ट्रेकिङ अनुमति शुल्कमा सरकारको ठूलो सुधार, अब प्रतिदिन ५० डलर मात्र
काठमाडौं । नेपाल सरकारले विदेशी पर्यटकका लागि लाग्दै आएको पदयात्रा (ट्रेकिङ) अनुमति दस्तुरमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अध्यागमन नियमावली, २०५१ संशोधन गर्दै हालसम्म लागू रहेको पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर र त्यसपछि प्रतिदिन ५० डलर लिने व्यवस्था हटाइएको छ । नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकले पदयात्रा अनुमति लिन प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा मात्र तिर्नुपर्नेछ । यो निर्णय नियमावलीको अनुसूची–१२ अन्तर्गत पदयात्रा अनुमति दस्तुरसम्बन्धी व्यवस्था हेरफेर गर्दै कार्यान्वयनमा ल्याइएको हो । सरकारले यस कदमलाई पर्यटनमैत्री सुधारका रूपमा प्रस्तुत गरेको छ । यसले विदेशी पर्यटकलाई राहत दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार पुरानो संरचनाले छोटो समयका पर्यटकलाई निरुत्साहित गर्दै आएको थियो । अब दैनिक दर प्रणाली लागू भएपछि लचिलो यात्रा योजना, लामो बसाइ र पर्यटक संख्या वृद्धि हुने विश्वास गरिएको छ । सरकारको यो निर्णयले विशेषगरी अन्नपूर्ण, सगरमाथा, लाङटाङलगायत प्रमुख पदयात्रा मार्गमा पर्यटन गतिविधि बढाउने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ।
काठमाडौंको तापक्रम मंगलबार यस वर्षकै कम
काठमाडौं । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौं उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौंको तापक्रम मंगलबार यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ । हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौंको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए । गत मङ्सिर २८ गते काठमाडौंको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो । उनका अनुसार मंगलबार देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । हिमाली क्षेत्रमा मौसम सफा रहेको छ । पानी र हिमपात बढी हुने सम्भावना नरहेको उनले बताए । मौसमविद् दाहालले भने, 'तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो ।' आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ ।
ओली–लेखकसँग बयान लिने प्रक्रिया सुरु
काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगले आन्दोलनका क्रममा भएका घटनाबारे अनुसन्धानलाई तीव्र बनाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने प्रक्रिया सुरु भइसकेको जनाएको छ । आयोगका अनुसार आन्दोलनको पृष्ठभूमि, निर्णय प्रक्रिया, सुरक्षा निकायको भूमिका तथा आन्दोलनका क्रममा भएका दमन, क्षति र मानवअधिकार उल्लङ्घनसम्बन्धी विषयमा बयान प्रक्रिया अघि बढाइएको हो । यसअघि आयोगले आन्दोलनमा प्रत्यक्ष संलग्न सुरक्षा अधिकारी, प्रशासनिक निकाय, पीडित पक्ष तथा प्रत्यक्षदर्शीहरूसँग बयान संकलन गरिसकेको छ । आयोगले निष्पक्ष र तथ्यमा आधारित प्रतिवेदन तयार पार्ने उद्देश्यसहित सबै सम्बन्धित पक्षसँग बयान लिने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ । बयानका आधारमा जिम्मेवारी निर्धारण, नीतिगत कमजोरी पहिचान तथा भविष्यमा यस्ता आन्दोलनका क्रममा दोहोरिन सक्ने घटनालाई रोक्न सिफारिस तयार पारिने आयोगको भनाइ छ ।
बीवाईडी बेच्ने साइमेक्स इंकको एक वर्षमै साढे ११ अर्ब रुपैयाँ आम्दानी, ईभी बजारमा बलियो पकड
काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एकै वर्ष साढे ११ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ११ अर्ब ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत अर्थात् ४ अर्ब ९२ करोड ३० लाख रुपैयाँ कम हो । सन् २०२४ मा कम्पनीले १६ अर्ब ४० करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२१ मा ६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । बढ्दो प्रतिस्पर्धाबीच साइमेक्स इंकले छोटो समयमै नेपाली अटोमोबाइलमा बलियो उपस्थिति जनाउन सफल भएको छ । साथै साइमेक्स इंकको आम्दानीमा बीवाईडी अटो–३ र डल्फिन मोडलको ९० प्रतिशत रहेको कम्पनीले जनाएको छ । कम्पनीले हालै अटो-१, अटो-२ का कम मूल्यका नयाँ ईभी सवारीसाधन लञ्च गरिसकेको छ । यसबाट थप आम्दानी बढ्ने विश्वास कम्पनीले लिएको छ । सन् २०१६ जुलाईमा स्थापना भएको साइमेक्स इंक प्रालिले नेपालमा बीवाईडी ब्रान्डका यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विद्युतीय सवारीसाधनको प्रवर्द्धनमार्फत नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति दरिलो बनाएको छ । साइमेक्स इंकले देशभरका प्रमुख सहरमा १४ वटा डिलरशिप आउटलेटमार्फत सवारी साधन बिक्री वितरण गर्दै आएको छ । साथै देशभर कम्पनीले विभिन्न ठाउँमा ६४ वटा चार्जिङ स्टेशन पनि सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीमा ५०.५ प्रतिशत सेयर स्वामित्व यमुना श्रेष्ठको रहेको छ भने बाँकी ४९.५ प्रतिशत सेयर सेयर स्वामित्व उनका भाइ अनिल श्रेष्ठको नाममा रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ४५ करोड रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
खटाङ–घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुल आयोजना राष्ट्रिय प्राथमिकतामा सूचीकृत
काठमाडौं । भेरी नदीमाथि निर्माण हुने खटाङ–घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुल आयोजनालाई सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्णय गरी आयोजना राष्ट्रिय प्राथमिकतामा परेको जानकारीसहित राजपत्रमा प्रकाशित गरेको हो । सुर्खेत जिल्लाको रणनीतिक महत्त्व बोकेको यस आयोजनाले क्षेत्रीय आवागमन, व्यापार तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ । सरकारले राष्ट्रिय प्राथमिकतामा समेटेसँगै आयोजनाको कार्यान्वयन प्रक्रिया तीव्र हुने विश्वास लिइएको छ । भेरी नदी करिडोरलाई जोड्ने यो पुल निर्माणपछि दुर्गम बस्तीहरूलाई सडक सञ्जालसँग जोड्न सहज हुने, स्थानीय उत्पादनको बजार पहुँच विस्तार हुने र आर्थिक गतिविधि चलायमान हुने अनुमान गरिएको छ । उक्त पुल २०८३ असारभित्र निर्माण सम्पन्न हुने जनाइएको छ । पुल निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग २०८१ असार ११ गते सम्झौता भएको थियो । यो पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुने बताइएको छ । यो पुल नेपालमा निर्माण सम्पन्न भएका र निर्माण भइरहेका तीन मुखे पुलहरूमध्ये यो सबैभन्दा लामो हो । पुल निर्माणको काम २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा श्रीगीता कन्स्ट्रक्सनले पाएको छ ।
जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु, २८ जिल्ला जोखिममा
काठमाडौं । जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो । यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए ।जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उनको भनाई छ । गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु भएका थिए । उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताए। गत वर्ष जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण ८६ जना देखिएको थियो । सन् २०१४ मा चार जना, सन् २०१७ मा एक जना र सन् २०२३ मा सात जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएका थिए । डा. गौतमका अनुसार यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका मानिसलाई जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन् । मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उनले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए । गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताए । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ । जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ । नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देही जिल्लामा जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । रासस
व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी
दमौली । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १० लाख ५९ हजार ७०४ आम्दानी गरेको हो । साउनदेखि मङ्सिरसम्म फोहर बिक्री गरी उक्त आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनका अनुसार पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कापी, किताब, गत्ता, टुक्रा कागज, सिसा बिक्री गरी उक्त आम्दानी भएको छ । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहर बिक्री गरी आम्दानी गरिएको लम्सालले बताए । उनले भने, 'एकै ठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन भइरहेको छ ।' फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सरसफाइ विज्ञ कृष्ण भण्डारीलाई नियुक्त गरेको थियो । भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेले भने, 'उहाँले धनगढी, वालिङ लगायतका क्षेत्रमा सफलतापूर्वक फोहर व्यवस्थापन तथा सेग्रीगेसनको काम उदाहरणीय रुपमा सम्पन्न गरिसक्नुभएको छ । उहाँको सहयोगमा हामीले फोहर उठाउँदादेखि नै कुहिने र नकुहिने फोहर छुट्याउने तथा नकुहिने फोहरभित्र विभिन्न सिसा, प्लास्टिक, कागज जस्ता वस्तु छुट्याएर त्यसलाई मेसिनले कम्प्रेस गरी आम्दानी गर्न थालेका हौँ ।' नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लास्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ । करिब ३२ वर्षसम्म फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएको बताउँदै न्यौपानेले भने, 'विगतको मेरो कार्यकालमा प्रयत्न गर्दा गर्दै समस्या आयौँ, जग्गा व्यवस्थापनका लागि नगरपालिका लागिरहेको छ ।' नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ । नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । रासस
एचपीभी खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश, यो वर्ष तीन लाख बढी किशोरीलाई दिइँदै
काठमाडौं । यो वर्ष सरकारले ३ लाख बढी किशोरीहरूलाई एचपीभी खोप दिने भएको छ । १० वर्ष उमेर पुगेका किशोरीहरूलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघर मुखको क्यान्सरविरुद्ध प्रयोग हुने एचपीभी खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले एचपीभी खोप यो वर्षदेखि नियमित खोप सूचीमा परेको बताए । सरकारले एचपीभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ । नेपालमा हरेक वर्ष दुई हजार १ सय ६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको अनुमान छ भने हरेक वर्ष एक हजार ३ सय १३ जना महिलाको यही रोगका कारण मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हुमन पापिलोमा भाइरसको संक्रमण हुनु हो । नेपालमा ८० प्रतिशत पाइएको पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिको हुमन पापिलोमा भाइरस रहेको छ । गत वर्ष सरकारले १० देखि १४ वर्ष उमेर समूहका १४ लाख २८ हजार ८८९ जना किशोरीलाई यो खोप दिएको थियो । एचपीभी खोप कार्यक्रम आगामी फागुन महिनामा सञ्चालन हुनेछ । गत वर्षको खोप कार्यक्रमका लागि २ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।