१३५ अर्ब नेटवर्थ गुमाएपछि झस्किए मस्क, ट्रम्पसँग शुल्क फिर्ता लिन आग्रह
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थमा हालै भारी गिरावट आएको छ। सोमबार अमेरिकी सेयर बजारमा उकालो देखिए पनि टेस्लाको सेयर घट्यो। जसले गर्दा मस्कको नेटवर्थमा ४.३९ अर्ब डलरको गिरावट आयो । यस वर्षमात्र उनको नेटवर्थमा १३५ अर्ब डलरको गिरावट आइसकेको छ। अहिले उनको नेटवर्थ २९८ अर्ब डलरमा झरेको छ। यसैबीच वासिंगटन पोस्टको रिपोर्टअनुसार मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी नयाँ ट्यारिफहरू फिर्ता लिन आग्रह गरेका छन् । ट्रम्पले हालै झण्डै ६० देशहरूमा ट्यारिफ लगाउने घोषणा गरेका थिए । यतिमात्र होइन, सोमबार उनले चीनबाट आउने सामानमा ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने चेतावनीसमेत दिएका थिए । यसरी अब चिनियाँ सामानमा कुल ट्यारिफ १०४ प्रतिशत पुग्नेछ । रिपोर्टअनुसार मस्कले ट्रम्पको ट्यारिफको विरोध गरेका थिए र सिधै राष्ट्रपति ट्रम्पलाई प्रभावित गर्ने प्रयास पनि गरेका थिए । स्रोतहरूको भनाइअनुसार मस्कले ट्रम्पसँग प्रत्यक्ष कुरा गरेका थिए, तर त्यो प्रयास असफल भएको देखिन्छ । ट्रम्पले संवादका लागि केही खुलापन देखाए पनि आफ्ना योजनामा अडिग रहेका छन् । उनले गएको साता करिब ६० देशहरूमा ट्यारिफ लगाउने घोषणा गरेका थिए र चीनमाथि थप ३४ प्रतिशतको ट्यारिफ लगाइएको थियो । चीनसँगको सम्बन्ध यो पहिलो पटक होइन जब मस्क र ट्रम्प व्यापार नीतिमा आमनेसामने भएका हुन् । सन् २०२० मा पनि टेस्लाले ट्रम्प प्रशासनको ट्यारिफविरुद्ध मुद्दा हालेको थियो । सुरुमा मस्कले यस कदमको समर्थन गरेका थिए, तर पछि उनी विरोधमा उत्रिए । रिपोर्टअनुसार उनले त्यसपछि आफ्ना कर्मचारीहरूलाई समेत थर्काएका थिए । यस मुद्दाको कारण मस्कको धेरै आलोचना भएको थियो । धेरैले भनेका थिए कि मस्क चीनसँग धेरै मिल्ने गर्छन् र ट्रम्पको 'अमेरिका फर्स्ट' नीतिलाई कमजोर बनाइरहेका छन् । नयाँ ट्यारिफका कारण मस्कका धेरै सहयोगीहरू चिन्तित छन् । केहीले ट्रम्पका अधिकारीहरूसँग अपील पनि गरेका छन् । मस्कका पुराना साथी र लगानीकर्ता जो लोन्सडेलले भनेका छन् कि उनले ट्रम्प प्रशासनमा रहेका साथीहरूलाई भनेका छन् - यी ट्यारिफहरू चीनको तुलनामा अमेरिकी कम्पनीहरूलाई नै बढी नोक्सान पुर्याउँछन् । वासिंगटन पाेस्टका अनुसार केही व्यावसायीक नेताहरूले अनौपचारिक समूह बनाएर ट्रम्प प्रशासनलाई व्यापार नीति केही नरम पार्न आग्रह गरिरहेका छन् । ट्रम्पको शुल्कविरुद्ध 'अन्त्यसम्म लड्ने' चीनको घोषणा अमेरिकी ट्यारिफविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै युरोपेली देश
साढे ४ करोडमा किनेको भवनमा सर्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापना भएको ३२ वर्षपछि आफ्नै भवन कार्यालयमा सरेको छ । काठमाडौंको सिफल क्षेत्रमा चार करोड ५३ लाखमा खरिद गरेको भवनमा संघको नयाँ कार्यालय उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भवन उद्घाटन गर्दै व्यवसायीहरूको आवाजलाई अझ बलियो बनाउन र समाजको भलाइका लागि काम गर्ने महत्त्वपूर्ण अवसर भएको बताए । संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा उपलब्धिमूलक कार्यहरू गर्न सकेकोमा गर्व महसुस गरेको बताउँदै भवनको विषयलाई लिएर आलोचना नगर्न अनुरोध गरे । संघको भवन खरिदका लागि मेनपावर व्यवसायीहरू र संघ संस्थाहरूले आर्थिक सहयोग गरेका थिए । यसैगरी, द रिभर ओभरसिज प्रालिले १४ लाख ५१ हजार रुपैयाँको सहयोग प्रदान गरेको थियो । ३२ वर्षसम्म भाडामा कार्यरत रहेको संघले अब आफ्नै भवनमा कार्य सञ्चालन गर्ने अवसर पाएको छ ।
बीमा कम्पनीमा कर्मचारीको संख्या १९१ प्रतिशतले बढ्यो, पहुँच घट्यो
काठमाडौं । नेपालको बीमा क्षेत्रको विस्तारसँगै बीमा क्षेत्रले प्रदान गर्दै आइरहेको रोजगारीको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ । एक दशकमा बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या १९१ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको संख्या ४ हजार ३६ जना थियो । आव २०८०/८१ मा आइपुग्दा कर्मचारीको संख्या ७ हजार ७३३ अर्थात १९१ प्रतिशतले वृद्धि भएर ११ हजार ७६९ पुगेको छ । आव २०७६/७७ मा बीमा कम्पनीमा काम गर्ने प्रत्यक्ष कर्मचारीको संख्या ९ हजार ७५५ थियो । आव २०८०/८१ मा आइपुग्दा सो संख्या बढेर बढेर ११ हजार ७६९ पुगेको छ । आव २०७४/७५ सालतिर बीमा क्षेत्रले ७ हजार २०६ जनालाई रोजगारी दिँदै आएकोमा आव २०७५/७६ मा सो संख्या बढेर ९ हजार ४१० पुगेको देखिन्छ । जुन अघिल्लो आवको तुलनामा ३१ प्रतिशतले वृद्धि हो । आव २०७६/७७ मा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको संख्यामा केही बढेको देखिन्छ । उक्त आवमा बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या ९ हजार ७५५ पुगेको छ । आव २०७७/७८ मा बीमा कम्पनीमा कर्मचारीको संख्या बढेर ११ हजार २८ पुगेको छ । आव २०७८/७९ मा बीमा कम्पनीहरुले ११ हजार ९४३ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । बीमा कम्पनीमा निरन्तर वृद्धि हुँदै आएको कर्मचारीको संख्या आव २०७९/८० मा आइपुग्दा घटेको देखिन्छ । उक्त आवमा बीमा कम्पनीमा संलग्न प्रत्यक्ष कर्मचारी ११ हजार ४९६ मा झरेको छ । अघिल्लो आवको तुलनामा कर्मचारी संख्या ४.४५ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा गरी कुल ३७ बीमा कम्पनीले १२ हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । आव २०७२/७३ तिर बीमा कम्पनीहरूको संख्या ४० थियो । हाल मर्ज भएर ३७ मा झरेको हो । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आव २०८१/८२ को फागुनसम्मको तथ्यांकअनुसार १२ हजार ९५ जनाले प्रत्यक्ष रोजगारी पाएको देखिन्छ । गत आवको तुलनामा यस चालु आवमा बीमा कम्पनीमा ५४० नयाँ कर्मचारी थपिएका छन् । गत आवको सोही अवधिमा ११ हजार ५५५ जना कर्मचारी थिए । बीमा कम्पनीमा कार्यरत कर्मचारीको अवस्था बीमा कम्पनीमा कार्यरत कर्मचारी चालु आवमा ५०० नयाँ कर्मचारी थपिए चालु आव २०८१/८२ को फागुनमसान्तसम्ममा बीमा कम्पनीहरूमा ५४० जना नयाँ कर्मचारी थपिएका छन् । फागुनसम्ममा बीमा कम्पनीहरुमा १२ हजार ९५ जनाले रोजगारी पाएका छन् । जुन संख्या गत आवको सोही अवधिको तुलनामा ४.६७ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुमा मात्रै ६ हजार ७४ जना कर्मचारी आवद्ध छन् भने नीर्जीवन बीमा कम्पनीमा ६ हजार २१ जना कार्यरत छन् । माथि प्रस्तुत तथ्यांक बीमा बजारमा प्रत्यक्ष रोजगारी पाएका कर्मचारीहरू हुन् । अप्रत्यक्ष रूपमा बीमा कम्पनीहरूले यतिलाई रोजगार दिएको छ भन्ने यकिन तथ्यांक नभएपनि हजारौंलाई रोजगारी प्रदान गर्दै आइरहेको छ । तथ्यांक नै हेर्ने हो भने २०८०÷८१ अनुसार ३ लाख २९ हजार ५७२ जनाले बीमा कम्पनीहरूमा र बीमा अभिकर्ताको रूपमा अप्रत्यक्ष काम गदैै आएका छन् भने १ हजार २४८ बीमा सर्भेयरले रोजगारी पाएका छन् । ४४ प्रतिशत जनसंख्यामा पुग्यो दायरा ७० को दशकमा बीमाको दायरामा राम्रो वृद्धि भएपनि ८० को दशमा आएर दायरा बढ्न सकेको छैन । आर्थिक वर्ष २०७२÷७३ मा बीमाको दायरामा आएको जनसंख्या १० प्रतिशत हाराहारीमा थियो । आव आव २०७३÷७४ मा आइपुग्दा बीमाको दायरामा आएको जनसंख्या ११ प्रतिशतमा पुग्यो । आव २०७४/७५ मा बीमाको दायरा ३ प्रतिशतले बढेर १४ प्रतिशतमा पुगेको देखिन्छ । त्यस्तै, आव २०७५/७६ मा आइपुग्दा बीमाको दायरामा आएको जनसंख्या १७ प्रतिशत पुग्यो । आव ७६/७७ मा बीमाको दायरा २३ प्रतिशतमा पुग्यो । आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा बीमाको दायरामा आएको जनसंख्या २५ प्रतिशतमा पुगेको तथ्यांक छ । त्यस्तै, आव २०७८/७९ मा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४१ प्रतिशतमा पुगेको थियो । आव २०७९/८० मा बीमाको दायरामा आएको जनसंख्याा ४४.२ पुग्यो । आव २०८०/८१ मा आइपुग्दा बीमाको दायरा ४३.२७ प्रतिशतमा सीमित छ । चालु आवमा आइपुग्दा कुल जनंख्याको ४४ प्रतिशतमा बीमाको दायरा पुगेको बीमा प्राधिकरणको तथ्यांक छ । यसरी तथ्यांक हेर्दा बीमा दायरा बढाउने गरी प्राधिकरणले नयाँ कदम चाल्नुपर्ने देखिन्छ ।
आजबाट बिदामा जाँदै राष्ट्र बैंकका गभर्नर अधिकारी (फोटो-फिचर)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शुक्रबारदेखि बिदामा जाँदैछन् । पाँच वर्षे कायकाल सकाएर उनी आजबाट बिदामा जाने भएका हुन् । उनको कार्यकाल यही चैत्र २४ गते सकिँदैछ । गभर्नर अधिकारीको बिदाइको लागि कार्यक्रम राष्ट्र बैंकमा आयोजना गरिएको छ । कार्यक्रममा उनले आफ्नो कार्यकालमा गरिएका गतिविधिको बारेमा जानकारी गराएका छन् । २०७६ साल चैत्रमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अधिकारीलाई १७ औं गभर्नरका रूपमा नियुक्त गरेको थियो ।
घुम्ती खाद्य प्रयोगशालामा २४ प्रकारका परीक्षण, महानगरपालिकाको अनुगमनमा सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण क्षमता भएको जनाएको छ । यस प्रयोगशालामा बजारबाट संकलित खाद्य नमूनाहरूको तत्काल परीक्षण गरी गुणस्तर मापन गर्न सकिन्छ । घुम्ती खाद्य प्रयोगशाला सञ्चालनको उद्देश्य खाद्य बजारमा गुणस्तरीय सेवा सुनिश्चित गर्नु हो, र यो प्रयोगशाला हाल काठमाडौंका विभिन्न क्यान्टिनमा परीक्षण गर्दैछ । पहिलो प्रयोग क्यान्टिनमा गरिएपछि अब यो प्रयोगशाला खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूमा खाद्य स्वच्छता, गुणस्तर निरीक्षण, र स्थलगत परीक्षणका लागि प्रयोग हुनेछ । प्रयोगशालामा फलफूल र तरकारीमा विषादीको अवशेष, दूधमा चिल्लो पदार्थ, र पानीको पिएच, क्लोरिन, र एनोमिया जस्ता विभिन्न परीक्षणहरू गर्न सकिन्छ । संकलित खाद्य नमूनाहरूको तौल जाँचदेखि विभिन्न परीक्षण उपकरणहरू जस्तै वाटर एडल्टरेसन किट, ल्याक्टोमिटर, ग्राइन्डर, रिफ्राक्टोमिटर लगायतका अन्य उपकरणहरू प्रयोग गरिन्छ । यी उपकरणहरूले खाद्य पदार्थको गुणवत्ता तथा सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निभाउनेछन् । यस घुम्ती प्रयोगशालाले काठमाडौं महानगरपालिकालाई खाद्य पदार्थहरूको स्वच्छता र गुणस्तर सुधार्न महत्त्वपूर्ण सहकार्य प्रदान गर्ने उद्देश्य राख्दछ। प्रयोगशालामा खाद्य प्राविधिक, माइक्रोबायोलोजिस्ट, र अन्य विज्ञहरूको एक संयुक्त टोलीले अनुगमन गर्नेछ । महानगरपालिकाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार, यस अघि पनि संकलित खाद्य पदार्थको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । यसको परिणाम आउने काम बाँकी रहेको जानकारी दिइएको छ ।
स्वास्थ्यमन्त्री पौडेलको संयुक्त राष्ट्र संघमा सम्बोधन, स्वास्थ्य सुधारका लागि अन्तर्राष्ट्रिय सहकार्यको आह्वान
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउन समेत नेपालले सफलता पाएको मन्त्री पौडेलले बताए । 'नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वस्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध छ,' मन्त्री पौडेलले भने, 'तर यो हामी एक्लैले मात्र गर्न सम्भव छैन ।' मन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धताबाट मात्र सम्भव रहेकोमा जोड दिए । स्वास्थ्य क्षेत्रमा बजेटको सीमितता तथा प्रतिव्यक्ति स्वास्थ्य खर्च विश्वव्यापी दरका तुलनामा कम भएका कारण ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुनाले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नु परेको मन्त्री पौडेलले बताए । जलवायु परिवर्तनका कारण समेत नेपालको स्वास्थ्य क्षेत्रले कठिनाई बेहोर्नु परिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले भने, ‘जलवायु परिवर्तन र प्राकृतिक प्रकोप बढ्दै जाँदा आपतकालिन अवस्थाको सामना गर्ने स्वास्थ्य प्रणालीको लचिलोपनलाई पहिले भन्दा बढी बलियो पार्न जरुरी छ ।’ तर विकास सहायतामा कमीका कारण नेपालजस्ता देशले चुनौतीको सामना गर्नु परिरहेको बताए । ‘यो समस्या सम्बोधन गर्नका लागि हामी नेपाललाई विकास सहायता वृद्धिका लागि विशेष जोड दिन्छौं,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलले यस्तो सहायताले मात्र स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि यो जरुरी रहेको बताए । निजी क्षेत्रलाई समेत स्वस्थ्यमा लगानी वृद्धि जरुरी रहेकोमा मन्त्री पौडेलले जोड दिए । मन्त्री पौडेल आजबाट पाँच दिनसम्म चल्ने सत्रमा नेपालको नेतृत्व गर्दै सहभागी छन् । न्यूयोर्कमा रहेका बेला मन्त्री पौडेलले द्विपक्षीय वार्ताका साथै त्यहाँ रहेका नेपाली समुदायसँग स्वास्थ्य सेवा सुधारका लागि सुझाव संकलन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख राजदुत लोकबहादुर थापाले जानकारी दिए ।
स्वागतम यातायातका ४५ वटा बस बिक्री गर्दै राष्ट्रिय वाणिज्य बैंक, मूल्य कति ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले झण्डै ४५ वटा सवारीसाधन (बस) लिलाम बिक्रीमा राखेको छ । बैंकको शाखा कार्यालय स्वयम्भूबाट हायर पर्चेज कर्जामा ऋण लिएको स्वागतम यातायात प्रालिले चुक्ता नगरेपछि ४५ वटा सवारीसाधन बिक्रीमा राखिएको हो । स्वागतम यातायात कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको कम्पनी हो । यस कम्पनीका संस्थापक सेयरधनीहरू मोहनबहादुर श्रेष्ठ र राज श्रेष्ठ हुन् । बैंकका अनुसार उनीहरूलाई लिखित तथा मौखिक तर ताकेता गर्दा समेत कर्जा भुक्तान तथा नियमित गरिएको छैन । साथै अबको ३५ दिनभित्र कर्जा चुक्ताको अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुर चुक्ता गरी धितो सम्पत्ति फुकुवा गरी लैजान बैंकले आग्रह गरेको छ । यदि उक्त अवधिमा कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने वा लिलाम बिक्री हुन नसकेको धितो सम्पत्ति बैंक आफैले सकार्ने जनाएको छ । धितो रहेका सवारीसाधन (बस) खरिद गर्न इच्छुकले बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ । सवारी साधन (बस)हरू टाटा मोटर्स भारतबाट सन् २०१८ मा निर्माण भएका हुन् । बसहरूको मूल्य न्यूनतम १९ लाख ३८ हजार रुपैयाँदेखि अधिकतम ३८ लाख ९८ हजार ८९० रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले कबोल गरेको रकमको १० प्रतिशत रकम अग्रिम जम्मा गर्नुपर्नेछ ।
क्यापिटल मर्चेन्टले १३ वर्षको साधारण सभा एकैपटक गर्यो, सञ्चालकमा को-को चुनिए?
काठमाडौं । क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले १३ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । यस साधारण सभाको अध्यक्षता क्यापिटल मर्चेण्टका अध्यक्ष तिलक बहादुर रानाभाटले गरेका थिए । सभा २०६७/०६८ देखि ७९/०८० सम्मको वार्षिक विवरणको आधारमा सम्पन्न भएको हो । नेपाल राष्ट्र बैंकले २०६९ सालमा क्यापिटल मर्चेण्ट बैंकिङलाई समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैंकिङ कारोबारमा रोक लगाएको थियो, जसका कारण उक्त अवधि भरि साधारण सभा गर्न असम्भव भएको थियो । तर, हालै वित्तीय अवस्थामा सुधार ल्याएर लेखा परीक्षण कार्यहरू सम्पन्न गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि क्यापिटल मर्चेण्ट बैंकिङले १३ आर्थिक वर्षको साधारण सभा आयोजना गरेको हो । सभाले विगतका १३ वर्षको वित्तीय विवरण पारित गर्दै, लेखा परीक्षक नियुक्तिको अनुमोदन, संचालक समितिमा भएका परिवर्तन र कामकाजी कार्यहरूको अनुमोदन, ऋण असुली कार्यहरूको अनुमोदन, र संस्थाको नाम परिवर्तनको प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । साथै, गाभिने विषयहरू पनि सर्वसम्मत पारित भएका छन् । सभामा संस्थाको विनियमावलीको अनुरूप निर्वाचन पनि सम्पन्न भएको छ । संस्थापक सेयरधनीबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल, र रञ्जन रायमाझी निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीबाट निर्मल दाहाल र मोहन खड्का निर्वाचित भएका छन् । संस्थाको स्वतन्त्र संचालकका रुपमा राजेश्वर श्रेष्ठ चयन भएका छन् । सभामा प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले संस्थाको वर्तमान वित्तीय अवस्थाबारे विस्तृत रूपमा जानकारी दिएका थिए । उनले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा सुधार गर्नका लागि नयाँ कार्ययोजना तयार गरिएको र नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा समस्याग्रस्त संस्थाबाट फुकुवा हुने प्रक्रिया जारी रहेको जानकारी गराए ।