सेल्सबेरीको माउ कम्पनी सालवेजको आम्दानी ९ महिनामा पौने २ अर्ब, ऋण २.६२ अर्ब रुपैयाँ

काठमाडौं । सालवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी) को आम्दानीमा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ७.०९ प्रतिशत अर्थात् २२ करोड ६० लाख रुपैयाँले कम हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ रहेको थियो । 

खुद्रा व्यापार क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, ठूला सुपरमार्केटहरूको विस्तार तथा साना डिपार्टमेन्ट स्टोरहरूको बढ्दो उपस्थितिका कारण कम्पनीको आम्दानीमा दबाब परेको कम्पनीले जनाएको छ ।

कम्पनीको विगत केही वर्षको आम्दानी विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ८१ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब २४ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा २ अर्ब रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब ७३ करोड रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब ४८ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

सन् २०१४ मा स्थापना भएको सालवेज क्यास एन्ड क्यारी प्रालिले ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ र ‘सेल्सबेरी एक्सप्रेस’ ब्रान्डमार्फत खुद्रा व्यापार सञ्चालन गर्दै आएको छ । कम्पनीले काठमाडौं, ललितपुर र पोखरामा आफ्नो व्यवसाय विस्तार गरेको छ ।

कम्पनीका अनुसार ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ ठूला आउटलेटका रूपमा सञ्चालनमा छन् भने ‘सेल्सबेरी एक्सप्रेस’ तुलनात्मक रूपमा साना स्टोर हुन् । यी स्टोरमार्फत दैनिक उपभोग्य सामग्रीदेखि विभिन्न उपभोक्ता वस्तुहरू बिक्री वितरण हुँदै आएको छ ।

सालवेज क्यास एन्ड क्यारीको सेयर संरचनाअनुसार सुषिलमान प्रधानाङ्गको ५१ प्रतिशत र सृजना श्रेष्ठको ४९ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका प्रवर्द्धकहरू आधुनिक खुद्रा व्यापार क्षेत्रमा तीन दशकदेखि सक्रिय छन् । उनीहरूले सन् १९९३ मा पोखरामा ‘सालवेज डिपार्टमेन्टल स्टोर’ स्थापना गर्दै आधुनिक खुद्रा व्यापार सुरु गरेका थिए ।

हाल कम्पनीले ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ र ‘सेल्सबेरी एक्सप्रेस’ ब्रान्ड अन्तर्गत काठमाडौं, ललितपुर र पोखरामा ३५ वटा स्टोर सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार साना स्टोर विस्तार रणनीतिले ठूलो पुँजीगत खर्च र अत्यधिक ऋणभारको जोखिम कम गर्दै व्यवसाय विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

शहरीकरणसँगै उपभोक्ताहरूको आधुनिक खुद्रा व्यापारतर्फ आकर्षण बढ्दै गएको कम्पनीको विश्वास छ । ठूला सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरप्रतिको माग बढ्दै जाँदा कम्पनीको बिक्रीमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले व्यापारसँगै भाडा आम्दानीबाट पनि आम्दानी विविधीकरण गर्दै आएको जनाएको छ । काठमाडौंको महाराजगञ्जस्थित भवन पूर्ण रूपमा भाडामा दिइएको छ भने ललितपुरको सातदोबाटो र पोखराको चिप्लेढुंगास्थित सम्पत्तिबाट पनि भाडा आम्दानी भइरहेको छ । कम्पनीका अनुसार यसले नगद प्रवाह र ऋण भुक्तानी क्षमतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तर, पछिल्ला वर्षहरूमा स्टोर विस्तारका लागि ठूलो मात्रामा ऋण प्रयोग गरिएकाले कम्पनीको ऋणभार बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ दीर्घकालीन तथा ९६ करोड रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष कम्पनीको कुल ऋण २ अर्ब ४५ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीका अनुसार ऋणमा आधारित विस्तार, नयाँ स्टोर तथा पूर्वाधारमा गरिएको ठूलो लगानीका कारण आम्दानी वृद्धिले अपेक्षित गति लिन सकेको छैन । आगामी दिनमा नयाँ लगानीअनुसार आम्दानी वृद्धि गर्न सक्ने क्षमता कम्पनीको वित्तीय स्वास्थ्यका लागि महत्वपूर्ण रहने कम्पनीले जनाएको छ ।

Share News