परेवाको दिशाबोधमा कलेजोको भूमिका
काठमाडौं । परेवाहरू घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने दीर्घकालीन वैज्ञानिक रहस्यमा नयाँ अनुसन्धानले अप्रत्याशित निष्कर्षतर्फ सङ्केत गरेको छ । अध्ययनअनुसार यी चराहरूले दिशानिर्देशनका लागि केवल आकाशीय सङ्केत वा स्थलचिह्न मात्र नभई, उनीहरूको कलेजोसँग सम्बन्धित जैविक प्रणालीलाई पनि उपयोग गर्ने सम्भावना देखिएको छ । जनावरहरूले सामान्यतया ताराहरू, भू–दृश्य र पृथ्वीको चुम्बकीय क्षेत्रजस्ता विभिन्न सङ्केतहरू प्रयोग गरेर दिशा पहिचान गर्छन् । चराहरू, माछा र कछुवाजस्ता प्रजातिहरूले पृथ्वीको चुम्बकीय क्षेत्रलाई प्राकृतिक कम्पासको रूपमा प्रयोग गर्ने विश्वास रहँदै आएको छ, तर यसको वास्तविक जैविक प्रक्रिया अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन । परेवाहरू लामो दूरी उडान गर्न सक्षम चराहरू हुन् । यी चराले एकै दिनमा सयौँ माइल दूरी पार गर्न सक्छन् । ऐतिहासिक रूपमा मानिसहरूले यी चराहरूलाई सन्देशवाहकका रूपमा समेत प्रयोग गर्दै आएका छन्, जसले उनीहरूको दिशा पहिचान क्षमताप्रति थप चासो बढाएको छ । जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ एनिमल बिहेभियरका मार्टिन विकेल्स्की नेतृत्वको अनुसन्धान टोलीले यस रहस्यको अध्ययन गर्दै चुम्बकीय सङ्केत पत्ता लगाउने प्रणाली खोज्ने क्रममा कलेजोमा अप्रत्याशित जैविक सङ्केत फेला पारेको जनाएको छ । अध्ययनअनुसार कलेजोमा रहेका विशेष प्रतिरक्षा कोशिकाहरूले रातो रक्त कोशिका तोड्ने र फलाम भण्डारण गर्ने प्रक्रियामा चुम्बकीय संवेदनसँग सम्बन्धित भूमिका खेल्न सक्ने देखिएको छ । बोन विश्वविद्यालयका क्रिश्चियन कुट्र्सका अनुसार ती प्रतिरक्षा कोशिकाहरूलाई अस्थायी रूपमा निष्क्रिय पारिँदा परेवाहरूले आफ्नो मार्ग पहिचान गर्ने क्षमता गुमाएको देखिएको थियो । यसले कलेजोमा रहेको फलाम–सम्बन्धित प्रणालीले दिशाबोधमा भूमिका खेल्न सक्ने बलियो सङ्केत दिएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । अनुसन्धानकर्ताहरूले चराहरूको चुम्बकीय कम्पास विशेषगरी बादलयुक्त अवस्थामा मात्र प्रभावित हुने बताएका छन्, किनभने उनीहरूले सूर्यलाई पनि वैकल्पिक दिशा पहिचान सङ्केतका रूपमा प्रयोग गर्ने गर्छन् । वैज्ञानिकहरूले लामो समयदेखि प्रतिरक्षा कोशिकाहरू चुम्बकीय संवेदन प्रक्रियामा संलग्न हुन सक्ने अनुमान गर्दै आएका थिए, तर साइन्स जर्नलमा प्रकाशित यो अध्ययनले त्यसतर्फ पहिलो ठोस संरचनात्मक सङ्केत प्रस्तुत गरेको बताइएको छ । अमेरिकाको म्यासाचुसेट्स बोस्टन विश्वविद्यालयका व्यावहारिक पारिस्थितिकीविद् अल्बर्ट काओले अनुसन्धानलाई आश्चर्यजनक भए पनि अर्थपूर्ण रहेको प्रतिक्रिया दिए । बोन विश्वविद्यालयकी सह–लेखिका क्लिभिया लिसोभ्स्कीका अनुसार कलेजोका ती प्रतिरक्षा कोशिकाहरू स्नायु तन्तुको नजिक रहेकाले तिनले चुम्बकीय सङ्केतलाई मस्तिष्कसम्म पुर्याउने सम्भावना देखिन्छ, जसले परेवाको दिशा पहिचान प्रणालीमा योगदान दिन सक्छ । अनुसन्धानकर्ताहरूले मुसाजस्ता अन्य जनावरमा पनि यस्तै प्रकारको चुम्बकीय प्रणाली हुन सक्ने सम्भावना औँल्याएका छन् । तर बाह्य विज्ञहरूले अझै थप प्रमाण आवश्यक रहेको बताउँदै परेवाहरूले चुम्बकीय सङ्केत कसरी मस्तिष्कमा व्याख्या गर्छन् भन्ने विषयमा अनुसन्धान जारी रहनुपर्नेमा जोड दिएका छन् । अध्ययनले कलेजोमा सबैभन्दा बलियो सङ्केत भेटिए पनि यस्तै प्रतिरक्षा कोशिकाहरू चराको मुखको भाग (चुच्चो) र शरीरको रोग–प्रतिरोधी प्रणालीसँग सम्बन्धित अन्य अङ्गहरूमा पनि देखिएको उल्लेख गरिएको छ । विशेषज्ञहरूले चुम्बकीय दिशा पहिचानको एकल सिद्धान्त नहुन सक्ने बताउँदै चराहरूले परिस्थितिअनुसार विभिन्न संयन्त्र प्रयोग गर्न सक्ने सम्भावना पनि औँल्याएका छन् । रासस
सेल्सबेरीको माउ कम्पनी सालवेजको आम्दानी ९ महिनामा पौने २ अर्ब, ऋण २.६२ अर्ब रुपैयाँ
काठमाडौं । सालवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी) को आम्दानीमा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ७.०९ प्रतिशत अर्थात् २२ करोड ६० लाख रुपैयाँले कम हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ रहेको थियो । खुद्रा व्यापार क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, ठूला सुपरमार्केटहरूको विस्तार तथा साना डिपार्टमेन्ट स्टोरहरूको बढ्दो उपस्थितिका कारण कम्पनीको आम्दानीमा दबाब परेको कम्पनीले जनाएको छ । कम्पनीको विगत केही वर्षको आम्दानी विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ८१ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब २४ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा २ अर्ब रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब ७३ करोड रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब ४८ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१४ मा स्थापना भएको सालवेज क्यास एन्ड क्यारी प्रालिले ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ र ‘सेल्सबेरी एक्सप्रेस’ ब्रान्डमार्फत खुद्रा व्यापार सञ्चालन गर्दै आएको छ । कम्पनीले काठमाडौं, ललितपुर र पोखरामा आफ्नो व्यवसाय विस्तार गरेको छ । कम्पनीका अनुसार ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ ठूला आउटलेटका रूपमा सञ्चालनमा छन् भने ‘सेल्सबेरी एक्सप्रेस’ तुलनात्मक रूपमा साना स्टोर हुन् । यी स्टोरमार्फत दैनिक उपभोग्य सामग्रीदेखि विभिन्न उपभोक्ता वस्तुहरू बिक्री वितरण हुँदै आएको छ । सालवेज क्यास एन्ड क्यारीको सेयर संरचनाअनुसार सुषिलमान प्रधानाङ्गको ५१ प्रतिशत र सृजना श्रेष्ठको ४९ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका प्रवर्द्धकहरू आधुनिक खुद्रा व्यापार क्षेत्रमा तीन दशकदेखि सक्रिय छन् । उनीहरूले सन् १९९३ मा पोखरामा ‘सालवेज डिपार्टमेन्टल स्टोर’ स्थापना गर्दै आधुनिक खुद्रा व्यापार सुरु गरेका थिए । हाल कम्पनीले ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ र ‘सेल्सबेरी एक्सप्रेस’ ब्रान्ड अन्तर्गत काठमाडौं, ललितपुर र पोखरामा ३५ वटा स्टोर सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार साना स्टोर विस्तार रणनीतिले ठूलो पुँजीगत खर्च र अत्यधिक ऋणभारको जोखिम कम गर्दै व्यवसाय विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । शहरीकरणसँगै उपभोक्ताहरूको आधुनिक खुद्रा व्यापारतर्फ आकर्षण बढ्दै गएको कम्पनीको विश्वास छ । ठूला सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरप्रतिको माग बढ्दै जाँदा कम्पनीको बिक्रीमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । कम्पनीले व्यापारसँगै भाडा आम्दानीबाट पनि आम्दानी विविधीकरण गर्दै आएको जनाएको छ । काठमाडौंको महाराजगञ्जस्थित भवन पूर्ण रूपमा भाडामा दिइएको छ भने ललितपुरको सातदोबाटो र पोखराको चिप्लेढुंगास्थित सम्पत्तिबाट पनि भाडा आम्दानी भइरहेको छ । कम्पनीका अनुसार यसले नगद प्रवाह र ऋण भुक्तानी क्षमतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, पछिल्ला वर्षहरूमा स्टोर विस्तारका लागि ठूलो मात्रामा ऋण प्रयोग गरिएकाले कम्पनीको ऋणभार बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ दीर्घकालीन तथा ९६ करोड रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष कम्पनीको कुल ऋण २ अर्ब ४५ करोड २४ लाख रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार ऋणमा आधारित विस्तार, नयाँ स्टोर तथा पूर्वाधारमा गरिएको ठूलो लगानीका कारण आम्दानी वृद्धिले अपेक्षित गति लिन सकेको छैन । आगामी दिनमा नयाँ लगानीअनुसार आम्दानी वृद्धि गर्न सक्ने क्षमता कम्पनीको वित्तीय स्वास्थ्यका लागि महत्वपूर्ण रहने कम्पनीले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० उम्मेदवारको आवेदन
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले आवेदन दिएका छन् । आयोगका अनुसार आवेदन दिनेमा प्रा‍‍. डा. गेहनाथ बराल, प्रा. डा. दिलेश कुमार लस्साल, प्रा. डा. दीपेन्द्र श्रेष्ठ, प्रा. डा. देवेन्द्र बहादुर खत्री रहेका छन् । यस्तै, सह प्रा. प्रमोद कुमार यादव, डा. रोशन पोखरेल, प्रा. डा. श्रीकृष्ण गिरी, प्रा. डा. सञ्जय कुमार श्रेष्ठ, प्रा. डा. सुरज बज्राचार्य र प्रा. डा. बैलेन्द्र प्रधानले आवेदन दिएका छन्। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि सिफारिस गर्न गठित सिफारिस समितिले उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम सार्वजनिक गरेको छ । जसमा समितिले तोकिएको अवधिभित्र आवेदन दिएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनासहितको सोचपत्र प्रस्तुतीकरण तथा अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको हो। सार्वजनिक सूचनाअनुसार १० जना उम्मेदवारलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ । सूचनाअनुसार प्रस्तुतीकरण कार्यक्रम २०८३ जेठ २६ गते लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन हुनेछ । बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विभिन्न समयमा प्रस्तुतीकरण कार्यक्रम तय गरिएको छ । त्यसैगरी, अन्तर्वार्ता कार्यक्रम २०८३ जेठ २७ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जनाइएको छ । समितिले उम्मेदवारलाई आवेदनसँग पेश गरेका सम्पूर्ण कागजातको सक्कल प्रति साथमा ल्याउन तथा निर्धारित समयभन्दा कम्तीमा एक घण्टा अगाडि उपस्थित हुन आग्रह गरेको छ । साथै प्रस्तुतीकरण र अन्तर्वार्ताको दिन सार्वजनिक बिदा परेपनि कार्यक्रम यथावत सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।
बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्। बैठक शुक्रबार दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो । बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बजेटलाई अन्तिम स्वीकृति दिनेछ । आजै अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक (संघीय संसद्)मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेट प्रस्तुत गर्नुअघि बिहीबार अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवास पुगेर आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानबारे जानकारी गराएका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि करिब २० खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको उच्च स्रोतले जनाएको छ । सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रको मनोबल उकास्ने र पुँजीगत खर्च बढाउने उद्देश्यसहित बजेट निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । यस वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी पनि गरिएको छ । बढ्दो महँगी र कर्मचारीको दबाबलाई ध्यानमा राख्दै तलब समायोजन गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । त्यसैगरी, करका दरमा पनि केही परिवर्तन हुने संकेत देखिएको छ । उद्योगी(व्यवसायीहरूले उत्पादन, आयात, विद्युतीय सवारीसाधन, सूचना प्रविधि तथा साना(मझौला व्यवसायसँग सम्बन्धित कर संरचनामा सुधारको अपेक्षा गरेका छन् । उनीहरूले कमजोर माग र घट्दो लगानीका कारण अर्थतन्त्र दबाबमा परेको भन्दै राहतमुखी बजेटको माग गर्दै आएका छन् । निजी क्षेत्रले लगानीमैत्री वातावरण, कर प्रणालीमा स्थायित्व, अनावश्यक झन्झट हटाउने व्यवस्था र उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समेटिनुपर्ने सुझाव दिएका छन् । यसैबीच, नागरिक तहमा पनि रोजगारी सिर्जना, महँगी नियन्त्रण, सुशासन, विकास निर्माणको तीव्रता र सेवा प्रवाह सुधारलाई मुख्य अपेक्षाका रूपमा हेरिएको छ । आर्थिक सुस्तता, राजस्व संकलनमा दबाब र बढ्दो सार्वजनिक अपेक्षाबीच आउने यस वर्षको बजेटलाई देशको आर्थिक दिशानिर्देशका रूपमा चासोका साथ हेरिएको छ ।
धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने परियार टोखाबाट पक्राउ
काठमाडौं । 'मठ- मन्दिर आगो लगाइदिन्छौ’ भन्ने तथा धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका एक व्यक्ति पक्राउ परेका छन् । सामाजिक सञ्जालमा देखिएको भिडियोमा 'मठ मन्दिर आगो लाइदिन्छौ' जस्ता धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने २७ वर्षीय जनक परियार पक्राउ परेका हुन् । रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ का काठमाडौं, टोखा नगरपालिका ८ बानियाँटार बस्ने २७ वर्षीय परियारलाई नियन्त्रणमा लिएर थप ४ दिनकाे म्याद थप गरेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
हिमालयन बैंक र यूनियनपेको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सुरु
काठमाडौं । हिमालयन बैंक लिमिटेड र यूनियनपे इन्टरनेसनलबीचको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सञ्चालनमा आएको छ । बैंकका अनुसार चीन भ्रमण गर्ने नेपाली ग्राहकहरुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो, जसले गर्दा चीनमा हुने कारोबारलाई अझ सहज र सुलभ बनाउने अपेक्षा गरिएको छ । उक्त कार्ड प्रयोग गरी ग्राहकहरुले चीनमा एटीएम, पीओएस, क्यूआर कोड तथा ई–कमर्स प्लेटफर्ममार्फत हुने भुक्तानी सीधै चिनियाँ मुद्रा (सीएनवाई) मा गर्न सक्नेछन् । यसले अन्य भुक्तानी माध्यमको तुलनामा बढी मितव्ययी र सर्वस्वीकार्य हुने बैंकले जनाएको छ । विद्यार्थी, व्यवसायी तथा पर्यटकहरूले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले स्वीकृत गरेको सीमाभित्रको रकम कार्डमा लोड गरी युनियनपे नेटवर्कअन्तर्गत रहेका अलीपे प्लस, वीच्याट पे, निहाओ चाइना जस्ता क्यूआर प्रणालीमार्फत सहज भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । नक्सालस्थित काठमाडौं मेरियट होटलमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा यूनियनपे इन्टरनेसनलका उपाध्यक्ष ज्वाङ बेइ ले संयुक्त रूपमा उक्त कार्ड सेवाको शुभारम्भ गरेका थिए । बैंकले यस सेवाले चीन भ्रमण गर्ने नेपालीहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा सहजता ल्याउनुका साथै डिजिटल कारोबार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
फेसबुक र टिकटक मोनिटाइजेसन गर्ने विज्ञापनको विश्वास नगर्नू : साइबर ब्यूरो
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबुक वा टिकटक मोनिटाइजेसन गर्ने विज्ञापनको विश्वास नगर्न सचेत गराएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा मोनिटाइजेसन सस्तो र ग्यारेन्टीसहितको विज्ञापन गर्ने बढेकाले ब्यूरोले सर्वसाधारणलाई सचेत गराएको हो । ह्याकिङ् गर्नेले फेसबुकलाई भेरिफेकिसन तथा सपोर्ट गर्ने बहानामा फिसिङ लिङ्क पठाइ ओटीपी तथा पासवर्ड माग्ने क्रम बढेको हो । ह्याकरहरूले ओटीपी पाउँनसाथ सामाजिक सञ्जालको च्यानल र पेज कब्जामा लिने गरेको ब्यूरोले जनाएको छ । उनीहरूले आर्थिक तथा व्यक्तिगत क्षतिसमेत गर्ने गरेको ब्यूरोले उल्लेख गरेको छ । ब्यूरोले मोनिटाइजेसनको सम्पूर्ण गतिविधि आधिकारीक प्लेटफार्ममार्फत गर्न अनुरोध गरेको छ । मेटा बिज्नेस र युट्युब स्टुडियोबाट मात्र काम गर्नुपर्ने ब्यूरोले बताएको छ । ब्यूरोले कुनै पनि आधिकारिक कम्पनीले सामाजिक सञ्जालको अकाउन्टको पासवर्ड, रिकभरी कोड वा ओंटीपी म्यासेजमार्फत नमाग्ने जनाएको छ । अपरिचित व्यक्ति वा विज्ञापनको प्रलोभनमा परेर कतै पनि आफ्नो गोप्य विवरण वा ओटीपी सेयर नगर्न ब्यूरोले प्रस्ट पारेको छ । अनलाईन ठगीमा परेको र यस्तो गतिविधि देखेमा नजिकैको प्रहरी कार्यालयमा वा साइबर ब्यूरोमा सम्पर्क गर्न ब्यूरोले आग्रह गरेको छ ।
साझा यातायात ७ करोड घाटामा, सञ्चालन आम्दानी घट्दा नेटवर्थमा पनि ह्रास
काठमाडौं । सरकारको ९२.१८ प्रतिशत वैधानिक लगानी रहेको साझा यातायात चालु आर्थिक वर्षमा ठूलो घाटामा गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३ अनुसार साझा यातायातले आर्थिक वर्ष २०८१/८२ मा ७ करोड ७ लाख १३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा साझाको वित्तीय अवस्थामा गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा साझाले ८ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । तर, मुख्य व्यवसाय (बिक्री आम्दानी) मा आएको भारी संकुचनका कारण संस्था यसपटक घाटामा गएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा साझाको सञ्चालन आम्दानी ४१ करोड ५ लाख रुपैयाँ मात्र सीमित भएको छ । यो अघिल्लो आवको तुलनामा २४.७४ प्रतिशतले कम हो । आव २०८०/८१ मा संस्थाले ५४ करोड ७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आम्दानी घटिरहँदा साझाको कर्मचारीसहितको प्रशासनिक खर्च भने १३.१३ प्रतिशतले बढेको छ । आव २०८१/८२ मा यसको प्रशासनिक खर्च ३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनी घाटामा गएसँगै यसको नेटवर्थ (खुद सम्पत्ति) मा समेत ह्रास आएको छ । आव २०८०/८१ मा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको साझाको नेटवर्थ आव २०८१/८२ मा घटेर ४ अर्ब २५ करोड रुपैयाँमा झरेको छ । हाल साझा यातायातको कुल चुक्ता पूँजी ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।