काठमाडौं । पर्सा प्रहरीले झण्डै १७ वर्षदेखि फरार रही साधुको भेषमा भारतमा लुकेर बसेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
मिति २०६४ साल वैशाख २५ गते पर्सा जिल्लाको बहुअर्वाभाठा–९ निवासी ढोडा मुखिया विनलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा फरार रहेका लोकनाथ साह तेलीलाई पक्राउ गरिएको हो । उनले जग्गा विवादका क्रममा छलफलका लागि बोलाई ढोडा मुखियामाथि गोली प्रहार गरी हत्या गरेका थिए ।
उक्त घटनामा सर्वोच्च अदालतले २०६९ साल असोज २४ गते निज तेलीलाई साविक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा १३ (१०) अनुसार सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर फैसला लागेपछि उनी फरार रहँदै आएका थिए ।
प्रहरी अनुसन्धानका क्रममा उनले भारतको चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा विगत १० वर्षदेखि साधुको भेषमा पुजारीको रूपमा लुकिछिपी बसिरहेको खुल्न आएको हो ।
पर्सा प्रहरीले उनलाई सोमबार वीरगञ्जबाट पक्राउ गरी सोही अदालतको फैसलाअनुसार कारबाही अघि बढाएको जनाएको छ । पक्राउपछि उनलाई मंगलबार पर्सा जिल्ला अदालतमा पेश गरिएको हो ।