलन हल, बार, रेष्टुरेण्टलगायतका सुविधा छन् । ग्रुपले अहिले १५० जनालाई रोजगारी दिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नरेश गेलाल समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वको लागि नरेश गेलालको समूहले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार गेलाल समूहले एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो ।  गेलाल समूहबाट प्रथम उपाध्यक्ष पदमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष पदमा मधुकर रिजाल र तृतीय उपाध्यक्ष पदमा बैकुण्ठ प्रसाद पौडेल (वैभव)ले उम्मेदवारी दिएका छन् ।  यस्तै, महासचिवमा कर्णराज कटुवाल, सचिवमा अनिल बोगटी, कोषाध्यक्षमा धनमाया सिंजालीले उम्मेदवारी दिएका छन् ।  गेलाल समूहबाट सदस्य पदमा देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, चन्द्र बहादुर लिम्बु, दिनेश बस्नेत, छत्र बहादुर बस्नेत, युवराज देवकोटा, रमा खड्का, हेमा गुरुङ, रामेश्वर साह र राजेश यादवले उम्मेदवारी घोषणा गरेका हुन् । संघको चैत २९ गते निर्वाचन हुँदैछ । 

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ ।  यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ ।  तर मुख्य आकर्षण भने अझै बाँकी नै रहेको छ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शाेरुममा नै खेल्न पाउनेछन् । यो इन-स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको 'खुसीको मिटर' रोकेर १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरुमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।

राष्ट्र बैंकले ईभीलाई निरुत्साहित गरेको नाडाको धारणा, अर्थमन्त्रीले भने : राजनीति नगरौं

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आउँदै गरेको बजेटमा सवारीसाधन क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेको छ । मंगलबार ललितपुरमा ‘नाडा अटो डायलग’ को आयोजना गर्दै नाडाले वर्तमान नीतिले व्यवसायमा चुनौती थपिएको भन्दै सरकारसँग सुधारको माग माग गरेको हो ।  कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले सवारी साधन जनताको आवश्यकता भएको बताउँदै अटो क्षेत्रलाई सरकारले ध्यान दिनुपर्ने बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत् विद्युतीय गाडीमा फाइनान्सिङको सीमा घटाएको प्रति पनि चिन्ता प्रकट गरे ।  उनले भने, ‘नाडा अटो क्षेत्रलाई सुधार गर्न सरकारले नीतिगत व्यवस्था गरिदिनुपर्छ, प्रत्येक नागरिकले सवारीसाधन खरिद गर्दा ८० प्रतिशत ऋणको व्यवस्था गरिनुपर्यो ।’ कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले अटो क्षेत्रका समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए । ‘समस्या समाधानका लागि सबैको सहकार्य आवश्यक छ, सोही ढंगले नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न सकिन्छ, ऋणको सीमाको विषयमा व्यवसायी आत्तिनु हुँदैन, यसलाई राजनीतिकरण पनि गर्नु हुँदैन,’ उनले भने ।  सरकार निजी क्षेत्रको मनोबल बढाउने प्रयासमा लागेको र आवश्यक कानूनी र संरचनात्मक सुधार गर्दै अगाडि बढ्ने बताए । उनले अटो क्षेत्र केबल आयातमा मात्रै सीमित नभएको बताउँदै सवारी साधन उत्पादनतर्फ पनि अघि बढिरहेकोले यसमा थप जोड दिनुपर्ने बताए । अर्थसचिव घनश्याम उपाध्यायले आर्थिक विकासका लागि इनोभेटिभ मोबिलिटी आवश्यक भएको बताए । उनले इनोभेटिभ मोबिलिटीले निजी क्षेत्रलाई छोटो समयमै नाफा दिने उल्लेख गरे । उनले भने, ‘मोबिलिटीले आर्थिक पाटोमा धेरै सहयोग गर्नेछ । यातायात बिना विकास सम्भव छैन । यसमा सरकारले मात्रै लागेर हुदैन्, सबै पक्षले सहकार्य गर्नुपर्यो ।’   यस्तै कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव तथा पूर्वअर्थसचिव रामप्रसाद घिमिरले अटो क्षेत्रले देशको अर्थतन्त्र र पुर्वाधारमा महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले पनि अटो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।  उनले अटो क्षेत्रको सुधारका लागि दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।  कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) का सिनियर अफिसर हेमन्त तिवारीले मोबिलिटी र पर्यावरण दुवैलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे । उनले यो योजना काठमाडौं उपत्यका, पोखरा, चितवन, बुटवललगायका सहरहरुमा लागू गर्ने तयारी भइरहेको पनि जानकारी गराए ।  उनले भने, ‘यसअघि पनि हामीले २०१० मा सबैभन्दा पहिले फरक योजना सुरु गरेका थियौं । तर सफल हुन सकेन । हाल ललितपुर महानगरले ५ वटा स्थानमा काम सुरु गरेको छ । बाँकी कुनै पनि ठाउँमा लागु हुन सकेको छैन् । अब ठूलो बसहरूमा मात्रै यो लागु गरिनेछ ।’   

लुम्बिनी विकास बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं। लुम्बिनी विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्था एनपीएस-एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् ।  नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात लुम्बिनी विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।  एनपीएस–एनसीएसलाई  विभिन्न कार्ड स्विचबीच अन्तर आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेश सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पीएसओ र पीएसपी र सयभन्दा बढी गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदानगर्दै आएको छ ।  एनपीएस–एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाइँमा पुर्याउने अपेक्षा गरिएको छ ।

सूर्य नेपाल एनपिजिए म्याच-प्ले सुरू

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी निरज तामाङले फराकिलो अन्तरको जितमा क्वाटरफाइनलमा स्थान बनाएका छन् ।   डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति, धन बहादुर थापा, रवि खड्का, प्रदीप कुमार लामा, तोरण विक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाए । रोयल नेपाल गल्फ क्लबमा मंगलबार भएको खेलमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६ औं वरियताका पशुपति शर्मालाई ५/४ ले हराए । चार होल अगाडि जित निकालेका उनले अब क्वाटरफाइनलमा धन बहादुर थापालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् । आठौं वरियताका धन र नवौं वरियताका भुवन कुमार रोक्काबीच कडा प्रतिस्पर्धा चलेको थियो । १७ औं होलको समाप्ती सम्म दुवै बराबरीमा थिए । १८ औं होल जितेर धनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । नेपाल नम्बर २ प्रो निरज तामाङले १५ औं वरियताका सूर्य प्रसाद शर्मालाई सहजै ५/४ ले हराए। चार होल अगाडि पहिलो चरणको खेल जितेका निरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन्। निरजले अब सातौं वरियताका रामे मगरसँग क्वाटरफाइनल खेल्नेछन् । रामेले १० औं वरियताका दीपक मगरलाई ४/३ को नतिजामा माथ दिए।   डिफेन्डिङ च्याम्पियन तेस्रो वरियताका दिनेश प्रजापतिले १४ औं वरियताका रमेश अधिकारीलाई ४/३ ले माथ दिए । उनले अब अनुभवी तोरण विक्रम शाहीसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछन् । ११औं वरियताका तोरणसँग छैटौं वरियताका जयराम श्रेष्ठ ३/२ ले पराजित हुन पुगे । यसैगरी चौथो वरियताका रवि खड्काले १३ औं वरियताका टंक बहादुर कार्कीलाई ३र२ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रविले अब १२औं वरियताका प्रदीप कुमार लामासँग खेल्नेछन् । प्रदीपले पाँचौ वरियताका सञ्जय लामा विरूद्ध २/१ को अप्रत्याशित नतिजा निकाले । सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । आज पहिलो चरणमा पराजित भएका आठ खेलाडीले नगद ६/६ हजार पाउनेछन् । भोलि क्वाटरफाइनल र सेमिफाइनल खेल १८र१८ होलको हुनेछ । फाइनल र तेस्रो स्थानको लागि बिहीबार प्रतिस्पर्धा हुनेछ । फाइनल भने ३६ होलको हुनेछ ।

वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्ण छ : अर्थमन्त्री पौडेल

काठमाडौं । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। 'कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण' नारासहित सुरु भएको सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे। कार्यक्रममा मन्त्री पौडेलले कर प्रणाली सुधार, दायरा विस्तार र पारदर्शी वित्त व्यवस्थापनका लागि लेखा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सुशासन र स्रोतको प्रभावकारी उपयोगमा लेखा व्यवसायीप्रति राष्ट्रले ठूलो आशा राखेको उल्लेख गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सरकार र लेखा व्यवसायी मिलेर पारदर्शी बजेट प्रणाली निर्माण गर्नुपर्ने बताए । आईक्यान अध्यक्ष सिए प्रवीण कुमार झाले कर प्रशासनको आधुनिकीकरण र डिजिटलाइजेशनमा लेखा व्यवसायीको सक्रिय भूमिका अपरिहार्य रहेको बताए । सम्मेलनमा भारत र दक्षिण एशियाली मुलुकका वक्ताहरूले नवप्रवर्तन, प्रविधि र पारदर्शितामूलक कर व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । बुधबारसम्म चल्ने सम्मेलनमा १ हजारभन्दा बढी लेखा व्यवसायीको सहभागिता रहेको छ ।

नयाँ वषको अवसरमा जिहो ईभी स्कुटरकोे ‘जिहो जिन्दगी’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि सीएफमोटो तथा जिहोको आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ आउँदै गरेको वर्ष २०८२ साललाई लक्षित गर्दै आफ्नो जिहो ईभी स्कुटरमा अफर  सार्वजनिक गरेको छ । सेन्टरले यसपालि नयाँ खरिद गर्ने ग्राहकलाई मात्रै अफर लक्षित नभई जिहो ईभी चढ्दै गरेका हालका ग्राहकले समेत आफ्ना साथीभाई र नजिककालाई रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने जानकारी दिएको छ ।  यसका साथै नयाँ स्कुटर खरिद गर्ने  ग्राहकहरूले चाहि सिधै २० हजार नगद छुट पाउनेछन् । हरेक हप्ता उक्त हप्तामा खरिद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली विजेताले उल्लेखित छुट रकम बराबर थप रकम छुट पाउने छन् । त्यसैगरी, अफर सकिएपश्चात लक्की ड्रमार्फत आफूले खरिद गरेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने लगायतका अफर समेत उपलब्ध छन् । यो अफर आगामी चैत २४ देखि लागू भई वैशाख ३१ सम्म रहने बताइएको छ । जिहो नेपाली बजारमा लोकप्रिय ईभी ब्रान्डको रूपमा रहेको छ । उच्चतम प्रविधि, डिजाइन, कार्यक्षमता र टिकाउ जिहो ब्रान्डका ईभी स्कुटर हाल धेरैको रोजाइमा पर्न सफल ब्रान्ड बनेको छ । हाल यसका एई४, एई६ प्लस र एई८ गरी तीन मोडल रहेका छन् । हाल उपत्यकाभित्र नक्साल, झम्सिखेल तथा सल्लाघारी र उपत्यका बाहिर नुवाकोट बट्टार र हेटौंडामा यसका शोरुममार्फत यसको बिक्री–वितरण भइरहेको छ ।