दाउन्ने खण्ड आजदेखि ४ घण्टा बन्द
काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्नेमा आज (चैत २७) देखि सडक मर्मत तथा विस्तार कार्यका लागि अत्यावश्यक बाहेक सवारी आवागमन चार घण्टा बन्द गरिएको छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार चैत २७ देखि ३१ गतेसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहनेछ । वैशाख १ देखि १५ गतेसम्म भने राति ११ देखि बिहान ५ बजेसम्म सडक बन्द गरिनेछ । एम्बुलेन्स, दमकल, प्रहरीलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई भने आवागमन गर्न दिइनेछ। साँघुरो सडक, भित्ताकाट, पर्खाल तथा कल्भर्ट निर्माण भइरहेका कारण दाउन्ने खण्डमा दैनिकजसो जाम हुने गरेको र यात्रुहरूले कठिनाइ खेपिरहेका कारण बर्खाअघि सडक बन्द गरेर काम तीव्र बनाइने अधिकारीले बताए । ठेकेदार कम्पनीले रातको समयमा आवश्यक प्रकाशको व्यवस्था गरेर काम अघि बढाउने प्रतिवद्धता जनाएको छ ।
गाजर किलोको ३० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु २०, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडीको मूल्य प्रतिकिलो रु ९० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । न्यूरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ११०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, उखु प्रतिगोटा रु १००, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १३० निर्धारण गरिएको छ । यसैगरी, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३०० तोकेको छ ।
सान्भि इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३७ लाख ९० हजार कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये १० अर्थात् ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका-१० (साविकको गोदक गाविसका १ देखि ९ नम्बर वडा,), माइजोगमाई गाउँपालिका-१ (साविकको नयाँबजार गाविसका १-४, ६-४ नम्बर वडा), माइजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ (साविकको नाम्सालिङ्ग गाविसका १ देखि ९ नम्बर वडाहरु तथा नयाँबजार गाविसको वडा नम्बर ५), सूर्योदय नगरपालिका-१० (साविकको फिक्कल गाविसका ६ देखि ९ नम्बर वडा) तथा सूर्योदय नगरपालिका-११ (साविकको पञ्चकन्या गाविसका २, ६, ८ वडा) का स्थायी बासिन्दाहरूलाई छुट्याइएको छ । यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १० अर्थात् २ लाख ८१ हजार कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा २० हजार कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैशाख १९ गतेभित्र आवेदन दिनु पर्नेछ । तर, आयोजना प्रभावित क्षेत्रलाई छुट्याएको सेयरमा पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थलका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि २.५० अर्बको ऋणपत्र बिक्री खुला गर्ने, ब्याजदर ७ प्रतिशत
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २०८२ वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकका ऋणपत्रमा बैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग्स नेपालले बैंकलाई केयर एनपी ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता तुलनात्मक रुपमा पर्याप्त तथा न्यूनतम् कर्जा जोखिम भएको संस्था रहेको संकेत गर्दछ ।
शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्याउने
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै चितवन स्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ । कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् । केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ । प्रमुख केसीले भने, ‘शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।’ गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए । गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस्तक बिक्री गरेको छ ।
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दावासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारत स्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रुपमा १० वर्षदेखि साधुको भेष धारणा गरी लुकीछिपी रहेका थिए । हत्यापश्चात फरार भएका निज लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । तीनकुने घटनामा संलग्न थप दुई पक्राउ यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौंले यही चैत १५ गते तीनकुने क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् । पक्राउ परेकालाई आपराधिक उपद्रव कसूरअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिल बोहोराले जानकारी दिए ।
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग, पर्यटक बढ्दै
काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका-७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको १० लाख रुपैयाँ बजेटमा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिए । उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो । ढोरपाटन नगरपालिका-२ सेरादेखि करिब २५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताए। बाइसे चौबिसे राज्यका बेला भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटको आकर्षण बढ्दो छ । नरसिंहकोटमा पूर्वाधार बन्दै गएपछि आन्तरिक पर्यटक बढ्दै गएको निसीखोला गाउँपालिका–७ अध्यक्ष दीपक कुँवरले बताए । बुर्तिबाङ बजार नजिकै भए पनि नरसिंहकोटमा पुग्न अब सहज भएको उनको भनाइ छ । पदमार्गसँगै गाउँपालिकाले यस क्षेत्रमा २० लाख रुपैयाँमा कालिका मन्दिर, खानेपानी, शौचालय, विश्रामस्थल लगायतका संरचना निर्माण गरेको अध्यक्ष कुँवरले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा खेलमैदान निर्माणाधीन अवस्थामा छ । नरसिंहकोटमा पुग्नुका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टा र पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक सालझण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारीसाधनमा जाँदा लामो बाटो पर्ने उनी बताउँछन् । अध्यक्ष कुँवरले भने, ‘धेरै सम्भावना हुँदा हुँदै विगतमा नरसिंहकोट ओझेलमा थियो तर अहिले चर्चामा आएको छ, अहिले प्रत्येक दिन पर्यटकको आगमन हुन्छ, बिदाको दिन त अझ बढी पर्यटक घुमघामका लागि यहाँ आउने गर्छन्, अहिले हामीहरुले पनि यस क्षेत्रको प्रवर्द्धन गर्नका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएका छौँ ।’ नरसिंहकोटबाट बुर्तिबाङ बजारसहित बागलुङको विभिन्न स्थान, म्याग्दी, प्युठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँचीलगायतका जिल्ला देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौं हिमश्रृंखलाहरु र उच्च पहाडी क्षेत्रको सहज रुपमा अवलोकन गर्न सकिन्छ ।
सेनिटरी प्याड खरिदमा ६० लाख रुपैयाँ भ्रष्टाचार, मिलेमतो गरी गैरकानुनी लाभ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उप-महानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक बर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट ७९.१ रुपैयाँ कायम गरी ठेक्का गरिएको थियो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ विरुद्ध ५१ लाख ९९ हजार १२० रुपैयाँ बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ । यस्तै, आयोगले सागर देवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साह विरुद्ध पनि समान बिगो दावी गरिएको छ । सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साह विरुद्ध पनि लगाइएको छ । आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।