एभरेष्ट कलरका उत्पादनले पाए नेपाल गुणस्तर चिन्ह, आईपीओको तयारीमा कम्पनी

काठमाडौं । स्वदेशी रङ उत्पादन कम्पनी एभरेष्ट कलरले विभिन्न उत्पादनका लागि नेपाल गुणस्तर प्रमाण (एनएस) चिन्ह प्राप्त गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले चितवनको खैरहनीस्थित एभरेष्ट कलरका विभिन्न ब्रान्डका रङ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रयोग गर्न अनुमति दिएको हो ।

कम्पनीले यसअघि सन् २०२३ मै अन्तर्राष्ट्रियस्तरको आईएसओ ९००१ः२०१५ (क्वालिटी म्यानेजमेन्ट सिस्टम) प्रमाणपत्र प्राप्त गरिसकेको थियो । अब राष्ट्रियस्तरको गुणस्तर मान्यता समेत प्राप्त गरेसँगै कम्पनीका उत्पादनको विश्वसनीयता थप मजबुत भएको कम्पनीको दाबी छ ।

विभागकी महानिर्देशक कुमारी ज्योति जोशीद्वारा स्वीकृत इजाजतपत्रअनुसार कम्पनीले जेठ १८ गतेदेखि विभिन्न ब्रान्डका ५०० एमएल, १ लिटर, ४ लिटर, १० लिटर तथा २० लिटर क्षमताका उत्पादनमा नेपाल गुणस्तर चिन्ह प्रयोग गर्न पाउने भएको छ ।

विभागका अनुसार एभरेष्ट कलरका इनामेल पेन्ट, प्लास्टिक इमल्सन पेन्ट, सिमेन्ट प्राइमर तथा वुड प्राइमरअन्तर्गतका विभिन्न उत्पादनले एनएस चिन्ह प्राप्त गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोज लुइटेलले नेपाल सरकारले निर्धारण गरेको कडा मापदण्ड पूरा गरेपछि मात्रै प्राप्त हुने गुणस्तर चिन्हले कम्पनीका उत्पादन सुरक्षित र भरपर्दो रहेको पुष्टि गरेको बताए ।

‘उपभोक्ता, डिलर तथा प्राविधिकहरूको निरन्तर विश्वास र सहयोगकै कारण यो उपलब्धि हासिल भएको हो,’ उनले भने, ‘एनएस चिन्हले एभरेष्ट कलरका उत्पादनको गुणस्तरप्रतिको प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ ।’

एभरेष्ट कलरले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी पनि गरिरहेको जनाएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ ।  

Share News