काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ चिनियाँ फिल्महरूको प्रदर्शन कार्यक्रम काठमाडौंमा मंगलबारबाट सुरु भएको छ ।
‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत आयोजना गरिएको कार्यक्रम सागर झान निर्देशित चलचित्र ‘ट्रयाप्ड’ प्रदर्शनसँगै थालिएको हो । कार्यक्रम चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको हो ।
ठमेलस्थित छाया सेन्टरमा आयोजित उद्घाटन कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ निर्देशक तुलसी घिमिरे, कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नायक प्रमोद अग्रहरीलगायत चलचित्रकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्षले स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रमले नेपाल–चीन सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उनले नेपाली फिल्मलाई चिनियाँ बजारमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा पनि गरे ।
मिनिस्टर काउन्सिलर पानले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक र राजनीतिक परिवेश बुझ्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ नजिक बनाउने धारणा राखे ।
निर्देशक तुलसी घिमिरेले चिनियाँ बजारमा नेपाली फिल्मको प्रदर्शन र वितरणका लागि सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सहजीकरणका लागि आग्रह गरे ।
‘ट्रयाप्ड’ प्रदर्शनपछि निर्देशक सागर झानसँग दर्शक तथा सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । झानले आफ्नो किशोरकालका अनुभव र सम्झनालाई आधार बनाएर फिल्म निर्माण गरेको बताए ।
उनले फिल्मको कथा पूर्ण रूपमा काल्पनिक भए पनि आफ्ना अनुभवबाट प्रेरित रहेको स्पष्ट पारे । नेपाली दर्शकको रुचिबारे आफू जानकार रहेको भन्दै उनले यो फिल्म नेपाली दर्शकका लागि पनि उपयुक्त हुने बताए ।
कार्यक्रममा सहभागी एक चिनियाँ दर्शकले आफ्नै भाषाको फिल्म विदेशमा हेर्न पाउँदा खुशी व्यक्त गरिन् भने नेपाली दर्शकबाट पनि फिल्मले सकारात्मक प्रतिक्रिया पाएको आयोजकले जनाएको छ ।
काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतका कन्फुसियस इन्स्टिच्युटहरूको सहयोग रहेको उक्त कार्यक्रम बिहीबारसम्म छाया सेन्टरमा सञ्चालन हुनेछ ।
कार्यक्रमको पहिलो दिन ‘ट्रयाप्ड’सहित ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ पनि प्रदर्शन गरिएको थियो ।