आज राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त हुन सक्ने, प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सोमबार र बिहीबार मन्त्रिपरिष् बैठक बस्ने कार्यसूची रहे पनि बालेनले मंगलबार आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्न सक्ने उच्च सम्भावना रहेको स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष डेपुटी गभर्नरका लागि अन्तिम सूची सिफारिस गरिसकेको बुझिएको छ । स्रोतका अनुसार सम्भवतः आजै अर्थमन्त्री वाग्लेले डेपुटी गभर्नरको लागि मन्त्रिपरिषदमा नाम प्रस्ताव गरेर राष्ट्र बैंक्ले दुई जना नयाँ डेपुटी गभर्नर पाउन सक्नेछ । राष्ट्र बैंकमा रहेका १८ जना कार्यकारी निर्देशक (ईडी)बाट दुई जनालाई डेपुटी गभर्नर बनाउने व्यवस्था छ । तर, अहिले राष्ट्र बैंकमा १७ जनामात्रै कार्यकारी निर्देशक छन् । एक जना ईडी गत साता अवकास भएपछि १७ जनामात्रै डेपुटी गभर्नर बन्ने दौडमा छन् ।
चैतको वर्षा र हिमपातले रसुवामा आलु उत्पादन बढ्ने किसानको अपेक्षा
रसुवा । चैत महिनामा परेको वर्षाले यहाँका किसान यस वर्ष आलु उत्पादन बढ्ने आशामा उत्साहित देखिएका छन् । सोमबार परेको वर्षा र हिमपातले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादन वृद्धि हुने आशा उत्तरी रसुवाका किसानको छ । उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुग्ने बताइएको छ । उत्तरी रसुवाको गतलाङ क्षेत्रमा उल्लेख्य मात्रामा हिमापत भएको स्थानीय किसान मार लामाले बताए । विगत चार वर्षदेखि माथिल्लो क्षेत्रमा मात्र सीमित हिमपात यसपटक गाउँ आसपाससम्म देखिनु सकारात्मक रहेको स्थानीयको भनाइ छ । हाल आलुबाली गोडमेल गरी दाना लाग्ने चरणमा छ । यही समयमा परेको वर्षाले बोटलाई आवश्यक चिस्यान प्रदान गरेको हो । गतलाङ क्षेत्रमा आलु खनेपछि बन्दागोभी खेती गर्ने प्रचलन छ । यसका कारण यहाँ उत्पादन हुने आलु असारदेखि बजारमा आउने किसानले बताएका छन् । जसले किसानलाई थप आम्दानीको अवसर सिर्जना गरेको छ । कृषि विकास कार्यालय रसुवाले २०५० सालमा गतलाङ क्षेत्रलाई आलुको पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँका ५०० भन्दा बढी घरपरिवारको आलु प्रमुख नगदे बाली हो । आलु बिक्री गरेर किसानले चामल खरिद गरी ल्याउने गरेका छन् । यस वर्ष ३०० ट्रकभन्दा बढी आलु उत्पादन हुने किसानले अनुमान गरेका छन् । रासस
बागलुङ बजारमा पहिलोपटक हाइमास्ट प्रविधिको स्मार्ट सडक बत्ती जडान
गलकोट । बागलुङमा पहिलोपटक बागलुङ बजारमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको छ । बागलुङ बजारका मुख्य चोक, पर्यटकीयस्थल, बसपार्क तथा अस्पताल क्षेत्रमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको हो । बागलुङ नगरपालिका र नेपाल विद्युत् प्राविधिकरणको साझेदारी बजेटमा उक्त सडक बत्ती जडान गरिएको हो । उज्यालो बागलुङ कार्यक्रमअन्तर्गत पहिलो चरणमा बागलुङ बजारको मुख्य १० स्थानमा हाइमास्ट प्रविधिको बत्ती जडान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । नगरप्रमुख श्रेठका अनुसार क्रमश नगरलाई नै उज्यालो बनाउने अभियानले निरन्तरता दिने उनको भनाइ छ । नगरपालिकाले उज्यालो बागलुङ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सडकमा बत्ती जडान गरिएको हो । नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणका ३५ प्रतिशत लागत साझेदारीमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको इन्जिनियर सोविन घर्तीले जानकारी दिए । कूल रु ३६ लाख ८२ हजार लागतमा पहिलो चरणमा १० वटा मिटरसहितका सडक बत्ती जडान गरिएको हो । राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक, रणनीतिक महत्व र व्यावसायिक चहलपहल बढी हुने क्षेत्र, मन्दिर बसपार्क र अस्पतालमा सडकमा बत्ती जडान गरिएको हो । यात्रु, बजारमा सामान खरिद गर्ने ग्राहक, विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षा र सहजताको लागि उज्यालो बागलुङ अभियानअन्तर्गत बत्ती जडान गरिएको हो । बागलुङ जिल्लाकै प्रवेशद्वार मालढुङ्गा, कालिका भवगती मन्दिर प्रवेशद्वार, धौलागिरि अस्पताल, ट्राफिक चोक, चिप्लेटी बसपार्क, जिल्ला प्रशासन, बाघ चोक, अस्पताल रोड, व्यारोक चोक र बागलुङ बसपार्कमा पहिलो चरणमा स्मार्ट बत्ती जडान गरिएको हो । अग्लो पोलमा जडान गरिने शक्तिशाली बत्तीले बजारलाई झलमल बनाउन सहज बनाउने इन्जिनियर घर्तीले जानकारी दिए । मुख्यतया सहरका चोक, ठूला सडक, रङ्गशाला र खुला क्षेत्रहरूमा हामास्ट प्रविधियुक्त सड बत्ती प्रयोग गर्न थालिएको छ । ठूलो क्षेत्रफलमा उज्यालो प्रदान गर्दै सहरलाई आधुनिक तथा सुरक्षित बनाउन सहयोग गर्ने भएकाले बत्ती जनालाई निरन्तरता दिने नगर प्रमुख श्रेष्ठको भनाइ छ । रासस
हुप्सेकोटमा बालिकाहरूलाई पाँच हजारसहितको बैंक खाता
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ती बालबालिकाहरूको बैंक खातामा पाँच हजार रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद रु पाँच हजार जम्मा गरिदिने गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । 'चालु आवको फागुन मसान्तसम्म जन्मिएका ३६ जना छोरीहरुको बैंक खातामा रु पाँच हजारका दरले एक लाख ८० हजार रकम गाउँपालिकाले निकासा गरेको छ', उनले भने, 'छोरीको बैंखक खातामा अभिभावकलाई समेत कम्तीमा पाँच हजार जम्मा गर्न आग्रह गर्ने गरेका छौँ ।' ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम निकै प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । छोरीकै नाममा हुने बैंक खाताको संरक्षक अभिभावक हुनेछन् । छोरीको नाममा बैंक खातामा राखिएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताए । 'यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ', उनले भने, 'छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्म निर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।' हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम सुरु गरेको हो । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम सञ्चालन गरिएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्यचौकी आएर गर्व परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकाश भएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले बताए । रासस
६ महिनामा राजेश मेटलको आम्दानी २.२० अर्ब, बैंकमा ऋण ६.२६ अर्ब रुपैयाँ
काठमाडौं । राजेश मेटल क्राफ्ट्स लिमिटेडले ६ महिनामा २ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा २ अर्ब २० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । कम्पनीले अघिल्ला वर्षहरूमा भने उतारचढावपूर्ण आम्दानी देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आव २०८०/८१ मा ४ अर्ब १० करोड १० लाख रुपैयाँ, आव २०७९/८० मा ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँ र आव २०७८/७९ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार प्रतिस्पर्धात्मक दबावका कारण बिक्री मूल्य घट्नु, कच्चा पदार्थको लागतमा उतार-चढाव आउनु तथा उत्पादन बिक्री मिश्रणमा परिवर्तन हुनु नाफामा असर पार्ने प्रमुख कारण हुन् । उच्च मार्जिन दिने पानाको हिस्सा २०२४ मा ४७ प्रतिशतबाट घटेर २०२५ मा ३७ प्रतिशतमा झरेको छ भने कम मार्जिन दिने पाइपको हिस्सा ३१ प्रतिशतबाट बढेर ४२ प्रतिशत पुगेको छ । सन् १९९३ मा श्रवण के. अग्रवालद्वारा स्थापना गरिएको यो कम्पनी पारिवारिक स्वामित्वमा सञ्चालन हुँदै आएको छ । हाल कम्पनीमा ६ जना सम्बन्धित व्यक्ति र ४ वटा सम्बद्ध संस्थाबीच सेयर स्वामित्व वितरण गरिएको छ । राजेश मेटल क्राफ्ट्स एक इस्पात उत्पादक कम्पनी हो, जसले स्टील पाइप, जस्ती (ग्याल्भेनाइज्ड) तथा रंगीन (कलर कोटेड) पाना लगायतका उत्पादनहरू उत्पादन गर्दै आएको छ । कम्पनीले मुख्य कच्चा पदार्थका रूपमा हट रोल्ड कुइल भारतबाट आयात गरी आफ्नै कोल्ड रोलिङ मिलमार्फत प्रशोधन गरेर विभिन्न इस्पातजन्य वस्तु उत्पादन गर्छ । तरलताको हिसाबले कम्पनीको अवस्था मध्यम रूपमा सन्तोषजनक देखिएको छ । २०२६ जनवरीसम्म करिब ९० करोड ५० लाख रुपैयाँ (२९ प्रतिशत) अप्रयुक्त ऋण सीमा रहेको छ, जुन २०२५ जुलाईमा करिब २९ करोड ६० लाख रुपैयाँ (१२ प्रतिशत) मात्र थियो । यद्यपि, नाफा मार्जिनमा निरन्तर गिरावट देखिएको छ । २०२४ मा ६.८ प्रतिशत रहेको मार्जिन २०२५ मा घटेर ४.४ प्रतिशतमा पुगेको छ भने २०२६ को पहिलो आधामा अझै घटेर ३.५ प्रतिशतमा सीमित भएको छ । उत्पादन मिश्रणमा आएको परिवर्तन, लागत वृद्धि, प्रतिस्पर्धा र निर्माण क्षेत्रको सुस्तता आएको कम्पनीले जनाएकाे छ । कम्पनीले हाल विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।
ऋणपत्र जारी गरेर १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको उक्त कार्यालयका अनुसार ६ वर्ष अवधि रहेको ‘विकास ऋणपत्र–२०८८’ बोलकबोलमार्फत बिक्री गर्न लागिएको हो । ऋणपत्रको बोलकबोल चैत २५ गते गरिनेछ भने चैत २६ गते निष्कासन गरिने जनाइएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकहरूले समेत भाग लिन सक्नेछन् ।
८ महिनामा बैंकहरूको नाफा ४४ अर्ब हाराहारी, अग्रस्थानमा नबिल, ३ बैंक करोडमै सीमित
काठमाडौं । ८ महिनामा वाणिज्य बैंकहरूले पौने ४४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा २० वटा वाणिज्य बैंकले ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ८ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । चालु आवको फागुनसम्म नबिल बैंकले ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यस्तै, ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, कुमारी बैंकले ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ९० करोड ७ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले २ अर्ब ८८ करोड ८ लाख रुपैयाँ, प्राइम बैंकले २ अर्ब ७४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । एनएमबि बैंकले २ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३३ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकले २ अर्ब ७ करोड ३९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ४ करोड ८१ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८० करोड ८२ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ३२ करोड २५ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब २२ करोड १८ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब १८ करोड ६८ लाख रुपैयाँ नाफा गरेका छन् । यस्तै, सिटिजन्स बैंकले ८० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६५ करोड ४ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।