साझा यातायात ७ करोड घाटामा, सञ्चालन आम्दानी घट्दा नेटवर्थमा पनि ह्रास
काठमाडौं । सरकारको ९२.१८ प्रतिशत वैधानिक लगानी रहेको साझा यातायात चालु आर्थिक वर्षमा ठूलो घाटामा गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३ अनुसार साझा यातायातले आर्थिक वर्ष २०८१/८२ मा ७ करोड ७ लाख १३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा साझाको वित्तीय अवस्थामा गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा साझाले ८ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । तर, मुख्य व्यवसाय (बिक्री आम्दानी) मा आएको भारी संकुचनका कारण संस्था यसपटक घाटामा गएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा साझाको सञ्चालन आम्दानी ४१ करोड ५ लाख रुपैयाँ मात्र सीमित भएको छ । यो अघिल्लो आवको तुलनामा २४.७४ प्रतिशतले कम हो । आव २०८०/८१ मा संस्थाले ५४ करोड ७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आम्दानी घटिरहँदा साझाको कर्मचारीसहितको प्रशासनिक खर्च भने १३.१३ प्रतिशतले बढेको छ । आव २०८१/८२ मा यसको प्रशासनिक खर्च ३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनी घाटामा गएसँगै यसको नेटवर्थ (खुद सम्पत्ति) मा समेत ह्रास आएको छ । आव २०८०/८१ मा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको साझाको नेटवर्थ आव २०८१/८२ मा घटेर ४ अर्ब २५ करोड रुपैयाँमा झरेको छ । हाल साझा यातायातको कुल चुक्ता पूँजी ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।
काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा २६ हजारभन्दा बढी विद्यार्थी योग्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि सिफारिस गर्ने छात्रवृत्तिका लागि २६ हजार ६८० जना परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । महानगरले २६ हजार ८८८ जना विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको जनाएको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले विद्यार्थीहरूले जुन प्रणालीबाट आवेदन दिएका थिए, त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने जानकारी दिए । प्रवेशपत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नु पर्ने दायित्व उल्लेख छन् । खड्का भन्छन्, ‘प्रवेश पत्र रंगीन प्रिन्ट भएको हुनु पर्नेछ ।’ उनका अनुसार छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका नाममा अरूले परीक्षा दिन नपाउन् भन्नका लागि प्रवेशपत्र रंगीन प्रिन्ट गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गरेर महानगरपालिका क्षेत्रभित्र भएका ११ र १२ कक्षा सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो । यस वर्ष संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि मिति जेठ १७ गते छात्रवृत्ति छनोट परीक्षा सञ्चालन हुनेछ । परीक्षार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टल इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा लग इन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन् । साइटमा लग इन गर्न एसईईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ । यसपछि जन्ममिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ । प्रवेशपत्रलाई अनिवार्य रूपमा रंगिन प्रिन्ट गर्नुपर्ने महानगरले जनाएको छ । महानगरका अनुसार ब्ल्याक एण्ड हाइट प्रिन्ट गरिएको वा स्पष्ट फोटो र विवरण नभएको प्रवेश पत्रलाई मान्यता दिइने छैन । परीक्षा केन्द्रमा आउँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात ९एसईई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकताको प्रमाणपत्र० अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ । प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षा सम्वन्धी नियम तथा आचारसंहिताहरू परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्छ । नियमको उल्लंघन भएमा परीक्षा रद्द गरिनुका साथै प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । परीक्षा सञ्चालनका लागि शिक्षा विभागले केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण सम्पन्न गरिसकेको छ । कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्छ । परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ । यसपछि म्याचिङ्‍ लिष्टबाट नाम शिफारिस हुन्छ । नाम सिफारिस गरिएका विद्यार्थीहरूले कक्षा ११/१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।
नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने
मनाङ । भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच श्ययाको अस्पताल भवन निर्माण हुने भएको छ । बिहीबार थोँचेमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे । अस्पताल भवन निर्माणका निम्ति ६ करोड ६७ लाख ९६ हजार ९३३ रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए । भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम पालिकाले बेहोर्ने छ । भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ । रासस
सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म
काठमाडौ‌ । सिजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्टहरु अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएको छ । बिहीबार ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सिजी होल्डिङ्स अन्तर्गतका सबै होटल र रिसाोर्ट अब सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र रहेर सञ्चालन हुने जानकारी दिए । चौधरीका अनुसार सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी, नगरकोटमा रहेको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ । साथै आगामी दिनमा सञ्चालन हुने होटल तथा रिसोर्टलाई पनि यहीँ छाताभित्र रहने उनले बताए। कम्पनीका अनुसार पुलचोकस्थित क्राउन प्लाजा विसं २०८३ भित्रै सञ्चालनमा आउनेछ । होटलको व्यवस्थापन ग्लोबल कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी)ले गर्ने छ । सोल्टी होटलको व्यवस्थापन छाडेको करिब ६ वर्षपछि आईएचजी सिजी होल्डरमार्फत नेपाल आउन लागेको हो । उक्त होटलमा १७५ कोठा हुनेछन् भने रुफटपसहित विभिन्न रेष्टुरेन्टको पनि सुविधा उपलब्ध हुनेछ । होटलमा ६ वटा हल हुनेछन् भने सबैभन्दा ठूलो हल पाँच हजार वर्ग फिटको हुनेछ । विसं २०७६ वैशाखमा शिलायन्यास गरिएको यो होटल यस वर्षदेखि सञ्चालनमा आउन लागेको हो । होटलको चौथो तलादेखि रुमहरु सुरु हुनेछन् भने होटलबाट काठमाडौँ उपत्यकाको फराकिलो दृश्य अवलोकन गर्न सकिनेछ । क्राउन प्लाजा होटल आधुनिक विलासितको झल्को दिने गरी निर्माण गरिएको छ । होटलको सबैभन्दा आकर्षण रुफटप प्लाजा हो । होटलको १२ औँ तलामा रहने रुफटपबाट काठमाडौँ उपत्यकाको ३६० डिग्री भ्यु हेर्न सकिनेछ । सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गतको अर्को रिसोर्ट हो, नगरकोटको भंगेरी दरबार रिसोर्ट। आठ वर्षअघि निर्माण सुरु भइ गत वैशाखदेखि सञ्चालनमा आएको लक्जरी रिसोर्ट भंगेरी दरबारको झल्को दिने गरी निर्माण गरिएको छ । चन्द्र शमशेरले नगरकोटमा निर्माण गरेको भंगेरी दरबारको नामबाट रिसोर्ट निर्माण गरिएको हो । होटलमा ५१ वटा कोठा छन् । पर्यटकलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले अत्याधुनिक सुविधा उपलब्ध गराइएको छ । रिसोर्टबाट सगरमाथालगायतका हिमाल र सूर्योदय अवलोकन गर्न सकिन्छ । साथै काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका पहाडी बस्ती अवलोकन गर्न पाउनुका साथै धुलिखेल, चिसापानी, चाँगुनारायणलगायतका स्थानमा पदयात्रामार्फत पुग्न सकिन्छ । कम्पनीले सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारीलाई पनि समेटेको छ । अन्तर्राष्ट्रिय चेन हस्पिटालिटी लेमन ट्रिको व्यवस्थापनमा सञ्चालन भइरहेको यो वाइल्ड लाइफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमामा अवस्थित छ । छ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्ट जंगल थिममा ३२ वटा प्राइभेट भिल्ला निर्माण गरिएको छ । रिसोर्टमा वाइल्ड लाइफ गतिविधि पनि सञ्चालनमा छन् । कम्पनीका अनुसार जिप सफारी क्यानोइङ, जंगल वाक, भिलेज वाक, थारु सांस्कृतिक नृत्यलगायतका गतिविधि सञ्चालनमा छन् । कर्पोरेट इभेन्ट र डेस्टिनेसन वेडिङका लागि पनि रिसोर्ट उपयुक्त गन्तव्यका रुपमा विकास भइरहेको छ । रिसोर्टका भिल्लाबाटै जंगली जनावरका गतिविधि पनि अवलोकन गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार ललितपुरको पुलचोकमा सञ्चालनमा रहेको नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु द प्लाजा पनि सिजी होटेल्स एण्ड रिसोर्टको छाता भित्र सञ्चालनमा ल्याइएको छ । द प्लाजामा कूल १२ हजार वर्गफिटको ठूलो हलमा थिएटर सेटअपमा एकैसाथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ । यहाँ तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । द प्लाजामा मागअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअललगायतको सुविधा ब्यवस्था हुनेछ । यसैगरी काठमाडौँको बुढानिलकण्ठस्थित मेराकी वेलनेस रिट्रिट सञ्चालनमा छ । काठमाडौँ उपत्यकाको नजिक वेलनेसलाई प्राथमिकता दिएर सञ्चालनमा आएको यो रिसोर्टले पनि जंगलभित्रै आवासको अनुभूति दिन्छ।
नेपाल आयल निगमले कमायो साढे १३ अर्ब बढी नाफा
काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३ अनुसार निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । मन्त्रालयको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा निगमको कुल सञ्चालन आय ३ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च १ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन भएको छ । यसैगरी गत आवमा निगमको सञ्चालन संचित नाफा १६ अर्ब ८६ करोड रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ । गत फेब्रुअरी २८ देखि मध्यपूर्वमा सुरु भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आएसँगै निगमले लगातार मूल्य बढाउँदै आएको छ । एकातिर उपभोक्ता मारमा परिरहेका बेला अर्कोतिर निगमको नाफा भने अर्बौं रुपैयाँ देखिएको छ । सञ्चित नाफाबाहेक निगमसँग २० अर्ब रुपैयाँभन्दा बढी रकम मूल्य स्थिरीकरण कोषमा जम्मा भएर बसेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सोही अनुपातमा मूल्य वृद्धि नगर्नका लागि उक्त कोषको करिब आधा रकम प्रयोग गरिएको दाबी निगमले गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारको घाटा थेग्न भन्दै निरन्तर मूल्य बढाइरहेको आयल निगम चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा पनि सञ्चित नाफाकै अवस्थामा रहने प्रक्षेपण गरिएको छ । उपभोक्ता तहमा महँगीको मार परे पनि निगमको वित्तीय स्वास्थ्य भने मजबुत देखिएको अर्थ मन्त्रालयको समीक्षाले देखाउँछ ।
सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँ बढ्यो
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ६०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ४० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ८६५ रुपैयाँ कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ८० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एमालेको कमान्ड लिन शीर्ष नेताहरू सक्रिय
काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी को बन्ने भन्ने विषयमा आन्तरिक बहस र तयारी सुरु भएको छ । अध्यक्ष ओलीले आगामी केही महिनाभित्र सक्रिय नेतृत्वबाट क्रमशः बिदा लिने संकेत गरेसँगै पार्टीभित्र भावी नेतृत्वको समीकरणबारे छलफल तीव्र हुन थालेको एमाले निकट स्रोतहरूले बताएका छन्। पछिल्लो समय ओलीपछिको नेतृत्व सम्हाल्ने आकांक्षासहित बहालवाला तथा पूर्वपदाधिकारीहरूले आन्तरिक लबिङ र कार्यकर्ता भेटघाट बढाएका छन् । स्रोतका अनुसार पार्टीका पाँचै उपाध्यक्षहरू आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदको दौडमा देखिएका छन् । उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तलाई स्वाभाविक रूपमा भावी नेतृत्वका आकांक्षीका रूपमा हेरिएको छ । उनीहरूले संगठनभित्र आफ्नो प्रभाव विस्तार गर्ने तथा कार्यकर्तामाझ उपस्थितिलाई बलियो बनाउने प्रयास गरिरहेको स्रोतहरूको भनाइ छ । उपाध्यक्षहरूबाहेक महासचिव शंकर पोखरेलले पनि अध्यक्ष पदप्रति रुचि देखाउँदै कार्यकर्ता भेटघाट र आन्तरिक संवादलाई तीव्र बनाएको स्रोतले बताएको छ । पार्टी संगठनमा लामो अनुभव र ओली निकट नेताका रूपमा पोखरेललाई पनि बलियो दाबेदारका रूपमा हेरिएको छ । त्यस्तै, एमालेका दुई पूर्व पदाधिकारीको नाम पनि भावी नेतृत्वको चर्चामा आएको छ । पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी र पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पनि अध्यक्षका सम्भावित दाबेदारका रूपमा चर्चा गर्न थालिएको छ । यद्यपि, पार्टीले नेतृत्व हस्तान्तरणबारे कुनै औपचारिक निर्णय गरिसकेको छैन । एमालेभित्र भने आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै शक्ति सन्तुलन, गुटगत समीकरण र भावी नेतृत्वबारे आन्तरिक कसरत सुरु भइसकेको नेताहरू बताउँछन्। एमाले उच्च स्रोतका अनुसार आगामी असार २० गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पार्टीको पुनर्गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ । उक्त बैठकले नेतृत्व हस्तान्तरण गर्नेगरी पार्टीको विशेष महाधिवेशन वा प्रतिनिधि परिषदको बैठक आव्हान गर्ने भन्ने निर्णय गर्ने स्रोतले जानकारी दियो ।
पोखरामा प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको ‘रिफ्रेसमेन्ट’ कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको सहभागितामा पोखरामा आयोजित तीन दिने मनोरञ्जनात्मक तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ । जेठ १३, १४ र १५ गतेसम्म सञ्चालन भएको कार्यक्रममा संगीत, हाँसो र विभिन्न गतिविधिहरूको गुञ्जनले पर्यटकीय नगरी पोखरा थप उल्लासमय बनेको थियो । कार्यक्रममा फेवा ताल अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट तथा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती मुख्य आकर्षणका रूपमा रहेका थिए । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले यस्ता कार्यक्रमले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्नुका साथै कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले सुन्दर पोखरामा आयोजित कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिरमा सम्पन्न भजन कन्सर्टले सहभागीहरूलाई नयाँ अनुभव दिलाएको उल्लेख गरे । कार्यक्रममा करिब १५० भन्दा बढी अभिकर्ता लिडरहरुको उपस्थिति रहेको थियो । पोखरा भ्रमण, सांगीतिक साँझ, भजन कन्सर्ट लगायतका गतिविधिहरू हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायिका समिक्षा अधिकारी, गायक प्रकाश सपुत तथा हास्य कलाकार सन्दीप क्षेत्री को प्रस्तुतीले सहभागीहरूलाई भरपुर मनोरञ्जन दिएको थियो । साथै स्थानीय भजन समूहले ताल बाराही मन्दिर परिसरमा भक्तिमय वातावरण सिर्जना गरेका थिए । कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने ले गीत, संगीत र हास्य प्रस्तुतिले अभिकर्ता लिडरहरुलाई उत्साहित बनाएको बताए । कम्पनीले अभिकर्ताहरुलाई लक्षित गर्दै निरन्तर रुपमा मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।